सामाजिक सञ्जाल बन्दको असर : गुम्दैछ कन्टेन्ट क्रिएटर र स्टार्टअपको आम्दानी


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सरकारले नेपालमा सूचीकरण नआएको भन्दै फेसबुक, इन्स्टाग्राम, युट्यूब लगायत सामाजिक सञ्जाल बन्द गरेपछि कन्टेन्ट क्रियटरहरूको आम्दानी र दैनिकीमा असर परेको छ।
  • सामाजिक सञ्जाल बन्दले डिजिटल अर्थतन्त्र, स्टार्टअप र साना व्यवसायको अनलाइन मार्केटिङ ठप्प पारेर समग्र आर्थिक सूचकहरूमा नकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।
  • कन्टेन्ट क्रियटर र उद्यमीहरूले सरकारको निर्णयलाई अभिव्यक्ति स्वतन्त्रतामाथि आघात र प्रतिगामी कदम भन्दै आलोचना गरेका छन्।

२० भदौ, काठमाडौं । दशैंको मुखमा सामाजिक सञ्जाल बन्द भएपछि चिन्तित छिन्, कन्टेन्ट क्रिएटर समृद्धि शर्मा । सरकारले नेपालमा सूचीकरण हुन नआएको भन्दै फेसबुक, इन्स्टाग्राम, युट्यूब जस्ता सञ्जाल बन्द गरेपछि आफूहरूको आम्दानी र दैनिकीमै धक्का पुगेको शर्माले बताइन् ।

हुन पनि यो निर्णयले डिजिटल अर्थतन्त्र, कन्टेन्ट क्रिएटरहरूको आम्दानी, स्टार्टअप लगायत आममानिसको अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर असर पार्ने भन्दै आलोचना भइरहेको छ ।

सामाजिक सञ्जालको प्रतिबन्धले आफ्नो आय नराम्रोसँग प्रभावित हुने उनले बताइन् । उनले फेसबुक, इन्स्टाग्राम, युट्युब र टिकटक जस्ता प्लेटफर्ममार्फत ब्रान्डहरूसँग सहकार्य गर्दै आएकी छन् । मुख्य आम्दानीको स्रोत पनि यिनै सामाजिक सञ्जालहरू हुन्, जहाँ उनले कन्टेन्ट बनाएर ब्रान्डको प्रबर्द्धन गर्छिन् ।

‘फेसबुक, इन्स्टाग्राम र युट्युब हाम्रो लागि ब्रान्डसँग विश्वास जोड्ने मुख्य माध्यम थिए । टिकटकलाई ब्रान्डले त्यति धेरै विश्वास नगर्दा कन्टेन्ट पनि फेसबुक रिल्स र इन्स्टा टार्गेट हुन्थ्यो,’ उनले सरकारी निर्णयको असर सुनाइन्, ‘आज मात्र मैले दुईवटा सुटिङ होल्ड गर्नुपर्यो ।’

ब्रान्डहरूले पनि प्लेटफर्मअनुसार शुल्क तय गर्थे, जुन अब झन् घट्नेवाला छ । रेट घटाएर सिमित प्लेटफर्ममा सीमित हुनुपर्ने चिन्ता समृद्धिलाई छ । ब्रान्डहरूले पनि इन्स्टाग्राम र फेसबुकमा बढी जोड दिने कारण बताउँदै उनी भन्छिन्, ‘त्यहाँबाट उनीहरूले प्रत्यक्ष मेसेजमार्फत ग्राहकसँग जोडिन्छन् । अनि न हामीले त्यसको लागि कन्टेन्ट बनाउँथ्यौं ?’

त्यसमाथि ब्रान्डसँग जोडिएर काम गर्ने क्रियटरको लागि दशैं-तिहार मुख्य सिजन हो । कन्टेन्ट क्रिएटरहरू यो समयमा सबैभन्दा व्यस्त हुन्छन् । कारण, यो समयमा हरेक ब्रान्डले कुनै न कुनै अफर ल्याएको हुन्छ । त्यसको मार्केटिङको लागि क्रियटरहरू खोजिन्छ । ‘हामीलाई त असर पर्यो नै ! झन् ती ब्रान्डको के होला ? पिक टाइममा यस्तो भयो, तनाव नै दियो,’ समृद्धि भनिन् ।

०००

‘ह्वाई सो अफेन्डेड’ यूट्युब च्यानलमार्फत चर्चित कन्टेन्ट क्रिएटर बिनायक कुइँकेलले सामाजिक सञ्जालमाथिको यो प्रतिबन्धलाई ‘प्रतिगामी र गलत कदम’ को संज्ञा दिए । ‘नियमनको नाममा प्रतिबन्ध लगाउनु कहिल्यै समाधान होइन । यो सरकार सार्वजनिक आवाजसँग डराएको जस्तो देखिन्छ,’ उनले भने, ‘त्यसमाथि हामी जस्ता क्रियटर र स्टार्टअप गरिरहेकालाई ठूलो असर गर्नेवाला छ । डिजिटल इकोसिस्टम बिगार्नेवाला छ ।’

कुइँकेलका अनुसार सामाजिक सञ्जाल बन्द हुँदा कन्टेन्ट क्रिएटरहरू र व्यवसायहरूलाई ठूलो आर्थिक नोक्सानी हुनेछ । ‘हाम्रो आयको ८० प्रतिशत हिस्सा यूट्युब र ब्रान्ड डिलहरूबाट आउँथ्यो । यूट्युबमा हाम्रा कन्टेन्टहरू केन्द्रित थिए । अब यो प्रतिबन्धले हामीलाई ठूलो आर्थिक प्रभाव पारेको छ,’ उनले भने, ‘हाम्रो आम्दानीसँगै त्यसबाट सिर्जित भएका रोजगारी पनि गुम्छन् ।’

सामाजिक सञ्जाल बन्दको असर : गुम्दैछ कन्टेन्ट क्रिएटर र स्टार्टअपको आम्दानी

टिकटकमा केही ब्रान्ड डिलहरूबाट जेनतेन गुजारा चलिरहे पनि यो दीर्घकालीन समाधान नभएको उनको भनाइ छ । अझ विशेषगरी युट्युबमा निर्भर स्ट्रिमरहरू, गायकहरू र गेमिङ कन्टेन्ट क्रिएटरहरूलाई यो प्रतिबन्धले ठूलो धक्का पुग्ने उनले बताए ।

नेपालमा पछिल्ला केही वर्षमा यूट्युबबाट राम्रो आम्दानी गर्ने क्रिएटरहरूको संख्या बढ्दै थियो । त्यसबाहेक सामाजिक सञ्जाल बन्द हुँदा कन्टेन्ट क्रिएटरहरू मात्र नभई समग्र अर्थतन्त्रमा ठूलो प्रभाव पर्नेछ । कारण, सामाजिक सञ्जाल व्यवसायहरूको प्रमोसनको प्रमुख माध्यम हो । त्यसैमा कन्टेन्ट क्रिएटर्सले ब्रान्डसँग जोडिएर काम गर्ने हुँदा सबै इकोसिस्टम नै डामाडोल हुनेमा कुइँकेल चिन्तित देखिए ।

‘दशैं-तिहारजस्ता सिजनमा उपभोग (कन्जम्सन) बढ्छ, जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ । तर अब सीमित प्लेटफर्महरूमा मात्र प्रमोसन गर्नुपर्दा उपभोगमा कमी आउँछ, जसले समग्र आर्थिक सूचकहरूमा नकारात्मक प्रभाव पार्छ,’ उनले भने ।

०००

प्रोजेक्ट कुराका कन्टेन्ट क्रिएटर सरोज कार्कीले यो प्रतिबन्धबाट आफूहरूलाई धक्का पुग्ने बनाए । सँगसँगै यो प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात ठान्छन् उनी । ‘सरकारले प्रभावको अध्ययन नगरी यस्तो निर्णय गर्यो । सामाजिक सञ्जालबाट ठूलो अर्थतन्त्र चलिरहेको छ । साना व्यवसाय, सूचनाको माध्यम र हाम्रो जस्तो कन्टेन्ट क्रिएसन यसैमा निर्भर छ,’ उनले भने ।

कार्कीका अनुसार सामाजिक सञ्जाल क्रिएटरहरूको मुख्य आयस्रोत हो, जसले अर्बौंको अर्थतन्त्र चलायमान बनाउँछ । ‘हामीले कन्टेन्ट बनाएर ब्रान्ड डिल र यूट्युब एडसेन्सबाट कमाउँथ्यौँ । यो बन्दले हाम्रो रेभिन्यूमा ठूलो असर परेको छ,’ उनले भने ।

सामाजिक सञ्जाल बन्दको असर : गुम्दैछ कन्टेन्ट क्रिएटर र स्टार्टअपको आम्दानी

कार्कीले प्रोजेक्ट कुराकै लागि कन्टेन्टहरू तयारी अवस्थामा राखेका थिए । तर तत्काल के गर्ने अब भन्ने दुविधामा उनी छन् । तत्काल इन्गेजमेन्टमा खासै कमी नआए पनि यसरी दीर्घकालसम्म चल्न नसक्ने उनको भनाइ छ । उनी भन्छन्, ‘हाम्रो ४०/४५ प्रतिशत दर्शक विदेशमा छन् र नेपालमा पनि वैकल्पिक उपाय अपनाएर कन्टेन्ट हेरिहाल्नुहुन्छ होला । केही असर गरे पनि तत्काल ठूलै बर्बादी त नहोला । अबको समयमा केही बन्द गर्छु भन्दा सम्भव हुने कुरै हैन ।’

कार्कीलाई विश्वास छ, क्रिएटर र दर्शक दुवैले वैकल्पिक उपाय खोज्छन् । क्रिएटर दर्शक खोज्नै र दर्शक कन्टेन्ट खोज्दै कुनै न कुनै माध्यमबाट जोडिनेमा ढुक्क देखिन्छन् । जस्तो, टिकटक बन्द हुँदा पनि भीपीएनबाट धेरै नेपालीले चलाए । ‘हामी दर्शक कहाँ छन्, त्यहीँ पुग्छौं । उहाँहरू पनि आउनुहोला हामीलाई खोज्दै,’ उनले भने ।

तर, पनि सरकारले तत्काल निर्णय नसच्चाए केही समय भने क्रिएटर इकोनोमी डिस्टर्ब हुने कार्कीले बताए । जति नै वैकल्पिक उपाय खोजे पनि अहिलेभन्दा व्यवसाय खस्कने डर भने उत्तिकै रहेको उनको भनाइ छ ।

०००

कन्टेन्ट क्रिएटर एवं उद्यमी सञ्जोग कोइराला सरकारको यो निर्णयले एकल प्लेटफर्ममा निर्भर क्रिएटरहरूलाई सबैभन्दा बढी असर गरेको बताउँछन् । ‘एउटा डिस्ट्रिब्युसन च्यानल बनाउन वर्षौँ लाग्छ । अचानक बन्द हुँदा अडियन्सलाई अन्य प्लेटफर्ममा लैजान गाह्रो हुन्छ,’ उनले भने ।

यूट्युबमा लामो र शैक्षिक कन्टेन्ट राख्ने उनलाई मोनिटाइजेसनमा ठूलो नोक्सान भएको छ । कोइरालाका अनुसार उनको मुख्य प्लेटफर्म यूट्युब थियो, जहाँ लामो कन्टेन्ट राख्थे । अब टिकटकमा छोटो कन्टेन्ट मात्र राख्न मिल्छ, जुन उनको शैक्षिक कन्टेन्टका लागि उपयुक्त छैन । यो आफ्नो लागि ठूलो चुनौती भएको उनले बताए ।

त्यसबाहेक साना व्यवसाय र स्टार्टअपहरूलाई परेको असरबारे सरकारले हेक्का नराखेको उनले बताए । ‘काठमाडौँदेखि देशभरका साना पसलहरूले फेसबुक र ह्वाट्सएपमार्फत अनलाइन अर्डर लिएर मार्केटिङ गर्थे । दशैंको मुखमा यो बन्दले उनीहरूको व्यापार ठप्प भएको छ,’ उनले भने ।

सामाजिक सञ्जाल बन्दको असर : गुम्दैछ कन्टेन्ट क्रिएटर र स्टार्टअपको आम्दानी

व्यावसायिक ब्रान्डसँग सहकार्य गर्ने क्रिएटरहरूलाई पनि मार्केटिङ च्यानल गुम्दा सेल्समा असर परेको छ । जबकि, यो समय (चाडबाड) ब्रान्डहरूको सेल्सका लागि महत्वपूर्ण थियो । तर अनलाइन मार्केटिङ च्यानल बन्द हुँदा सबै प्रभावित भएका छन् । क्रिएटरहरूले पनि यसबाट पाउने लाभबाट बञ्चित हुनुपरेको छ । यी सबै कारण सरकारको निर्णयले आफ्नै नागरिकको आम्दानी गुमेको कोइरालाले बताए ।

कोइराला आफू भने मल्टिपल प्लेटफर्ममा सक्रिय भएकाले तत्काल ठूलो असर नपरे पनि दीर्घकालीन समस्या देख्छन् । ‘अब म आफैँ अहिले कन्टेन्ट बनाउने कि नबनाउने भन्ने अलमलमा छु,’ उनले भने, ‘यो निर्णयले समग्र हाम्रो आय र डिजिटल अर्थतन्त्रलाई चुनौती दिएको छ । सरकारले प्रभावको अध्ययन नगरी यस्तो कदम चाल्दा क्रिएटर र साना व्यवसायहरू मारमा परेका छन् ।’

०००

इन्फ्लुएन्सर मार्केटिङमा काम गरिरहेको कम्पनी अपट्रेन्डलीका संस्थापक तथा सीईओ मनायक कार्कीले पनि सरकारको यो निर्णयले कन्टेन्ट क्रिएटर र साना व्यवसायहरूमा गम्भीर असर पारेको बताए । उनका अनुसार यो प्रतिबन्धले नेपालको कन्टेन्ट क्रिएसन अर्थतन्त्रमा ठूलो धक्का लागेको छ ।

‘नेपाली यूट्युब क्रिएटरहरूले वार्षिक ३५३ करोड रुपैयाँको रेभिन्यु ल्याइरहेको तथ्यांक देखिन्छ, जुन गुगल एडसेन्समार्फत आउँथ्यो । अब यस्ता आम्दानीमा नोक्सान पुर्‍याउँछ,’ उनले भने ।

अपट्रेन्डली आफैँ ८ वर्षदेखि इन्फ्लुएन्सर मार्केटिङमा सक्रिय छ, जसमा अहिलेसम्म तीन हजारभन्दा धेरै क्रिएटरहरूको नेटवर्क छ । यसले ती क्रियटर्सलाई साना र ठूला व्यवसायसँग जोड्छ ।

सामाजिक सञ्जाल बन्दको असर : गुम्दैछ कन्टेन्ट क्रिएटर र स्टार्टअपको आम्दानी

मनायकले भने, ‘हाम्रो ६० प्रतिशत क्रिएटर टिकटकमा केन्द्रित छन्, त्यसैले हामीलाई तत्काल ठूलो असर परेको छैन । तर फेसबुक र यूट्युबमा निर्भर क्रिएटरहरूलाई यो ठूलो झट्का हो । उनीहरूको कमाइ अहिले चौपट बनाएको छ ।’

साथै यो प्रतिबन्धले साना व्यवसायहरूको अनलाइन मार्केटिङ ठप्प भएको छ, जसले सेल्समा ठूलो असर पारेको कार्कीले बताए । त्यसैले उनीहरूले पनि टिकटकलाई वैकल्पिक प्लेटफर्मको रूपमा रणनीतिक रूपमा प्रयोग गरिरहेको बताए ।

‘यद्यपि, टिकटकमा भाइरालिटीको सम्भावना छ, तर लामो कन्टेन्टका लागि यूट्युबको विकल्प छैन । हामी टिकटकमा फोकस गरौँला अहिलेलाई, तर यो दीर्घकालीन समाधान होइन ।’





Source link

Leave a Comment