आफूले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’को सफलतासँगै केकी अधिकारी यसको अन्तर्राष्ट्रिय प्रदर्शनमा सहभागी हुन हालै युरोप र अष्ट्रेलिया पुगेर फर्किइन् । यस वर्ष केकीको फिल्म उद्योगमा १५ वर्ष पुगेको छ । नयाँ कलाकारलाई लञ्च गर्ने गरी नयाँ प्रोजेक्टको तयारीमा जुटेकी केकीले अनलाइनखबरसँग दिलै खोलेर गरेको कुराकानी ः
हिजोआज
१. हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
मैले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ नेपालका सिनेमा घरबाट उत्रिए पनि यसको विदेशमा भने प्रदर्शन भइरहेको छ । कतिपय देशमा फिल्म चलिरहेको छ भने कतिमा त भर्खरै जाँदैछ । यसैको संयोजन र कतिपय शोहरूमा सहभागी भइरहेकी छु ।
२. पछिल्लो समय के कुराले वा कुन समाचारले खुशी हुनुभयो ?
आफ्नै फिल्म ‘बोक्सीको घर’ले पाएको सफलताले खुशी भएँ । व्यापारिक मात्र होइन, क्रिटिकल्ली पनि यसले जति सराहना पायो, त्यो मेरो लागि निकै खुशीको कुरा थियो ।
३. दिक्क बनाएको कुरा ?
त्यस्तो धेरै दिक्क चाहिं मलाई आजभोलि कुनै पनि चिजले बनाउन सक्दैन । थोरै खिन्न चाहिं यही चलचित्र सम्बन्धी आएका कुराले बनाए, चित्तदुखाइका कुराहरूले । अहिले म यसबाट पनि अघि बढिसकें ।
४. अबका योजना के छन् ?
आगामी योजना मेरो लागि चुनौतीपूर्ण छ । फेरि पनि फिल्म नै बनाउने हो । यसपालि चाहिं काम गरिरहेका नयाँ प्रतिभाहरूलाई लञ्च गर्ने हिसाबले कथाको खोजी गर्दैछु । साथै, अबको केही दिनमा विपश्यना जाने तयारीमा पनि छु ।
५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
दर्शक, फिल्म क्षेत्र, पत्रकार–समीक्षक र समाजमा कमाएको विश्वास नै होला । यतिका वर्ष काम गरिसकेपछि यो विश्वासको ठूलो महत्व हुने रहेछ ।
६. अचेल रुचि लागेको विषय वा व्यक्ति ?
अचेल लेखनतर्फ रुचि बढिरहेको छ । पहिले पनि म लेखहरू लेख्ने गर्थें । तर, ‘बोक्सीको घर’मा लागेदेखि लगभग चार वर्ष लेख्ने काम बन्द जस्तै भएको थियो । अहिले फेरि सुरु गरेकी छु ।
लेखनतर्फ रुचि बढिरहेको छ । पहिले पनि म लेखहरू लेख्ने गर्थें । तर, ‘बोक्सीको घर’मा लागेदेखि लगभग चार वर्ष लेख्ने काम बन्द जस्तै भएको थियो । अहिले फेरि सुरु गरेकी छु ।
७. नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के लाग्छ ?
छिट्टै माफी दिनसक्ने क्षमता । आफ्नै मानसिक शान्तिका लागि पनि राम्रो कुरा हो । नराम्रो पनि यसैसँग जोडिएको छ । छिटो माफी दिने र बिर्सिने भएपछि सम्झिनुपर्ने कुरा पनि याद हुँदैन रहेछ । समाजले कति कुराहरू सम्झिइरहनुपर्ने पनि हुन्छन् । तर, तिनलाई पनि बिर्सिंदा कति व्यक्ति र प्रवृत्तिको गलत मूल्यांकन हुने गरेको छ ।
८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? अहिलेको पत्रकारिता तपाईंलाई कस्तो लाग्छ ?
अलि अगाडिसम्म डिजिटलमा निर्भर थिएँ । तर, लेखन फेरि सुरु गरेपछि पत्रिका फेरि पढ्न थालेकी छु । लेखनका लागि आवश्यक धेरै कुराहरू पत्रिकामा पाइन्छन् । डिजिटलमा पढ्दा ध्यान धेरैतिर जान्छ, पत्रिकामा केन्द्रित भएर पढ्न सजिलो हुन्छ । नेपाली पत्रकारिताले समग्रमा निडर भएर सत्तापक्षलाई प्रश्न गर्ने काम छोडेको जस्तो लाग्दैन । त्यो काम गरिरहेको छ ।
९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
‘मसान’ चलचित्रको हेलेन चरित्रलाई फेरि गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । त्यो पात्रलाई मैले अहिले बल्ल चिने जस्तो लाग्छ । त्यो बेला भनेअनुसार मात्रै गरियो । त्यसलाई धेरै तहबाट बुझ्न सकिएको रहेनछ । अहिले फेरि गर्न पाए म त्यसलाई धेरै लेयर दिनसक्थें जस्तो लाग्छ ।
१०. आउँदो पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
कस्तो खालको संस्कार विकास गर्ने भन्ने प्रमुख कुरा हो । साथै, कम्युनिकेसन कल्चर पनि राम्रो विकास गरिदिनुपर्छ जस्तो लाग्छ । आफ्ना कुरा सही ढंगले, संयमित भएर व्यक्त गर्न सक्नु ठूलो कुरा हो जस्तो लाग्छ । कताकता हामी त्यसको सट्टा छिट्टै आवेशमा आउने, अन्फ्रेन्ड गर्ने र भइहाल्ने हुँदैछौं कि जस्तो लाग्छ । यसमा यो पुस्ताले आउने पुस्तालाई गाइड गर्नुपर्छ जस्तो लाग्छ ।
किताब
१. पढ्ने बानी कत्तिको छ ? बानी कसरी बस्यो ?
पहिले एकदमै धेरै पढ्ने बानी थियो । म स्वविचारले विश्लेषण गर्नेभन्दा पनि कसैले लेखेको पढेर, कसैले भनेको सुनेर कुनै पनि किताब वा विषयतिर आकर्षित हुने गर्छु । यसमा मेरो सबभन्दा ठूलो स्रोत मेरो बाबा नै हुनुहुन्छ । मेरो बाबा बद्री अधिकारी असाध्यै पुस्तक पढ्ने । उहाँ आफैं लेखक, रंगकर्मी । उहाँले पढेको देखेर नै मेरो पनि पढ्ने बानी बस्यो । पहिले पनि बाबाले रेकमेन्ड गरेको पुस्तक पढ्ने गरें, आजको दिनमा पनि बाबामै निर्भर छु ।
२. पढ्न मनपर्ने विधा ?
फिक्सन र ननफिक्सन दुवै पढ्न मनपर्छ । साइन्स फिक्सनचाहिं अलि पढ्न सक्दिनँ । मलाई समाजका कुरा छोएको लेखाइ नै मन पर्छ । ्सा
इन्स फिक्सन अलि रिलेटेबल लाग्दैन । जोम्बीको कथाले तान्दैन । समाजमा मानिसले भोगेका दुःख र उनीहरूका संघर्षलाई समभावले हेरिएका संवेदनशील लेखाइ मनपर्छ ।
३. सबभन्दा मनपरेको वा प्रभाव पारेका पुस्तकहरू ?
बाबाले धेरैपटक सुनाउनुभएको टाल्सटयको ‘वार एन्ड पिस’को राम्रै प्रभाव ममा परेको छ । म आफैंले चाहिं यो ठूलो किताब पढ्न सुरु गर्ने र सिध्याउने हिम्मत गरेकी छैन । नेपालीमा मलाई रमेश विकलका बालपुस्तकहरूले ठूलो प्रभाव पारेका छन् ।
बाबाले टेलिफिल्म बनाउनुभएको विकलको कथा ‘अविरल बग्दछ इन्द्रावती’ मलाई मन परेको हो । बुद्धिसागरको ‘कर्नाली ब्लुज’ अहिले तेस्रोपटक पढ्दैछु । पहिले पढ्दा जहाँ जहाँ भक्कानिएकी थिएँ, यसपालि पढ्दा त्यही ठाउँमा त्यस्तै प्रभाव पर्छ कि पर्दैन भनेर हेर्न पनि यो फेरि पढ्दैछु । अमर न्यौपानेको ‘सेतो धरती’ र महेशविक्रम शाहका कथाहरू पनि मलाई मन परेका हुन् ।
४. निराश बनाएको पुस्तक ?
पढेको किताब नराम्रो भएर निराश हुने भन्नेचाहिं मलाई हुँदैन । मलाई कुनै पनि किताब झुर लाग्दैन । पढेर त्यसको कथा वा पात्रको अवस्थाले निराश र उदास बनाएको चाहिं छ ।
खालिद हुसेनीको ‘थाउजेन्ड स्प्लेन्डेड सन’ उपन्यास पढ्दा त्यस्तो भएको थियो । दुईजना महिलाको यो कथाले समाजको चरित्रलाई छर्लङ्ग बनाइदिन्छ । अफगानिस्तानको कथा भए पनि यसको परिवेश र पात्रहरू हामीसँग मिल्दो छ । यो पढ्दा हामी कहाँ छौं भनेर उदास र निराश भएकी थिएँ ।
५. नेपालमा के कस्तो विषयमा धेरै पुस्तक लेखिनुपर्छ ?
समाजले देख्न नसकेका कोणबाट लेखकले पुस्तक लेख्नुपर्छ जस्तो लाग्छ । सबैले देखेकै चिज मात्र लेखकले लेखेर पुग्दैन । यस्तो पनि रै’छ भन्ने बोध गराउने खालको लेखन हुनुपर्छ । त्यतातर्फ हामीहरूको अध्ययन, अनुसन्धान अलि पुगेको छैन जस्तो लाग्छ ।
६. तपाईंका प्रिय लेखकहरू ?
लेखन शैलीका हिसाबले हारुकी मुराकामी र खालिद हुसेनी । नेपालीमा मलाई सधैं मन पर्ने लेखक महाकवि लक्ष्मीप्रसाद देवकोटा । पछिल्लो समयमा बुद्धिसागर र अमर न्यौपाने ।
८. कलाकार बन्न चाहनेहरूले पढ्नुपर्ने पुस्तक ?
कलाकारले सबैखाले किताब पढेको राम्रो । समाज वा पात्रलाई बृहद् आयाममा हेर्न र आफ्नो कल्पनाशीलता बुझाउन मद्दत पुर्याउने खालका किताब पढ्दा फाइदा हुन्छ । समाज बुझ्न र मान्छे बुझ्न पुस्तकले मद्दत गर्छ । लेखकले गरेको समाज अध्ययनले कलाकारलाई फाइदा पुग्छ । पढ्ने बानी बसालेको राम्रो । जस्तोसुकै कुरा पढ्दा पनि त्यसले कलाकारलाई हानि गर्दैन, फाइदा नै पुर्याउँछ ।
‘मसान’ चलचित्रको हेलेन चरित्रलाई फेरि गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । त्यो पात्रलाई मैले अहिले बल्ल चिने जस्तो लाग्छ । त्यो बेला भने अनुसार मात्रै गरियो । त्यसलाई धेरै तहबाट बुझ्न सकिएको रहेनछ ।
९. एक दिन बिताउन पाए कुन जीवित वा मृत लेखक वा कुनै पात्रसँग बिताउनुहुन्थ्यो ?
‘सेतो धरती’ कि मुख्य पात्र तारासँग बिताउँथें । ‘बोक्सीको घर’ फिल्ममा मैले जुनुको चरित्र निर्वाह गर्दा यो पात्रबाट धेरै कुरा लिएकी छु । सानैमा विधवा भएर खाली सेतो रंगमा जिन्दगी बिताएको मान्छेको रेफरेन्स मैले यो पात्रबाट पनि लिएकी हुँ ।
सिनेमा
१. पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?
स्कुलबाट साथीहरूसँग गएर जोरपाटीको हलमा हेरेको फिल्म ‘कन्यादान’ । प्रकाश थापाको यो फिल्ममा गौरी मल्ल र भुवन केसी हुनुहुन्थ्यो ।
त्यहीबेलादेखि हो गौरी मल्लले मलाई प्रभावित पार्नुभएको । त्यतिबेला मनोरञ्जनका रूपमा हेरिएको थियो । पछि बुझ्दा यो निकै क्रान्तिकारी फिल्म रहेछ । विधवा विवाहको पक्षमा त्यतिबेला वकालत गर्नु चानचुने कुरा होइन । यसले समाजको चेतनालाई चिरेको जस्तो लाग्यो ।
२. कस्ता फिल्म हेर्न मन पर्छ ?
अहिले संसारभरिका फिल्म हेरिसकेपछि कम संवाद भएका, स्लो पेस भएका, विस्तारै बिल्ड हुने स्टोरीहरूप्रति मेरो चाह बढेको छ । यस्ता फिल्म म नेटफ्लिक्समा हेर्छु । फिल्म हलमा भने स्लो भन्दा लार्जर देन लाइफ फिल्म नै मन पर्छ ।
३. साह्रै मन परेका फिल्म ?
‘मुन्नाभाई एमबीबीएस’ मेरो अल टाइम फेवरेट फिल्म हो । हलिउडको ‘द नोटबुक’ र टम ह्याङ्क्सका प्रायः सबै फिल्महरू म जति पनि हेर्न सक्छु । नेपालीमा मीन भामको ‘कालोपोथी’ । यसमा कमर्सियल भ्यालु पनि थियो । हाल सालै नेटफ्लिक्समा हेरेको सिरिज ‘द मेड’ र प्राइम भिडियोको सिरिज ‘पञ्चायत’ पनि मन परे ।
४. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
यसै साता हेरेको भारतीय फिल्म ‘कल्की २८९८ एडी’ । मेरो अपेक्षा बढी भएर पनि हुनसक्छ, यो सोचे जस्तो लागेन ।
५. हेर्ने फिल्म कसरी छान्नुहुन्छ ?
एउटा त वरपरका मानिसहरूको सिफारिस । आईएमडीबी रेटिङ पनि हेर्छु । सबभन्दा धेरैचाहिं ‘वर्ड अफ माउथ’ । आफूलाई मन परेका फिल्ममेकरको फिल्म आउँदा जसले जे भने पनि हेर्छु ।
संजयलीला भन्सालीका फिल्म एकफेर हेर्छु, हेर्छु । जति नै कमजोर भए पनि उनले क्राफ्टमा गर्ने मिहिनेतका लागि पनि हेर्छु । इम्तियाज अली र प्रदीप भट्टराईका फिल्म पनि छुटाइँदैन । कुनै फिल्मचाहिं कलाकारका कारण पनि हेरिन्छ । फिल्म नराम्रै रै’छ भने पनि उसको पर्फमेन्स हेरौं भन्ने हुन्छ ।
६. मन परेका कलाकार वा फिल्ममेकर ?
हलिउडमा मेरियल स्ट्रिप, निकोल किडम्यान र टम ह्याङ्क्स । बलिउडमा आमिर खानका फिल्म मन पर्छ । कंगना रनावत, रणवीर कपुर र आलिया भट्ट । नेपालीमा विपिन कार्की गज्जब लाग्छ । हरिवंश आचार्य र दयाहाङ राईको म पहिलेदेखि नै फ्यान हुँ ।
अचेल प्रदीप खड्काको पनि काम राम्रो लागेको छ । फिल्ममेकरमा प्रदीप भट्टराई, निश्चल बस्नेत र दीपाश्री निरौला । दीपा दिदीको मनोरञ्जक फिल्म बनाउने आफ्नै शैली छ ।
७. नेपालमा कस्ता फिल्म धेरै बनुन् जस्तो लाग्छ ?
सबै खालका फिल्म बन्नुपर्छ । एउटा चलेपछि त्यसलाई नै फलो गर्ने चलन छ । त्यस्तो हुँदा फरक स्वादको कुनै फिल्म बीचमा आयो भने त्यसले सफलता पाउने गरेको छ । ‘बोक्सीको घर’ पनि त्यसरी नै ग्यापमा आए जस्तो लाग्छ । जनारा स्पेसिफिक फिल्म धेरै बनुन् भन्ने लाग्छ ।
८. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्याएको ?
दुइटै मनपर्छ । यथार्थसँग जोडिएर अर्को संसारमा पुर्याउन सक्यो भने गज्जबै हुन्छ ।
घुमफिर र सोख
१. घुमफिर गर्न कत्तिको रुचाउनुहुन्छ ?
म त्यति धेरै यात्रा मन पराउने मान्छे होइन । बाहिर वा विदेश जाँदा पनि म धेरैजसो कोठामै हुन्छु । धेरैजसो ठाउँ कामका लागि घुमेकाले पनि यस्तो भएको होला । कामबाहेक घुम्नैका लागि वा भ्याकेसन भनेर म आजसम्म गएकी छैन ।
२. सबभन्दा धेरै गएको र जान मन भएको ठाउँ ?
धेरै गएको त अमेरिका र अष्टे«ेलिया, इभेन्टहरू धेरै हुने भएकाले । नेपालभित्रका धेरै ठाउँ जान मन छ । मनाङ गएको छैन । कर्णाली जान मन छ ।
३. सबभन्दा मन परेको ठाउँ वा यात्रा ?
हजारभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरे पनि म मुस्ताङ गएकी थिइनँ । यसपालि ‘जय हो’ फिल्मका लागि दुई–तीन पटक गएँ । पहिले त डर थियो तर पुगेपछि साह्रै मनपर्यो ।
४. गीत कत्तिको सुन्नुहुन्छ ? सबभन्दा मन परेका गायक ?
एकदमै धेरै सुन्छु । बिहानपख धेरै गीत सुन्छु । मेरो दिनको सुरुवात नै गीतबाट हुन्छ । बलिउड, फिल्मीदेखि मिनिङफूल र मर्निङ मोटिभेसनल सबैखाले गीत सुन्छु । म्युजिक भिडियोबाट करिअर सुरु गरेको मान्छे भएर पनि होला गीतप्रति अतिरिक्त लगाव छ । मलाई मन पर्ने गायक सुजन चापागाईं, अनुभव जैन, अरिजित सिंह र समीक्षा अधिकारी । सुजन चापागाईंका गीतका शब्द, संगीत र गायन मनैभित्र प्रवेश गर्ने खालका छन् ।
५. आजभोलि कस्ता गीत, कसको गीत सुनिरहनुभएको छ ?
अहिले अनुभव जैन, सुजन चापागाईं, समीर श्रेष्ठ, सुशान्त केसीका गीत सुनिरहेकी छु । यो जेनेरसनलाई चिन्नका लागि पनि उहाँहरूका गीत सुनिरहेकी छु ।
कलाकार नबनेकी भए म पक्का पनि डाक्टर बन्थें । एमबीबीएसको तयारी कक्षा पढ्दै थिएँ । तर, परीक्षा दिइनँ । मलाई लाग्यो– यो परीक्षा पास भएँ भने जीवन अर्कै हुनेछ, मैले चाहे जस्तो हुनेछैन ।
६. के कुराको विशेष सोख छ ?
त्यस्तो खासै कुनै सोख छैन । पहिला टेबलटेनिस खेल्ने र किताब पढ्ने थियो । अहिले यो सबै कामकै अंग जस्तो लाग्छ । फिल्मका पात्रका रूपमा काम गर्दा गर्दा आफ्नो सोख भन्ने नै केही बनेन जस्तो लाग्छ । अबचाहिं कुनै सोखको विकास गर्नुपर्ला ।
७. खानाको कत्तिको सौखिन हुनुहुन्छ ? मन पर्ने परिकार ?
मलाई खानेकुरा मिठो र नमिठो थाहा हुँदैन । पकाउन पनि खासै सौखिन छैन । खान जे पनि मन पर्छ । अमिलो, पिरो भएपछि मिठो लागिहाल्छ । दाल–भात–तरकारी नै मिठो । चिकेन ग्रेभी र टिम्मुर हालेर पिंधेको टमाटरको अचार मन पर्छ ।
राजनीति
१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?
नेपालको राजनीतिमा हामी जनता मात्रै होइन, नेताहरू पनि सही नेतृत्वको खोजीमा छन् जस्तो लाग्छ । समाजमा राजनीतिप्रति वितृष्णा धेरै भएकाले होला, कसैले अलिकति पनि सम्भावना देखायो भने हामी सबै उत्साही भइहाल्छौं ।
२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
राजनीतिमा लाग्नेले सबभन्दा माथि देशलाई राख्नुपर्छ । देशलाई सर्वोपरि राख्ने मान्छे मात्रै राजनीतिमा हुनुपर्छ त्यसपछि बल्ल नेतृत्व क्षमता र भिजनको कुरा आउँछ । तर, मलाई हाम्रा राजनीतिज्ञ/नेताले देशलाई आफूभन्दा माथि राखे जस्तो लाग्दैन । देशलाई मनदेखि माया गर्ने मान्छे त्यो ठाउँमा छैनन् जस्तो लाग्छ ।
३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?
हुनत, मान्छेको जातै स्वार्थी हुन्छ । सक्ने भए नेताहरूको स्वार्थीपना अलि कम गरिदिन्थें । नेताहरूले आफ्ना लागि मात्र नभएर जनताका लागि काम गर्ने, उनीहरूको भविष्य तय गर्ने भएकाले उनीहरू निस्वार्थ हुनु आवश्यक छ ।
४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ?
बाराक ओबामा । उनको जितसँगै डाइभर्सिटीको कुराले संसारमा ल्याएको लहर देखेको पुस्ता भएकाले पनि होला ।
५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
सबैलाई साक्षी मानेर लिइने इमानदारीको शपथ म आफैंसँग लिन्थें । भए जतिको स्वार्थ त्यागेर, मभन्दा विशेष हुँ भन्ने भावना त्यागेर देशलाई आफूभन्दा माथि राख्न सकुँ भनेर स्वअभ्यास गर्थें होला ।
६. एक दिन बिताउनुपर्यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?
म मिसेल ओबामालाई पनि एक हिसाबले नेता नै मान्छु । म उनैसँग एक दिन बिताउँथें । उनको किताब पढेपछि मलाई संसारमा आफूभन्दा पनि योग्य मान्छे छानेर उसलाई अघि बढ्न मद्दत गर्ने मान्छे हुँदा रहेछन् भन्ने बोध भयो ।
सामान्यतया मान्छेमा म नै सबभन्दा योग्य र गतिलो हुँ भन्ने भावना हुन्छ । हामी मौका मिले आफैं अघि बढ्न खोज्छौं । तर, अर्को मान्छेको खुबी देखेर, उसलाई अघि बढ्न मद्दत गर्ने र अगाडि जान सहज बनाइदिने कमै हुन्छन् । मिसेलमा त्यो रहेछ ।
सामाजिक सञ्जाल
१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
अहिले त म सामाजिक सञ्जालको दासी नै भएकी छु । एकदमै धेरै चलाउँछु । ‘बोक्सीको घर’को मार्केटिङ सुरु भएदेखि यो बानी बढ्यो । ६ महिनाजति लगातार चलाएपछि म अहिले यसको एडिक्ट जस्तै भएकी छु ।
केही काम नभए पनि स्क्रोल गरिरहन मन लाग्ने, कसैले केही हाल्यो कि, केही छुट्यो कि जस्तो लाग्ने हुँदोरहेछ । के हेरिरा’छु भन्ने पनि थाहा नहुने । जुन कुराको कुनै मतलब र महत्व छैन, त्यो पनि हेरिने । त्यस्ता अनावश्यक सूचना पनि लिइने ।
के हेरियो भन्ने एकछिन पछि थाहा नहुने । अनावश्यक सूचनाको ठूलो भारीले थिचिरहे जस्तो लाग्छ । कुन धेरै चलाउने भन्ने नै हुँदैन, जुन सुरु गर्यो त्यसमै भुल्छु । यीमध्ये पनि धेरै चलाउने इन्स्टाग्राम हो ।
२. बिहान उठ्नासाथ र राति सुत्नेबेला फोन हेर्ने बानी छ कि छैन ?
एकदमै छ । राति फोन नहेरी निद्रा लाग्दैन, बिहान फोन नहेरी आँखा खुल्दैन । बिहानदेखि फिल्मको बुकिङ कति भयो, कसले के न्युज बनायो भन्ने हेर्दैमा समय जान्छ । सामाजिक सञ्जालले मलाई आफ्नो दासै बनाएको छ ।
३. सामाजिक सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
यसले कतिलाई सहयोग पुर्याएको छ । कतिको जीवन जोगिएको छ । सम्बन्ध जोडिएका छन् । मानिसहरूले चाहिने सूचना र संयन्त्र पनि पाएका होलान् । आफ्नो वरपर कोही नहुँदा पनि यसले सामाजिक हुने अवसर दिएको छ, जोडिने माध्यम दिएको छ । टाढा रहेका मानिससँग जोडिन सकिन्छ । दुःख परेकालाई सहयोग गर्न पनि सकिन्छ ।
तर, अति प्रयोग र गलत प्रयोगले मानिस यसको दास बनिरहेका छन् । मानिसले सामाजिक सञ्जाल होइन, सामाजिक सञ्जालले मानिसलाई चलाइरहे जस्तो देखिन्छ । यसले घृणा जन्माउने र फैलाउने काम पनि गरेको छ । जसले जसलाई जे पनि भन्न सक्ने माध्यम भएको छ । त्यही मान्छे बाहिर भेट्दा र कुरा गर्दा अर्कै हुन्छ । तर, सामाजिक सञ्जालले मान्छेलाई अर्कै बनाइदिएको छ । सञ्जालले कताकता मानिसको चिन्तनलाई भ्रष्ट बनाउने काम गरेको छ कि जस्तो पनि लाग्छ ।
४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना बढी फैलाउने काम गरेको छ ?
अहिले ट्रान्जिसन फेजमा छ जस्तो लाग्छ, त्यसैले गलत सूचना फैलिएको जस्तो देखिन्छ । अन्तिममा यो वैकल्पिक सूचना सञ्जालका रूपमा रहन्छ जस्तो लाग्छ । पछिसम्म यसको प्रभाव नराम्रोभन्दा राम्रो नै बढी होला ।
५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
मान्छेले जहिले पनि सजिलो खोज्छ । तर, अहिले त खानेकुरा देखि सबै कुरामा मानिस पुरानैतिर फर्किइरहेको छ । अर्गानिक, मौलिक र प्रकृतितिर फर्किइरहेकाले डिजिटल डिस्ट्रयाक्सनबाट किताबतिर मान्छे फर्किन्छ जस्तो लाग्छ । फेरि पुस्तक पढ्ने मान्छेका लागि पुस्तकको गन्ध र स्वाद बेग्दै हुन्छ ।
पेशा/व्यवसाय
१. कलाकार हुनुको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?
कलाकार हुनुको सबभन्दा राम्रो पक्ष भनेको कलाकारलाई पर्दामा हेर्नुभएका कुनै दर्शकले त्यो कलाकारलाई झट्ट आफ्नो सामु पाउँदा केही सेकेन्डका लागि आफूलाई नै बिर्सिनुहुन्छ । उहाँको अनुहार र आँखामा यस्तो खुशी हुन्छ, त्यो कुनै पनि अन्य पेशाका जतिसुकै ठूला र सफल मानिसका अगाडि प्रकट हुन्छ जस्तो लाग्दैन । यो मलाई हालै महसुस भएको कुरा हो । कलाकार भएर धेरैखाले चरित्र बाँच्न पाइन्छ ।
नराम्रोचाहिं व्यक्तिगत जीवन भन्ने हुँदैन । पात्रका रूपमा बाँच्दा बाँच्दै आफ्नो रुचि नै बिर्सिंदै गइनेरहेछ । अनि, जतिखेर ‘प्रिजेन्टेबल’ बन्नुपर्ने हुँदा, त्यो पनि जीवन भएर जाँदो रहेछ ।
२. कुन समयमा तपाईंलाई कलाकार नै बन्नुपर्छ भन्ने लाग्यो ?
सानैदेखि नै । घरमा बाबाका कुराकानी सुनेर नै होला । बाबाले भोगेका जति पनि कुरा थिए, अनुभव, स्ट्रगलका कुरा सुनेरै हो । घरमा खालि फिल्म, रंगकर्म र कला क्षेत्रका कुरा सुन्थें । त्यसले नै प्रेरित गर्यो ।
३. कलाकार नबनेको भए के बन्नुहुन्थ्यो होला ?
म पक्का पनि डाक्टर बन्थें । एमबीबीएसको तयारी कक्षा पढ्दै थिएँ । तर, परीक्षा दिइनँ । मलाई लाग्यो– यो परीक्षा पास भएँ भने जीवन अर्कै हुनेछ, मैले चाहे जस्तो हुनेछैन । एक हिसाबले हेर्ने हो भने डाक्टर भइन्छ कि भन्ने डरले छोडे जस्तै भयो ।
४. तपाईंको कोही रोलमोडल छ ?
एकजना मान्छे भन्ने त छैन । पहिले त पक्कै पनि बाबा–आमाको प्रभाव रह्यो । पछि पढे–लेखेको संसार बुझेका मानिसले प्रभाव पारे । समय क्रममा अहिले त निरक्षर मान्छेका कुरा पनि साह्रै अर्थपूर्ण लाग्छन् । अचेल लाग्छ, प्रभाव भन्ने कुरा अरूभन्दा पनि आफ्नो अवस्थाको कुरा बढी रहेछ ।