नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय टोली इस्ट बंगाल एफसीले जारी साफ महिला क्लब च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ।
काठमाडौंमा भएको च्याम्पियनसिपमा एपिएफ र इस्ट बंगालले लिगको एक खेलअगावै फाइनलमा स्थान बनाएका हुन्। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलोपल्ट सुरु गरेको च्याम्पियनसिपमा पाँच टोली छन्। लिगमा शीर्ष दुई स्थानमा रहने क्लबले फाइनल खेल्ने प्रावधान छ। एपिएफ र इस्ट बंगालले एक खेलगावै शीर्ष दुई स्थान पक्का गरेका हुन्।
अब लिगको अन्तिम खेलमा यी दुई टोलीले नै भिड्दै छन्। आगामी बुधबार एपिएफ र इस्ट बंगालले लिगको अन्तिम खेलमा खेल्नेछन्। जहाँ दुवै टोली जित निकाल्दै लिगको शीर्ष स्थानमा रहेर उपाधि भिडन्त गर्ने लक्ष्यमा हुनेछन्। यो खेल फाइनलअगाडि दुवै टोलीका सुधार गर्ने माध्यम पनि बन्नेछ। साथै उपाधिका लागि दाबेदारी दिने अवसर पनि बन्नेछ।
इस्ट बंगाल तेस्रो खेलसम्म अपराजित रहँदै फाइनलमा पुगेको हो। एपिएफले भने सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन। स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’, प्रीति राई र सविता रानामगरजस्ता खेलाडीबिना नै क्लब च्याम्पियनसिप खेलेको एपिएफले स्कोरिङमा संघर्ष गर्दै आएको छ। यद्यपि, इस्ट बंगाल भने विपक्षी टोलीमाथि गोलवर्षा नै गर्दै फाइनलसम्म पुगेको हो।
अहिलेसम्म तीन खेलमा इस्ट बंगालले कुल १३ गोल गरिसकेको छ। एक गोल पनि सामना नगरेको इस्ट बंगालले बलियो रक्षापंक्ति देखाएको छ। एपिएफले भने समान खेलबाट पाँच गोल गर्न मात्र सकेको छ। पहिलो खेलमा बंगलादेशको क्लब नासरिनमाथि ४–० को जित निकालेको एपिएफले त्यसपछि भने गोलका लागि संघर्ष गर्दै आएको छ।
भुटानको क्लब ट्रान्सपोर्ट युनाइटेडसँग गोलविहीन बन्नुपरेको एपिएफले आइतबार पनि गोलका लागि संघर्ष गर्नुपर्यो। यद्यपि, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपिएफले आइतबार कराची एफसीमाथि १–० को जित निकाल्यो। जुन खेलमा रश्मिकुमारी घिसिङले एक गोल गरिन्।
एपिएफले पनि एक गोल पनि सामना गर्नुपरेको छैन। तथापि, एपिएफले बलियो टोलीको सामना गर्नुपरेको छैन। किनकि कराची यस च्याम्पियनसिपमा एक गोल पनि नगरी बाहिरिएको टोली हो।
पुछारका दुई टोली ट्रान्सपोर्ट र नासरिनले पनि एक गोल पनि गर्न सकेका छैनन्। त्यसैले एपिएफको रक्षापंक्तिको परीक्षण हुन पाएको छैन। त्यसैले इस्ट बंगालको बलियो अग्रपंक्ति एपिएफको रक्षापंक्तिका लागि धेरै चुनौती हुन सक्छ।
एपिएफका प्रशिक्षक जीवेश पाण्डेले कराचीविरुद्ध नै रक्षापंक्तिले चुनौती सामना गरेपछि भर्खर चोट सामना गरेकी गीता रानालाई खेलाउनुपरेको थियो। प्रशिक्षक पाण्डेले अग्रपंक्तिमा अझै समस्या देखिएको र त्यसमा सुधार गर्ने अपेक्षा गरेका छन्। ‘हामीसँग नेपालमा उपलब्ध उत्कृष्ट खेलाडी खेलाइरहेका छौं। तर, पनि अग्रपंक्तिमा समस्या भएको छ,’ प्रशिक्षक पाण्डेले भने, ‘पाएका अवसर सदुपयोग हुन सकेको छैन। आगामी खेलमा सुधार गर्छौ।’
उनले खेलाडीहरू घाइते भएकाले पनि पूर्णरूपमा राम्रो प्रदर्शन आउन नसकेको उल्लेख गरे। तीन खेलबाट इस्ट बंगालको ९ र एपिएफको सात अंक छ।
युगान्डाका तीन, घाना र नाइजेरियाका समान एक विदेशी खेलाडीसहित खेलिरहेको इस्ट बंगालले उत्कृष्ट प्रदर्शन गरेको छ। फाइनलमा पुग्न आइतबार इस्ट बंगालले नासरिनमाथि ७–० को गोलवर्षा नै गर्यो। फजिला इक्वापुट एक्लैले पाँच गोल गरिन्। उनको यस च्याम्पियनसिपमा यो सातौं गोल हो। जुन संख्याको एपिएफको टिम गोलसंख्याले पनि भेट्टाउन सक्दैन। त्यसैले पनि बुधबार उनी एपिएपका लागि चुनौती बन्न सक्नेछिन्।
एपिएफका प्रशिक्षक पाण्डेले इस्ट बंगालसँग आक्रामक रणनीतिमा नै खेल्ने बताएका छन्। इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसानले पनि एपिएफ राम्रो टोली भए पनि जित निकाल्ने लक्ष्यसहित खेल्ने बताए।
‘एपिएफका धेरै खेलाडी भारतमा खेलिसकेका छन्। उनीहरू राम्रा छन्। हाम्रा खेलाडीले उनीहरूविरुद्ध धेरै राम्रो खेलिरहेका छन्। हामी उनीहरूविरुद्ध जित निकाल्ने लक्ष्यसहित खेल्छौं,’ प्रशिक्षक एन्थोनीले भने, ‘लिग र फाइनल दुवै खेलमा हराउँछौं।’
प्रशिक्षकले भनेजस्तो इस्ट बंगालले प्रदर्शन पनि गरिरहेको छ। एपिएफले आइतबार कराचीविरुद्ध धेरै अवसर सिर्जना गरेको थियो तर फिनिसिङ चुक्दा साँघुरो जितमा नै चित्त बुझाउनुपर्यो। भारतीय महिला फुटबलकी अनुभवी डिफेन्डर असलादेवीको नेतृत्वमा रहेको इस्ट बंगालसामू एपिएफले थोरै अवसर पाउन सक्छ। त्यसलाई सदुपयोग गर्न सके मात्र साफ क्लबको च्याम्पियनसिपको पहिलो उपाधि घरमा नै राख्ने एपिएफको लक्ष्य पूरा हुन सक्छ।
कराचीमाथि एपिएफको संघर्ष
३०औं मिनेटमा कराचीले पहिलो अवसर बुन्यो। पेनाल्टी बक्सबाहिरबाट लाउरेन्स बेरीको प्रहार माथिल्लो बारबाट बाहिरियो। त्यसको चार मिनेटमा सरु लिम्बुले करिब २२ यार्ड टाढाबाट गरेको प्रयास पोस्टको दिशामा रहन सकेन। ४४औं मिनेटमा एपिएफको डिफेन्स गल्तीमा कराचीले गोल गर्ने अवसर पायो।
पेनाल्टी बक्सभित्र हीरा भुजेलको मिस पास मोहमौद जेब्राहले नियन्त्रणमा लिइन्। उनले नजिकबाटै गरेको सट एपिएफकी गोलकिपर अञ्जना रानामगरले बचाइन्। पहिलो हाफको थप समयमा एपिएफले लामो दूरीबाट गरेको सट कराचीकी गोलकिपर जियाना जिभराजले रोकिन्।
रेनुका नगरकोटीले २२ यार्डबाट गरेको प्रहार सफल भएन। यससँगै पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो। दोस्रो हाफमा एपिएफले सुरुआती अग्रता लियो। ५२औं मिनेटमा रश्मिको हेडर गोलबाट एपिएफले अग्रता लिएको हो। लेफ्ट साइटबाट रेनुकाले दिएको क्रस सदुपयोग गर्दै रश्मिले गोल गरिन्।
५८औं मिनेटमा कराचीले उत्कृष्ट अवसर बुन्यो। एपिएफकी गोलकिपर अञ्जना अगाडि बढेको अवस्थामा कराचीकी सुहा हिरानीले दोस्रो बार च्याप्दै सट प्रहार गरिन्। तर, अञ्जनाले त्यो प्रहार असफल बनाइन्।
६५औं मिनेटमा रश्मिकुमारीले गोल गर्ने उत्कृष्ट अवसर गुमाइन्। सरुको उत्कृष्ट थ्रु बललाई नियन्त्रणमा लिए पनि रश्मिकुमारीले फितलो प्रहार गरिन्।
पेनाल्टी बक्सभित्रबाट उनले वान भर्सेस वानको स्थितिमा बाहिर प्रहार गरेकी हुन्। ६९औं मिनेटमा एपिएफको अग्रता दोब्बर बनाउने प्रयास कराचीकी गोलकिपर जियानीले असफल बनाइन्। करिब आठ यार्डबाट रश्मिको सट जियानीले उत्कृष्ट बचाउ गरिन्।
एपिएफले ७०औं मिनेटमा उत्कृष्ट गोल गर्ने अवसर बुन्यो। निशा थोकरले लामो दूरीबाट गरेको प्रहार जियानीले मुस्किलले पन्च गर्दै बाहिर पठाइन्। त्यसपछि पनि गोल हुन सकेन र एपिएफले दोस्रो जित निकाल्यो।
लामो समय घरेलु लिगबिना नै खेलिरहेको पाकिस्तानको कराची भने गोलविहीन भएर च्याम्पियनसिपको यात्रा टुङ्ग्याउन बाध्य भयो। यद्यपि, कराचीले जोर्डन र ट्युनिसियाका खेलाडी अनुबन्ध गर्दै नेपाल आए पनि गोल गर्न भने सकेन।
लगातार चौथो हारसँगै कराची जितविहीन रहँदै बाहिरियो। चार खेलबाट कराचीले समान दुई बराबरी र हार बेहोर्यो। इस्ट बंगालको दुई खेलबाट ६ अंक र नासरिनको दुई खेलबाट एक अंक छ।
प्रकाशित: २९ मंसिर २०८२ ०६:१२ सोमबार
