यतिबेला गायत्री अधिकारी आफ्नो छुट्टै पहिचान भएकी आख्यानकार हुन्। मेरो हकमा गायत्री अधिकारीलाई चिन्ने सूत्र हुन् विशिष्ट पाठक उदय अधिकारी। त्यसो त मलाई साहित्यमा पाइला चाल्न सधैं घच्घच्याउने दाजु हुन् उदय अधिकारी। पञ्चायत कालमा सञ्चालित समाज सेवा युवा क्लवदेखि नै उहाँसँगको चिनजान। त्यतिबेला उहाँको घर मेरो लागि साहित्यिक तीर्थस्थल। हप्तामा कम्तीमा एकपटक त्यहाँ नपुगे मेरो साहित्यिक भोक नमेटिने। यसरी नै चल्यो मेरो पचासको दशक। त्यही क्रममा चिनेको हुँ गायत्री अधिकारीसँग। उनी साहित्यमा आइन् सुरुमा अश्रु अधिकारीका नामले तर कृति आउने बेलामा भने गायत्री अधिकारीकै रूपमा पढ्न पायौं हामीले।
मैले चिन्दा गायत्री अधिकारीले पहिला मुहार चित्रहरू कोर्थिन्, त्यो पनि सिसाकलमले। मैले त्यस्ता चित्रहरू निकै ध्यान दिएर हेरेको छु। उदय दाजुको सङ्गतले गायत्री भाउजूलाई नपढी रहनै दिएन। पढ्दै गएपछि लेखूँलेखूँ लाग्नु स्वाभाविकै हो। पहिला कविताका माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरेको भए कृति आयो कथाको। त्यसपछि दोस्रो कृति आएको छ, उपन्यासको। अहिलेलाई गायत्री अधिकारीसँगको परिचयका कुराहरू यति भन्दा बढी नभनूँ होला। नत्र त यो समीक्षा नभएर व्यक्तिवृत्त बन्ला भन्ने डर छ मलाई।
गायत्री अधिकारीको आख्यानयात्रा कस्तो छ?
प्रायः लेखकको लेखनको प्रारम्भ भनेकै अध्ययन हो। अध्ययनले खारिएपछि लेखनमा आएको खण्डमा त्यसमा निखार आउँछ। गायत्री अधिकारीका हकमा पनि अध्ययनबाट प्राप्त ज्ञान र समाजबाट आर्जित अनुभव नै उनको लेखनको मूल कडी हो। त्यसो त कोभिडको सन्त्रासले कतिको ज्यान लियो, कतिले मानसिक सन्तुलन गुमाए। यो सन्त्रासले केहीलाई भने लेखक बनाएर समाजसामु ल्यायो। हो, त्यस्तै स्रष्टा हुन् गायत्री अधिकारी पनि।
गायत्री अधिकारीले फाटफुट एकदुई कथा छपाएपछि एकैचोटि कृतिकारका रूपमा ‘निर्णय’ कथासङ्ग्रह २०७७ लिएर पाठकसामु आएकी हुन्। उनको त्यो आख्यानयात्रा त्यतिमा मात्र सीमित रहेन, कथासङ्ग्रह निस्केको चारै वर्षमा ‘वर्तमान’ उपन्यास २०८१ लिएर पाठकसामु पुनः देखा परिन्।
हाल बजारमा आएको उनको त्यो उपन्यासको चर्चा सुन्न पाइन्छ। फुटकर रूपमा पाठकसामु आउन त्यति मन नपराउने उनका यति नै हुन् प्रकाशित कृतिहरू। त्यसो त उनका फुटकर कविता, गीत र गजलहरूले पनि प्रकाशनको साइत हेरिरहेका होलान्, त्यो साइत कहिले हो भनेर ठ्याक्कै भन्न सकिने कुरा भने मेरो बसमा छैन।
‘वर्तमान’ उपन्यासको मूल कथ्य के हो?
गायत्री अधिकारीको ‘वर्तमान’ उपन्यासको प्रकाशन सुन्दर स्वदेश पब्लिकेशनले गरेको हो। जम्मा १०३ पृष्ठको आयाम र सात खण्डमा फैलिएको यो वर्तमान उपन्यासको केन्द्रीय कथ्य भनेकै वैदेशिक रोजगारीमा जाने र उतै बस्ने समकालीन समस्यको चित्रण गर्नु हो। यो उपन्यासभित्र देशमा कामको अभाव हुनु, काम पाउनकै लागि निकै मेहनत गर्नुपर्ने स्थिति हुनु, काम पाइए पनि गुजारा चलाउने स्थिति मात्र देखिनु, व्यापारव्यावसाय चौपट हुनु, विचौलियाको दबदबा हुनु, देशमा बस्न नस्कने स्थिति भएपछि युवा जनशक्ति विदेश पलायन हुनु, त्यसका कारण गाउँ उजाड हुनु, गाउँमा बसेका वृद्ध बाआमाले औषधि उपचार नपाउनु, बुढ्यौलीका कारण बेलामा खाना नपाउँदा कुपोषणको सिकार हुनु, गाउँमा हेरचाह गर्ने मान्छेको अभावका कारण कतिपय वृद्धवृद्धाको अकालमा ज्यान जानु जस्ता हामीले देखेका र भोगिरहेका समस्याको चित्रण मार्मिक तरीकाले गरिएको छ। समग्रमा यो उपन्यासको कथ्य यही समकालीन समस्याको वरिपरि घुमेको छ।
यहाँ उपन्यासको घटनाक्रमलाई पुष्टि गर्न उपन्यासभित्रबाट केही साक्ष्य सापट लिइएको छ। सुरुमा उपन्यासको एउटा साक्ष्य हेरौँ:
“आमा हामी आइपुग्यौँ भन्दै छोरी लिएर दया भित्र पस्यो। पछिपछि छोरो र झोला लिएर लखतरान भएकी मुना पनि भित्र पसेर खाटमा बसिन्। पुरानो खाटमा रङै नचिनिने मैलो खुम्चिएको, ठाउँठाउँमा च्यातिएको तन्ना ओच्छ्याएको थियो। कालो र मैलो सिरानीमा टाउको राखेर आमा दलिनतिर हेर्दै सुतेकी थिइन्।
बा पनि उस्तै हालतमा अर्को खाटमा सुतेका थिए। एकैछिनमा गाउँबाट मान्छेहरू ओइरिएर घन्टाघेर लाए।” (पृष्ठ, ४४)
माथिको साक्ष्यमा छोराछोरी विदेशिएका कारण घरमा बसेका बाआमा कुपोषणको शिकार भएको कुरा उतारिएको छ। समयमै छोराबुहारी आएका कारण उनीहरूको ज्यान जानबाट जोगिएको देखाइएको छ। त्यसरी सेवा गरेर बस्न नसकेका कारण पुनः अमेरिका फर्केको सन्दर्भमा आएको अर्को साक्ष्य हेरौँ:
“बाआमा बिरामी हुँदा दयाको परिवार नै नेपाल गएर दुईचार महिनासम्म सेवा गरेर सहयोगीको व्यवस्था मिलाएको थाहा पाएर होला सायद चट्टानझैँ जमेर बसेका गङ्गाराम जापानबाट अझै नेपाल आएका थिएनन्। बरु सानी बाआमा बिरामी भएको थाहा पाएपछि अस्ट्रेलियाबाट गएर दुईतीन महिना बसेर सेवा गरिछन्।” (पृष्ठ, ८५)
आफ्नो र सन्तानको भविष्य हेर्दा बुढा भइसकेका बाआमाका लागि अर्को सहयोगी राखेर विदेश फर्कने गरेका सन्तानको बाध्यतालाई माथिको साक्ष्यमा आएको छ। त्यस्तै बाको देहान्त भएपछि एक्लै परेकी आमालाई विदेश लान चाहेको भए पनि आमाले जान नमानेको सन्दर्भमा आएको यो साक्ष्य हेरौँ:
“म त्यहाँको भाषा जान्दिनँ। तिमरु काममा जान्छौ। त्यहाँ न वल्लो पल्लो घर जान र गफ गर्न नै पाइन्छ, न मन लागेर यसो घुमौँ न त भनेर एक्लै निस्कन सकिन्छ। त्यस्तो सकस हुने ठाममा गएर यस्तो बुढेसकाल लागेको मान्छेले कसरी दिन काट्नी? मलाई आफ्नै देश, आफ्नै गाउँ, आफ्नै चालचलन मनपर्छ। दुःखै पाए नि आफ्नै घर बस्छु। मलाई बुहारीले पकाएर दिएनी, यी नानीले दिएनी खाने भातै हो।” (पृष्ठ, ८६)
माथिको साक्ष्यमा विदेश गएर पनि भाषाको समस्या हुने, एक्लै घुम्न नसक्ने र त्यसका कारण सकस हुने भएकाले बुढाबुढी छोराछोरीसँग जान नमान्ने अवस्थाको चित्रण गरिएको छ। त्यस्तै तलको साक्ष्यमा आमाको पनि देहान्त भएको अवस्था देखाएको छ:
“आमाको सबै काजकिरिया सकिएपछि दया फेरि भावुक बन्यो। उसलाई गाउँ शून्य लाग्छ, घरआँगन, वरपरका पाखापखेरा मौन छन्। आमाको मिठो आवाज गुञ्जिने छैन अब लमजुङभरि। न बाको साहसको बिम्ब भेटिन्छ कतै।” (पृष्ठ, १०३)
माथिको साक्ष्यमा आमाको देहान्तबारे चित्रण गरिएको छ। त्योभन्दा पहिला बाबुको देहान्त भइसकेको हुन्छ। यसरी छोराछोरीका लागि बाआमा नै सबै कुरा हो। उनीहरूलाई गुमाउनु पर्दा सिङ्गो संसार नै रित्तो भएको महसुस हुन्छ भन्ने देखाइएको छ।
यो उपन्यासभित्र यस्ता घटनाहरू निकै छन्। ती घटनाहरूको समुचित विकास गरी सिङ्गो उपन्यास तयार पारिएको छ। यसरी नेपाली गाउँको विरहको कथा देखाउनु यो उपन्यासको केन्द्रीय कथ्य हो भने यसमा प्रेम, विछोड, पारिवारिक मिलन, अन्तरकलह तथा द्वन्द्व आदिको चित्रण यसका थप कुराहरू हुन्।
हामीले भोगिरहेको यथार्थ र ‘वर्तमान’ उपन्यासको प्रस्तुतिमा के मेल छ?
हिजोआज नेपालीहरू अत्यधिक मात्रामा विदेश पलायन हुने गरेका कारण नेपालका गाउँहरू रित्ता हुँदै गएका छन्। देशमा खोजे जस्तो काम नभएको र काम पाइए पनि गुजारा चलाउनसमेत कठिन हुने गरेका कारण प्रतिदिन गाउँका युवाहरू पलायन हुने गरेका कारण यस्तो समस्या बढ्दै गएको छ। यसको असर घट्नुको सट्टा झन् बढ्दै गएको छ। यही राष्ट्रिय समस्याको चित्रण गर्नु यो ‘वर्तमान’ उपन्यासको मुख्य विषय वा प्रमुख सन्दर्भ हो।
सात खण्डमा विभक्त यो ‘वर्तमान’ उपन्यासको पहिलो खण्ड निकै लामो छ भने अन्य खण्डहरू ठिक्क खालका छन्। तृतीय पुरुष शैलीको अवलम्बन गरी लेखिएको भए पनि उपन्यासको अन्त्यमा लेखकले प्रमुख पात्र दयालाई बोल्न नलगाएर आफैँ म पात्रका रूपमा चित्रण गर्नु यसको कमजोरी हो। त्यस्तै यसमा घटनाको विकास एकदम छिटोछिटो गरिएको छ।
अझ यसमा पात्रको बाल्यकालको चित्रण गर्दा त्यतिबेलाको द्वन्द्वग्रस्त देशको अवस्थाबारे मौन बस्नु लेखकले समयबारे गरेको अनावश्यक उदासीनता हो। यसले यथार्थवादी शैलीमा लेखिएको यो उपन्यासको विश्वसनीयतामाथि पनि प्रश्न उठाएको छ। यस्ता केही झिनामसिना कमजोरी भए पनि उपन्यास नै लेख्ने आँट गरेकामा गायत्री अधिकारीलाई हार्दिक बधाई छ।
अन्त्यमा उनको ‘वर्तमान’ उपन्यासको अपार सफलताको शुभेच्छाका साथ अहिलेलाई कमल रोक्छु। गायत्री अधिकारीको आख्यानयात्रा निरन्तर अगाडि बढोस् यही शुभेच्छा छ मेरो।
प्रकाशित: १० वैशाख २०८२ १३:१३ बुधबार