काठमाडौं । बलिउडमा पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्छन् कबीर खान । ‘काबुल एक्सप्रेस’बाट निर्देशनमा होमिएका उनले त्यसयता ‘न्युयोर्क’, ‘एक था टाइगर’, बजरङ्गी भाइजान’, ‘८३’, ‘चन्दु च्याम्पियन’ लगायतका सिनेमा निर्देशन गरिसकेका छन् ।
यसै साता उनी काठमाडौंमा थिए । फिल्म साउथ एसिया महोत्सवको प्रमुख अतिथिका रुपमा उनी काठमाडौं आएका हुन् । कबीरले यही महोत्सवमा आफ्नो डकु–ड्रामा ‘द फर्गटन आर्मी’ बाट २५ वर्षअगाडि सन् १९९९ को संस्करणमा ‘ग्य्रान्ड जुरी अवार्ड’ हात पारेका थिए ।
फिल्म साउथ एसियाको उद्घाटन सत्रमा सम्बोधन गर्दै कबीरले सो अवार्ड नै आफूले आफ्ना कामका लागि पाएको पहिलो अवार्ड भएको स्मरण गरे । सो अवार्डले नै आफूलाई फिल्म निर्माणमा अगाडि बढ्न मद्दत गरेको उनले बताए ।
आज बलिउडको मूलधारे सिनेमामा आफ्नो बेग्लै नाम र पकड बनाउन सफल कबीरसँग महोत्सवका दौरानमा संवाद गरिएको छ । संवादमा उनले कथाले नेपाल खोजेको दिनमा सिनेमा छायाङ्कन गर्ने आउने बताउनुका साथै फिल्म क्षेत्रमा भविष्य खोज्न चाहनेहरुले प्रशस्त अध्ययन र सिनेमा हेर्नुपर्ने सुझाव दिए । निर्देशक आफूले भन्न खोजेको कथामा अडिग भएर कथाको माग अनुसारको पटकथा लेख्नुपर्ने उनको धारणा छ । यसका लागि अध्ययनसँगै ती चीज पहिचान गर्नसक्ने क्षमता सो व्यक्तिभित्र हुनुपर्ने उनले बताए ।
प्रस्तुत छ, बलिउड निर्देशक कबीर खानसँग राष्ट्रिय समाचार समिति (रासस)ले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंले फिल्ममेकर बन्नेबारे कहिले सोच्नुभयो ?
यो एउटा क्रमिक प्रक्रिया जसरी सुरु भयो । मलाई स्टिल फोटोग्राफीमा रुचि थियो । म पदयात्रामा धेरै नै जाने गर्थें । यसले गर्दा म आफू जहाँ घुम्न जान्थें, ती ठाउँहरुलाई कैद गर्ने गर्थें । यिनै कुराबाट म यो दृश्ययात्रामा छिरें । स्कुल-कलेजमा मैले केही मात्रामा रङ्गमञ्च पनि गरें । थाहै नपाई सिनेमाप्रति निकट हुँदै गइयो । मेरी आमा एकदमै सिनेमाप्रेमी हुनुहुन्थ्यो । उहाँले नै हामीलाई धेरै सिनेमा देखाउन लैजानुभयो । सिनेमाप्रति एक प्रकारको माया थियो तर त्यहाँ म व्यावसायिक रुपमै हुनेछु भनेर चाहिं कुनै सोच बनाएको थिइनँ । स्नातक तह सकेपछि मात्रै यता लागें ।
मेरी दिदी एउटा फिल्म स्कुलमा आवेदन दिंदै हुनुहुन्थ्यो, अनि मैले पनि मेरा लागि पनि एउटा प्रवेश फारम ल्याइदिन भनें । मैले विना कुनै सोच आवेदन दिएँ र जामिया फिल्म स्कुलमा प्रवेश पाएँ । जब मैले यो सुरु गरें, तब मैले यो कुरा महसुस गरें । जब फिल्म स्कुलमा मेरो प्रवेश भयो, तब यो नै त्यो कुरा हो जससँग म प्रीतिकर हुनेछु भनेर सोच्न थालें ।
जामिया प्रवेशअघि तपाईंको झुकाव कस्ता सिनेमातिर हुन थाल्यो ?
मैले हरप्रकारका सिनेमा हेरें । घरमा हामी हरप्रकारका सिनेमाहरु हेर्थ्यौं । मेरी आमाका प्रिय कलाकार अमिताभ बच्चन थिए, उहाँ श्याम बेनेगलका सिनेमाको पनि प्रशंसक हुनुहुन्थ्यो । त्यसकारण हामी धेरै प्रकारका सिनेमा हेर्थ्यौं ।
सिनेमा कर्म गम्भीर काम हो भन्ने बुझेपछि तपाईंले हेर्ने सिनेमाको छनोटमा कुनै परिवर्तन आयो कि ?
यो बुझिसक्दा म फिल्म स्कुलमा आइसकेको थिएँ र सिनेमासँगको परिचय फराकिलो हुन थालिसकेको थियो । हामी संसारभरका हरप्रकारका सिनेमा हेर्न थालिसकेका थियौं । अब तपाईंले ठ्याक्कै कुन कुन सिनेमा हेर्नुभयो भनेर सोध्नुभयो भने यो-यो खाले भनेर ठ्याक्कै भन्न सक्दिनँ तर भारतीय फिल्मकर्मीमा कसलाई पछ्याइयो भन्नुहुन्छ भने ती व्यक्ति मणिरत्नम हुन् । मणिरत्नमका सिनेमामा सधैं मानवीय कथाहरु हुने गर्छन्, जसको नेपथ्यमा ठूलाठूला राजनीतिक परिदृश्यहरु हुने गर्छन् । म यी कुराहरुतिर आकर्षित थिएँ र मौका मिल्दा यस्तै सिनेमा गर्ने मेरो इच्छा रहेको थियो । मूलधारका सिनेमामा राजनीतिक र ऐतिहासिक सन्दर्भसँग गाँसिएका मानवीय कथा भन्न चाहन्थें ।
डकुमेन्ट्री सिनेमामा लागेकाहरुमा मूलधारका सिनेमा गर्ने उतिसाह्रो मोह भएको पाइँदैन, तपाईंमा यो मोह कसरी जाग्यो ?
म मूलधारको सिनेमा गर्नेमा सधैं स्पष्ट थिएँ । ती दिनमा डकुमेन्ट्री सिनेमाका लागि दर्शकको ज्यादै नै अभाव थियो । ती दर्शकसँग पुग्न मलाई कठिन भइरहेको थियो । आजजस्तो ओटीटी लगायत डिजिटल प्लाटफर्महरु पनि थिएनन् । योसँगै मैले यो देशमा मूलधारका सिनेमा नै शक्तिशाली भएको बुझिसकेको थिएँ र यसैले पनि यतातिर आएँ ।
पहिलो सिनेमा ‘पिच’ गर्न कति गाह्रो–सजिलो भयो ?
सजिलो त भएन । जब म मेरो यात्रालाई फर्केर हेर्छु, त्यो त्यति खराब पनि थिएन । एक वर्षसम्म कुनै निर्माताले लगानी गर्ला भने स्क्रिप्ट बोकेर हिंडिरहेको थिएँ । त्यो समयमा चाहिं मलाई एकदमै कठिन र लामो यात्रा जस्तो लागेको थियो । मेरो पहिलो सिनेमा ‘काबुल एक्सप्रेस’ त्यो समयका हिसाबले पृथक थियो । त्यसमा कुनै प्रेमकथा वा प्रेमका गीतहरु थिएनन्, बिल्कुलै फरक थियो । तर अन्त्यमा अचम्मसँगले बलिउड सिने उद्योगको ठूलो नाम ‘यशराज फिल्म्स’ले मेरो स्क्रिप्ट लियो र तीनवटा सिनेमाका लागि अनुबन्ध समेत गर्यो ।
‘काबुल एक्सप्रेस’पछि निर्देशकका हिसाबले तपाईं बुझाइ र भोगाइ कस्तो रह्यो ?
सपना साकार भए झैं भयो । ठूलो पर्दामा त्यो सिनेमा ल्याउनु एक प्रकारले बोनसजस्तो भयो । म सौभाग्यशाली रहें, जसले आदित्य चोपडाजस्तो निर्माता पायो । उनले मलाई तीन भिन्न प्रकारका सिनेमा बनाउने अवसर प्रदान गरें । मैले यसराजका लागि ‘काबुल एक्सप्रेस’, ‘न्युयोर्क’ र ‘एक था टाइगर’ गरी तीनवटा सिनेमा बनाएँ र ती तीनवटै सिनेमा एकअर्काभन्दा फरक थिएँ । त्यसकारणले त्यो एकदमै ठूलो प्रशिक्षण मैदान जस्तो भयो सिनेमा निर्माणको ।
आदित्यले किन तपाईंको ‘काबुल एक्सप्रेस’ सिनेमा छनोट गरेजस्तो लाग्छ, यो सिनेमालाई लिएर उनको प्रतिक्रिया के थियो ?
‘काबुल एक्सप्रेस’पछि मात्र होइन, बनाउनुभन्दा पहिले पनि धेरै छलफल भए । ती छलफल सिनेमाको सोच–शैली तथा स्क्रिप्टबारेमा थिए । उनले ‘काबुल एक्सप्रेस’लाई नयाँ समय र सोचको सिनेमाका रुपमा सोच्थे । यो उनीहरुले बनाइरहेका सिनेमाभन्दा फरक थियो । उनी त्यसमा परिवर्तन ल्याउन चाहन्थे । उनी यसलाई आफ्नो सहजताभन्दा बाहिरको सिनेमाका रुपमा लिन्थे ।
सिनेमाका लागि तपाईं कथा कसरी खोज्नुहुन्छ ?
जो कोहीबाट पनि कथा आउनसक्छ । तपाईंको व्यक्तिगत अनुभवबाट पनि आउनसक्छ, जस्तो ‘काबुल एक्सप्रेस’मा मलाई आएको थियो । अखबारमा तपाईंले पढ्नु भएको समाचार पनि हुनसक्छ, जस्तो ‘चन्दु च्याम्पियन’ । यो अखबारमा मैले पढेको लेखबाट आएको हो र ती ऐतिहासिक सन्दर्भबाट पनि हुनसक्छन् वा कसैले तपाईंले सुनाएको कुराबाट पनि हुनसक्छ, जसबाट ‘बजरङ्गी भाइजान’ बन्यो । त्यो मलाई विजयन्त्रप्रसादले हैदराबादबाट पठाइदिनुभएको थियो, जुन मलाई पढ्ने बित्तिकै मन परेको थियो । त्यसकारण कथा जुनसुकै तरिकाबाट पाउन सकिन्छ । त्यसपछि हो त्यसलाई स्क्रिप्टमा ढाल्ने ।
पटकथाको छनोट कसरी गर्ने गर्नुहुन्छ ?
तपाईंभित्रको ‘गट फिलिङ इन्स्टिङ’ले छनोट गर्ने हो । तपाईंमा व्यक्तिगत रुपमा त्यसले आकर्षण उत्पन्न गराउनुपर्यो । जब म कुनै कथा सुन्छु, त्यसले मलाई उत्साहित गराउनुपर्यो कि हो यो कथा म भन्न चाहन्छु भनेर । म मलाई यो किन मनपर्यो भनेर विश्लेषण गर्छु र लेखन प्रक्रियामा लैजान्छु तर मेरो पहिलो आधार भने ‘गट फिलिङ इन्स्टिङ’ हो ।
निर्देशकका रुपमा कथा भेटेपछि तपाईं के कुरामा ज्यादा उत्साहित बन्नुहुन्छ ?
जस्तो कि मैले भनिसकें यसमा एउटै चीज मात्र हुन्न, सबै कुराले हुन्छ । जस्तो कि पात्रहरुको जुगलबन्दी, कथाले भन्न खोजिरहेको कुरा, चरित्रको नेपथ्य जसले त्यसलाई निर्माण गर्छ अर्थात् कथाका रूपमा त्यसले तपाईंको संवेदनालाई जगाउनुपर्छ, उत्साहित पार्ने खालको हुनुपर्छ । फिल्मकारका रुपमा यति भइसकेपछि तपाईं सिनेमा सुरु गर्न सक्नुहुन्छ । यो एउटा लामो प्रक्रिया हो । जब तपाईं सिनेमा बनाउने भनेर आउनुहुन्छ, तब तपाईं त्यो सोचप्रति वर्ष–डेढ वर्षसम्म प्रतिबद्ध हुनुपर्छ । त्यसमा तपाईंको लगावले मात्र काम गर्न सक्छ ।

स्क्रिप्ट सिनेमाका लागि महत्वपूर्ण हुन्छ, निर्देशकका हिसाबले स्क्रिनप्लेमा तपाईंका चेकलिस्टहरु के–के हुन् ?
स्क्रिप्टमा स्क्रिनप्ले एकदमै महत्वपूर्ण हुन्छ । स्क्रिनप्लेले कथा कसरी खुल्दै जान्छ, कसरी एउटा दृश्यबाट अर्को दृश्यमा गएर दर्शकलाई बाँधिराख्छ भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । स्क्रिनप्ले लेख्ने कुरा तपाईंले अरू सिनेमा हेरेर सिक्न सक्नुहुन्छ । किताब अध्ययन गरेर पनि सक्नुहुन्छ । यी कुराले सहयोग गर्छन् नै, तर तपाईंभित्र प्रतिभा भने हुनैपर्छ । प्रशंसा गरिएका अरुका स्क्रिप्ट पनि पढ्नुपर्छ । यो निरन्तरको सिकाइ प्रक्रिया हो । प्रत्येक सिनेमाले भिन्नभिन्न स्क्रिनप्लेको माग गर्छ, त्यसकारण तपाईंले भन्न खोजेको कुरालाई अनुभूति गर्नुपर्छ र कसरी भन्न चाहेको हो त्यो बुझ्नुपर्छ । किनकि कथाअनुसार त्यो कहिले लिनियर त कहिले नन–लिनियर हुने गर्छ ।
एउटा फिल्मकर्मीले धेरैभन्दा धेरै सिनेमा हेर्नुपर्छ कि पढ्नुपर्छ ?
दुवै गर्नुपर्छ । यसले भिन्न संसारका मानिसहरूको अभिव्यक्ति हेर्ने झ्याल प्रदान गर्छ । जसको अनुभव वा पढाइ तपाईंले गर्नुभएको छैन । अध्ययन र सिनेमा हेर्ने दुवै कामले एकदमै सहयोग गर्छ । भिन्न दृष्टिकोण बुझ्न, वरिपरि के भइरहेको छ त्यो बुझ्न, संसारमा मानिसहरु के कसरी सोचिरहेका छन्, उनीहरुका अभिव्यक्ति, शिल्पका बारेमा बुझ्न सहयोग गर्छ । मलाई धेरैभन्दा धेरै सिनेमा हेर्ने र अध्ययन गर्ने बाहेकका अरू विकल्प छन् जस्तो लाग्दैन ।
सिनेमा सफल हुँदा र असफल हुँदा निर्देशकका रुपमा तपाईं के सोच्नुहुन्छ ?
कुनैबेला किन काम गरे–गरेनन् भनेर विश्लेषण गर्ने कोसिस गर्छु । कुनै बेला फेरि त्यो कुरा बुझ्न समय लाग्नसक्छ । तर मलाई के लाग्छ भने सिनेमा सफल हुँदामा ज्यादा उत्साहित हुने र असफल हुँदैमा धेरै गम्भीर हुनुहुँदैन । यो खेलको नियम नै त हो ।
सफलता र असफलताले तपाईंको सिनेमाप्रति रहेको भिजनलाई तपाईंबाट पर लैजान सक्दैन । तपाईंले भन्न खोजेको कथा पनि प्रभावित हुँदैनन् । सफलता–असफलता दुवै कुराबाट तपाईं प्रभावित बन्नुहुँदैन ।
निर्देशकका हिसाबले नयाँ फिल्मकर्मीका लागि तपाईंका केही सुझाव छन् ?
मलाई लाग्छ तपाईं आफ्नो दृष्टिकोण र दृश्यमा अटल हुनुपर्छ । यो उद्योगमा नामदाम र चर्चाका कारण छिट्टै पथान्तर हुने सम्भावना रहन्छ । यो हुँदा यी नै मा आफूलाई हराउने खतरा रहन्छ । प्रत्येक सिनेकर्मीको आफ्नो आवाज हुन्छ र त्यो हराउने खतरा हुन्छ । मानिसहरुले तपाईंको सिनेमालाई एउटा हस्ताक्षरका रुपमा हेरिराखेका हुन्छन् । त्यसैले तपाईं त्यसमा अडिग भइराख्नु जरुरी छ ।
केही वर्षयता दक्षिण भारतीय सिनेमाहरुले आफ्नो प्रभाव विस्तार गरिरहेका छन् । बलिउडले त्यताका सिनेमालाई कसरी हेरिरहेको छ ?
यो एउटा स्वागतयोग्य परिवर्तन हो । हामीले भारतमा यो बलिउडको, यो दक्षिणको वा यो पञ्जाबको सिनेमा भन्नु भन्दा पनि यी भारतीय सिनेमा हुन् । हामीले दर्शकलाई हलसम्म ल्याउन सफल भइरहेका छौं, यो नै महान् उपलब्धि हो । जसको फाइदा समग्र उद्योगलाई नै पुगिरहेको छ ।
बितेका केही समय बलिउडले सोचेजस्तो व्यावसायिक सफलता हात नपारिरहेको बताइन्छ, जुन उनीहरुले पहिले पाउने गर्थे । यसका कारणहरु के होलान् ?
त्यस्तो पनि होइन । कोभिडपछि केही समय हामीले मानिसहरुले अझै पनि सामान्य अवस्थामा फर्किएका छैनन् भनेर सोच्यौं । मानिसहरुमा पहिले झैं सिनेमाघर आउने बानी बसिसकेको छैन । तर केहीपछि नै धेरै भारतीय हिन्दी सिनेमाले ठूलो व्यापार गरेका छन् । पठान, स्त्री २, जवान लगायतका सिनेमाले ठूलो मात्रामा व्यापार गरेका छन् । मानिसहरु अब हलमा आउन थालिसकेका छन् यद्यपि कोभिडअघि जति आउँथे त्यति आइरहेका छैनन् । विस्तारै यो बढ्दै जानेछ ।
तपाईं बलिउडले जस्ता सिनेमा बनाइरहेको छ, ती सिनेमाबाट खुसी हुनुहुन्छ ?
दर्शकका हिसाबले मेरा लागि बनाइरहेको छैन होला तर अरू दर्शकहरुले त रुचाइरहनुभएको छ । व्यक्तिगत रुपले भन्नुहुन्छ भने म पोस्ट कोभिडपछि आएका सिनेमाहरुबाट सन्तुष्ट भइरहेको छैन, त्यस्तो आइरहेको छैन । तर सिनेमाहरु बनिरहेका छन्, मानिसहरु हेर्न आइरहेका छन् जुन एउटा खुसी हुनुपर्ने कारण बनिरहेको छ ।
धेरै दक्षिण भारतीय सिनेमाले पछिल्लो समय नेपाललाई सुटिङ गन्तव्य बनाइरहेका छन् । कबीर खानलाई नेपालमा कहिले सुटिङ गर्दै गरेको देख्न पाइएला ?
मैले फेस्टिभलको संवाद सत्रमा पनि भनिसकेको छु । म नयाँ कथाको खोजीमा रहेको छु र नेपालको सेटिङ भएको राम्रो कथा भेटियो भने म नेपालमा सुटिङ गर्न उत्साहित हुनेछु । नेपाल सुटिङका हिसाबले मनमोहक ठाउँ हो र यो प्राकृतिक रुपमा मात्र नभई काठमाडौंको चरित्र, यहाँका मानिसहरुका कारण पनि राम्रो ठाउँ हो । सही कथा र काठमाडौंको कथा भएमा अवश्य नै मेरो छायाङ्कनस्थल काठमाडौं बन्नेछ ।
यहाँ आएपछि कुनै नेपाली सिनेमा हेर्नुभयो कि भएन ?
छैन । म यहाँ आएको दुई दिन मात्र भयो तर मैले हाल चलिरहेको सिनेमाका बारेमा एकदमै राम्रो चर्चा सुनेको छु, नाम चाहिं पूरा बिर्सें (पूर्णबहादुरको सारङ्गी) । कुनै बिन्दुमा हेर्छु होला तर यो यात्रामा चाहिं अलिक सम्भव छैन किनकि महोत्सवमै व्यस्त भएकाले त्यसका लागि समय निकाल्न सक्दिनँ मैले । स्थानीय दर्शकबाट यसरी साथ पाउनु एकदमै राम्रो कुरा हो । यसरी आफ्नाको साथ पाउनु आफैंमा एउटा महान् कुरा हो ।
तपाईंको अर्को डकुमेन्ट्री फिल्म कहिले हेर्न पाइएला ?
मलाई कहिले पाइन्छ भनेर त थाहा छैन । फिचर फिल्ममै व्यस्त छु त्यसैले कुन बिन्दुमा डकुमेन्ट्री फिल्म बनाउँछु थाहा छैन तर मलाई डकुमेन्ट्री बनाउन मनपर्छ । मलाई यसको संरचनाले उत्साहित बनाउँछ । ड्रामा फिक्सनभन्दा डकुमेन्ट्रीको संरचनाले कथा अझ राम्रोसँग भन्न सकिन्छ ।
तपाईंका आफ्नैमध्येको प्रिय सिनेमा चाहिं कुन हो ?
मेरो सिनेमाबाट भन्नुभयो ? यो भन्न एकदमै गाह्रो छ किनकि यो कसैलाई तपाईंको प्रिय सन्तान कुन हो भनेर सोध्नु जत्तिकै हो । त्यसकारण मेरो प्रिय सिनेमा यो भनेर कुनै नाम दिन सक्दिनँ । तर कहिलेकाहीं सिनेमा निर्माणको प्रक्रियाले चाहिं मनको छेउमा राख्ने काम गर्छ । त्यो सिनेमा बनाउँदाको विधिप्रक्रिया र यात्राले चाहिं एउटा निर्देशकलाई त्यो कथा सिनेमाका लागि लिंदा एउटा लक्ष्य लिएर काम गरिरहेको हुन्छ र त्यसलाई कसरी कुशलतापूर्वक सिनेमामा परिणत गर्नुभयो भन्ने कुराले एउटा उपलब्धि हासिल गरें भन्ने गराउँछ । जस्तै ‘८३’ र ‘चन्दु च्याम्पियन’ यी दुवै सिनेमा मैले पर्दामा म जसरी ल्याउन चाहन्थें, त्यसैगरी ल्याउन सकें । त्यसैले यी दुई सिनेमा मेरो धेरै नै निकट छन् ।