आज सहिद सप्ताहको छैटौं दिन । हामीकहाँ हरेक वर्षको १० देखि १६ माघसम्म सहिद सप्ताह मनाउने प्रचलन छ । यसको संयोजन काठमाडौं महानगरले गर्दै आएको छ । सहिद सप्ताहको पहिलो दिन १० माघ मा सहिद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुस्थित उनको सालिकमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललगायत महानगरका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरेर सुरुआत गरिएको यस वर्षको सहिद सप्ताह भोलि अर्थात् १६ माघमा हुने औपचारिक कार्यक्रमसँगै समाप्त हुनेछ । यसै उपलक्ष्यमा १६ माघका लागि नेपाल सरकारले सार्वजनिक बिदासमेत दिँदै आएको छ ।
जिउँदा सहिद टंकप्रसाद आचार्य १३ माघ २०१२ मा नेपालको १९औं प्रधानमन्त्री बनेपछि सोही साल १६ माघदेखि औपचारिक रूपमा मनाउन थालिएको सहिद दिवस आजसम्म मनाउने गरिएकै छ । यसअघि जेलमा नै सहिद दिवस मनाउने गरिन्थ्यो । नवीनपन भने यसपटकको सहिद सप्ताहमा पनि देखिएन ।
वास्तविक सहिद
नेपाली बृहत् शब्दकोशले सहिदलाई ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति’ भनी परिभाषित गरेको छ । यसरी हेर्दा २०६२–०६३ सालसम्म १९९७ माघमा राणा शासकद्वारा मारिएका, प्रजातन्त्रका लागि लडेका तर मर्छु भन्ने जान्दाजान्दै होमिएका चार सहिद मात्र सहिदभित्र पर्थे । राणाको विरोध गर्दा १० माघ १९९७ मा शुक्रराज शास्त्री, १२ माघमा धर्मभक्त माथेमालाई झुुन्डाएर र दशरथ चन्द र गंगालाल श्रेष्ठलाई १६ माघमा गोली हानी मारिएको थियो । तर, जंगबहादुरविरुद्ध पर्चाबाजी गरेको आरोपमा १९९३ मा झुन्ड्याएर मारेका लखन थापालाई ३ असोज २०७२ को मन्त्रिपरिषद्को बैठकले पहिलो सहिद मानेको छ । लखन थापापछि भने यी ४ जना पर्छन् ।
देश र जनताका लागि लड्नु ठट्टा होइन, उच्च जीवनको मूल्य र मान्यता स्थापना गर्नु पनि हो । माफी मागेर कृपाकोे जिन्दगी बाँच्नेहरूभन्दा स्वाभिमानमा मर्नेहरूको मूल्य लाखौं गुणा बढी हुन्छ । १९९७ सालका सहिदहरूको स्वाभिमान निकै उच्च थियो । राष्ट्रप्रतिको जिम्मेवारीबोधले गर्दा उनीहरूले स्वेच्छाले हाँसेर फाँसीमा चढ्न स्वीकार गरे । यी ७ दिन उनीहरूको त्याग र बलिदानीलाई स्मरण गर्दै उनीहरूबाट प्रेरणा लिएर अघि बढ्ने दिन हुन् ।
ओझेलमा सहिद
स्वर्गीय कवि भूपि शेरचन भन्छन्, ‘हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए !’ तर आजको अवस्था उनले भनेजस्तो छैन । न देशका लागि मर्नेहरू नै छन्, न सहिद भएकाहरूप्रति नै श्रद्धाभाव व्यक्त गर्ने अरू कोही छन् । आज सच्चा सहिदलाई नक्कली सहिदले विस्थापित मात्र होइन गिज्याइरहेको अवस्था छ । देशका लागि हाकाहाकी ज्यान दिने गंगालाल, शुक्रराज, दशरथ र धर्मभक्तजस्ता त आज खोजेर कहाँ पाउनु ?
विगतमा गणतान्त्रिक आन्दोलनमा सहिद भएकाहरू, अंगभंग भएकाहरू र घाइतेलाई समेत आज तिरष्कार गरिएको छ । एउटालाई सत्ताच्युत गराएर अर्कोलार्ई सत्तारोेहण गराउन गरिएको आह्वानमा मर्नेहरूलाई सहिद भनिने चलन आएको छ । आजको लडाइँ नीतिको होइन, सिद्धान्तको पनि होइन, एउटा व्यक्ति ऊ सत्तामा बसिरहन आन्दोलन आह्वान गर्छ, अर्को व्यक्ति उसलाई हटाएर आफू सत्तारोहण हुनका लागि आन्दोलन गर्छ । आम नागरिकहरू यसैका लागि सहिद हुन जान्छन् । यी सिद्धान्तविहीन सहिदका आकांक्षीका कारण सिद्धान्तनिष्ठ सहिदहरू ओझेलमा परेका छन् ।
यद्यपि राणाशासनको अन्त्यदेखि गणतन्त्रको स्थापनासम्म कैयन् सहिदले ज्यानको आहुति दिइसकेका छन् । कति बेपत्ता छन् । कति घाइते, अपांग छन् । तर, आज उनीहरूको जुन सम्मान हुनुपर्ने थियो, त्यति हुन सकेको छैन । उनीहरूले गरेको योगदान नै आजको गणतन्त्र प्राप्तिको मूल आधार थियो । ती सब इतिहासका पाना बनेर बसेका छन् । ‘काम गर्ने कालु मकै खाने भालु’ को अवस्था आज पनि छ । यसैले त भूपि भन्छन्, ‘मरेर सहिद हुनेहरू, जिएर त हेर जिउन झन् गाह्रो छ !’
पातलिँदै सहिद !
जसरी मानक शब्दकोशहरूले स्विकारेको ‘शहिद’ शब्द प्रयोगमा मौलिक स्वरूपमा रहेको मोटो अक्षर पातलिएर ‘सहिद’ भएको छ , त्यसैगरी सहिदको अर्थ, मूल्य र मान्यता पनि पातलिएको छ । हूलमूलमा पर्नेहरू, चोरी डकैतीमा मर्ने, मारिनेहरू, इन्काउन्टरमा मारिनेहरू सहिद बनेर क्षतिपूर्ति पाउनका लागि योग्य हुने अवस्थाका कारण आजकल सहिदको परिभाषा पनि पातलिएको छ । राणाशासनविरुद्ध शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द एवं गंगालाल श्रेष्ठ जसरी लागे, यसैका कारण उनीहरूलाई राणाहरूले प्राणदण्ड दिएका थिए ।
१९९७ सालका सहिदहरूको स्वाभिमान निकै उच्च थियो । राष्ट्रप्रतिको जिम्मेवारीबोधले गर्दा उनीहरूले स्वेच्छाले हाँसेर फाँसीमा चढ्न स्वीकार गरे । यी ७ दिन उनीहरूको त्याग र बलिदानीलाई स्मरण गर्दै उनीहरूबाट प्रेरणा लिएर अघि बढ्ने दिन हुन
आज राजनीतिक खिचातानीले सहिद शब्दको अवमूल्यन जारी छ । मारिने आन्दोलनकारी र मार्ने सुरक्षाकर्मीसँगसँगै सहिद भएका छन् । कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गर्नेहरू स्तुत्य हुन्छन् तर सहिद होइन । तिनलाई सहिद भनिराख्न जरुरी छैन । दुर्घटनामा ज्यान गुमाउने, अपराधीहरूद्वारा मारिने वा घर–झगडामा अकाल मृत्यवरण गर्नेका परिवारलाई राज्यले आर्थिक सहयोग उपलब्ध गराए पनि सहिद घोषणा गर्न हतारिनु जरुरी थिएन । तर, यस्तैमा मर्ने, मारिनेहरू नै सहिदको सूचीमा लामबद्ध छन् ।
नक्कली हाबी
आज वास्तविक सहिदहरू हराएका छन् । नक्कली सहिदहरू हावी भएका छन् । प्रजातान्त्रिक आन्दोलनमा जानेर, बुुझेर लागेर मर्नेहरूको कुनै हिसाबकिताब नै छैन । आतंक, हत्या, हिंसामा लागेर मर्नेहरूलाई सहिद बनाउन राजनीतिक दलहरू तँछाडमछाड गरिरहेका छन् । यसबाट सक्कली सहिदहरूप्रति अन्याय र अपमान भएको छ ।
तत्कालीन राजा महेन्द्रले २०२५ सालमा कस्ता व्यक्तिलाई कुन श्रेणीको सहिदको दर्जा दिने हो भनी गृहराज्यमन्त्री नवराज सुवेदीको संयोजकत्वमा कार्यदल बनाएका थिए । सो कार्यदलले सुुझाव त दियो तर कार्यान्वयन भने भएन । गणतान्त्रिक व्यवस्था आएपछि २०६७ सालमा मोदनाथ प्रश्रितको अध्यक्षतामा कार्यदल गठन भयो ।
कार्यदलले सहिदको तीन श्रेणी तय गरी सुुझाव दियो । मर्छु भन्ने जान्दाजान्दै होमिएका पहिलोथरी, मर्छु भन्ने नजानेर होमिएका दोस्रोथरी र आर्थिक लाभबाट प्रभावित हुनेगरी सहिद बनाउन खोजिएकाहरू तेस्रोथरी गरी सहिदलाई तीन प्रकारमा वर्गीकरण गरी सुुुझाव दियो । सो सुुझाव पनि लागू भएन । आज कुन कस्तो खाले सहिद हो, भालुको रौं कुन दाह्र्री, कुन जुंगा भनेझैं भएको छ ।
मौसमी, सक्कली र वास्तविक सहिदको खोजी आजको चासो हो । अहिले अज्ञात समूहको गोली लागि मर्नेहरू, बस दुर्घटनामा ज्यान गुमाउनेहरूसमेत सहिद भएर १० लाख पाउने अवस्था छ । भागदौडमा मर्नेहरूसमेत सहिद भनिएका छन् । १० लाख पाएका छन् । यहाँ कुरो १० लाखको मात्र होइन, असहायका नाममा करोडौं दिँदा पनि हुन्छ । नसक्नेलाई सरकारले मद्दत गर्ने सामाजिक न्यायभित्रकै विषय हो । तर, नभएको सहिदका नाममा रकम दिँदा वास्तविक सहिदको अपमान हुन्छ कि हुँदैन ? चासो यताको हो ।
गणतन्त्रको माग राख्दै आन्दोलनरत तत्कालीन नेकपा माओवादीले टाउकाको मूल्य स्विकारेर जनताका लागि लडेझैं ती चार सहिदले पनि राणाको विरोध गर्दा गोली ठोकिनेछ भन्ने जान्दाजान्दै पनि जनताकै लागि लडेर प्राण आहुति गरेका थिए ।
यसर्थ, यिनीहरूको योगदानलाई विस्थापित गर्ने गरी अर्को कुनै पनि भाग्दा मरेको, झुक्किएर गोली खाएको वा अञ्जानमा मरेको व्यक्ति सहिद बनाएर अपमान गर्न मिल्दैन । तर, अहिले त्यस्तै भएको छ । गणतन्त्र ल्याउन टाउकाको मूल्य स्विकार्नेहरूभन्दा उनीहरूलाई दमन गर्नेहरू नै अहिले सक्कली गणतन्त्रवादी भएझैं सहिदका हकमा पनि कृत्रिम सहिदहरूकै बोलावाला छ । वास्तविक सहिदहरू ओझेलमा छन् । सहिदकै बलिदानीलाई लिएर राजनीतिको सिँढी चढ्ने भ¥याङ बनाएका नेताहरू कर्मकाण्डी रूपमा दिवस मनाएर ‘खोलो त¥यो लौरो बिस्र्यो’ उक्तिलाई सम्झाएका छन् ।
सहिदहरूलाई पनि स्थानीयकरण, दलीयकरण, जातीकरण र व्यक्तीकरणमा संकुचन गरिएको त छैन ? सोच्नुपर्ने भएको छ । वास्तविक रूपमा देश र जनताका लागि बलिदानीका क्रममा भएको आन्दोलनमा राज्यद्वारा भाग्नका लागि गरिएको उर्दी, माइकिङ, सूचना वा सुरक्षा घेराको प्रवाह नगरी खुल्लमखुला लौ हिम्मत भए गोली ठोक भन्दै छाती तेर्साउनेहरू नै सच्चा सहिद हुन् ।
बलिदानीको रमितामा गएर हेर्दै गरेको तमासामा भएको भागदौडमा सुरक्षित हुनका लागि किनारा लगाउँदा मर्नेहरू लाछी हुन् । इतिहास लाछीहरूको हुनै सक्दैन । इतिहास त वीर योद्धाहरूकै हुनुपर्ने हो । तर, वीर योद्धाहरू आज ओझेलमा छन् । लाछीहरू सहिदको थान्कोमा छन् ।
विगत पनि उस्तै
पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटकपटक थुप्रै योद्धाले शहादत प्राप्त गरेको भए पनि उनीहरूका ’boutमा राज्यले त्यति महŒव दिएको देखिँदैन । २०४६ को जनआन्दोलनमा शहादत प्राप्त गर्ने १९ जनालाई सम्मानस्वरूप सरकारले जनही लाख रुपैयाँ आर्थिक सहयोग भने यसअघि गरिसकेको छ । माआवादी जनयुद्ध, १९ दिने जनआन्दोलन तथा मधेस आन्दोलनका अतिरिक्त यस क्रममा कैयन नागरिकले ज्यान गुमाइसकेका छन् ।
सहिद परिवारका नाममा केहीलाई राहत दिइए पनि कतिपय अझै पनि उपेक्षित छन् । यी सबैका ’boutमा खोजीनिती हुन आवश्यक छ । मरेका मात्र नभएर अंगभंग भई बाँचेका तथा बेपत्ता पारिएकाहरूको पनि खोजीनिती हुन आवश्यक छ । सहिदका अपूरा सपना पूरा गर्न सबै गणतान्त्रिक शक्तिहरू एकताबद्ध भई समृद्धिको यात्रामा हातेमालो गर्न सकेमा मात्र सहिद सप्ताहले सार्थकता पाउनेछ ।
(Visited 7 times, 1 visits today)