८ फागुन, गल्फुटार (काठमाडौं) । बिहीबार बिहान करिब ७ बजे एउटा बोलेरो जिप काठमाडौं गल्फुटारको सडकमा ओहोरदोहोर गर्न थालिसकेको थियो । ‘घण्टी टिनिनिनी, घण्टी टिनिनिनी…नाँच फिनिनिनी…,’ गीतमा लय मिलाउँदै दौडेको सो जिप रास्वपा उम्मेदवार सस्मित पोखरेल घरदैलोमा आउने जनाउँ दिँदै दौडिरहेको थियो ।
काठमाडौं–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार पोखरेल केहीबेरमा गल्फुटारको सम्राट फास्टफुडमा आइपुगे । त्यहीँ थिए– रास्वपाका कार्यकर्ता ।
चियापानमा व्यस्त कार्यकर्ताहरूलाई एकाबिहानै नाचगानको मुड आइसकेको थियो । ‘ए ! रवि दाइको मान्छेलाई नचिन्ने…’ भन्दै कोही गीतमा भाका हालेर नाच्न थाले । कोही चियानास्तामै व्यस्त थिए ।
तर, पोखरेलको टोलीलाई त्यहाँ अलमलिएर बस्ने छुट थिएन । केहीबेरमै उनीहरू हेपाली हाइटतिर निस्कने सुर कसे । निस्कनुअघि उम्मेदवार पोखरेललाई बुढानीलकण्ठ नगरपालिका–७ की वडा सभापति मनिता महर्जनले खादामाला लगाइदिइन् । ‘शुभसाइत’ गरेसँगै टोली निस्कियो ।
सुरुमा २० जनाजति रास्वपाको घरदैलोमा सरिक देखिन्थे । पछि संख्या थपिँदै गयो ।
रास्वपा उम्मेदवार पोखरेल पत्नी सुस्मितासँगै थिए । पोखरेल हात जोड्दै मत माग्थे, सुस्मिता पतिको प्रतिबद्धतापत्र बाँड्थिन् । जोसिला कार्यकर्ता बीचबीचमा नारा घन्काइहाल्थे– ‘…यो देशको मुहार, फेर्नलाई उठ ।’
सडकमै हिँड्दा पनि गाडी रोकेर हात मिलाउने र मतको आश्वासन दिनेको कमी थिएन । यसमा अझै बल पुर्याउन गीत घन्किहाल्थ्यो, ‘जान्नेलाई छान्ने हो…।’ कम्मर मर्काउन सिपालु कार्यकर्ताले हात फिँजारेर ज्यान लर्काइहाल्थे ।
घरदैलो जति रौनकपूर्ण थियो, उति नै संवेदनशील देखिन्थे घरदैलोमा गएका उम्मेदवार पोखरेल र उनका समूह । घरघर पुग्दा बार्दलीमा निस्केर उम्मेदवारकै फोटो खिच्ने र साथ दिने आश्वासनसहित अंगालो हाल्नेको भिड काठमाडौं–५ मा पनि देखियो । ‘बाबुको कुरा कति मनपर्छ । छोराछोरीले पनि त्यही भन्छन्,’ विदेशिएका सन्तानका भनाइ सुनाउँदै हेपाली टोलकी एक महिलाले भनिन् । त्यति भन्ने महिलालाई पोखरेलले ‘टोलकै जिम्मा’ लिएर मत मागिदिन अनुरोध गरे ।
अर्का एक वृद्ध मतदाताले केहीदिन अघि नै भेटेर मत दिने बचन दिएको स्मरण गराए । ‘अस्ति बाबुहरूलाई खड्का टोलमा भेटेको । मैले त भनिसकेँ, हामी सबैको भोट आउँछ,’ उनले भने ।
एकजना महिला उम्मेदवार पोखरेलको बाटो नै कुरेर बसेकी रहेछन् । पोखरेल नजिक पुग्दा हौसिँदै भनिन्, ‘भोट फर चेन्ज । यसपटक ढुक्क हुनुस्… ।’
हेपालीमै गल्लीमा कृष्ण रेग्मी नामका मतदाता भेटिए । ‘कृष्ण रेग्मी मै हो, यता त भन्नैपर्दैन,’ पोखरेललाई देख्नासाथै उनले भनिहाले । समर्थनको संकेत पाएपछि पोखरेलले थप बोल्नुपर्ने अवस्था नै रहेन ।
एक घरमा पोखरेल पुग्दा ‘रवि लामिछाने नभेटी भाछैन’ भन्ने मतदाता पनि भेटिइन् । उनलाई पोखरेलले आफ्नो ‘भिजिटिङ कार्ड’ थमाउँदै ‘पछि यसमा सम्पर्क गर्नु’ भनेर रविसँग भेटाउने आश्वासन दिए । त्यत्तिकैमा ती महिलाले पोखरेललाई चियाको अफर गरिन् ।
पोखरेल मतदाताको घरदैलोमा ढिलो आएको गुनासो गर्नेहरू पनि भेटिए । ‘अहिलेसम्म आउनुभएन भन्ने थियो, आउनुभयो । एकपटक तपाईंहरूलाई हेर्छौँ । काम चाहिँ गर्नुपर्छ,’ हेपालीकै एक मतदाताले चेतावनी मिश्रित भाषामा भनिन् ।
कतिपय मतदाता पोखरेल सोचेभन्दा युवा रहेको भन्दै आश्चर्य व्यक्त गर्ने पनि भेटिए । ‘निकै युवा पो हुनुहुँदो रहेछ । अब मेहेनत गर्ने समय तपाईंहरूकै छ, लागिपर्नुस्,’ एक मतदाताले भने ।
घरदैलोमा खटिएका रास्वपाका कार्यकर्ता बोलीचालीमा पोख्त देखिन्थे । टप विलासबाट ‘शिव कुटी’मा पुग्नासाथ ‘शिव कुटीबाट शिवको आशीर्वाद है हजुर’ भन्दै मत माग्न भ्याइहाले । त्यहाँका अधिकांश मतदाताले विदेशबाट छोराछोरीबाटै नयाँलाई भोट हाल्न अनुरोध आएको सुनाए ।

पोखरेलको टोली मुलबाटोबाट निस्कँदा स्कुटर र बाइकबाटै हातको इशारा गर्दै भोट हाल्ने संकेत गरेका पनि देखिन्थे । बाटामै भेटिएकी ७० वर्षीय तिरकुमारी श्रेष्ठले पोखरेलको शिरमै हात राखेर आशीर्वाद दिइन् । ‘बाबुलाई आशिर्वाद । जितेर फेरि यसैगरी आउनुपर्छ नि’, उनले भनिन् ।
छेउमै उभिएकी अर्की मतदाताले थपिहालिन्, ‘…तर हाम्रो भोट खेर नजाओस् है !’
हेपाली हाइटको शान्त कोलोनीतिर निस्केपछि भेटिए, सुदन तन्डुकार । छोराछोरी विद्यालय पुर्याउन हिँडेका उनी रोकिए र भने, ‘नयाँ जोसका साथ नयाँ नेपाल बनाउनुपर्छ ।’
पोखरेलले आफ्नो प्रतिबद्धतापत्र दिन खोजे । ‘मलाई यो चाहिँदैन । अब तपाईंले जितिसक्नुभयो’, तन्डुकारले प्रतिक्रिया जनाए ।
त्यसपछि भेटिइन्, सचिता जोशी । उनी काठमाडौं–४ की मतदाता रहिछन् । उनले पनि साथ दिने भनेर पोखरेललाई आश्वस्त पार्न खोजिन् । यसरी मतदातासँग भेट्दै रास्वपा टोली हेपाली हाइट घुमिरह्यो ।
उसो त सुरुमा शान्त कोलोनीभित्र रास्वपा टोलीलाई छिर्न दिइएको थिएन । पछि उम्मेदवार नै घरदैलोमा आएको भनेपछि अनुमति आयो । भित्र छिर्दा केही पुरुष मतदाता राउन्ड टेबलमा गफिँदै बसेका थिए । भेट्नासाथ उनीहरूले भने, ‘ल भाइ शुभकामना ।’
भोट माग्दा पोखरेलले आफ्नो घर सुकेधारा रहेकाले टाढाको नठान्न अनुरोध गरे । त्यसपछि अझै त्यहाँका घरघर पुगेर मत माग्न अनुमति दिए । सेक्युरिटी गार्डले गेटको ‘घण्टी’ बजाउँदै मतदाता बोलाउन सघाए । सबै घरका मतदातासँग मत माग्न पोखरेलले भ्याए ।

कोलोनीभित्रकै एक घरबाट ८० वर्षीया मिना अमात्य निस्किइन् । पोखरेलले आशीर्वाद मागिहाले । आशीर्वाद दिनुअघि मिनाले पार्टी सोधिन् । ‘को हो, घण्टी हो ?’
सबैले ‘हो’ भनेपछि शिरमा हात राखिन् र भनिन्, ‘बुढी भएँ । नत्र सँगै हिँड्न मन थियो ।’
मिनाका अनुसार उनी पञ्चायतकालमा सक्रिय राजनीतिमा थिइन् । पछि दिक्क लागेपछि टाढा भइन् । ‘अवसरवादी हुनुहुन्न है । जिताएपछि नगरे फेरि हाम्रै हातमा त हो नि,’ उनले अनुभव र धारणा सँगै सुनाइन् ।
अर्का मतदाताले प्रणय राणाले रास्वपा छाडेकामा ठिक नलागेको सुनाए । ‘उहाँ यतैको हुनुहुन्छ । घर नजिकै छ । पार्टी नछोडेको भए हुन्थ्यो । तपाईंहरूको राजनीतिक कुरा होला,’ ती मतदाताले सुनाए । तर, मत भने यसपटक दिने बताउँदै उनले भने, ‘धोका चाहिँ नहोस् है ।’

शान्त कोलोनीबाट निस्कने बाटोमा ७० वर्षकी सुशीला केसी भेटिइन् । उनको घर झापा चन्द्रगढी रहेछ । पहिले नेपाली कांग्रेसलाई मत हालेको जानकारी गराउँदै उनले यसपटक मत बदल्ने बताइन् ।
पोखरेल घरदैलोमा पुग्दा खुल्ने मतदाताले आफू मत बदल्न तयार रहेको बताइरहे । कतिपयले ‘धोका नदिन’ चेतावनीसहित मत दिने आश्वासन दिइरहे ।
जनता देउराली पुग्नैलाग्दा एक महिला हतारहतार शुभकामना दिन आइपुगिन् । ‘आउनुभयो, खुसी लाग्यो । अब जितेपछि अबिर लगाउन पनि आउनुहोला,’ पोखरेललाई अंगाल्दै भनिन्, ‘अरुलाई धेरै हेरियो । यसपटक परिवर्तनलाई भोट । देश बनाउनुपर्छ ।’
रेसुङ्गा कोलनी आसपास पुग्दा सीता पाण्डे खादामालासहित कुरिरहेकी थिइन् । उनले प्रश्न नसोधेर आशासहित शुभकामना मात्रै दिइन् । छुट्टिँदा दही खुवाएर बिदा गरिन् ।
लगत्तै अर्का मतदाता आए । उनले किरण पाण्डे भन्ने टिकटक ह्यान्डलबाट आफूले प्रचार गरिरहेको सुनाए ।
रास्वपा टोली त्यसपछि मिल्सबेरी स्कुल हुँदै मुल सडकमा निस्कियो । रास्वपा टोली हिँड्दा फोटो–भिडिओ खिच्नेको भीड पनि उस्तै थियो ।
सोही क्रममा ६७ वर्षीय जितबहादुर पुन हतारिँदै आएर भने, ‘निकै आत्तिसक्यौँ । लु है देश बचाउनुस् ।’ पोखरेलले ढुक्क हुन आग्रह गरे ।
करिब तीन घण्टा घरदैलो सकेर रास्वपा टोली फेरि गोल्फुटारकै सम्राट फास्ट फुडमा आइपुग्यो । घरदैलो समापन गरेर महाराजगञ्जमा रहेको रास्वपाकै क्षेत्रिय कार्यालयतर्फ हिँड्यो ।

‘काठमाडौं–५ अरुका लागि निर्वाचन क्षेत्र होला, मेरो घर हो’
घरदैलो रिपोर्टिङका क्रममा रास्वपा उम्मेदवार पोखरेलसँग गरेको छोटो कुराकानीको सम्पादित अंश :
तपाईं यसअघि स्वतन्त्र उम्मेदवार भएर प्रदेश चुनाव लड्नुभयो । अहिले पार्टीबाट उम्मेदवार हुनुहुन्छ । कस्तो फरक महसुस भएको छ ?
ठुलो फरक छ । पहिले स्वतन्त्र भएर लड्दा पूर्ण रूपमा व्यक्तिगत भोट थियो । मेरो चिनजान, साथीभाइको समर्थनले मात्रै मत ल्याएको थिएँ । संगठन थिएन, सानो टिमले मात्र घरदैलो गर्नुपर्थ्यो । अहिले रास्वपाबाट लड्दा पार्टीको पूर्ण संगठन छ । क्षेत्र नम्बर ५ का १५ वटै वडामा वडा समिति सक्रिय छन् । सबैभन्दा बलियो पक्ष, चुनाव चिह्न ‘घण्टी’ भनेर चिनाइरहनुपर्ने आवश्यकता छैन । पहिला सबै चिनाउँदै हिँड्नुपर्थ्यो, अहिले सबै स्वत: स्फूर्त भइरहेकाले तुलानात्मक रुपमा सहज छ ।
यसअघि र अहिलेको तुलानामा मतदाताको अपेक्षामा केही फरक पाउनुभएको छ, कि उस्तै छन् ?
मतदाताको मुख्य गुनासो हो– जनप्रतिनिधि चुनावमा मात्र आउँछन्, जितेपछि हराउँछन् । चुनावपछि पनि निरन्तर भेटघाट र जवाफदेहिता चाहन्छन् । हामीले प्रतिबद्धतापत्रमै राखेका छौँ– हरेक महिना एक वडामा सार्वजनिक सुनुवाइ गर्ने । ५ वर्ष (६० महिना) मा प्रत्येक वडामा कम्तीमा ४ पटक सुनुवाइ हुन्छ । यसले जनताको आवाज सुन्ने, सदनमा उठाउने र नीतिगत समाधान खोज्ने काम गर्छ । यस्ता विषयलाई मैले प्राथमिकतामा राखेर प्रणाली बनाएर काम गर्छु । उहाँहरुको अपेक्षा पनि यस्तै छ ।
काठमाडौं–५ मा त ‘हेभीवेट’ उम्मेदवार छन् । पार्टी महामन्त्रीदेखि अध्यक्षमा पराजितसम्म । तपाईंले किन यही क्षेत्र रोज्नुभयो ? जोखिम लागेन ?
म काठमाडौं–५ मा जन्मे–हुर्केको मान्छे हुँ । यो मेरो लागि निर्वाचन क्षेत्र होइन, घर हो । बाल्यकालमा धानखेत र मकैबारी भएको यो ठाउँ अहिले विकसित भएको छ । तर म यसको माटोसँग भावनात्मक हिसाबले जोडिएको छु । अन्य ‘हेभीवेट’ उम्मेदवारहरू बाहिरबाट आउनुभएको हो, म त यहाँकै हुँ ।
उसोभए, तपाईँले चिनेको काठमाडौं–५ कस्तो हो ? यसको समुन्नतिमा तपाईंको योजना के छ ?
बाहिरबाट हेर्दा ‘एलिट’ ठाउँ लाग्छ– बालुवाटार, बुढानीलकण्ठ, टोखा आदि । तर वास्तविकता फरक छ । खानेपानी, ढल निकास, बाढीको समस्या अझै छ । यो धोबी खोला र विष्णुमति खोलाको किनारमा पर्छ । सांस्कृतिक रूपमा धनी छ । हाँडीगाउँ काठमाडौंको सबैभन्दा पुरानो बस्ती हो, लिच्छवीकालीन मन्दिर धेरै छन् । तर छायाँमा परेको छ । युवा उद्यमी र फर्स्ट टाइम भोटर धेरै छन् । तर बिजनेस फ्रेन्डली वातावरण छैन ।
हाम्रो एजेन्डा खानेपानी, ढल समाधानमा सहकार्य, सांस्कृतिक पहिचान जोगाउने, डिजिटलाइजेसनमार्फत स्टार्टअपलाई सजिलो बनाउने हो । व्यक्तिगत र रुचिको हिसाबले हेर्दा शिक्षा पहिलो प्राथमिकता छ । काठमाडौं महानगरमा ३ वर्षमा शिक्षामा आमूल सुधार गरेका छौँ । छात्रवृत्तिको कार्यक्रम पनि प्रभावकारी बनायौँ । तिनै कामको निरन्तरता म सांसदको नाताले गर्न चाहन्छु । शैक्षिक नतिजामा सुधार गर्न शिक्षक क्षमता, पूर्वाधार जस्ता विषयमा काम गर्न बाँकी छ ।
यो मोडललाई राष्ट्रव्यापी बनाउन, कानुन र नीति बनाउने योजना छ । हामी सांसद बन्न मात्र होइन, सांसदको जिम्मेवारी र ग्राभिटी बुझाउन चाहन्छौँ । कसरी जनताको आवाज सदनमा उठाएर सम्बोधन गराउने भनेर उदाहरण स्थापित गर्न चाहन्छौँ ।
