काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि आठ जना नायब महानिरीक्षक (डीआईजी)ले आवेदन दिएपछि बढुवा थप पेचिलो बन्न पुगेको छ । बढुवा सिफारिस नहुँदा सीमा विभाग झन्डै एक महिनादेखि एआईजीविहीन बन्न पुगेको छ ।
गत ३ वैशाखदेखि सशस्त्रमा एआईजीको एक पद रिक्त छ । बढुवा समितिको सचिवालयले गत १४ वैशाखमा सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको मिति सकिएको पनि एक साता भइसकेको छ । तर, यति लामो समय बितिसक्दा पनि बढुवा सिफारिस समितिको बैठक नै बस्न सकेको छैन ।
गत मंगलबार श्रीलंका भ्रमणमा गएका गृहसचिव गोकर्णमणि दुवाडी स्वदेश फर्किएपछि बढुवा सिफारिस प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको थियो । उनी आइतबार नै स्वदेश फर्किसकेको भए पनि बढुवा सिफारिस समितिको बैठक बस्ने संकेत देखिएको छैन ।
सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद ७ दफा ३९ को उपदफा १ को (क) अनुसार एआईजी बढुवा सिफारिस समितिमा गृह सचिव अध्यक्ष रहेको समिति हुन्छ । दुई सदस्यीय समितिको सदस्य सचिव भने सशस्त्र प्रहरी महानिरीक्षक रहने व्यवस्था छ । समितिले सिफारिस गरेपछि मन्त्रिपरिषद् बैठकले एआईजी बढुवालाई निश्चित गर्नेछ ।
आवेदन भर्नेमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएर आएका चार जना, नेपाल प्रहरीमै प्राविधिक नायब निरीक्षक (सई)मा भर्ना भई सशस्त्रमा स्थानान्तरण भई आएका दुई जना र सशस्त्र प्रहरीमै भर्ना भएका सशस्त्र प्रहरी निरीक्षकको पहिलो ब्याचका दुई जना छन् ।
आवेदन दिनेमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भएका कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी छन् । यसैगरी, नेपाल प्रहरीमा प्राविधिक नायब निरीक्षक (सई)मा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भई आएका लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल छन् । यस्तै, सशस्त्रको पहिलो इन्सपेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेल छन् ।
स्रोतका अनुसार एआईजीका लागि आवेदन दिन सबै डीआईजीले सक्ने भए पनि गिरी, ठाडामगर, नेम्वाङ र सुवेदीको मात्रै आवेदन पर्ने सशस्त्र मुख्यालयको अनुमान थियो । तर, सशस्त्रको पहिलो इन्स्पेक्टर बेसिकका श्रेष्ठ र पोखरेलले पनि आवेदन दिएपछि नेपाल प्रहरीमा प्राविधिक नायब निरीक्षक (सई)मा भर्ना भएर सशस्त्रमा स्थानान्तरण भई आएका सिंह र पालले पनि ‘आफूभन्दा जुनियरले पनि आवेदन दिएको’ भन्दै आवेदन दिएका थिए । यद्यपि, उनीहरूको आवेदनलाई सशस्त्र मुख्यालयले गम्भीरतापूर्वक लिएको छैन । तर, सि.सं. १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका श्रेष्ठ र पोखरेलको आवेदनलाई भने सशस्त्र मुख्यालयले गम्भीरतापूर्वक लिएको स्रोतको दाबी छ । श्रेष्ठ र पोखरेलसँगै डीआईजीमा बढुवा भएका दीपेन्द्र शाह र पुरुषोत्तम थापाले भने आवेदन नै दिएका थिएनन् ।
बढुवा भएको अवस्थामा ३ वर्षपछि संगठन प्रमुख नै बन्नसक्ने र नभए विभिन्न मितिमै डीआईजीबाटै अवकाशमा जानुपर्ने भएकाले पनि यो बढुवा फाराम भरेकाहरूका हकमा विशेष बन्न पुगेको छ । अहिले एआईजीमा बढुवा भए पनि सुवेदी, सिंह र पाल भने सशस्त्र प्रहरीको यही नियमावलीअनुसार नेतृत्वमा पुग्न सक्दैनन् । तर, संसद्मा विचाराधीन विधेयक पारित भएर ऐन आएको खण्डमा भने हिसाब किताबमा फरक पर्न सक्छ ।
हालको नियमावलीअनुसार अहिले रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति १७ चैत २०८४ पछि संगठन प्रमुख बन्ने बलियो आधार देखिन्छ । विद्यमान सशस्त्र प्रहरी नियमावलीअनुसार आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर राजु अर्याल १७ वैशाख २०८३ देखि अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले एआईजी रहेका नारायणदत्त पौडेल र वंशी दाहालमध्येबाट एक जना आईजी बन्ने अवस्था आउँछ ।
१८ चैत २०५४ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएका पौडेल र दाहाल ३० वर्षे सेवा अवधिका कारण १७ चैत २०८४ मा अनिवार्य अवकाशमा जान्छन् । त्यसपछि भने अहिले एआईजीमा बढुवा हुने व्यक्ति आईजीपीको बलियो दाबेदार बन्छन् । त्यसैले, अहिलेको एआईजी बढुवामा भावी नेतृत्व पनि जोडिएकाले बढुवा निकै सकसपूर्ण बनेको हो ।
आवेदन भर्ने आठ जनामध्ये गिरी र ठाडामगरबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । डीआईजीको वरीयतामा गिरी १ नम्बरमा रहेकाले उनी नै एआईजी बढुवामा पर्ने सम्भावना र आधार बलियो देखिन्छ । नेपाल प्रहरीको हालै भएको एआईजीको बढुवा सिफारिसमा पनि वरिष्ठतालाई नै आधार मानिएकाले सशस्त्रमा पनि गिरीको सम्भावना बलियो बनेको हो ।
एआईजी बढुवामा अहिलेसम्म वरीयता मिचिएको छैन
एआईजीका लागि आवेदन दिएका आठ जनामध्ये गिरी पहिलो वरीयताका डीआईजी हुन् । यो नै उनका लागि बढुवा हुने पहिलो आधार हो । अर्को कुरा, केही दिनअघि नेपाल प्रहरीको एआईजी बढुवामा पनि वरीयतालाई नै आधार मानिएको थियो । प्रहरीको एआईजी बढुवामा १ देखि ६ नम्बरसम्मका डीआईजीलाई वरीयताकै आधारमा बढुवा गरिएको थियो । प्रहरी र सशस्त्रको बढुवामा समानता के थियो भने दुवै संगठनको बढुवा भावी नेतृत्वसँग पनि जोडिएको थियो र छ पनि । त्यसैले दुवै संगठनको एआईजी बढुवा निकै पेचिलो बनेको थियो, जुन सशस्त्रमा पनि देखिएको छ ।
इतिहास हेर्ने हो भने सशस्त्र प्रहरीमा अहिलेसम्म आईजीपी र एआईजी बढुवा वरिष्ठताका आधारमै हुने गरेको छ । हालका आईजीपी राजु अर्याल, त्यसअघिका आईजीपी शैलेन्द्र खनाल, खनालअघिका सिंहबहादुर श्रेष्ठ, उनीअघिका दुर्जकुमार राई, राईअघिका कोषराज वन्त सबै जनालाई पहिलो वरीयताकै कारण आईजीपी नियुक्त गरिएको थियो । उनीहरू सबैजनालाई डीआईजीबाट एआईजीमा बढुवा गरिँदा पनि वरीयता मिच्ने काम भएको थिएन ।
रोचक यो छ कि, एसएसपीसम्म शैलेन्द्र खनालभन्दा पुष्पराम केसी अघि थिए । डीआईजी बढुवा हुँदा खनालले केसीलाई पछि पारे । त्यसैको जगमा खनाल पुरै ४ वर्ष आईजीपी बने । सशस्त्र प्रहरीमा ४ वर्ष आईजीपी खाने रेकर्डसमेत खनालले बनाए । उनले ३० बर्से सेवा अवधि बाँकी रहे पनि आईजीको ४ बर्से पदावधिका कारण अवकाश पाएका थिए । यसको फाइदा केसीलाई भयो । उनलाई पनि तीन साता आईजी बन्न जु¥यो । सशस्त्र प्रहरीमा एउटै ब्याचका दुई जना आईजीपी बन्ने पहिलो कीर्तिमान पनि खनाल र केसीलाई प्राप्त भयो । अब हालका आईजीपी राजु अर्यालपछि पनि उनकै ब्याचका एआईजीहरू नारायणदत्त पौडेल र वंशीराज दाहालमध्ये एक जना आईजीपी बन्ने छन् । वरीयतामा भने पौडेल अघि छन् ।
तर, कमल गिरी र ठाडामगरको ब्याचको दृश्य भने अलि फरक छ । हालको नियमावलीअनुसार एक जना आईजीपीको दाबेदार बन्दा अर्काचाहिँ डीआईजीबाटै घर जानुपर्ने अवस्था छ, त्यो पनि ९ महिनापछि नै ।
उता, डीआईजी गणेश ठाडामगर विवादित पात्र, स्पष्टीकरण पाइसकेका व्यक्ति र माओवादीसँग विशेष झुकाव राख्ने व्यक्ति भएकाले उनलाई यसले बढुवामा असर पर्नसक्ने विश्लेषण हुन थालेको छ ।
यद्यपि, एआईजी बन्न उनले शक्तिकेन्द्रसामु चर्काे लबिइङ गरिरहेका छन् । यसका लागि उनले बिचौलियाहरूको सहयोग खोजिरहेका छन् ।
ठाडामगर पटकपटक विवादमा आएका व्यक्ति हुन् । उनीमाथि नम्बर २ छिन्नमस्ता बाहिनीको बाहिनीपति हुँदा तस्कर समूहसँग विशेष साँठगाँठ गरेको, तस्करीको लाइन खुलाएको आरोप छ । उनी छिन्नमस्ता बाहिनीको बाहिनीपति हुँदा सशस्त्रकै एक जना सहायक निरीक्षक (असई)को भारतीय भूमिमा ज्यान गएको थियो । ठाडामगरले केही वर्षअघि नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीसँग भाइटीका लगाएको तस्बिर पनि भाइरल बनेको थियो ।

डीआईजी ठाडामगर माओवादीनिकट मानिन्छन् । माओवादीमा पनि उनलाई वर्षमान पुन, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग निकटका रूपमा लिइन्छ । उनले विगतमा गोरेबहादुर खपांगीनिकट भएर पनि काम गरेका थिए । यस्तै, उनको धरानका नगरप्रमुख हर्क साम्पाङसँग पनि विशेष सम्बन्ध रहेको बताइन्छ ।

असई यादवको हत्या प्रकरण लुकाउन नाटक मञ्चन
डीआईजी गणेश ठाडामगर नम्बर २ छिन्नमस्ता बाहिनीको बाहिनीपति हुँदा सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या भएको थियो । उनको हत्या नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न खोज्दा तस्करीको पक्षमा रहेका सशस्त्र प्रहरीकै संलग्नतामा भएको चर्चा त्यसबेला चलेको थियो ।
सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक यादवको शव भारतको बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा नग्न अवस्थामा भेटिएको थियो । उनको शव फेला परेको स्थान नेपाल–भारत सीमाभन्दा ३ किलोमिटर दक्षिण भारतमा रहेको थियो ।

हत्यापछि यादवले लगाएको युनिफर्म खोलेर नांगो बनाएर खोला किनारमा फालिएको थियो । भारतीय सुरक्षाकर्मीले आफ्नो भूमिमा शव फेला परेपछि अनुसन्धान अघि बढाइरहेका बेला स्थानीयले सो शव नेपालका सशस्त्र प्रहरीको भएको जानकारी गराएको थियो । त्यसपछि भारतीय सुरक्षाकर्मीले सशस्त्र प्रहरीलाई शव बुझाउन खोज्दा सशस्त्रले इन्कार गरेको थियो । स्थानीयको व्यापक दबाबपछि मात्र सशस्त्र प्रहरीले भेटिएको शव आफ्नै असई यादवको भएको स्वीकार गरेको थियो । घटना सार्वजनिक भएपछि सशस्त्रले असई यादव तीन दिन बिदामा गएको नाटक मञ्चन गरेको थियो ।
असई यादव युनिफर्ममै ड्युटीमा मोहनपुरतर्फ गएका थिए । सोही दिन एक जना जवानले सपना नाम गरेकी युवतीलाई मण्डल थरका मदिरा तस्करको मोटरसाइकलमा राखी मोहनपुरमै खानपिन गर्ने भन्दै लगेका थिए । आफ्नै आँखाले देखेपछि असई यादवले सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीको सात्तो लिनुका साथै एक लठीसमेत हिर्काएका थिए । सो घटनाको भोलिपल्टै असई यादवको शव फेला परेको थियो ।
असई यादवको हत्या अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले उनको हत्यामा सहकर्मीकै संलग्नताको आशंका गर्दै सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई नियन्त्रणमा लिएको थियो । उनी अहिले कारागारमा छन् । ठाडामगरमाथि त्यसबेला यादव हत्याको अनुसन्धानप्रति खासै चासो नदिएको आरोप लागेको थियो ।
यादवको हत्या प्रकरण थप पेचिलो बनेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन सदस्यीय समिति गठन गरेर छानबिन थालेको थियो । त्यसबेला राजधानी दैनिकले असई यादव हत्या प्रकरण छानबिनमा सशस्त्र प्रहरी बल गम्भीर नभएको तथ्यसहितको समाचार प्रकाशित गरेपछि सशस्त्र मुख्यालयले तत्कालीन अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा डीआईजी कुलबहादुर नेम्वाङ र एसपी छवि पाण्डे सदस्य रहेको समिति गठन गरेको थियो । सो समितिले डीआईजी ठाडामगरले कोरोनाका बेला राखेको पोस्टलाई पछिसम्म पनि निरन्तरता दिएको, सो पोस्ट हटाएको भनी मुख्यालयलाई पत्राचार गरेको भए पनि हटाएको नपाइएको, यादवको हत्यापछि संगठनलाई नै गुमराहमा राख्ने काम गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्नुपर्नेगरी प्रतिवेदन तयार पारेको थियो । तर, आफूमाथि कारबाही हुने संकेतपछि उनले माओवादी नेताहरूलाई त्यसबेला जानकारी गराएका थिए । तत्कालीन सरकार र माओवादी नेताहरूको दबाबमा डीआईजी ठाडामगरलाई जोगाइएको थियो । तर गणपति प्रदीप खड्कामाथि विभागीय कारबाही गर्न भने गौतम नेतृत्वको समितिले सुझाव दिएको थियो ।
डीआईजी ठाडामगरमाथि २ नम्बरमा हुँदा तस्करी खुलाएको आरोप पनि लागेको थियो । त्यसबेला छिन्नमस्ताको मोहनपुर नाकाबाट सुन, सुपारी, स्याउ, मटर, मरिच र मदिराको व्यापक मात्रामा तस्करी भएको थियो । त्यसनाका आसपास त्यसबेला वेश्यावृत्ति पनि अत्यधिक रूपमा भएको थियो । यो बेथिति रोक्ने काम बाहिनीपतिका हैसियतले डीआईजी ठाडामगरको थियो । तर, तस्करी खुलाउनकै लागि उनले छिन्नमस्तास्थित बीओपीमा उल्टै आफूनिकट नायब निरीक्षक (सई)लाई कमान्ड दिएका थिए । जिल्लाका अन्य बोर्डर आउटपोस्ट (बीओपी)मा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) कार्यरत भए पनि डीआईजी ठाडामगरकै निर्देशनमा बरमझियास्थित शिक्षालयबाट मगर थरका सशस्त्र प्रहरी नायब निरीक्षक (सई)लार्ई छिन्नमस्ता बीओपीमा खटाइएको थियो । उनी बीओपी प्रमुख भएर गएपछि तस्करी थप बढेको थियो ।
नम्बर २ बाहिनीको बाहिनीपति हुँदा तत्कालीन बाहिनीपति ठाडामगरले आठवटै जिल्लामा घुमुवा परिचालन गरेका थिए । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मातहतका कुनै पनि बाहिनीदेखि बीओपीसम्म घुमुवा नराख्ने नीति लिएको छ । अर्याल सशस्त्र प्रहरी महानिरीक्षक भएपछि कतै पनि घुमुवा नराख्न कडा निर्देशन दिएका थिए । तर, सशस्त्र प्रहरीको नम्बर २ बाहिनीका तत्कालीन बाहिनीपति ठाडामगरले आफ्नो बाहिनीअन्तर्गतका आठवटै जिल्लामा घुमुवा परिचालन गरेका थिए । सादा पोसाकमा खटिने घुमुवाले आ–आफ्ना कमान्डरको स्वार्थअनुरूप काम गर्ने गर्छन् । कमान्डरको स्वार्थ विशेषगरी आर्थिक पक्षसँग जोडिएको हुन्छ ।
तत्कालीन बाहिनीपति ठाडामगरले सुरुमा पथलैयास्थित प्राविधिक शिक्षालयमा बसेर व्यापारी, तस्कर र आफ्ना घुमुवालाई भेट्थे । तर, हल्ला बढी भएपछि पछिल्ला दिनमा उनले सिमराको इच्छा होटलमा बसेर तस्करीलाई बढावा दिने काम गरेका थिए ।
झापाको सुकुम्बासी बस्दै आएको जग्गामा पनि घोटाला
सशस्त्र प्रहरी बलको झापास्थित तत्कालीन पाथीभरा गणले भोगाधिकार लिएको पाडाजुलीस्थित जग्गा सुकुम्बासीलाई भोगचलन गर्न दिएको घटनामा पनि डीआईजी ठाडामगर मुछिएका थिए । त्यसबेला सुकुम्बासीलाई उनीहरू बस्दै आएको जग्गामा स्थायी रूपमा बस्ने वातावरण मिलाउने आश्वासन दिँदै डीआईजी ठाडामगरले बिघाको वार्षिक १० देखि १५ हजार रुपैयाँका दरले ५२ घर परिवारबाट रकम असुलेको खुलासा भएको थियो । असुल गरिएको रकमको कुनै हिसाब नराखी तत्कालीन गणपतिहरूले लिने गरेको समाचार त्यसबेला बाहिरिएको थियो । सुकुम्बासीको बसोबास रहेको जग्गालाई गोपी पोखरेलले आफ्नो भएको दाबी गर्न थालेपछि सुकुम्बासी परिवारले यो रहस्य खोलेका थिए । तत्कालीन पाथीभरा गण बस्दै आएको सो ठाउँमा अहिले जवान तालिम शिक्षालय र ३८ नम्बर गण रहेको छ ।

२०६० सालमा तत्कालीन माओवादी विद्रोहीको गतिविधि उत्कर्षमा रहेका बेला सशस्त्र प्रहरी बलले तत्कालीन पाथीभरा गणका लागि रतुवामाई वृक्षरोपण आयोजनाको ८० बिघा जमिन भोगाधिकारका रूपमा लिएको थियो । त्यसपछि सशस्त्र प्रहरीले सो जग्गामा बाहिरी घेरा राखेर सुकुम्बासीलाई भोगचलन गर्न दिएको थियो । ती सुकुम्बासीले बसोबासका साथै खेतीपाती पनि गरेका थिए । खेतीपाती गरेको भन्दै सशस्त्र प्रहरी बलले बिघाको वार्षिक १० देखि १५ हजार रुपैयाँका दरले १५ वर्षसम्म रकम असुल गरेको थियो । सुकुम्बासीहरूले वार्षिक रूपमै रकम बुझाउने गरेको भए पनि रकम लिएको कुरा कसैलाई नभन्न सशस्त्र प्रहरीका अधिकारीले दबाब दिँदै आएका थिए । उनीहरूले पछिसम्मै जग्गामा बस्ने वातावरण मिलाइदिने भन्दै रकम लिएको कुरा नभन्न दबाब दिएको खुलासा भएको थियो । यो कार्य २०७५ सालपछि भने बन्द गरिएको थियो ।
सो गणले भोगचलन गर्दै आएको जग्गामा तत्कालीन गणपति गणेश ठाडामगरले काबेली जलविद्युत् आयोजनाको हाईटेन्सन लाइनको टावर राख्न दिएका थिए । फायरिङ रेन्जको माथिबाट हाईटेन्सन लाइन राख्न दिइएको थियो । सो गणबाट हाईटेन्सन लाइनको टावर राख्दा जलविद्युत् आयोजनालाई आर्थिक रूपमा पनि २ करोड रुपैयाँभन्दा बढी सस्तो पर्न गएको थियो । आर्थिक फाइदा लिएर हाईटेन्सन लाइन राख्न दिएको तत्कालीन गणपति ठाडामगरमाथि आरोप लाग्दै आएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि दुर्वचन
ठाडामगरलाई एसएसपी हुँदा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दुर्वचन बोलेको आरोप लागेको थियो । सामाजिक सञ्जाल फेसबुकमा अमेरिकाका बहालवाला राष्ट्रपति ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेको भन्दै उनीसँग त्यसबेला सशस्त्र मुख्यालयले स्पष्टीकरणसमेत सोधेको थियो । त्यसबेला ट्रम्प र जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचनमा भिडेका थिए ।

निर्वाचनमा ट्रम्प दोस्रो कार्यकालका लागि विजयी हुन सकेनन् । उनको पराजयको समाचार आएलगत्तै तत्कालीन एसएसपी ठाडामगरले सामाजिक सञ्जाल फेसबुकमा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका थिए । तर, राष्ट्रपति ट्रम्पको तस्बिर भने बिगारेर पोस्ट गरेका थिए । उनको यो कार्य सशस्त्रको नियमावलीविपरीत थियो । सशस्त्र प्रहरी नियमावली २०७२ ले कुनै पनि देशका राष्ट्रप्रमुखलाई होच्याउने अधिकार मातहतका कसैलाई पनि दिएको छैन । एसएसपी ठाडामगरले साधारण व्यक्तिजस्तो गरेर आफ्ना राष्ट्रपतिलाई होच्याएको भन्दै त्यसबेला अमेरिकी दूतावासले समेत सशस्त्र मुख्यालयसमक्ष कूटनीतिक रूपमा असन्तुष्टि पोखेको समाचार बाहिरिएको थियो ।
पूर्वराजा ज्ञानेन्द्रलाई समेत गाली
तत्कालीन एसएसपी ठाडामगरले सामाजिक सञ्जाल फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहका ’boutमा पनि गम्भीर टिप्पणी गरेका थिए । ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भन्ने आशमा बस्नु मनको लड्डु घिउ’ भनेर उनले त्यसबेला फेसबुकमा पोस्ट गरेका थिए । उनको यस भनाइलाई त्यसबेला राजावादी दल राप्रपाले चर्काे विरोध गरेको थियो ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले त्यसबेला पनि सामाजिक सञ्जालमा राजनीतिक आस्था नदेखाउन र अनावश्यक टिप्पणी नगर्न पटकपटक परिपत्र गरेको थियो ।
(Visited 219 times, 1 visits today)

