सुन्दर भविष्यका लागि ऊर्जाशील वर्तमान साट्न वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या ठुलो छ। त्यही संख्यामा कास्कीस्थित पोखराका २३ वर्षीय सविन सुवेदी पनि पर्छन्। विदेशी भूमिमा रहेर अहिले मेहनत गरिरहेका उनी ज्ञान र सिपले भरिएर भविष्यमा आफ्नै मातृभूमिको सेवामा आउन लालायित छन्।
२१ वर्षमै घर, परिवार र देश छोडेर उनी बिदेसिएका हुन्। उनी २०७९ माघ २३ मा दक्षिण कोरिया प्रवेश गरेका थिए। विदेशी भूमि सुखमय हुने ठानेर बिदेसिएका सविनले धेरै दुःख र चुनौतीको सामना गर्नुपरेको छ। उनले कलिलै उमेरमा संघर्षका अनेकन् अनुभव गरेका छन्।
सविनले उतिबेला काठमाडौं बसेर स्नातकको पढाइ अगाडि बढाइरहेका थिए। एकाएक उनलाई विदेश जाने सोचले पिरोल्न थाल्छ। सस्तो लागत र सरकारी प्रक्रियामार्फत छोटो समयमै राम्रो आम्दानी गरेर स्वदेशमै फर्की केही गर्ने उद्देश्यमा उनको पहिलो रोजाइ पढाइभन्दा कोरिया बन्यो।
सविनलाई आफ्नै देश बस्ने चाहना नभएको भने होइन। तर पारिवारिक परिस्थितिले उनलाई विदेश जान बाध्य बनायो। देशमै केही गर्ने इच्छा हुँदाहुँदै सकारात्मक ऊर्जा भएको युवा कसरी पलायन हुन पुग्छ भन्ने बुझ्न सविनलाई सुने पुग्छ।
सामाजिक सञ्जालमार्फत नागरिकसँग जोडिएका सविनले दिएको जानकारीअनुसार कोरियाली भाषामा उत्तीर्ण भएको झन्डै ६ महिनामा अन्य सबै प्रक्रिया पूरा भएपछि त्यहाँ जाने भिसा लागेको थियो। अहिले आएर उनलाई आफूले तय गरेको कोरिया यात्रा सफल भएको उनी ठान्छन्।
‘कोरिया जाने मेरो सपना थियो,’ उनले भने, ‘घर छाड्ने दिन नजिकिँदै गएपछि मनमा निराशाका बादल मडारिन थाले। मसँगै भिसा लागेका साथीहरू पार्टी र घुमघाममा रमाउन थाल्दा म भने विक्षिप्त बन्दै थिएँ।’ संयोग पनि कस्तो भने दशकअघिदेखि पिता आफैं रोजगारीका लागि मलेसियामा थिए। यसैकारण पनि उनलाई घरपरिवार छाडेर जान मन थिएन। ‘लामो समयदेखि बुवा बिदेसिँदा घर कहिल्यै घरजस्तो भएन,’ उनले भने, ‘बुबासँग चाडपर्व मनाउन र सुखदुःख साट्न पाएका क्षण साह्रै थोरै छन्। त्यसैले मलाई पनि विदेश जाऊँ जस्तो लागेको थिएन। तर कसरी कसरी विदेश जान जु¥यो।’
उनी छोटो समय विदेश बसेर फर्किने भन्दै कोरियाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको क्षण सम्झन्छन्। ‘विमानस्थल भरिभराउ थियो। बिदेसिने प्रायः सबै जना आफ्ना साथीभाइ र परिवारसँग फोटो, टिकटक बनाउँदै थिए। फोटोसम्म खिचिदिने आफ्ना मान्छे नहुँदा आफैं सेल्फी लिँदै थिएँ। हातमा पासपोर्ट बोकेका व्यक्तिहरूको अनुहारमा परिवारप्रति माया छताछुल्ल देखिन्थ्यो। म पनि आफ्ना दाजुसँग बिदाबारी भएर कोरियातिर लागें,’ उनले भने।
कतै डर त केही जिज्ञासा र अथाह सपना बोकेर हिँडेका सविनलाई कोरियास्थित इन्छन विमानस्थलमा मानव संसाधन विभागका कर्मचारी लिन आएका थिए।
‘एयरपोर्टमा लिन आएका कर्मचारीले हामीलाई सिधैं दुई दिनको तालिम केन्द्रतिर लगेपछि कामतिर खटाए,’ उनले भने, ‘एक्कासि मेरो अनुहारको रङ फुस्रो भयो। रस निचोरेर फ्याँकेको कागतीको खोस्टाजस्तै भएँ। शरीर गलेर मेरा पाइला अगाडि बढ्नै सकेनन्। खुट्टाहरू काम्न थालेसँगै मुटुले बेसरी ढ्यांग्रो ठोक्न थालेको थियो। किनकि मैले काम गर्ने ठाउँ फलाम जडान गर्ने कम्पनी थियो।’
उनले फलामका ठुला ठुला पाइप र पाता आएपछि तिनीहरूलाई नक्साअनुसार जडान गरेर पठाउनुपर्ने मेसिनको काम गर्नुपर्ने थियो। एउटा तयार भएको सामान त लगभग कास्कीमा आफ्नै घर जत्रै भएको अनुभव उनलाई भयो।
‘घरको दैलो काटेर म भर्खरै कोरिया आइपुगेको थिएँ,’ उनले भने, ‘मलाई त्यहाँ वेल्डिङ ग्राइन्डिङको काममा लगाए।’
गाउँमा कहिलेकाहीं मेला पर्दा कुटो कोदालोबाहेक फलाम नसमातेका सविन दिनको १०÷१२ घण्टा त्यसैसँग जोरी खेल्ने अवस्थामा पुगे। उनलाई फलामको कामसँगै यावत डरले घेर्न थाल्यो। कतै हातखुट्टा च्यापिएर अपांग भइने वा पूरै शरीर च्यापिएर मरिने हो कि भन्ने डरैडरमा उनी रहे।
उनले भने, ‘भर्खर आएको र नयाँ मान्छे हुँ। विदेशमा बिस्तारै काम सिकेर गर्छु भन्ने नै नहुने रहेछ। सबै काम गरिदियोस् भन्ने सोच त्यहाँ थियो।’
कोरियामा कामको संस्कृति छ। त्यही भएर त्यहाँ मानिसप्रति मायाममताभन्दा कामलाई नै जोड दिइन्छ भन्ने उनले बुझे। कम्पनीले बसोबासका निम्ति चिसो र तातो हुने एसी जडान गरिदिएको कोठा सविनका लागि उपलब्ध थियो। नेपालमा चिसो हावा खाएर हुर्केका सविनलाई एयर कन्डिसनरमा उकुसमुकुस हुने गरेको थियो।
फलामको कामसँगै वेल्डिङ गर्दा निस्किने प्रकाश र आगोका झिल्काहरू कुनै नाइट क्लब र डिस्कोमा बालिने चकाचौध बत्तीभन्दा कैयौं गुना शक्तिशाली हुने गरेको उनको अनुभव छ।
‘दिनभरि वेल्डिङको काम गर्दा बेलुका बालुवाको धुलो आँखामा छर्किएजस्तो महसुस हुन्थ्यो। सुरुसुरुमा रातभरि झिमिक्क निदाउन पनि सकिन्न। कुनै रातहरू जिन्दगीकै लामो रात भएजस्तो लाग्थ्यो,’ उनले भने।
नयाँ ठाउँ, फरक रहनसहन, खानपिन र भाषाले उनको दिन, हप्ता, महिना हुँदै वर्ष दिन त्यही फलाम कम्पनीमा बितेको थियो। सविन आफैं नक्सा हेरेर फिल्डमा सोही अनुरूप फलामका सामान तयार गर्न सक्ने भएका थिए। उनी आफ्नो काममा पोख्त भएसँगै फलामलाई जस्तो परिस्थितिमा पनि ढाल्न सक्ने भएको बताउँछन्।
उनका अनुसार सुरुसुरुमा गाली गर्ने साहुले अहिले माया गर्न थाले। तर, बिस्तारै मेरो स्वास्थ्य अवस्थामा समस्या आएसँगै मानसिक रूपमा पनि विक्षिप्त भइरहेको थिए। आफूलाई कोरियामा भएको समस्या विभिन्न संघ संस्थाहरू एनआरएनए, नेपाली दूतावासलगायत अन्य ठाउँमा सहयोग मागे पनि सबै निरीह रहेको उनले बताए।
अन्ततः उक्त फलाम कम्पनीबाट आफू निस्किएको उनको विगत छ। कोरियाको सुवन सहरस्थित क्याथोलिक युनिभर्सिटी अप सेन्ट भिसेन्ट शिक्षण अस्पतालमा शल्यक्रियाका लागि भर्ना भएको उनी विगत कोट्याउँछन्।
कोरियाका अस्पताल नेपालका भन्दा फरक रहेको सविन भन्छन्, ‘यहाँ बिरामी भर्ना गर्न कुनै राजनीतिक सोर्सफोर्स चाहिँदैन। लामो समयसम्म लाइनमा कुर्न पनि नपर्ने। त्यसरी लाइनमा बसेका बिरामीको अन्तिम अवस्था भएपछि अर्को अस्पताल पठाउने व्यवस्था कोरियामा छैन। औषधी र खाना ल्याएसँगै अस्पतालका कर्मचारीले समयमै खुवाउने गर्छन्। कुनै कुरुवाको पनि जरुरत नपर्ने।’
उनका अनुसार दुई साताको अस्पताल बसाइपछि सेल्टर फर्किए। विदेशमा बिरामी हुँदा र काम छोड्दा असाध्यै गाह्रो हुने। ममाथि दुवै समस्या एकैचोटि परेको थियो। झन्डै दुई महिनाको बसाइपछि कोरियाको फाजु सहरस्थित विद्युतीय उपकरण निर्माण कम्पनीमा काम गर्न थाले। ८० जनाभन्दा बढी कोरियाली नागरिक काम गर्ने उक्त कम्पनीमा आफू भने एक्लै विदेशी कामदार रहेका थिए।
कोरियामा एक्लोपनले सताएका सविनलाई अघि बढ्नुको विकल्प थिएन। बिस्तारै कम्पनीका सहकर्मीहरूसँग एक प्रकारको आत्मीयता बढ्दै गएको अनुभव उनलाई भयो। ‘त्यहाँ धेरै राम्रा कोरियाली साथीहरू थिए,’ उनले भने, ‘तुलनात्मक रूपमा पहिले गरेको कामभन्दा सजिलो र भाषा पनि राम्रो बोल्न सक्ने भएको थिएँ। अहिले यही कम्पनीमा रमाउँदै छु।’
छुट्टीको दिन पुस्तक पढ्दै वा कुनै रचनात्मक कार्यमा आफूलाई व्यस्त गराउने सविन भन्छन्, ‘कोरिया कामदार भिसामा आउनेहरूले मासिक दुई लाखदेखि तीन÷चार लाख रूपैयाँसम्म पनि कमाउन सक्छन्। तर कम्पनीअनुसार फरक पर्छ।’
मासिक दुई लाख रूपैयाँभन्दा बढी कमाउने सविनले वैधानिक तवरबाट देशलाई रेमिटेन्स पठाउँदै आएको बताउँछन्। सुवेदी परिवारमा दुई दाजुभाइ बिदेसिएका छन्। आमाबुबासहित सविनका दुई भाइ स्वदेशमा छन् भने जेठा दाइ तीन वर्षदेखि जापानमा कार्यरत छन्।
आफू कोरिया आएपछि परिवारका कतिपय आर्थिक समस्या समाधान भएको सविनले बताए। ‘कोरियाको विकास, प्रविधि र यहाँका नागरिकको देशभक्तिको भावनाबाट प्रभावित छु,’ सविनले भने, ‘हिजो कोरियाली नागरिकहरू पनि रोजगारीका लागि विभिन्न मुलुकमा गएर त्यहाँको ज्ञानसिप आर्जन गरी आफ्नो राष्ट्र निर्माणमा लागेका थिए। मलाई पनि नेपालमा केही परिवर्तन गर्न मन छ। त्यही ऊर्जा र हुटहुटीका साथ छिट्टै स्वदेश फर्किनेछु।’
प्रकाशित: २८ माघ २०८१ ०७:२३ सोमबार