सर्वोच्च अदालतको फैसलापछि ट्रम्प झनै आक्रामक,  वैकल्पिक शुल्क र लाइसेन्स प्रयोग गर्ने संकेत



प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार

सर्वोच्च अदालतको फैसलापछि ट्रम्प झनै आक्रामक,  वैकल्पिक शुल्क र लाइसेन्स प्रयोग गर्ने संकेत

राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्वीर : मार्क शिफेलबिन/एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापक शुल्क (ट्यारिफ) कार्यक्रमविरुद्ध हालै आएको अदालतको फैसलापछि सोमबार पुनः कडा प्रतिक्रिया दिएका छन्। उनले अन्य वैकल्पिक शुल्क अधिकार र लाइसेन्स प्रणाली प्रयोग गर्ने संकेत दिएका हुन् । यद्यपी, उनले त्यसबारे विस्तृत योजना सार्वजनिक गरेका छैनन्।

हालै अमेरिकी सर्वोच्च अदालतले आर्थिक आपतकालीन कानुनअन्तर्गत लगाइएका उच्च दरका विभिन्न शुल्कमा ट्रम्पले राष्ट्रपतिको अधिकार नाघेको ठहर गरेको थियो। त्यसको भोलिपल्ट ट्रम्पले सबै देशबाट हुने अमेरिकी आयातमा लगाइएको अस्थायी शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए, जुन कानुनअनुसार अधिकतम सीमा हो।

सोमबार सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले अदालतले अन्य शुल्कहरूलाई स्वीकृति दिएको उल्लेख गर्दै ती शुल्कहरू अझ “शक्तिशाली र कडा” तरिकाले प्रयोग गर्न सकिने बताएका छन्। उनले देशहरूलाई दबाब दिन लाइसेन्स शुल्क प्रयोग गर्न सकिने संकेत पनि गरेका छन्।

ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि अमेरिकी व्यापार नीतिबारे अन्योल बढेको छ। वाल स्ट्रिटका फ्युचर्स र अमेरिकी डलर सोमबार प्रारम्भिक कारोबारमा घटेका थिए। विश्वव्यापी आर्थिक वृद्धि र इन्धन मागमा असर पर्ने आशंकाले तेलको मूल्य पनि सुरुमा घटेको थियो, यद्यपि अमेरिका–इरान वार्ताको सम्भावित समाचारपछि बजार केही स्थिर भएको जनाइएको छ।

अदालतको निर्णय र त्यसपछि ट्रम्पका कदमहरूले पछिल्लो एक वर्षमा भएका व्यापार वार्ताहरूमा पनि प्रभाव पार्न थालेका छन्। चीनले वाशिङ्टनलाई शुल्कसम्बन्धी उपायहरू फिर्ता लिन आग्रह गरेको छ भने यूरोपेली संघ (इयू)ले आफ्नो सम्झौता स्थगित गर्ने तयारी गरेको छ। त्यस्तै, भारतले तय गरिएका व्यापार वार्ताहरू पछि सारिएको जनाएको छ।

प्रधानन्यायाधीश जोन रोबर्ट्सद्वारा लेखिएको फैसलामा सर्वोच्च अदालतले राष्ट्रपतिको शक्तिमाथि नियन्त्रण गर्ने आफ्नो संवैधानिक अधिकार पुनः पुष्टि गरेको छ। ट्रम्पले भने उक्त फैसलामा असन्तुष्टि जनाउँदै आफ्नो प्रशासनका नीतिहरूलाई अदालतले अवरोध गरिरहेको आरोप लगाएका छन्।

यसैबीच, जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रशासनको प्रयाससम्बन्धी मुद्दामा पनि सर्वोच्च अदालतले आगामी दिनमा निर्णय सुनाउने अपेक्षा गरिएको छ, जसप्रति ट्रम्पले चासो र चिन्ता व्यक्त गरेका छन्।





Source link

Leave a Comment