News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रधानमन्त्री सुशीला कार्कीले ४ कात्तिकमा सर्वदलीय बैठक बोलाएर दलहरूसँग पहिलो पटक औपचारिक संवाद गरेकी छन्।
- बैठकमा दलहरूले निर्वाचनमा सुरक्षाको वातावरण र चुनावको समयमै हुने विषयमा सरकारसँग आफ्ना अपेक्षा राखेका थिए।
- नेकपा एमालेले चुनावको विरोध नगरे पनि संशय व्यक्त गरेको र सरकारले भयरहीत वातावरणमा चुनाव गराउने प्रतिबद्धता जनाएको छ।
४ कात्तिक, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मंगलबार सर्वदलीय बैठक बस्यो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो सवा चार बजेदेखि साढे चार घण्टा चलेको बैठकमा दलहरूले सरकारसँगको आफ्ना अपेक्षा राखे ।
निर्वाचनमा सुरक्षाको वातावरण खोजे । चुनाव हुनेमा संशय व्यक्त गर्दै आएको नेकपा एमालेले समेत चुनावको विरोध गरेन। प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक दलहरूसँग औपचारिक रुपमा संवाद गरेकी हुन्। उनी गत भदौ २७ गते प्रधानमन्त्री भएकी थिइन्। त्यसदिन राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते चुनाव गर्ने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
प्रधानमन्त्री भएको ४० दिनपछि कार्कीले मंगलबार दलहरूसँग औपचारिक रुपमै संवाद गरेकी हुन्। निर्वाचन सहज बनाउनका लागि शान्ति सुरक्षा र भयरहीत वातावरण त आवश्यक पर्छ नै। बहुदलीय प्रतिस्प्रधात्मक शासन व्यवस्थामा दलहरूले चुनावमा भाग लिनु उत्तिकै अपरिहार्य छ।
कतै राजनीतिक दलहरूले चुनाव बहिष्कार गर्ने वातावरण पो बन्छ कि भनेर कतिपयले आशंका गरिरहेका बेला प्रधानमन्त्रीले त्यस्तो आशंका मेट्ने प्रयास गरेकी हुन् । सार्वजनिक रुपमा समयमै चुनाव गर्ने प्रतिवद्धता व्यक्त गर्दै आएकी प्रधानमन्त्री कार्कीले मंगलबार दलहरूलाई बोलाएर उस्तै प्रतिवद्धता जनाएकी छन् ।
प्रधानमन्त्री कार्कीलाई नेताहरूले दलहरूसँग संवादमा ढिलाइ किन भनेर प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले ‘यसबीचमा घाइतेहरूको उपचार, शहीदका शव व्यवस्थापन र परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाजको सुनुवाइ गर्नुपर्ने भएको र त्यसमा समय लागेको’ बताइन् ।
‘जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ । चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ’ प्रधानमन्त्री कार्कीले दलका नेताहरूलाई भनेकी छन्, ‘यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ ।’
प्रधानमन्त्री कार्कीका अनुसार सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्ने कुरा नै रुचाइरहेका थिएनन् । राष्ट्रपतिबाट संवादको ढोका खोलिदिने काम भएको र त्यसले निरन्तरता पाएको उनले सुनाइन् । ‘अब जेनजी र दलहरू बसौँ’ प्रधानमन्त्री कार्कीको प्रस्ताव छ ।
प्रधानमन्त्री कार्कीले चुनावमा जानुको विकल्प नहरेको समेत दोहोर्याएकी छन्। ‘तोकिएकै समयमा भयरहीत वातावरणमा चुनाव गराउन सरकार कटिबद्ध छ’ प्रधानमन्त्री कार्कील भनेकी छन्, ‘यसैका निमिक्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ।’
जेनजीको माग सम्बोधन गर्दै सुशासन कायम गर्दै चुनावमार्फत मुलुकलाई अगाडि बढाउने बाहेक सरकारले केही नसोचेको भन्दै प्रधानमन्त्री कार्कीले दलहरूसँग समेत चुनावी वातावरणका लागि सहयोगको अपेक्षा राखिन्।
‘जसरी हुन्छ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ । चुनाव सफल बनाउन सबैले आआफ्नो तर्फबाट भूमिका खेलौँ’ प्रधानमन्त्री कार्कीले दलका नेताहरूलाई भनेकी छन्, ‘यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ ।’
दलसँग दूरी घटाउँदै सरकार, संशय यथावत
सर्वदलीय बैठकमा दलहरूले जेजस्ता विषय राखेतापनि प्रधानमन्त्री कार्कीको कदम आफैँमा सकारात्मक रहेको नेताहरू बताउँछन् । एमाले नेता महेश बस्नेत सामाजिक सञ्जालमा लेख्छन् ‘ढिलो भएपनि प्रधानमन्त्री सुशिला कार्कीले बोलाएको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले सहभागिता जनाएका छन। यो कदम सकारात्मक छ ।’
सर्वदलीय बैठकमा सुरुमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वागत मन्तव्य राखेका थिए । त्यसक्रममा उनले दलहरूसँगको संवादको विषयवस्तु समयमै चुनाव गरेर मुलुकलाई अगाडि बढाउनु रहेको बताए।
चुनाव गराउने वातावरणका लागि सरकार प्रयासरत रहेको र दलहरूको समेत उत्तिकै भूमिमा हुने उनको आग्रह थियो।
जेनजीले सुशासनको नारा लिएर परिवर्तन चाहेकाले त्यसअनुसार राजनीतिक परिस्थिति अगाडि बढेको र फेरि पनि मुलुक विधिकै शासनअनुसार अगाडि बढ्नुपर्छ भन्नेमा सबै सहमत रहेको विश्वास व्यक्त गरेका थिए ।
निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । तर, सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो दलका प्रतिनिधिहरू राखेका छन् । – जगदीश खरेल, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री
विश्वासको वातावरण बनाउने र अगाडि बढ्ने प्रयास अन्तर्गत यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक राखेका थिए । गत असोज २४ गते राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शितल निवासमा राखेको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीसहित बिभिन्न दलका प्रतिनिधिहरू सहभागी भएका थिए ।
उक्त बैठकमा राष्ट्रपति पौडेलले सुरुमै प्रधानमन्त्रीकै सिफारिसमा सर्वदलीय बैठक राखेको र सर्वदलीय बैठकको योजनाकार सरकार नै रहेको बताएका थिए। तथापि, उक्त बैठक राष्ट्रपति पौडेलको सहजीकरणमा बसेको थियो।
राष्ट्रपति र निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा जस्तै दलहरूले प्रधानमन्त्रीसँगको छलफलमा समेत चुनावी सुरक्षाबारे चासो राखे।

यसअघि निर्वाचन आयोगले गत असोज ३० गते सर्वदलीय बैठक राखेको थियो। निर्वाचन आयोगको छलफलमा समेत चुनावी सुरक्षाको विषयमा दलहरूले चासो राखेका थिए । राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा पनि यही विषय प्रमुखताका साथ उठाए।
मंगलबार पनि उही विषय दोहोरिएपछि प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याल दुवैले दलहरूको आशंका मेट्ने गरी सरकारले व्यवहार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार ‘निर्वाचनमा जाने कुरामा सबै दलको सहमति देखिएको छ । तर, सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो दलका प्रतिनिधिहरू राखेका छन्।’
नेताहरूका अनुसार एमालेले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेपनि चुनावको विरोध गरेको छैन। अर्थात्, दलहरूको संशय यथावत छ ।
मंगलबार बालुवाटारको छलफलमा विभिन्न चरणमा कुराकानी भए। पहिलो चरणमा नेताहरू शंकर पोखरेल, पम्फा भुसाल, प्रेम सुवाल, राजेन्द्र गुरुङ बोले। नेताहरू गगन थापा, स्वर्णिम वाग्ले, रेशम चौधरी, चन्दन सिंह, राजेन्द्र पाण्डे, उपेन्द्र यादव र सर्वेन्द्रनाथ शुक्लले पनि पहिलो चरणमै बोले ।
दलका प्रतिनिधिहरूले एकसरो कुरा राखिसकेपछि दोस्रो चरण पनि चल्यो। दोस्रो चरणमा नेताहरू प्रकाशशरण महत, प्रदीप ज्ञवाली र वर्षमान पुन बोले।
नेताहरूले राखेको सुरक्षा र निर्वाचनको चासोको सम्बोधन प्रधानमन्त्री कार्कीले गरिन् । सरकारको ध्यान चुनाव गराउने नै रहेको उनको प्रतिवद्धता थियो।
शितल निवास को गए ?, बालुवाटार को पुगे ?
राष्ट्रपति पौडेलले सर्वदलीय राखेको दुई सातापछि मंगलबार प्रधानमन्त्री आफैँले पहल लिएर सर्वदलीय बैठक राखेकी हुन्।
नेताहरूका अनुसार यसले सरकार र दलहरूबीच रहेको दूरी कम गर्न भूमिका खेलेको छ ।
राष्ट्रपति पौडेलले राखेको सर्वदलीय बैठकमा सहभागी कतिपय नेताहरू नै प्रधानमन्त्री कार्कीले राखेको सर्वदलीय बैठकमा पुगे।
राष्ट्रपति पौडेलले राखेको बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा पुगेका थिए। प्रधानमन्त्रीले बोलाएको बैठकमा महामन्त्री थापा र प्रकाशशरण महत सहभागी भए।
शितल निवासको सर्वदलीय बैठकमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल गएका थिए। बालुवाटारको छलफलमा महासचिव पोखरेल र उपमहासचिव प्रदीव ज्ञवाली सहभागी भए ।

राष्ट्रपतिले बोलाएको बैठकमा माओवादी केन्द्रबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन गएका थिए। मंगलबार प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकमा माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी भए ।
शितलनिवासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य सहभागी थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा दलहरू सहभागी हुनुले सरकार र दलहरूबीच रहेको दूरी कम गर्न भूमिका खेलेको छ ।
मंगलबारको छलफलमा रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम सहभागी भए। राष्ट्रपतिल बोलाउँदा राप्रपाबाट ज्ञानेन्द्र शाही र मीना लामा गएका थिए । प्रधानमन्त्रीले राखेको बैठकमा राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ गए ।
शितल निवासको सर्वदलीय बैठकमा एकीकृत समाजवादीबाट वरिष्ठ नेता राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसाल सहभागी भएका थिए । मंगलबार बालुवाटारको बैठकमा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला गए।
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी तथा जसपाबाट रेणु यादव थगएक थिए। त्यसदिन जनमतबाट अध्यक्ष सिके राउत र जयबहादुर राउत, लोसपाबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ल, नाउपाबाट रेशम चौधरी, नेमकिपाबाट सुनिलकुमार प्रजापति सहभागी भएका थिए।
मंगलबार प्रधानमन्त्रीले राखेको बैठकमा जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी भए। लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी भए । जनमतका नेता चन्दन सिंह बालुवाटार पुगे।
निर्वाचन आयोगले कार्यतालिकासमेत जारी गरेर चुनावको काम अगाडि बढाउँदा समेत दलहरूले आशंका गरिरहेका बेला राष्ट्रपति, निर्वाचन आयोगपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक राखेर छलफल गरेकी हुन्।
