सर्लाही ४ ग्रासरुट रिपोर्ट: गगन र अमरेशभन्दा जनमतका राकेश बलियो ! : RajdhaniDaily.com


सर्लाही । देश यतिबेला चुनावमा होमिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको चुनावलाई लिएर उमेदवारहरु यतिबेला चुनावी प्रचारमा जुटेका छन् ।

चुनावलाई लिएर अहिले खासगरी झापा क्षेत्र नम्बर ५ बढी चर्चामा छ भने दोश्रोमा सर्लाहीको क्षेत्र नम्बर ४ चर्चामा छ । झापामा एमाले अध्यक्ष रहेका केपी शर्मा ओली र काठमाण्डौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवारी दिएका बालेन्द्र साह(बालेन)ले बीच हुने प्रतिष्पर्धाले यो क्षेत्र विशेष चर्चामा छ । त्यस्तै भर्खरै विशेष महाधिवेशनबाट सभापति बनेका नेपाली काँग्रेसका गगन कुमार थापा र स्वतन्त्र पार्टीबाट चुनावमा होमिएका डा.अमरेशकुमार सिंहलाई लिएर सर्लाही क्षेत्र नम्बर ४ चर्चाको शिखरमा छ ।

सर्लाही ४ नम्बर क्षेत्र २०७९ मा काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उमेदवार बनेका डा.अमरेश कुमार सिंहले जितेको क्षेत्र हो । डा.सिंहले यो क्षेत्रमा २०७४ चुनाव पनि जितेका थिए । डा.सिंहले २०७४ को चुनावमा जसपाबाट उमेदवार बनेका राकेश मिश्रलाई हराएर चुनाव जितेका थिए भने २०७९ को चुनावमा कांग्रेसका नागेन्द्र कुमारलाई हराएर सांसदमा विजयी भएका थिए ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह लिएर चुनावमा होमिएका डा.सिंहलाई चुनाव जित्नु फलामको चिउरा चपाउनु सरह हुने देखिएको छ । स्थानीय विश्लेषकहरुले यो पटक अमरेशले चुनाव नजित्ने बताएका छन् । उनीहरुका अनुसार यो पटक अमरेशलाई गगनको प्रतिष्पर्धी मानिए पनि उनले दोश्रो मतसम्म ल्याउन नसक्ने बताए ।

किन हुँदैनन् अमरेश गगनको प्रतिष्पर्धी
– २०७९ को चुनावमा उनी काँग्रेसबाट विद्रोह गरेर चुनावमा होमिएका थिए । उनले असन्तुष्ट काँग्रेसीहरुको भोट पाएका थिए । अहिले गगन आफै यो क्षेत्रमा चुनावमा होमिएका छन् । यस्तोमा गगनको अघि अमरेश हात्तीको मुखमा जिरा जस्तै हुने छन् ।

– विगत तीन ओटा चुनावदेखि अमरेश सिंहले जातीय नारा लगाएर भोट बटुल्थे । अहिले त्यो जातीय नाराले काम गर्ने देखिँदैन ।

– विगतमा कुशवाहा र सहनी समुदायको पनि मत उनले पाएका थिए । यस पटक कुशवाहा र सहनी समुदायकै उमेदवार बनेर आएकाले अमरेशले पाउँदै आएको मत अब पाउने देखिदैन ।

– ४ नम्बर क्षेत्रमा यादव समुदायको पनि बलियो उमेदवार भएको कारणले गर्दा यादवको मत पनि अमरेशले पाउने देखिँदैन ।

– अमरेशले मै जित्छु भनेर विगतमा गरीब, दलित, विपन्न समुदाय, पिछडिएका वर्ग, सीमान्तकृत समुदायबाट लिने गरेको मत यसपटक पाउने छैनन् । त्यो मत अब जनमतका राकेश मिश्रातिर डाईभर्ट हुने देखिन्छ ।

– मधेशको मुख्यमन्त्री आफू बन्न गगनलाई रिझाउने गरी प्रदेश सांसद विरेन्द्र सिंहकै जोरबलमा गगन सर्लाही ४ मा आएकोले विरेन्द्रले गगनलाई जिताउन सम्पूर्ण शक्ति प्रयोग गर्नेछन् । त्यसको असर अमरेशलाई पर्नेछ ।

– २०७९ को चुनावमा काँग्रेसबाट विद्रोह गरी गएको कारण असन्तुष्ट काँग्रेसीहरुबाट पाएको मत यो पटक अमरेशले पाउने छैनन् । त्यसैले उनी हार्दैछन् ।

– २०७९ को चुनावमा एमालेले जसपासँग चुनावी तालमेल गरेको थियो । तत्कालीन समयमा पाँच दलीय गठबन्धनले जसपा एमालेको गठबन्धन तोड्न जसपाबाट चुनाव लडेका मिश्रालाई हराउन एमालेकै मान्छेहरुले पनि अमरेशलाई भोट दिएका थिए । अहिले एमालेले आफ्नै उमेदवार उठाएकोले एमालेको भोट पनि अमरेशले पाउने छैनन् ।

को हुन्छ त गगनको प्रतिष्पर्धी ?
यो चुनावमा सर्लाही ४ मा गगन थापाको प्रतिष्पर्धी अमरेश सिंह नभएर जनमत पार्टीबाट उमेदवार बनेका राकेश मिश्रा हुने देखिएको छ । २०७४ चुनावमा अमरेश सिंहका मुख्य प्रतिष्पर्धी रहेका मिश्रा एक असल, इमान्दार, जनप्रिय र जनभावनालाई बुझ्न सक्ने किसानको नेताको रुपमा चिनिन्छन् ।

धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलरा नगरपालिका, बरहथवा नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म र वडा नम्बर १३ देखि १५ सम्म, विष्णु गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्म र बासबरिया गाउँपालिकाको वडा नम्बर १ देखि ३ सम्म गरी कुल ५१ ओटा वडा रहेको क्षेत्र सर्लाही ४ मा कुल १ लाख २१ हजार १२ मतदाता छन् ।

उमेदवार धेरै भएकोले सर्लाही ४ मा यो पटक २० देखि २५ हजार मत ल्याए चुनाव जितिने देखिएको छ । जसमा जनमत पार्टीले आफूसँग ४५ हजार बढी संगठित सदस्य मात्रै रहेकोले अर्गानिक मत ३० देखि ३५ हजार आउने दाबी गरेको छ । र जनमतको मुख्य प्रतिष्पर्धी अमरेश नभएर काँग्रेस सभापति गगन थापा रहेको भन्दै गगनलाई पनि सहजै हराएर चुनाव जित्ने दाबी गरेको छ ।

यस्तो छ जनमतको मतको आँकडा र चुनाव जित्ने आधार
– वर्षौदेखि काँग्रेसले आफ्नो गढ बनाएको सर्लाही ४ अहिले जनमत पार्टीको गढ अर्थात आधार इलाका हो । यहाँ उसको संगठित सदस्य मात्रै ४५ हजार बढी छ ।

– गत चुनावमा अमरेश सिंहलाई चुनाव जिताएका गोडैताका मेयर प्रत्यासी रामबाबु साह अहिले जनमतमा छन् । उनीसँगै रामचन्द्र साह पनि जनमत मै छन् ।

– सर्लाही ४ मा ब्राह्मण समुदायको मत १० हजार बढी रहेकोले त्यो भोट राकेश मिश्रालाई नै जान सक्छ ।

– गत चुनावमा प्रदेशसभामा स्वतन्त्र रुपमा चुनाव लडेका पूर्व माओवादी नेता श्रीचन यादव पनि जनमत मै छन् । उनको प्रभाव सर्लाही ४ मा राम्रै छ । उनी माओवादीमा हुँदा बलरा र रामनगरमा माओवादीको उमेदवारलाई जिताउन भूमिका खेलेका उनी जनमतमा प्रवेश गरेर अहिले जिल्ला इन्चार्ज भएपछि अधिकांश माओवादी, जसपा, लोसपा, काँग्रेस एमालेको समेत स्थानीय प्रभावशाली नेताहरु जनमत मै छन् ।

– २०७९ को चुनावमा राकेश मिश्रा स्वयमले पनि ५ हजार ८१३ मत ल्याएका थिए ।

– उनी उखु किसान आन्दोलनका अगुवा मानिन्छन् । उनले ४ नम्बर क्षेत्रका उखु किसानलाई चिनी मिलहरुले दिन बाँकी एक अरब भन्दा बढी रकम दिलाएको श्रेय छ । त्यसैले उखु किसानले राकेश मिश्रालाई नै दिनेछन् ।

– सर्लाही ४ कोर मधेश भएकोले यहाँका उमेदवारले पहडिया उमेदवारलाई मत दिँदैनन् । त्यसैले गगन थापाले पाउने भोट जनमतले नै पाउँछ ।

– अमरेश सिंहले पटक पटक चुनाव जितेर क्षेत्रको विकासमा माखो मार्न सकेनन् । उनले ४ नम्बर क्षेत्रवासीलाई पटक पटक ढाँट्दै आएका छन् । उनीबाट आजित भएका मतदाताले राकेश मिश्रालाई नै हर्न छापमा मत खसाल्ने छन् ।

– विरेन्द्र सिंहले आफू मुख्यमन्त्री बन्ने स्वार्थ राखेर गगनलाई सर्लाही ४ मा ल्याएको क्षेत्र ४ बासीले बुझेकाले गगनलाई मत दिँदैनन् ।

– विरेन्द्र सिंह र सुरेन्द्र सिंह परिवारवादबाट टाढा छैनन् । उमेदवार सिफारिसमा आफ्नै परिवारबाट मात्रै नाम सिफारिस गरेकाले असन्तुष्ट काँग्रेसीहरुले गगनलाई मत दिँदैनन् ।

– अहिलेको चु्नावमा नेपाली कम्यूनिष्ट पार्टीबाट विद्रोह गरेर तीन जना नेता अलग अलग पार्टीबाट चुनाव लड्दैछन् । प्रभावशाली मानिएका शिवपुजनले विद्रोह गरेर एमालेबाट आफ्नै छोरालाई उमेदवार बनाएका छन् । त्यस्तै २०७४ मा सर्लाही ३ बाट चुनाव जितेका रामेश्वर राय अहिले ४ बाट जसपाको टिकट लिएर उमेदवार बनेका छन् । डा.रजनीस नेपाली कम्यूनिष्ट पार्टीबाट उमेदवार बनेका यादव समुदायका हुन् । यसरी यादवहरुको मत तीनतिर खण्डित हुने छ । जसको प्रत्यक्ष लाभ राकेश मिश्रालाई नै हुने देखिन्छ ।

यसरी सर्लाही ४ मा गगन र अमरेशलाई मुख्य प्रतिष्पर्धी देखाइए पनि वास्तविकत रुपमा त्यहाँ जनमतको उमेदवार बलियो रहेको देखिन्छ । जनमत पार्टीबाट उमेदवार बनेका राकेश मिश्राले त अमरेशले चुनाव नजित्ने, गगनको जमानत नै जफ्त हुने दाबी गरे ।

उनले जनमत पार्टी संघीयता, मधेशीको अधिकार र पहिचान स्थापित गराउने पार्टी भएकोले जनमत बाहेक ४ नम्बरमा अरु पार्टी र उमेदवारहरुको गुञ्जास नै नरहेको बताए ।

त्यस्तै काठमाण्डौमा कवाड व्यवसाय गर्ने, फुटपाथमा पसल चलाउने, तरकारी बेच्ने मधेशीहरुलाई बालेनले धपाएको भन्दै स्थानीय बुद्धिजीवी र युवाहरुले अब सर्लाही ४ नम्बर क्षेत्रबाट बालेन आवद्ध रास्वपाका उमेदवारलाई अमरेश सिंहलाई धपाउने बताए ।

स्थानीय कमलेश मण्डलका अनुसार अमरेशले यो पटक ५-७ हजार पनि मत ल्याउन सक्ने छैनन् । उनले भने,‘जनता सचेत भइ सकेको छ । अब अमरेश जस्ता जनता ढाट्नेहरुले जित्दैनन् ।’

(Visited 106 times, 1 visits today)





Source link

Leave a Comment