प्रकाशित मिति : मंसिर ३०, २०८२ मंगलबार

अमेरिकी श्रम बजारले गत महिना अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको देखिएको छ । अमेरिकी सरकार शटडाउनका कारण परेको असरबाट केही हदसम्म सुधार देखिएको आधिकारिक तथ्याङ्कले जनाएको छ ।
मंगलबार सार्वजनिक गरिएको बहुप्रतीक्षित प्रतिवेदनअनुसार अक्टोबरमा करिब १ लाख ५ हजार रोजगारी गुमेका थिए भने नोभेम्बरमा ६४ हजार रोजगारी थपिएका छन् । नोभेम्बरको रोजगारी वृद्धिदर धेरै अर्थशास्त्रीहरूले अनुमान गरेको करिब ४० हजारभन्दा बढी हो ।
यद्यपि, समग्र बेरोजगारी दर भने निरन्तर बढ्दै गएको छ । नोभेम्बरमा बेरोजगारी दर ४ दशमलव ६ प्रतिशत पुगेको छ, जुन पछिल्ला चार वर्षयताकै उच्च स्तर हो । यसले अमेरिकी अर्थतन्त्रको अवस्थाबारे चिन्ता बढाएको छ ।
अगस्ट र सेप्टेम्बर महिनाका रोजगारी वृद्धिसम्बन्धी अघिल्ला अनुमान पनि संशोधन गरी घटाइएका छन् । अगस्टमा ४ हजारले घट्ने भनिएको संख्या संशोधनपछि २६ हजार पुगेको छ भने सेप्टेम्बरमा १ लाख १९ हजारले बढ्ने भनिएको अनुमान घटेर १ लाख ८ हजारमा सीमित भएको छ ।
सामान्यतया मासिक रूपमा सार्वजनिक हुने रोजगारी तथ्याङ्कहरू ४३ दिनको सरकारी शटडाउनका कारण ढिलो प्रकाशित भएका हुन् । यस अवधिमा संघीय सरकारी रोजगारी अक्टोबरमा १ लाख ६२ हजार र नोभेम्बरमा ६ हजारले घटेको छ ।
यसैबीच, अमेरिकी श्रम तथ्याङ्कको विश्वसनीयतामाथि पनि प्रश्न उठ्न थालेका छन् । श्रम तथ्याङ्क ब्युरो (बीएलएस) ले सरकारी शटडाउनका कारण अक्टोबरको पूर्ण तथ्याङ्क सार्वजनिक हुन नसक्ने र नोभेम्बरको तथ्याङ्क ढिलो हुने जनाएको थियो ।
फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले बीएलएसका तथ्याङ्कहरूलाई सरकारी शटडाउनको असर हट्दासम्म “सन्देहको नजरले” हेर्नुपर्ने चेतावनी दिएका छन् ।
यसैबीच, अमेरिकी रोजगारी बजार कमजोर हुँदै गएको संकेत पनि देखिएको छ । एडीपीका अनुसार निजी क्षेत्रका रोजगारदाताहरूले अक्टोबरमा ४७ हजार रोजगारी थपेपछि नोभेम्बरमा करिब ३२ हजार रोजगारी कटौती गरेका छन् ।
सरकारी शटडाउनका कारण ढिलो गरी सार्वजनिक गरिएको सेप्टेम्बरको प्रतिवेदनमा अमेरिकाले १ लाख १९ हजार रोजगारी थपेको उल्लेख भए पनि सो महिनामा बेरोजगारी दर ४ दशमलव ३ प्रतिशतबाट बढेर ४ दशमलव ४ प्रतिशत पुगेको थियो, जुन सन् २०२१ यताकै उच्च स्तर हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्