सरकारी अध्ययन निष्कर्ष : जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश होइन


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अर्थ मन्त्रालयले त्रिभुवन विश्वविद्यालयसँग गरेको अध्ययनले २३ र २४ भदौको जेनजी आन्दोलन भ्रष्टाचार, कुशासन र सामाजिक अन्याय विरुद्धको सामूहिक प्रतिक्रिया भएको निष्कर्ष निकालेको छ।
  • अध्ययनले जेनजी आन्दोलनमा ७ वटै प्रदेशका ४२० जना सहभागीको सर्वेक्षण, अन्तर्वार्ता र समूहगत छलफल प्रयोग गरिएको उल्लेख गरेको छ।
  • प्रतिवेदनले जेनजी आन्दोलनबाट ८४ अर्ब ४५ करोड रुपैयाँ क्षति भएको र यसलाई पुनर्निर्माणका रूपमा उपयोग गर्न सुझाव दिएको छ।

१ चैत, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन युवाको क्षणिक आक्रोशमात्र नभएको निष्कर्ष सरकारी अध्ययनमा देखिएको छ ।

अर्थ मन्त्रालयले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग कीर्तिपुर मार्फत गरेको अनुसन्धानले जेनजी आन्दोलन ‘भ्रष्टाचार, कुशासन, आर्थिक अवसरको अभाव, सामाजिक अन्याय र संस्थागत असफलता विरुद्धको सामूहिक तथा संरचनात्मक प्रतिक्रिया’ भएको निष्कर्ष निकालेको हो ।

यस अध्ययनले सुशासन र संस्थागत सुधार, मेरिटमा आधारित प्रशासन, अनिवार्य डिजिटल गभर्नेन्स, समयसीमाबद्ध नीति कार्यान्वयन, गुणस्तरीय रोजगारी र्सिजना, शिक्षा र सिपलाई बजारसँग समन्वय, डिजिटल अधिकार संरक्षण र नीति निर्माणमा युवाको संस्थागत सहभागिता आवश्यक रहेको समेत निष्कर्ष निकालेको छ ।

यी पक्षमा हुने सुधार कार्यान्वयनले युवाको विश्वास पुनर्स्थापना, सामाजिक स्थायित्व र दिगो लोकतान्त्रिक तथा आर्थिक विकास सम्भव हुनेसमेत अध्ययनको निष्कर्ष छ ।

अर्थशास्त्र केन्द्रीय विभागले प्रा. डा. रामप्रसाद ज्ञवाली, डा. प्राशु नेपाल र डा. दीपकबहादुर अधिकारी मार्फत उक्त अध्ययन गरेको थियो । प्रतिवेदन अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

‘डिजिटल प्रविधिमा हुर्किएको, शिक्षित, सचेत जेनजी पुस्ताले लोकतान्त्रिक शासन प्रणालीमा पारदर्शिता, न्याय, अवसर र उत्तरदायित्वको अपेक्षा राखिएको भए पनि ती अपेक्षा समयमा पूरा हुन नसक्दा यो पुस्ताको असन्तोष नै जेनजी आन्दोलनको रूपमा अभिव्यक्त भएको देखिन्छ,’ प्रतिवेदनमा छ ।

प्रतिवेदन अनुसार तथ्यांक संकलनका लागि ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी ४ सय २० उत्तरदाता समेटेर प्रश्नावली सर्वेक्षण गरिएको थियो । साथै अन्तर्वार्ता, समूहगत छलफल, द्वितीय स्रोतसमेत प्रयोग गरी प्रतिवेदन तयार पारिएको हो ।

जेनजी आन्दोलन केवल नेपालमात्र नभई विश्वव्यापी परिघटनाका रूपमा देखापरेको समेत प्रतिवेदनमा उल्लेख छ । अमेरिका, एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा भएका आन्दोलनमध्ये बंगलादेश र इन्डोनेसियाका उदाहरणले जेनजी आन्दोलन प्राय नेतृत्वविहीन, विकेन्द्रित, डिटिजल प्ल्याटफर्ममा आधारित र समावेशी एजेन्डा सहित सञ्चालन भएको पाइएको छ ।

जेनजी आन्दोलन ह्यासट्याग अभियान, डिजिटल प्ल्याटफर्ममा संगठित र मिम राजनीति जस्ता रणनीतिले युवा, महिला, श्रमिक र अल्पसंख्यक समुदायलाई एउटै प्ल्याटफर्ममा जोड्दै नीतिगत सुधार र शासन पुनर्संरचनामा प्रभावकारी दबाब सिर्जना गरेको समेत प्रतिवेदनमा उल्लेख छ ।

यस आधारमा हेर्दा जेनजी आन्दोलन केवल सामाजिक विरोधमात्र नभई पारदर्शिता, जवाफदेहिता, नयाँ राजनीतिक संस्कृतिको माग गर्ने र संरचनात्मक परिवर्तनको उत्प्रेरकका रूपमा भएको देखिएको छ ।

आर्थिक कारण के ?

अध्ययनले जेनजी आन्दोलनको सामाजिक–आर्थिक पृष्ठभूमि खोतल्ने प्रयास गरेको छ । जसमा बढ्दो सहरीकरण, बेरोजगारी, समान अवसर अभाव, रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता, अव्यावहारिक शिक्षा र स्वदेशी रोजगारीको न्यूनताले वर्तमान पुस्ता प्रत्यक्ष प्रभावित भएको निष्कर्ष निकालिएको छ ।

स्थलगत सर्वेक्षण अनुसार जेनजी आन्दोलनमा सहभागीमध्ये ९८ प्रतिशतले माध्यामिक वा त्यसभन्दा माथिल्लो शिक्षा हासिल गरेका थिए । उमेरगत हेर्दा ठूलो समूह १६ देखि २५ वर्षको थियो । पेसागत हेर्दा विद्यार्थी, बेरोजगार युवा र स्वरोजगार युवा बढी सहभागी थिए ।

बढ्दो बेरोजगारी, रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता, न्यून आय, रोजगारमा न्यून ज्याला, आर्थिक अस्थिरता, विकास प्रणाली समावेशी नहुनु र विकासको नमुना रोजगारीमा प्रश्रय दिने खालको नहुँदा युवामा बढी असन्तोष रहेको देखिएको छ । उद्यमशीलताका अवसर सीमित हुनु र आर्थिक असमानता बढ्दै जाँदा युवामा आक्रोश बढिरहेको देखिएको छ ।

डिजिटल स्वतन्त्रतामा लगाइएको प्रतिबन्धको आक्रोश

अध्ययन अनुसार आन्दोलन हुनुमा राजनीतिक नेतृत्वप्रति घट्दो विश्वास, डिजिटल स्वतन्त्रतामा लगाइएको प्रतिबन्ध, राजनीतिक नेतृत्व र तिनका सन्तति तथा नातेदारको विलासी जीवनशैली, सेवा सुविधामा सीमित व्यक्तिको पहुँच मुख्य कारण मानिएको छ ।

सरकारी अध्ययन निष्कर्ष : जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश होइन
default

इमानदार राजनीतिककर्मी राज्य सुविधाबाट वञ्चित हुनु, रोजगारीमा आधारित शिक्षा नहुनु, उच्च शिक्षा भए पनि योग्यता अनुसार रोजगारी नपाउनु, समाजका सीमान्तकृत व्यक्ति विकासको मूल प्रवाहमा नआउनु र राजनीतिक नियुक्तिमा नेतृत्वका नातेदार र आफन्तलाई मात्र नियुक्ति गरिनु समेत आन्दोलनको जड कारणका रूपमा रहेको छ ।

सुशासन अभाव

प्रशासनिक प्रक्रियामा धेरै समय लाग्ने र झन्झटिलो प्रक्रियाले युवालाई आक्रोसित बनाएको अध्ययनले देखाएको छ । सेवा प्रणालीमा एकद्वार अभाव, मालपोत, कर तथा सेवा दस्तुर बुझाउने ठाउँमा सेवा भावना अभाव, सार्वजनिक प्रशासनमा पारदर्शिता अभाव, सार्वजनिक संस्थाहरूमा कार्यदक्षता अभाव, सेवा प्राप्ति हुने क्षेत्रमा नातावाद र कृपावाद हावी हुनु, न्याय प्रणालीमा ढिलासुस्ती लगायत कारण युवामा असन्तुष्टि बढाएको पाइएको छ ।

भ्रष्टाचारका सन्दर्भमा समेत नेपालमा व्यापक बढेको युवा निष्कर्ष छ । भ्रष्टाचारलाई नैतिक कमजोरी नभई प्रणालीगत असफलताका रूपमा युवाले बुझेको पाइएको छ । भ्रष्टाचार रोक्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत लगायतमा राजनीतिक नियुक्ति हुने र नियुक्ति पाउने व्यक्ति राजनीतिक नेतृत्वप्रति बढी उत्तरदायी देखिँदा भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसकेको समेत युवा निष्कर्ष छ ।

सार्वजनिक निकाय नागरिकप्रति उत्तरदायी भएनन्

अध्ययन अनुसार नेपालका सार्वजनिक संस्था नागरिकप्रति उत्तरदायी नभएको देखिएको छ । सेवा प्रवाह, पारदर्शिता र निर्णय प्रक्रियामा उनीहरूले नागरिकलाई आस्वस्त पार्न नसकेको देखिन्छ । सरकारी रोजगारी प्रक्रियामा पारदर्शिता भए पनि पदोन्नतिमा राजनीतिक प्रभाव देखिनु, शिक्षा र श्रम बजारबीच ठूलो अन्तर जस्ता विषयले समेत युवालाई असन्तुष्ट बनाएको थियो ।

राजनीति पेसा बनाउँदा समस्या

प्रतिवेदनले राजनीतिलाई पेसा बनाएका कारण समस्या दोहोरिएको निष्कर्ष निकाल्दै यसलाई राष्ट्र निर्माण र राष्ट्र सेवाका लागि गरिने पवित्र कार्यमात्र हो भन्ने बनाउनु आवश्यक रहेको देखाएको छ ।

राजनीतिक नियुक्तिलाई खुला प्रतिस्पर्धाका आधारमा गर्न, बेरोजगारी हटाउन, सीमान्तकृत समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सुझाव दिइएको छ । नीतिगत स्थिरता हटाउन, आयमा रहेको असमानता कम गर्न, सार्वजनिक सेवा सहज, पारदर्शी, छिटो र जनमैत्री बनाउन समेत सुझाव दिइएको छ ।

पुनर्निर्माणका रूपमा उपयोग गरौं

अध्ययन प्रतिवेदनले जेनजी आन्दोलनबाट ८४ अर्ब ४५ करोड रुपैयाँ बराबर भौतिक क्षति भएको उल्लेख गर्दै यसलाई पुनर्निर्माणका रूपमा उपयोग गर्न सुझाव दिएको छ । अहिले बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको भन्दै ब्याजदर कम भएको समयमा सरकारले नै ऋण लिई पुनर्निर्माणको कामलाई तीव्रता दिन सक्ने प्रतिवेदनको सुझाव छ ।

सरकारी अध्ययन निष्कर्ष : जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश होइन

यसले एकातर्फ राष्ट्रिय आय वृद्धि हुने र अर्कातर्फ समग्र माग बढ्दै अर्थतन्त्र चलायमान हुनेसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ । २३ र २४ भदौको आन्दोलनका कारण ५४ जिल्लाका २ सय ६२ स्थानीय तहमा क्षति पुगेको थियो ।

निजी क्षेत्रलाई के दिइयो सुझाव ?

जेनजी आन्दोलनमा निजी क्षेत्रसमेत आन्दोलनकारीको तारो बनेको थियो । प्रतिवेदनले लगानीकर्तालाई कुनै पार्टीसँग आबद्ध नभई स्वतन्त्र लगानीकर्ताका रूपमा चिनिन राम्रो हुने सुझाव दिएको छ । केही निजी लगानीकर्ता राजनीतिक नेतृत्वसँग नजिक हुँदा उनीहरूको आदर्श व्यक्तित्वमा धमिलोपन आएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सर्वसाधारण जनतामा निजी लगानीकर्ताले सिर्जना गरेको रोजगारी र उत्पादनले अर्थतन्त्रमा पारेको सकारात्मक प्रभावबारे जानकारी गराउन समेत सुझाव दिएको छ । औद्योगिक व्यवसायीलाई पूर्ण नैतिकतामा चल्न समेत सुझाव दिइएको छ । उद्योग–व्यवसायलाई शान्ति क्षेत्र घोषणा गर्नसमेत सुझाव दिइएको छ । व्यवसायीलाई मुनाफाको केही अंश सामाजिक कार्यमा खर्च गर्नसमेत प्रतिवेदनले सुझाव दिएको छ ।





Source link

Leave a Comment