फेरि त्यो दिन सम्झन चाहन्न, मायाको बाटो, कति दिन बिते, जाँदैछु टाढा…। यी गीतहरुले तपाईंलाई त्यही दिनमा फर्काउनेछ, जहाँ क्यासेट टेपको धुमधाम युग थियो ।
त्यो क्यासेटको जमाना थियो ।
हरेकजसो चोकमा क्यासेट पसल हुन्थे । मोहक साजसज्जासहित क्यासेटमा औसत ७-८ वटा गीत संग्रहित हुन्थे । साइड ‘ए’ र साइड ‘बी’ मा फर्काइ-फर्काइ गीत सुन्नुपर्थ्यो । यसका लागि छुटै क्यासेट प्लेयर जरुरत हुन्थ्यो । पारखीहरु बजारबाट क्यासेट ल्याउथे र जतनसाथ प्लेयरमा राखेर गीत सुन्थे । सुनिरहन्थे ।
त्यो एफएम रेडियोको जमाना थियो ।
यी गीतहरुले पारखीलाई कतिसम्म मोहनी लगाउथे भने रेडियो वा एफएममा ‘फर्माइस’ गरी गरी सुन्थे । रेडियो, एफएम साप्ताहिक वा मासिक रुपमा ‘शीर्ष पाँच वा दश गीत’ सार्वजनिक गर्थे । आफ्नो गीत सार्वजनिक हुनसाथ संगीतकर्मीहरु रेडियो-एफएमसम्म पुर्याउन हतारिन्थे ।
त्यो अखबारको जमाना थियो ।
अखबारको रंगिन पृष्टहरुमा सांगीतिक समाचारहरु छापिएका हुन्थे । संगीत र संगीतकर्मीको अनेक आयम समाचारमा समेटिएका हुन्थे । कति मनोरन्जन प्रधान अखबारले साताको उत्कष्ट पाँच वा दश गीत सार्वजनिक गर्थे । त्यो समय कुन गीत, कुन गायक चल्तीमा छ भनेर सहज अनुमान गर्न सकिन्थ्यो ।
त्यो सुगम पोखरेलको जमाना थियो ।
२०५८ साल ताका । ‘मेरो संसार तिमी नै हौ’ गीतमा मधुर भाका हाल्दै गायक सुगम पोखरेलको उदय हुन्छ । त्यसपछि ‘फेरी त्यो दिन’, मायाको बाटो’, ‘तिमी मभन्दा कोसौं टाढा’ जस्ता एकपछि अर्को गीतले उनलाई चर्चाको चुलीमा उभ्याउँछ । एकाध गीत ‘हिट’ बनाएर विदेशिने मनोदशामा रहेका यी गायक करियरको पूर्वाद्धमै पाएको अपार सफलतामा मग्न हुनपुग्छन् । र, संगीतको लयमा आफ्नो जीवनको धुन खोज्न थाल्छन् ।
२३ वर्ष बित्छ । जुग फेरिन्छ । तर, उनको जीवनको लय फेरिदैन । आफ्नो कर्मको यो लम्बेतान यात्रामा उनी कहिले पिरतीको भाका हाल्दै त कहिले चाडपर्वको रौनक थप्दै गीत गाइरहन्छन् । यत्तिका अवधि उनी संगीतमा अविचलित र अविराम जागा रहन्छन् । उसैगरी गाइरहन्छन् । र, नोस्टाल्जिक बनाइरहन्छन् सहस्राब्दी पुस्तालाई ।
…………………
खात लागिसकेका पुराना यादहरु बोकेर उनी फेरि आए, ‘नवमी’ एल्बमसहित । दुरुस्त क्यासेटको प्ररुपमा उपलब्ध यो गीति संग्रहमा ९ वटा गीत छन् । यसमा सुगमलाई सुन्नका लागि तपाईंले थन्को लगाइसकेको क्यासेट प्लेयर खोज्ने झन्झट गर्नुपर्दैन । किनभने ‘नवमी’लाई डिजिटल प्लेटमर्फममा सुन्न सकिन्छ ।
यही गीति संग्रहको मेसोमा हामीले फेरी सुगमलाई क्यासेट युगमा फर्कायौं र करिब दुई दशकअघिका सम्झनाहरु खोतलखातल बनायौं । घट्टेकुलोको डेराबाट पैदल हिँड्दै एफएफमा कार्यक्रम चलाउन पुग्ने एउटा किशोर जसको दुई वटा गीत सार्वजनिक भइसकेको छ । तर, ती गीतहरु अपेक्षाकृत चलेका छैनन् । हार-जीतको मनोदशामा गुज्रिरहँदा अचानक आफ्नै सोलो एल्बमबाट रातारात चर्चामा आउँछन् । त्यसपछि के हुन्छ ?
फर्कौं डेढ दशकअघि ।

सुगम त्यसबेला सुपरिचित थिएनन् । पहिलो एल्बम तयार भइसकेको थियो । तर, यसका गीत मान्छेले सुन्छन् वा सुन्दैनन् ? एल्बम बिक्छन् वा बिक्दैनन् ? संगीत बजारको नाडी छाम्न पाएकै थिएनन् । त्यसैले उनले एक म्युजिक कम्पनीलाई आफ्नो क्यासेटको सम्पूर्ण स्वमित्व बेचिदिए, ९७ हजारमा ।
जबकि गीत तयार गर्न, धुन भर्न, रेकर्ड गर्न यावत् कामका लागि ८० हजार रुपैयाँ खर्च भइसकेको थियो । बाँकी रह्यो, १७ हजार । यत्ति थियो उनको पहिलो एल्बमको कमाइ । तर, यो अंकगणितभन्दा फरक रह्यो एल्बमले दिएको ख्याती ।
क्यासेटको नाम थियो, वान एमबी । यसैमा समावेश मेरो संसार, फेरि त्यो दिन जस्ता गीत सर्बत्र सुनिदै थिए । रेडियो ट्युन गर्दा होस् वा शहरका गल्ली चाहर्दा, गाउँबस्तीको बिहेभोजमा होस् वा रात्रीकालिन बसहरुमा, सुगमका गीतहरु दोहोर्याइ-दोहोर्याइ बज्थे ।
‘त्यो बेला भर्खर बिहे गरेको, युवा उमेरको थिएँ’ सुगम सम्झन्छन्, ‘तर आर्थिक रुपले त्यति बलियो थिइनँ जति नाम थियो ।’
यही क्षणमा उनको मनमा बेग्लै तुफान चल्थ्यो । नाम र दामको समीकरण कसरी मिलाउने ? किनभने रेडियो, पत्रपत्रिकादेखि चोक-गल्लीले उनको सुकिला तस्वीर सजाइसकेको थियो । आवाजको मोहनीमा बाँधिनेहरुको संख्या बढ्दै थियो ।
यही संक्रमणकालिन क्षणमा एउटा दर्बिलो आत्मविश्वास पलाएको थियो, ‘अब चाहिँ पक्कै केही गर्न सक्छु ।’ तर, यो आत्मविश्वास एक कदम अगाडि बढेर कताकता ‘दम्भ’मा बद्लियो । ‘स्टार हुँ’ भन्ने भावनाले उचाल्न थाल्यो ।
हुन त कतिसम्म हुन्थ्यो भने, यी गायकको एक झलक पाउन शुभेच्छुकहरु सधै लालयित रहन्थे । एकपटक वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कन्सर्ट भइरहेको थियो । जसै सुगम भिडबाट मन्चतर्फ अगाडि बढे । हठात् कसैले उनलाई च्याप्प समाते, अंगाले, मुसारे, म्वाइ खाए । ती कुनै युवती पनि थिइनन् । युवा थिए, जो सुगमको ‘डाइहार्ट फ्यान’ थिए । यस्ता शुभेच्छुक कति थिए कति । कन्सर्टमा हात दिएर एक स्पर्श खोज्नेहरु, अटोग्राफमा हस्ताक्षर माग्नेहरु र एकदम मिहिनेतले चिठीपत्र लेखेर पठाउनेहरु असंख्यौं थिए ।
शुभेच्छुकहरुको घेराबन्दीमा मनमग्न भइरहँदा उनले एकपटक अर्न्तवार्तामा झुट बोलेका थिए । उनलाई सोधिएको थियो, ‘तपाईंको कुनै गर्लफ्रेन्ड छ ?’
सुगमको जवाफ थियो, ‘अहँ, छैन ।’
अन्तर्वार्ता दिएर स्टुडियोबाट बाहिरिदै गर्दा उनको तन्द्रा टुट्यो । यसरी, ‘होइन, म त बिहे गरिसकेको मान्छे । यो अर्न्तवार्ता श्रीमतीले सुन्लान्, सासु-ससुराले सुन्लान् । उनीहरुले के भन्लान् ? होइन म त गीत गाउन पो आएको, केटी फकाउन होइन ।’
लगत्तै उनले राजधानी दैनिकका रंग पत्रकार युमाश शेर्पालाई बोलाए र एउटा अर्न्तवार्ता दिएका थिए । ‘म विवाहित हुँ’ भन्दै । त्यसपछि उनका कति शुभेच्छुक नराम्ररी बिच्किए । यस्तो खटपट भइरहन्थ्यो सांगीतिक जीवनमा ।
सुगमले ‘सेलिब्रेटी’ फेम पाइसकेका थिए । तर, त्यसबेला व्यक्तिगत अवस्था कस्तो थियो भने चढ्नका लागि एउटा बाइक पनि थिएन । माइक्रोबस चढ्नुपर्ने । रुमालले अनुहार ढाकेर हिँडडुल गर्नुपर्थ्यो । मान्छेले चिन्छन् भनेर कस्तो सास्ती ?
आफ्नी श्रीमती जतिबेला गर्लफ्रेन्ड थिइन्, त्यसबेला उनलाई पुर्याउन सुगम बागबजारको पद्मकन्या कलेजसम्म ओहोरदोहोर गर्थे । कलेज अगाडि एउटा कफी शप थियो । त्यहाँ बसिरहँदा उनकै गीत बज्यो, रेडियोमा । पसल साहुनीले बज्दाबज्दैको गीत नसुनेर अर्कै च्यानल ट्युन गरे । तब सुगमले भने, ‘दिदी अघिकै गीत लगाउनु न । त्यो मेरो गीत हो ।’
पसले दिदीले पत्याए पो ?
त्यसबेला सुगमको रुटिन कस्तो थियो भने, रेडियो सगरमाथामा कार्यक्रम चलाउन जान्थे । त्यहाँबाट पद्मकन्या क्यापस आउथे । पद्मकन्याबाट रत्नपार्क । रत्नपार्कको पुरानो बसपार्कबाट शान्तिनगर पुग्थे । गर्लफ्रेन्डलाई घर पुर्याएर पुन अफिस जान्थे ।
यसरी नै गर्लफ्रेन्डसँग सार्वजनिक बसमा चढेर बानेश्वर हुँदै अगाडि बढिरहँदा सुगमले वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रतर्फ इंगित गर्दै भनेका थिए, ‘एकदिन तिमी र म त्यहाँ म्युजिक अवार्ड लिन जानुपर्छ ।’ त्यहाँ हिट्स एफएम अवार्ड भइरहेको थियो ।
त्यसको ठ्याक्कै दुई वर्षपछि त्यो दिन पनि आयो । उनीहरु सम्मेलन केन्द्रमा प्रवेश गर्दै थिए, अवार्ड लिनका लागि ।
पहिलो एल्बम बजारमा आइसकेको थियो, वान एमबी । यो एल्बममा उनी आफ्नो नाम र फोटो लुकाउन चाहन्थे । यसो गर्नुको पछाडि तीन कारण थिए ।
एक, त्यसअघि दुईवटा गीत सार्वजनिक भइसकेको थियो । तर, चलेका थिएनन् । आफ्नो नाम नै नफापेको हो कि ? उनमा शंसय थियो ।
दुई, त्यसबेला उनी रेडियो सगरमाथामा काम गर्थे । एउटा रेडियोमा काम गर्नेको गीत अर्को रेडियोले नबजाउने प्रवृत्ति व्यापक थियो । रवि लामिछाने, नरेश भट्टराई, हेम सुवेदीहरुको आ-आफ्नै सिन्डिकेट थियो । नाम खुलेमा अरुले गीत नबजाउने हो कि ?
तीन, जिन्दगी सोचेजस्तो भइरहेको थिएन । त्यसैले आफैंलाई अनुशासनमा राख्न उनले मांशहार त्यागे र धर्मकर्म अपनाए । ‘म एउटा मान्छे देखिए पनि मेरो पछाडि कुनै अदृश्य शक्ति छ’ भन्ने लागिरहन्थ्यो । यही अदृश्य शक्तिलाई समर्पण गरेर उनले आफूलाई एल्बमको कभरमा लुकाए ।
तर जसै एल्बम सार्वजनिक भयो सबैतिर उनको गीत बज्न थाल्यो । कान्तिपुर एफएमका आशिष र प्रशन स्याङ्देनले त बारम्बार सुगमकै गीत बजाइरहे । जबकि त्यसबेला उनीहरुबीच कुनै चिनापर्ची थिएन ।
नदेखेरै, नभेटेरै सही सुगम सर्वत्र चिनिंदै थिए । सर्वत्र सुनिंदै थिए ।
‘जे गरेपनि, जसो गरेपनि चर्चा हुन्थ्यो’ सुगम सुनाउँछन्, ‘त्यसले एक किसिमको दम्भ बढाइदिने रहेछ ।’ यद्यपि ‘दम्भ’को आयु लामो हुँदैन । एकदिन त समयले मान्छेलाई आफ्नो साइजमा ल्याउँछ । धेरै समय लागेन, सुगमलाई आफ्नै आकार-प्रकार र नापतौलमा ओर्लिन ।
सन् २००८ तिर उनी यस्तो भ्रमबाट मुक्त भइसकेका थिए कि, ‘म नै सर्बेसर्बा हुँ ।’
त्यसपछि उनी अलिअलि दार्शनिक जस्तै भएर निस्किए । यसो भन्दै, ‘जीवनमा उतार–चढाव आइरहन्छ । सबैचिज भइरहन्छ, तर आफ्नो कर्म छाड्नु हुँदैन । खोला जस्तै बग्नुपर्छ, किनभने खोलाले बाटो भएन भने पनि आफ्नै बाटो बनाउँछ रे । त्यसैले बगिरहनु चाहिँ पर्छ ।’
उनी बगिरहे । कहिले सोलो एल्बम निकाल्दै, कहिले सिनेमाका पाश्र्व गीत गाउँदै, कहिले कन्सर्टको फन्को लगाउँदै । संगीतमा अविश्राम उनका पाइला चलिरह्यो । उनी रोकिएनन् । मोडिएनन् । भड्एिकनन् ।
‘सुरु–सुरुमा मलाई के लाग्थ्यो भने, यो सबै मेरो तागतले प्राप्त भएको हो’ सुगमले अलि गम्भीर भावमा सुनाए, ‘तर म केवल माध्याम रहेछु । मेरो काम त फगत कर्म गर्ने रहेछ । बाँकी सबै अरु कसैले मिलाइदिने रहेछ ।’
‘अरु कसै’ अर्थात ईश्वर । ईश्वर अर्थात प्रकृति ।
‘मैले राम्रो ढंगले आफ्नो भूमिका मात्र निर्वाह गर्नुरहेछ । त्यति रहेछ मान्छेको जिन्दगी ।’ यसो भनिरहँदा उनी कुनै चिन्तक झै देखिए ।
उनी जसरी लोकप्रियताको उत्कर्षमा पुगे, त्यो उनले ‘कल्पनामा पनि नचिताएको’ जीवन थियो । उनले चिताएको जीवन मात्र के थियो भने, ‘कसैको काम गर्न नपरोस् । आफ्नो कर्मको मालिक आफैं बन्न पाइयोस् । मान्छेले चिनोस्, सम्मानपूर्वक व्यवहार गरोस् । धनको चाहाना थिएन । खान र लगाउन पुग्ने भए हुन्छ । वस् ।’
संगीतमा उनीसँगै पाइला चालेका साथीसंगी तितरबितर भए । कोही कहाँ पुगे, कोही कहाँ छुटे । तर, उनी आजको मितिसम्म पनि उसैगरी गाइरहेका छन्, जसरी करियरको सुरुवातमा गाउथे । खासगरी सिनेमा गीत र संगीतले सुगमलाई बेफुर्सदिलो बनाएको छ । पछिल्लो दशक कतिपय सिनेमाका हिट गीतहरुमा सुगम नै सुन्न सकिन्छ ।
यद्यपि यस अवधिमा आफूलाई ‘क्यास गर्न सकिएन कि’ भन्ने विस्मयले उनलाई बेलाबखत निचोर्छ । यसो हुनुमा कति आफ्नै कारण होलान्, कति अरुको । समयले फड्को मारेसँगै कतिपय कुरा अतितमै हराएर जाने रहेछ । जस्तो कि, उबेलाको क्यासेट क्रेज । उबेलाको एफएम क्रेज । उबेलाको अखबारी क्रेज ।
मनोरञ्जन अखबारको छुटै तरंग थियो । त्यहाँ छापिने साताको शीर्ष पाँच वा दश गीत, कन्सर्टको टुक्रे समाचार, फोटोसहितको अर्न्तवार्ता। कस्तो काइदा हुन्थ्यो । आज पनि त्यसको ह्याङओभरले छाड्न नसकेको हो कि जस्तो लाग्छ ।
‘मेरो संसार तिमी नै हौ’ गीत रेकर्ड भएलगत्तै सेन्ट जेभियर्समा गरेको कन्सर्ट, अर्को एक च्यारिटीका लागि गरेको कन्सर्ट, इटहरीको आइतबारेमा गरेको कन्सर्ट । इटहरीको सडकमा त्यो खुला कन्सर्ट गरिरहँदा उनलाई एउटा कुरा महसुष भएको थियो, ‘आज म जहाँ उँभिएर गाइरहेको छु, मेरा बाबुबाजे पहाडबाट यही बाटो हिँड्दै तराई झरेका थिए । यहीँ बाटो हो, जहाँबाट हिँड्दै म कोशी ब्यारेजमा जान्थें । साँझ परिसकेको हुन्थ्यो, नाइटबसहरु ताती लाग्न थालेका हुन्थें । यस्तो दृश्य देख्दा मलाई किन किन रुन मन लाग्थ्यो । यहीँ सडक, आज म यत्तिका दर्शकको केन्द्रमा उँभिएर गाइरहेको छु ।’
सम्झेर उनको छाती चौडा भएको थियो । आफ्नो बाल्यकालको डोबहरु छाडेको त्यही सडक थियो जहाँ उनले करियरकै सबैभन्दा सम्झनयोग्य कन्सर्ट गर्दै थिए । कति स्वादिलो संयोग ।
आज समयले धेरै कुरा छुटायो । यद्यपि उनको जीवन संगीतको धुन छुटेको छैन । बजिरहेकै छ, अविराम ।