विविधता बीचको एकताको प्रतिक हो। दसैंमा अनेकताको बीचमा एकता हुन्छ। दसैं संस्कार र संस्कृतिको धरोहर हो। यो पर्व बीचमा सिर्जना भएको होइन। यो त आदिम समयदेखि निरन्तर रूपमा आइरहेको छ। मेरो अनुभवमा म जन्मिदादेखि अहिलेसम्म अनवरत रूपमा आइरहेको छ। यो हरेक वर्ष असोज वा कार्तिकको समयमा दैविक शक्ति लिएर हरेक नेपालीको घरघरमा, देवालयमा र मठमन्दिरमा आउँछ। प्रकृतिको मनोरम दृश्यावलोकन गर्न पाइने समय शरद ऋतुमा दसैंको छुट्टै रौनक छ। म आज दसैंको महत्त्व जोडेर बाल्यकालको सम्झना लेख्दै छु। मेरो बाल्यकालमा मलाई बारम्बार दसैंले घच्घच्याउने र तलका चिजले खबरदारी गर्ने कुरा नै अविस्मरणीय बनेका छन्। हुन सक्छ, यो अरूलाई मेल खान्छ।
१. घाँस राख्ने चलनः
खेतबारीमा राम्रो घाँस पलाएको छ भने दसैंलाई साँच्ने चलन थियो। त्यो चलन अहिले पनि छ। किनकि छिटो भारी पुर्याएर अन्य काम गर्न भ्याउने कारणले पनि घाँस साँचेर राख्ने चलन थियो। घाँस छिटो भारी पुग्यो भने छरछिमेकीकोमा जान पाइन्थ्यो। पाहुना आउँदा र आफू पनि माइत, मावल र ससुराल जाँदा वस्तुभाउ भोकै रहँदैनन्। कृषकको मुख्य पेसा वस्तुभाउ पालन हो र म पनि कृषकको छोरो भएकाले घाँसको जोहो गर्नु मेरो कर्तव्य र जिम्मेवारी थियो।
२. माटो ल्याउने र छ्याप्ने चलनः
टाढादेखि सेतो माटो र रातो माटो ल्याएर घर छ्याप्ने चलन थियो। जुन कार्य अहिले पनि छ। हामी केटाकेटी छँदा माटो बोक्न र घर छ्याप्न अत्यधिक खुशी होइन्थ्यो। धारापानीदेखि बोकेको सेतो माटो (कमेरो) र ढाड पिल्सेर छाला गएको अवस्था अनि डाँडापरिदेखि ल्याएको रातोमाटो, हौसेर लिप्न बसेको क्षण र क्रमशः छोड्दै गएको अवस्था सम्झनलायक छ। कालिमाटी भन्ने ठाउँमा कालोमाटो लिन जाँदा रावाखोलाभित्र पसेपछि रिङटा लागेर लडेको अनि साथीहरूले समाएर तारेको र पुल घुमेर धार्नापाँचेक कालोमाटो ल्याएको सम्झना हाल पनि झल्झली दिलदिमागमा छ। रातो माटोले लिप्दा लाइन काट्न सक्नु बौद्विकताको पहिचान थियो। जसरी भए पनि आफू बस्ने घर राम्रो हुनु पर्यो।
३.नुनढिकीः
दसैंमा नुनढिकीको पात टिप्न जानु अर्को रमाइलो पक्ष हो। नुनढिकीको पात टिपेर घरमा ल्याएर ढिकीमा कुटेर रस निकालेर पकाएर झ्यालढोका रङयाउने चलन थियो। त्यो हाल आएर इनामेलले विस्थापित गरेको छ। बुकिनीडाँडाको नुनढिकी र मास्तिरको तारेभिरको अत्यासलाग्दो प्रकृति ती सबै सम्झनाका पात्र बने। खत्रीको काइँलो, साइँलो र म कैयौँ पटक नुनढिकीको पात टिप्न जंगल गयौँ र पात टिपेर ल्याएर कालो लगायौँ। एक साल त ब्याट्री लगाको भान्दाइ लगायतका पाहुना ढोका र खाँबोमा टाँसिँदा सबै कालो लुगाभरि लागेको सम्झना ताजै छ। नयाँ लुगा मावलमा देखाउनुपर्ने तर कालो लागेपछि के भयो होला त हविगत?
४. चिउरा कुटनुः
म बच्चा हुँदा चिउरा कुट्ने चलन थियो। अहिलेको जस्तो बजारमा चिउरा पाइँदैन थियो। पाए पनि मान्छे किन्दैनन् थिए। १० पाथी चिउरा कुटन २४ घण्टाभन्दा धेर समय लाग्थ्यो, ३ जना मान्छे चाहिन्थ्यो। पारि दियाले गाउँका ढिकी र वारि भोर्लेनी गाउँका ढिकी ट्याङल्याङ टयाङल्याङ गरेर बज्थे। चिउरा कुटेको थाहा हुन्थ्यो। अहिले यो हटेको छ। न भोर्लेनीका ढिकी बजेको सुनिन्छ न दियालेको ढिकी बजेको सुनिन्छ।
५.रक्सी बनाउनुः
म मगर गाउँ र राई अनि तामाङ गाउँमा हुर्केको हुँदा ती जातिहरूले रक्सी पार्थे। बिहानदेखि पानी बोक्थे। जुन चलन अहिले पनि छ। छोरीचेलीहरू दिक्क मान्थे पानी बोक्नु पर्दा र रक्सी पार्नु पर्दा तर चलन हो जसरी भए पनि गर्नै पर्थ्याे। चाडबाडमा रक्सी परेन भने पाहुनालाई के दिनु भन्ने चलन थियो। जुन आज पनि छ। त्यसैले पाहुना सत्कार गर्न पनि रक्सी पार्थे। यहाँ बुद्धिष्ट र किँरात धर्मावलम्बीहरूले दसैं मानी एकताको प्रतिक र सदभाव देखाउने चलन हिजो पनि थियो र आज पनि छ।
६.दाउराः
दसैंमा दाउरा थुपार्ने चलन थियो। कम्तीमा पाँच, छ दिन दाउरा बोकिन्थ्यो। गाउँभरिका युवायुवतीहरू जिस्किँदै तल्लो दमार, माथ्लो दमार, रावाखोलाको दोभान, तामाधाउ, गोलखाडी, पाताल जाने चलन थियो। सुकेका वा कटमेरा धँगेरा वा सखुवाको दाउरा काटिन्थ्यो। किनकि गुन्द्रुकलाई फाँडो र मासुलाई भात भन्ने उखान अनुसार मासु व्यवस्थित तरिकाले खानुपर्छ र जिउमा लाग्छ भन्ने मान्यता थियो र आज पनि गाउँघरमा छ। म बाल्यकाल हुँदा मासु बिरलै खान पाइन्थ्यो।
७. पिङः
पिङ खेल्नु भनेको रमाइलो गर्नु हो। पिङ खेल्दा साथी हुन्थे। मायापिरती बस्न सक्थ्यो। चेलीबेटी पुज्ने चलन थियो। फूलपातीका दिन देउरालीमा पिङ लगाएर कुखुरा, बोको पूजा गरी पिङ पुज्ने चलन अझै छ। चार पिरे रोटे पिङ सम्बन्धको प्रतिक हो। रातभर पिङमा गएर बस्नु, गित गाउनु, पिङ हल्लाउनु। यो नै मजाको जिन्दगी थियो।
८.केरा काटनुः
दसैंमा केरा काट्नु र केरा काट्न आफूभन्दा ठूलासँग जानु। दही, चिउरा, केरा, मासु मिलाएर खान दसैं नै पर्खनुपर्थ्याे। मेरो समयका जेन एक्स बालबालिकालाई चिउरा, केरा भनेपछि हुरूक्क हुने र चामलको भात पनि लोभलाग्दो थियो।
९. दुर्गा पूजाः
मार हान्ने चलन, पूजा गर्ने चलन र देवीदेउता भाक्ने चलन आज पनि छ र हिजो पनि थियो। हतियारमा सान लगाउने र भएभरका फलामका सामग्रीहरू दुर्गापूजामा लगेर राख्नु। मान्द्रोले बेरेर पूजा गर्नु, कसैका देवी घरमा गएर पूजा गर्थे भने कोही कोट गढीमा गएर पूजा गर्थे। यो नै दसैंको रौनक थियो भने धर्म संस्कृतिको जगेर्ना थियो।
गाउँघरमा गएर प्रसाद लिनु वा ग्रहण गर्नु महत्वपूर्ण थियो। मगर, तामाङ, राई, विक, दर्जीका बालबच्चाहरू क्षेत्रीबाहुनकोमा चिउरा केरा खान आउँथे भने क्षेत्री बाहुनका बालबच्चाहरू राई, मगर, तामाङ, गुरूङ, भुजेलकोमा लुकेर जाँड चाख्न र सुँगुर, राँगाको मासु चाख्न खान जान्थ्यौँ।
माथ्लाघरे बडबाले गाउने मालश्री गित अनि बजाउने बाजा बडबाको मृत्युसँगै लोप भयो तर अहिले पनि झलझली सम्झना छ। अहिले प्रसाद खान पनि युवाहरू गाउँ डुल्न छोडे, चिउरा, केरा सामान्य भयो वा सबैले खान्छन्। दाउरा काटन पनि तिनै हिजोका बुढाबुढी जान्छन्। जिस्किँदै हिँडने युवायुवतीहरू विदेशको खाडीमा छन्। दियालेको कोटगढीमा बझ्ने बाजा र पडकिने बन्दुक निष्क्रिय बनेको छ गणतन्त्र सँगसँगै। चिउरा नकुटे सम्म दसैं नआउने; परदेशी नआए सम्म दसैं नआउने; रक्सी नपारे सम्म दसैं नआउने; घर लिपपोत नगरेसम्म दसैं नआउने; मासु नकाटेसम्म दसैं नआउने। यसमा जरा गाडेको सँस्कार छ, सँस्कृति छ। रितिरिवाज र चालचलन छ। अहिलेभन्दा म बच्चा हुँदा झन बढी महत्व थियो।
दसैंको अर्को महत्वपूर्ण पक्ष भनेको टिका लगाउनु हो। त्यसमा पनि मावलमा गएर लगाको र मावलमा दिएको पैसाको भ्यालु छ। त्यो पैसाको योजना बन्थ्यो। धेरै दाजुभाइ भए कसको धेर र कसको थोर भन्ने होडबाजी चल्थ्यो।
कुमाल्टार मावलबाट आउँदा सिलौरीको पुल तरेर करमको फेदमा ठूलो ढुङ्गामाथि बसेर मावलकी हजुरआमाले पठाको माल्बुक केरा खाँदै पैसा गन्दा र नयाँ नोटले कति खुशी प्रदान गर्थ्याे भने भनेर साद्दे छैन। गडतिरको बाटो घर आइपुगेर आमालाई मेरो यति पैसा भयो भन्दा छुट्टै आनन्द आउँथ्यो। यति घरि केरा काटियो। यति भारी दाउरा ल्याइयो। यति भारी घाँस काटियो। यति धानीको खसी काटियो भन्नु भनेको सान नै छुट्टै हुन्थ्यो र बढाएर भन्ने चलन पनि थियो र छ।
दसैं आएपछि घरमुनिको बाटो लाम लागेर हिँड्ने मान्छेहरू हेर्न बाटामा जान्थ्यौँ भने उनीहरूले बोकेको क्यासेट र लगाएको गित सुन्न आतुर हुन्थ्यौँ किनकि हाम्रो घरमा र थोरै मान्छेको घरमा मात्र रेडियो हुन्थ्यो। तिनीहरूले लगाएको अत्तरले बाटो नै मगमग हुन्थ्यो। तर अहिले मान्छेहरू गाडि चढेर सजिलै घर पुग्छन्। यात्रा सहज बनेको छ। तर सहज भए पनि दसैंमा नै गाउँघर जाने पुरानो चलन कायम नै छ।
दसैं शक्तिको प्रतिक हो र सदाबहार छ। यो आस्थाको धरोहर हो र सबै नेपालीले मानेका छन। यो भेटघातको अवसर हो र यसको महत्त्व छ। यहाँ सुख, शान्ति, समृद्दिको कामना व्यक्त गरिन्छ र सबैलाई सुख चाहिएको छ भन्ने देखाउँछ। यो विश्वास हो र सबैले पूजापाठ गर्छन।
यो संस्कार हो र निरन्तर छ। यो संस्कृति हो र त बहुरूपी छ। नयाँ लुगा किनाउँछ र आफन्तहरूलाई चिनाउँछ। भेटघाट गराउँछ। घरआँगन सरसफाइ गराउँछ। बाटोघाटो फँडाउँछ; सरसफाइ गराउँछ। यो सफासुग्घरको चाड हो। आत्मियको चाड हो। खेलकुदको चाड हो। भेटघाटको चाडपर्व हो। आज पनि मौलो, थुम, कोटगढी, मठ मन्दिर, देवीघरहरूमा गएर पूजा गर्ने चलन कायम नै छ। यस्लेबालबालिकाहरूलाई प्रयोगात्मक शिक्षा दिन्छ र जीवनोपयोगी सिप पनि हासिल गराउँछ।
