सबैभन्दा बढी दण्डसजाय कुन अपराधमा हुन्छ ? : RajdhaniDaily.com


कर्तव्य ज्यान, बलात्कार, अपहरण वा शरीर बन्धक तथा डाँका दण्ड सजायका आधारमा सबैभन्दा संवेदनशील अपराध हुन् । त्यस्तो कसुर गरेको प्रमाणित हुने कसुरलाई अन्य अपराधको तुलनामा दण्डसजाय बढी हुन्छ । मनसायपूर्वक कसैले कसैको ज्यान लिएमा मुलुकी अपराध संहिता–२०७४ को संशोधनसहितको दफा १७७ को उपदफा (२) अनुसार जन्मकैद हुन्छ ।

यसैगरी, बलात्कार गर्नेलाई पीडितको उमेर शारीरिक अवस्था र करणी गर्दाको परिस्थितिका आधारमा दण्ड सजाय व्यवस्था गरिएको छ । यसमध्ये सबैभन्दा बढी सजाय १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्णअशक्त, अपांगता भएको वा ७० वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेको भए त्यस्तो कसुरदारलाई जन्मकैद सजाय हुने व्यवस्था मुलुकी अपराध संहिता–२०७४ को संशोधनसहितको दफा २१९ को उपदफा ३(क) ले गरेको छ ।

अपहरण वा शरीर बन्धक गर्ने कसुरदारलाई भने उल्लिखित मुलुकी अपराध संहिताकै दफा २१३ ले ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि लाखसम्म जरिमाना तोकेको छ । यसैगरी, डाका गर्नेलाई डाँका गर्न अपनाएको कार्यशैलीका आधारमा ७ देखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था उल्लिखित ऐनको दफा २४४ को उपदफा ३(१)(क)ले गरेको छ । यी दण्ड सजाय बढी हुने अपराधका केही दृष्टान्त हुन् ।

तर, लागूऔषध त्यस्तो अपराध हो, जसमा सांघातिक आक्रमण गरी व्यक्ति हत्या गर्ने कसुरभन्दा बढी सजाय हुन्छ । सामान्यतया ‘लागूऔषध’ भन्नाले त्यस्तो पदार्थ हो, जसको सेवन गर्नाले सेवनकर्ताको केन्द्रीय स्नायु प्रणालीमा प्रत्यक्ष असर पारी व्यवहारमा असामान्य परिवर्तन गराउँछ ।

केन्द्रीय स्नायनु प्रणाली भन्नाले शरीरमा चेतना सञ्चालन गर्ने नसाको सञ्जाल भन्ने बुझिन्छ । लागूऔषध सेवन गरे त्यसले प्रत्यक्ष चेतना सञ्चालन गर्ने नसाकै सञ्जालमै असर पार्ने भएकाले व्यक्तिको व्यवहार तत्कालै परिवर्तन हुन्छ ।

लागूऔषधलाई विभिन्न प्रकारले वर्गीकरण गर्न सकिन्छ, जस्तो उत्पादनका आधारमा । असरको आधारमा र दण्ड सजायको आधारमा गरी तीन समूहमा वर्गीकरण गरी अध्ययन विश्लेषण गर्नु उत्तम हुन्छ । उत्पादनका आधारमा प्राकृतिक एवं प्रशोधित वा परिमार्जित लागूऔषध । असरको आधारमा सामान्य एवं कडा लागूऔषध । दण्डसजायका आधारमा कम र बढी दण्ड सजाय हुने लागूऔषध आदि । दृष्टान्तका निम्ति गाँजा कम दण्ड सजाय हुने लागूऔषध हो । गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रूपैया“सम्म जरिमाना हुन सक्छ ।

गाँजाखेती गर्नेको हकमा २५ बोटसम्म खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिमाना हुन्छ । यसैगरी गाँजा उत्पादन, तयार, खरिदबिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार र सञ्चय गर्नेलाई १० केजीभन्दा माथि जतिसुकै परिणाम भए पनि २ देखि १० वर्षम्म कैद र १५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

लागूऔषध त्यस्तो अपराध हो, जसमा सांघातिक आक्रमण गरी व्यक्ति हत्या गर्ने कसुरभन्दा बढी सजाय हुन्छ । सामान्यतया ‘लागूऔषध’ भन्नाले त्यस्तो पदार्थ हो, जसको सेवन गर्नाले सेवनकर्ताको केन्द्रीय स्नायु प्रणालीमा प्रत्यक्ष असर पारी व्यवहारमा असामान्य परिवर्तन गराउँछ

त्यस्तै, अफिम कोका वा सोबाट बनेको लागूऔषध सेवन गर्नेलाई १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिमाना हुन्छ । २५ बोटसम्म अफिम वा कोकाखेती गर्नेलाई एकदेखि तीन वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिमाना हुन्छ । २५ बोटामाथि जतिसुकै परिमाणको अफिम वा कोकाखेती गर्नेलाई तीन वर्षदेखि दश वर्षसम्म कैद र २५ हजारदेखि २ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ ।

साथै, सय ग्राममाथि जतिसुकै परिमाणको अफिम वा कोका कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैदसम्म र ५ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिमाना गर्ने कानुनी प्रावधान छ । जुन कानुनमै भएको सबैभन्दा कठोर दण्ड सजाय हो । लागूऔषध मुद्दाको कसुरदारलाई एकपटकमा एक महिनामा नबढाई बढीमा तीन महिनासम्म प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नसक्ने अधिकार मुद्दा हेर्ने अधिकारीले दिनसक्छ । मुद्दा हेर्ने अधिकारी भन्नाले सम्बन्धित अदालतको न्यायाधीश भन्ने बुझिन्छ । तीन महिनासम्म हिरासतमा राखी अनुसन्धान गर्ने प्रावधान लागूऔषधको गाम्भीर्यताको अर्को विशेषता हो ।

लागूऔषध अपराधलाई यस्तो कठोर दण्डसजाय व्यवस्था किन गरियो ? त्यसको तात्पर्य वा आशय, कानुन आउनुअघि र पछिको अपराध स्थिति, कानुन कार्यान्वयन अवस्था तथा लागूऔषधप्रतिको ‘सामाजिक दृष्टिकोण कस्तो छ ?’ भन्ने’bout चर्चा नगरिए यो स्तम्भ अधुरो हुन्छ भन्ने मान्यताले त्यस’bout संक्षिप्त चर्चा गर्न जरुरी छ ।

१. कानुनको आशय
दुव्र्यसनी वा कारोबार गर्नेलाई फसाउने वा दण्डसजाय दिलाएर पीडा मात्रै दिने होइन, व्यक्तिको आचरण र व्यवहार सुधार्ने कानुनको मुख्य उद्देश्य हो भन्ने बुझ्नुपर्छ । कुनै व्यक्ति यस्तो कठोर दण्डसजायको भागिदार बने त्यो देख्ने, सुन्ने र थाहा पाउने अन्य सयौं व्यक्ति नै सचेत बन्छन् । अपराध गर्न हच्किन्छन् ।

वास्तवमा निष्पक्ष एवं पारदर्शी दण्डसजायले समाजमा सकारात्मक प्रभाव पार्ने भएकाले दण्डसजाय नै अपराध नियन्त्रणको ‘कोसेढुंगा’ बन्छ भन्ने बुझ्नुपर्छ । दण्डसजायले गलत बाटोमा हिँड्नेलाई सही बाटोमा ल्याउने वा अनुशासनको दायरामा ल्याउने कार्य गर्छ । तर, दण्डसजायलाई दुःखकष्ट दिने, हकअधिकारमा बन्देज लगाउने माध्यमका रूपमा हेर्ने हाम्रो सामाजिक दृष्टिकोण अझै यथावत् छ ।

लागूऔषध खेती, उत्पादन, निर्माण, संकलन, ओसापसार र बिक्री–वितरणले तत्कालका लागि व्यक्तिलाई लाभान्वित बनाए पनि उसको दीर्घजीवनका लागि त्यो घातक बन्छ । यसर्थ, कानुनको आशय बुझेर क्षणभरको आनन्दले जीवनलाई मृत्युको मुखमा नधकेलौं । लोभमा फसेर आफ्नो मात्र होइन, परिवारकै भविष्य अन्धकारमा नपारौं । कानुनमा उल्लिखित ‘दण्डसजाय सुध्रिनकै लागि हो’ भन्ने ठानेर होसियार बने मात्र सबैले कानुनको आशय बुझेको पुष्टि हुनेछ ।

२. कानुन आउनुअघि र पछिको अपराधको अवस्था
लागूऔषधको पृष्ठभूमितर्फ फर्कने हो भने वैदिक युगमा पुग्नुपर्ने हुन्छ । हुन त, आराध्यदेव महादेव ‘भाङ धतुरो खान्थे’ भन्ने धार्मिक ग्रन्थमै उल्लिखित भएकै छ । वैदिक युगमा पनि तपस्वी ऋषि महर्षिले तनाव वा चिन्तामुक्त भई आनन्दित बन्न नसालु पदार्थ वा लागूऔषध सेवन गर्थे भन्ने विदितै छ । तर, त्यस जमानामा प्राकृतिक रूपमै उत्पादन हुने वा निर्मित एवं परिमार्जित नगरी प्रयोग गरिएका नसालु पदार्थ लागूऔषधकै वर्गमा समेटिए पनि त्यस्ता चिजवस्तु अपराधको परिभाषाभित्र समेटिएका थिएनन् ।

शताब्दीऔं पहिले बिरलै व्यक्तिले सेवन गर्दै आएको यसप्रकारको पदार्थको प्रभाव र आकर्षण भने दिनानुदिन बढ्दै आएपछि सर्वप्रथम २०२०-२२ सालतिरै यस्ता नसालु पदार्थ नियन्त्रणका लागि कानुन निर्माण गर्ने योजना बने पनि लागू गरिएन । त्यसको करिब एक दशकपछि वा २०३३ सालमा ऐनकै प्रावधान बनाएर यसलाई बन्देजमा ल्याइयो । तथापि, ऐन आएको ५० वर्षपछि अहिले पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन ।

कानुनप्रतिको जनचासो अभाव यसको मुख्य कारण हो । कानुन जनस्तरसम्म नपुगे कागजी कानुनको व्यवस्थाले मात्र जनता सजग गराउँदैन । कानुन निर्माण गर्ने तर कार्यान्वयन गर्ने निकाय मौन रहने प्रवृत्ति प्रभावकारी कार्यान्वयनको बाधक बनेकाले लागूऔषध अपराध पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको हो । यसतर्फ सम्बन्धित संघसंस्थादेखि राज्यले ध्यान पु¥याउनुपर्छ ।

३. कानुन कार्यान्वयन अवस्था
कानुन निर्माणमा हाम्रो देश अग्रस्थानमा आउँछ, तर कानुन प्रयोग गराइमा भने सम्भवतः विश्वमै सबैभन्दा पछि होला । यथाअवस्थामै कानुन प्रयोग नगर्नु, विभेदित ढंगले कानुन प्रयोग गर्नु र कार्यकारी प्रमुख प्रधानमन्त्रीकै इच्छामा कानुन प्रयोग आधारित हुने, कार्यान्वयनमा देखिएको मुख्य चुनौती हो । यही पृष्ठभूमिमा कतिपय कानुन प्रतिपक्षी, विरोधी, प्रतिस्पर्धी, आलोचक र निरीह व्यक्तिकै लागि प्रयोगमा ल्याइएका छन् ।

सत्ताभक्त, चाकडीदार, आफन्त, सहयोगी, सहकर्मीले जस्तोसुकै अपराध गरे पनि कानुन नलाग्ने मौखिक नजिरै कार्यकारी प्रमुख प्रधानमन्त्रीले स्थापित गराएको विदितै छ । यही विभेदित कानुन प्रयोगले अपराधी प्रोत्साहित भएका छन् । यहीक्रममा लागूऔषध कारोबारी र तस्कर त सत्ता सञ्चालककै आम्दानीको स्रोत बनेका छन् । नदीका दुई किनारा बन्नुपर्ने अपराध र राजनीति एउटै सिक्काका दुई पाटा बन्नुको कारण नै स्वार्थ हो ।

४. लागूऔषधप्रतिको सामाजिक दृष्टिकोण
आर्जनमुखी राजनीतिले मुलुकलाई धरासायी र समाजलाई बिखण्डित गराएको छ । सार्वजनिक हित र कल्याणका कार्य नै नगदमा विनिमय भइरहेका छन् । अरूलाई परेको दुःख कष्टमा साथ नदिने, आफूलाई परे अर्कोले वास्ता नगरेको ठान्ने प्रवृत्ति चुलिएको छ । कतिपय स्वच्छ छवि भएकै व्यक्ति वातावरणीय प्रभावले छायामा परेका छन् । राजनीतिक प्रभावका कारण समाज नै बिखण्डित हुँदा लागूऔषधविरुद्ध समाज एक हुन सकेको छैन ।

कतिपय बुज्रुक यही सामाजिक अन्योलतालाई अवसरका रूपमा प्रयोग गर्दै लागूऔषध धन्दामा लागेको देखिन्छ । यो आर्जनमुखी राजनीतिकै विकृतिको उपज हो । यदि, लागूऔषधविरुद्ध समाज नै एकजुट बन्ने हो भने यो पूर्ण रूपमा नियन्त्रण हुनसक्छ । तर, यसका लागि उदारवादी राजनीतिक दृष्टिकोण सामाजिक चिन्तन, प्रबुद्ध व्यक्ति र समाजसेवी तथा आमनागरिककै सहकार्यको एकता भने अनिवार्य छ ।

समाजमै हुने लागूऔषध अपराधका पीडक र पीडित समाजमै हुन्छन् । को कस्तो छ, के पेसा गर्छ ? आयस्रोत र हैसियत कसको कस्तो छ ? भन्ने नै पारदर्शी हुन्छ । यसर्थ, सिंगो समाज नै लागूऔषधविरुद्ध एकत्रित बन्ने हो भने सेवनकर्ता, उत्पादनकर्ता, सञ्चयकर्ता, ओसारपसारकर्ता, निकासी पैठारीकर्ता र बिक्री वितरणकर्ता को हो ? भन्ने उतिखेरै पहिचान हुन्छ ।
अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन समाज अग्रसर हुने तथा सरकारले वातावरण मात्र मिलाइदिने हो भने लागूऔषध अपराध निर्मूल गर्न कठिन पर्दैन । यसतर्फ सम्बन्धित सबैको ध्यान पुगोस् ।
[email protected]

(Visited 21 times, 1 visits today)





Source link

Leave a Comment