सधैं घिटघिट हेटौंडा सिमेन्ट उद्योग : RajdhaniDaily.com


मकवानपुर । हेटौंडा सिमेन्ट उद्योग तीन साता चल्छ, तीन महिना बन्द हुन्छ । यस तरिकाले कसरी हुन्छ औद्योगिक विकास ? यी अहिले बजारमा चर्चामा रहेका बहसका सवाल हुन् ।

पूर्ण सरकारी स्वामित्वमा रहेको मकवानपुरको हेटौंडा सिमेन्ट उद्योग चल्ने र बन्द हुने घटनाले एकातिर समृद्धिको सपनालाई चिहाइरहेको छ । ६ महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले अब फेरि उत्पादन सुरु गर्ने भएको छ । उद्योगका मेसिनको मर्मत–सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौंडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताए ।

‘उद्योगको मेसिन पुरानो र बिग्रिसकेकाले त्यसलाई मर्मत सम्भार गर्न केही समय लाग्यो,’ निमित्त महाप्रबन्धक कर्णले भने, ‘स्थापनाकालमा जडान गरिएको मेसिन हो, यसलाई विस्थापित गरेर नयाँ मेसिन जडान गर्नुपर्ने देखिन्छ तर आर्थिक समस्याका कारण तत्काल त्यो सम्भव नदेखिएपछि मर्मत गराएका छौं ।’

उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता भइसकेको छ ।

हाल उद्योगमा करिब सय टन कोइला रहेको बताइएको छ । निमित्त महाप्रबन्धक कर्णका अनुसार अरू कोइला ल्याउने क्रम पनि जारी छ । ‘कच्चा पदार्थको खासै समस्या हुँदैन,’ कर्णले भने, ‘कोइलाको पुरानो भुक्तानी हुन नसकेकाले कम्पनीसँग कुराकानी गरी उद्योग सञ्चालन गर्न कोइला पठाउन तयार भएको छ ।’

उद्योग सञ्चालनका लागि विद्युत् समस्या पनि समाधान हुने उनले बताए । ‘उद्योग चलाउन नियमित विद्युत् चाहिन्छ, त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग कुराकानी भएको छ,’ कर्णले भने, ‘प्राधिकरणले नियमित विद्युत् दिने प्रतिबद्धता जनाएको छ, अब त्यो समस्या नरहला ।’

उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत १५ असोजदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योग बन्द हुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब–भत्ता पाउन सकेका छैनन् । हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्योलमा परेको छ ।

उपकरण मर्मत–सम्भार गरी गत मंसिर पहिलो साताबाटै उत्पादन सुरु गर्ने तयारी गरिए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ । ‘उत्पादन सुरु हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो, तर त्यो मात्रैले पनि उत्पादन रोकिएको भने होइन,’ हेटौंडा सिमेन्ट उद्योगका प्रशासन प्रमुख हरेराम आचार्यले भने, ‘आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन सुरु गर्ने भन्ने अन्योल बढेको हो ।’

अहिले उत्पादन ठप्प रहेको तर नियमित खर्च जस्ताको त्यस्तै रहेको उद्योगका सूचना अधिकारीसमेत रहेका प्रशासन प्रमुख आचार्यले बताए । ‘उद्योगको उत्पादन बन्द भए पनि कर्मचारीको तलब–भत्ता दिनुपर्छ, केही इन्धन खर्च र सामान्य मर्मत खर्च भइरहेकै छ, यसका कारण उद्योगमा आर्थिक भारसँगै समस्या बढ्ने भयो,’ उनले भने ।

उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । सो उद्योगमा १ सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका सय र ५२ जना सुरक्षाकर्मी गरी ३ सय १८ जना जनशक्ति कार्यरत रहेको उनले बताए ।

आचार्यका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ । ‘उद्योग दैनिक सञ्चालन भयो भने कम्तीमा दैनिक १ सय २० टन कच्चा पदार्थ कोइलाको आवश्यकता पर्छ,’ उनले भने, ‘तर त्यो पनि छैन र कोइलाको पुरानो भुक्तानी भइनसकेकाले तत्काल कोइला आउने सम्भावना पनि छैन, यसबाहेक आर्थिक समस्याका कारण कर्मचारीले अतिरिक्त समयमा गरेको कामको भुक्तानी गर्न सकिएको छैन ।’

आर्थिक समस्याकै कारण विद्युत् प्राधिकरणको महसुल लामो समयदेखि बुझाउन नसक्दा अहिले बक्यौता थुप्रिएको छ । ‘विद्युत् उपभोग त ग¥यो तर महसुल बुझाउन सकेका छैनौं,’ आचार्यले भने, ‘अहिले ठ्याक्कै कति महसुलको बक्यौता बुझाउन बाँकी छ भन्न नसकिए पनि करिब ३०–४० करोड रुपैयाँजति बक्यौता बाँकी छ होला ।’

त्यसैले पनि विद्युत् प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गरिदिनुस् भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ । २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । अहिले उपकरणहरू पुरानो भइसकेका र राम्ररी उत्पादन गर्नसक्ने अवस्थामा नरहेका प्राविधिकको भनाइ छ । ‘उपकरण पुरानो र बिग्रिसकेको अवस्थामा छ, त्यस्तो अवस्थामा हामीले अपेक्षाकृत रूपमा सिमेन्ट उत्पादन गर्न सकिरहेका छैनौं,’ उद्योगका प्राविधिक प्रमुख कामेश्वर मण्डलले भने, ‘त्यही भएर हामी अहिले पुरानो उपकरणको मर्मत गरिरहेका छौं, त्यसमा मेकानिकहरू लगिरहनुभएको छ, धेरै काम सकिइसकेको छ र थोरै बाँकी छ, छिट्टै मर्मतको काम सक्छौं अनि त्यसपछि सिमेन्ट उत्पादन गर्न सकिन्छ ।’

एकपछि अर्को समस्यासँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगले २०८१ भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको थियो । सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको छ । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योग आर्थिक समस्याका कारण थलिएको छ ।

उपकरणको मर्मत कार्य सम्पन्न भएर यही पुस महिनाको दोस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरिए पनि उपकरण मर्मत गर्न अझ समय लाग्ने भएकाले उत्पादनमा ढिलाइ भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए ।

उद्योगको क्लिनिकल र मेसिनलगायतका उपकरणको मर्मत कार्य अझै भइरहेको अध्यक्ष भण्डारीले बताए । ‘हामीले पुसको दोस्रो सातासम्ममा मर्मत सकिन्छ र त्यसलगत्तै पुनः सिमेन्ट उत्पादनको कार्य सुरु गर्ने अनुमान गरेका थियौं तर अझै उपकरण मर्मतको काम नसकिएकाले उद्योगको उत्पादन सुचारु हुन अझै केही दिन लाग्न सक्छ,’ अध्यक्ष भण्डारीले भने ।

उद्योगसँग आर्थिक समस्याका बावजुद पनि उपकरणको मर्मत कार्य सम्पन्न हुनेबित्तिकै सिमेन्ट उत्पादन सुरु गर्नेगरी तयारी भइरहेको उनले बताए । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको बताउँदै अध्यक्ष भण्डारीले मर्मत सम्भारको काम तीव्र रूपमा भइरहेकाले छिट्टै सकिने र त्यस लगत्तैबाट उत्पादन सुरु गर्ने तयारी भएको बताए ।

उद्योग चलाउन सरकारले थप लगानी गर्नुपर्ने
हेटौंडा सिमेन्ट उद्योग चलाउन सरकारले थप लगानी गर्नुपर्ने उद्योगका तत्कालीन महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बताएका थिए । हेटौंडा सिमेन्ट उद्योग पुरानो भएकाले आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्न सकेको छैन । उनका अनुसार यसमा प्रयोग भएका मेसिन समय क्रमअनुसार परिवर्तन गर्नुपर्छ ।

त्यसका लागि सरकारले खर्च गर्नुपर्ने उनको भनाइ थियो । अहिले सरकारले लगानी गर्ने हो भने त्यो रकम ३–४ वर्षमै फिर्ता गर्न सकिने उनले बताए । उद्योगमा थप लगानी गर्नुका साथै उद्योग सञ्चालन गर्ने मोडालिटी पनि परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । सरकारले पाण्डेलाई हाल मन्त्रालयमा सरुवा गरेको छ । उनको सरुवा भएसँगै उद्योगमा अर्का महाप्रबन्धक पठाएको छैन ।

उद्योग सञ्चालनका लागि रोप–वे बिक्री
सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले रोप–वे बिक्री गरेको छ । आर्थिक अभावको मार खेपिरहेको उद्योगले लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको हो । हेटौंडा–९ मा रहेको उद्योगले विगतमा सिमेन्ट बनाउन आवश्यक चुनढुंगा ढुवानीका लागि प्रयोगमा ल्याएको रोप–वे पटकपटकको प्रयासपछि हाल बिक्री गरेको हो ।

विगत ९ वर्षदेखि उद्योगले पटक–पटक आफ्नो रोप–वे लिलामीको असफल प्रयास गर्दै आएको थियो । ९ वर्षअघि पहिलोपटक रोप–वे लिलामी प्रक्रिया सुरु गरेको उद्योगको प्रयास हालसम्म सफल हुन सकेको थिएन । उद्योगले पटक–पटक लिलामी प्रक्रिया अघि बढाएर बोलपत्र आह्वान गरे पनि बन्द अवस्थाका उपकरण खरिद गर्न खरिदकर्ताको बोलपत्र परेको थिएन ।

खरिदकर्ताले लिलामी प्रक्रियामा बोलपत्र दर्ता नगराएपछि उद्योगले हरेकपटक लिलामी दर पनि घटाउँदै आएको थियो । बन्द अवस्थामा रहेको रोप–वेका उपकरण लिलामीका लागि पहिलोपटक सूचना आह्वान गर्दा उद्योगले सो रोप–वे र जगेडा पार्टपुर्जाका लागि मूल्य अभिवृद्धि करबाहेक न्यूनतम ६ करोड १६ लाख ५३ हजार ३ सय ५२ रुपैयाँ कायम गरिएको थियो । खरिदकर्ताको बोलपत्र नपरेपछि उद्योगले दोस्रोपटक मूल्य घटाएर लिलामीका लागि लिलामी मूल्य ४ करोड ६१ लाख रुपैयाँ निर्धारण गरेको थियो । सो समयमा पनि रोप–वे लिलामी प्रक्रियामा खरिदकर्ताको बोलपत्र परेको थिएन ।

२०७४ सालमा पुनः मूल्य घटाएर लिलामीको सूचना जारी गरेको उद्योगले २ करोड ८० लाख रुपैयाँ कायम गरेर बोलपत्र आह्वान गरेको थियो । तर, सो समयमा पनि रोप–वे लिलामीमा खरिदकर्ताको बोलपत्र नपरेपछि बन्द रोप–वे हालसम्म जीर्ण र अलपत्र अवस्थामा रहँदै आएको थियो ।

उद्योग प्रशासनले बाराको लिपनिमालस्थित श्री पीएस एन्ड सन्स इन्टरप्राइजेजलाई भ्याटसहित ४ करोड २५ लाख ६ हजार ८० रुपैयाँमा रोप–वे बिक्री गरेको जनाएको छ । रोप–वे बिक्री गर्ने विषयमा गत ७ पुसमा सम्झौता भएको उद्योगका सूचना अधिकारी आचार्यले बताए ।

उनका अनुसार तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमतिअनुसार उद्योगले पहिलो किस्ताबापतको १ करोड ४२ लाख ६८ हजार ६ सय ९४ रुपैयाँसमेत प्राप्त गरिसकेको छ । रोप–वे खरिदकर्ता कम्पनीले सम्झौताको नौ महिनाभित्र रोप–वेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति भएको उनको भनाइ छ । रोप–वे बिक्रीबाट प्राप्त भएको रकम उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदमा खर्च गर्ने सञ्चालक समितिले निर्णय गरेको समेत आचार्यले जानकारी दिए ।

वर्षौंदेखि सञ्चालन हुन नसकेको सो रोप–वे मानव बस्ती र विद्यालयका लागि जोखिम बनेर बसेको छ । उद्योगको रोप–वेका डब्बाहरू हेटौंडाबाट भीमफेदी गाउँपालिकाको भैंसे खानीसम्म तारमा झुन्डिरहेको अवस्थामा देख्न सकिन्छ । बेवारिसे अवस्थामा झुन्डिएका रोप–वेका डिब्बाहरूले मानव बस्ती नै जोखिममा पारेको देखिन्छ ।

हेटौंडा सिमेन्टले पनि खानी क्षेत्रबाट चुनढुंगा ओसार्न २०४२ सालमा रोप–वे सञ्चालनमा ल्याएको थियो । उद्योगले २०४२ सालबाट भैंसेखानीबाट लामसुरेस्थित कारखानासम्म ११ किलोमिटर लम्बाइको रोप–वे चुनढुंगा ढुवानी गर्न सञ्चालनमा ल्याएको थियो । प्रतिघण्टा ३ सय मेट्रिक टन चुनढुंगा ढुवानी गर्ने क्षमता रहेको रोप–वेको सुरुमा १ सय ६५ वटा बकेट (क्यारियर) रहेका थिए । रोप–वे बिग्रिएपछि त्यसका क्यारियर पनि झर्दै गए, जसका कारण हाल त्यसमा १ सय ४० वटा जति बकेट (क्यारियर) बाँकी छन् ।

विगतमा यातायातका साधनको सुविधा नहुँदा खानीबाट उद्योगको चुनढुंगा ओसार्नका लागि सो रोप–वेको प्रयोग हुने गरेको थियो । तर, पछिल्लो चरण यातायातका साधनको उपभोगमा सहजता आएसँगै उद्योगले रोप–वेबाट चुनढुंगा ल्याउन बन्द गरेको थियो । रोप–वेका ती डिब्बा (बकेट) हेटौंडा सिमेन्ट उद्योगका लागि चुनढुंगा ओसार्न २० वर्ष प्रयोग भए पनि २०६२ सालदेखि भने पूर्ण रूपमा बन्द छन् ।

सो रोप–वेमा झुन्डिएका कतिपय डिब्बा (बकेट)मा अझै पनि ढुंगाहरू भरिएको अवस्थामा रहेका छन् । २०६० सालमा आएको बाढी पहिरोले भैंसे त्रिखण्डी नजिकको टावरमा क्षति पुगेपछि रोप–वे बन्द भएको थियो । करिब १० करोड रुपैयाँ लगानीमा निर्माण भएको रोप–वेको टावरमा बाढीले क्षति पु¥याएपछि पूर्ण रूपमा बन्द भएको थियो ।

निरन्तर घाटामा सिमेन्ट उद्योग
हेटौंडा सिमेन्ट उद्योग आर्थिक वर्ष २०७५–०७६ देखि निरन्तर घाटामा गइरहेको हो । हालसम्म उद्योग ८३ करोडभन्दा बढी रुपैयाँ घाटामा रहेको बताइन्छ । गत आवको अडिट रिपोर्टअनुसार उद्योग ८३ करोड रुपैयाँ घाटामा रहेको छ । सरकारी स्वामित्वमा रहे पनि सरकारले चासो नदिने, पुराना मेसिनको मर्मतमा खर्च धेरै हुँदा निरन्तर घाटा बढ्दै गइरहेको कर्मचारी बताउँछन् ।

उत्पादन क्षमता र बिक्रीसमेत घट्दा हेटौंडा सिमेन्ट उद्योग ६ वर्षयता निरन्तर घाटामा रहेको हो । उद्योगले आव २०७५–०७६ देखि हालसम्म ८३ करोड रुपैयाँ नोक्सान बेहोरेको तथ्यांक छ । आव २०७४–०७५ मा १६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको हेटौंडा सिमेन्ट उद्योग त्यसयता भने निरन्तर घाटामा छ ।

आव २०७५–०७६ मा उद्योगले १ करोड ५ लाख नोक्सान बेहोरेको थियो । त्यसैगरी, आव २०७६–०७७ मा २३ करोड ८२ लाख, आव २०७७–०७८ मा १७ करोड ४ लाख घाटा भयो । यस्तै, आव २०७८–०७९ मा उद्योगले २३ करोड ५५ लाख घाटा बेहोरेको तथ्यांक छ । यस्तै, गत आवको अडिट रिपोर्टअनुसार ८३ करोडभन्दा धेरै घाटामा रहेको सूचना अधिकारी आचार्य बताउँछन् ।

नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा २०३३ सालमा स्थापना भएको उद्योग सरकारको स्वामित्वमा छ । तर, सरकारले सो उद्योग टिकाउन भूमिका नखेलेको उद्योगका कर्मचारीको गुनासो छ । बजेट नछुट्याउने, स्तरोन्नतिका लागि चासो नदेखाउनेजस्ता कारण उद्योग धरासायी बन्दै गएको हो ।

दैनिक ७ सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमताको उद्योग अहिले पूर्ण रूपमा बन्द छ । चैतबाट सञ्चालनमा आउने भने पनि उद्योगलाई नियमित चलाउन र प्रतिस्पर्धी बनाउन सरकारले कुनै नयाँ योजना बनाउन सकेको छैन । घाटा धान्न नसक्ने अवस्था भएपछि उद्योगले हेटौंडा उपमहानगरपालिका–९ लामसुरेमा रहेको आफ्नो ५ बिघा जग्गा राष्ट्र बैंकलाई बेच्ने तयारीसमेत थालेका बताइन्छ ।

(Visited 21 times, 1 visits today)





Source link

Leave a Comment