प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

सामाजिक सद्भाव, प्रेम, र एकताको सन्देश प्रवाह गर्दै न्युयोर्क नेपाली चर्चले क्रिसमसको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ। भजन, प्रार्थना, गीत, नृत्य, र नाटकजस्ता विविध प्रस्तुति समेटिएको यस उत्सवले धार्मिक भावना र सामुदायिक सम्बन्धलाई प्रगाढ बनाएको आयोजकले विश्वास गरेका छन् ।

कार्यक्रमको सांस्कृतिक पक्षलाई झल्काउने मुख्य आकर्षण उर्मिला लाम्गादेको गीत थियो, जसले हलमा रौनकता थपेको थियो । त्यस्तै सारा पाण्डेको नृत्यले उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेको थियो । साहित्यिक वातावरण सिर्जना गर्दै पुनम तामाङले कविता वाचन गरेकी थिइन्।

कार्यक्रममा प्रस्तुत गरिएको ‘बोझ बिसाई विश्राम’ नामक सम्बादविहिन नाटकले गहन सन्देश प्रवाह गरेको थियो । संवाद नहुँदा पनि यसको प्रभावकारी प्रस्तुति दर्शकहरूको मन जित्न सफल रह्यो। यसैगरी सामुदायिक सञ्चार माध्यम खसोखासलाई आयोजकले सम्मान स्वरूप मायाको चिनो प्रदान गरेका थिए ।

धार्मिक पक्षतर्फ एल्डर कमल थापा मगरले वचनको प्रार्थना गरेका थिए भने पास्टर डानियल बस्नेतले प्रेरणादायी प्रवचन दिएका थिए। एल्डर सकुना राईले धन्यवाद मन्तव्य दिँदै कार्यक्रममा सहभागी सबैप्रति आभार प्रकट गरिन् ।

कार्यक्रमको समापन सामूहिक प्रेमभोजसँगै गरिएको थियो। सहभागीहरूले उत्सवको उल्लासपूर्ण माहोलमा मेलमिलाप र आत्मीयता साटासाट गरे। कार्यक्रम न्युयोर्कको क्वीन्स स्थीत लङ आइल्याण्ड सिटीमा आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाली क्रिश्चियनका साथै अन्य धर्मालम्बीहरुको पनि बाक्लो उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन डिकन रायन लाम्गादेले गरेका थिए। उनले क्रिममस अब चाड मात्र नभई संस्कृतिकै अभिन्न अंग बनेको बताए ।