नेपाल पत्रकार महासंघको बिलम्बित अधिवेशन बल्लतल्ल सकिएको छ । गणतन्त्रको स्थापनादेखि नै महासंघको अवस्था प्रभावशून्य बन्न थालेको छ । सामाजिक सञ्जाल पत्रकारिताको विकल्पका रूपमा देखा पर्न थालेपछि पत्रकार तथा व्यावसायिक पत्रकारिता उद्योगका सञ्चालकहरू किंकर्तव्यविमूढ भएका छन् । नेपाली सामाजिक सञ्जालका डनहरूले पत्रकारहरूलाई ‘चौध भाइ’ मा विभाजित गरे । त्यसको प्रतिरोधमा पत्रकार महासंघले सिन्को भाँचेन ।
पत्रकारिताको कुरा गर्दा यतिबेला पत्रकारिताको सबैभन्दा सजिलो सिद्धान्त र सूत्रका रूपमा लिइने जिज्ञासा सूचक ‘के ? किन ? कहिले ? कहाँ ? को ? र, कसरी ?’ को अस्तित्व संकटमा परेको छ । यो देखेर पक्कै पनि कवि रुडयार्ड किपलिंगको समाधिस्थ आत्मा छटपटाइरहेको होला । अहिलेको पत्रकारितामा यी खोजपूर्ण प्रश्नहरू अलमलिएका छन् । यो सरल परिभाषाको अस्तित्व संकटमा परेको छ ।
किपलिंगको जमाना आदर्शवादको थियो । सत्य–निष्ठालाई डग्न नदिई पत्रकारितामा लागेका मानिसलाई पत्रकारिताको व्यवसायमा लागेका साहुजीहरू नियमित मासिक पारिश्रमिक दिन्थे । पत्रकारहरू साहुजीको बही–खाता, सम्पत्ति र ऐश्वर्य हेर्दैनथे । इमान–जमानको जमाना थियो । समाचारको बजार सानो थियो । उत्पादनमा अहिलेको जस्तो खासै विविधता पनि थिएन । साहुजीहरूमा सम्मानको लोभ पक्कै थियो । तर, अहिलेको जस्तो विज्ञापनबाट आर्जन हुने सम्पत्तिको प्रकोप थिएन ।
अहिलेको समयमा पत्रकारिता र सञ्चार क्षेत्रको व्यापक व्यवसायीकरण हुन थालेको छ । दोस्रो विश्वयुद्धपछि सञ्चारको क्षेत्रमा तीव्र परिवर्तन आएको हो । पत्रकारिता व्यवसायमा नयाँ क्षितिजहरू खुले । सञ्चार आफैंमा ठूलो व्यवसायका रूपमा विकसित भयो ।
सन् १९८० को समय थियो त्यो । क्यानेडियन सञ्चारविद् मार्सल मकलुहानले सूत्र वाक्य बोलेका थिए ः मिडियम इज द मेसेज । मकलुहानले सञ्चार जगत्मा हुन लागेको परिवर्तनको स्पष्ट संकेत गरेका थिए । मिडियम इज द मेसेज – यो वाक्य सजिलै स्थापित भएको थिएन । दुनियाँ आर्थिक परिवर्तनको बाटामा तीव्र गतिले हिँड्यो । क्रमिक रूपमा उद्योग र व्यवसायका आवश्यकता बढे । ती आवश्यकताको परिपूर्तिका लागि सञ्चार र संवाद अपरिहार्य हुँदै गयो । पुँजीवादी समाजमा आफ्ना उत्पादनका पक्षमा अभिमत जुटाएर ग्राहकलाई आकर्षित गर्नु अस्वाभाविक कुरा थिएन । मकलुहानले यसैलाई संकेत गरेर बाटो देखाएका थिए ः मिडियम इज द मेसेज ।
भारतबाट प्रसारित हुने सरकारी रेडियो आकाशवाणीको ‘पञ्चरंगी कार्यक्रम विविध भारती’ र श्रीलंका रेडियोबाट प्रसारित हुने हिन्दी सिनेमामा आधारित विविध मनोरञ्जक कार्यक्रम सुनेर हुर्केको हाम्रो पुस्ताका लागि ती कार्यक्रम अद्भुत प्रेरणाका स्रोत थिए । अहिलेको जमानाका युवा–युवती टिकटकमा रत्तिएजस्तै आफ्नो जमानामा हामी ‘इतना तो मुझ से न प्यार जता, कि मैं इक बादल आवारा’ जस्ता फिल्मी गीतमा रमाउँथ्यौं ।
नेपालमा लोकतान्त्रिक गणतन्त्र संस्थापन भएको दुई दशक पुग्न लागिसकेको छ । कांग्रेस, कम्युनिस्ट, माओवादी, समाजवादी सबै दल र विचारका राजनीतिक नेताहरूले प्रत्येक क्षण र प्रत्येक दिन, साँझ–बिहान नेपाली जनताको महान् संघर्षबाट स्थापित यो व्यवस्थाको अस्तित्व रक्षाको कसम खाने गरेका छन् । अघिल्लो सरकारले सामाजिक स्वच्छता जोगाउने नाउँमा टिकटकमाथि लगाएको प्रतिबन्ध केही समयअघि खुलेको छ ।
अहिलेको नेपाली पत्रकारिता सानातिना प्रलोभनभन्दा धेरै नै बढी विकृत र घातक प्रवृत्तिको दलदलमा फसिसकेको छ । भ्रष्टाचारमा आकण्ठ डुबेका कर्मचारी, भू–माफिया, व्यावसायिक अपचलनमा व्यस्त व्यक्तिहरू र कमिसन एजेन्टहरूले कतिपय सञ्चार माध्यमलाई आफ्नो नियन्त्रणमा लिइसकेका छन् । नेपाली जनता झिल्के अनुहार हेरेर आकर्षित हुन्छन् । झिल्के अनुहारभित्र लुकेका दुराशयहरूलाई हेर्ने क्षमताको अभाव छ हामीसँग
लोकतान्त्रिक गणतन्त्रको सुरक्षाका लागि सरकार गोधूलिमा कृष्णलीलाको प्रदर्शन गर्न चाहन्छ भने त्यो पनि स्वागतयोग्य कदम हुनेछ । प्रविधिको छलाङ रोकेर समाजको विकास हुन्छ भन्ने सोच्नु पनि एक प्रकारको विचार नै हो । तर, सबै विचार सार्वकालिक हुँदैनन् । परिवर्तित समयअनुसार विचारमा ठूलो हलचल आउँछ । आजको संसार आदर्शबाट होइन, आवश्यकताबाट चलेको छ ।
अहिलेको पत्रकारितामा पक्ष र विपक्षका नाममा जस्तो रडाको मच्चिएको छ यो निकृष्ट हो र पनि अस्वाभाविक होइन । सन्दर्भमा, यो कदापि बिर्सिनु हुँदैन नेपाली जनताले व्यवस्थामा आक्रामक परिवर्तन गरे ः २०४६ मा पनि र २०६२ मा पनि । त्यो परिवर्तनले केही मानिसका अनुहारमा परिवर्तन ल्यायो तर प्रशासनिक संयन्त्रमा रत्तीभर परिवर्तन ल्याएन । राजाको पुरानो शासन होस् कि जनताले आन्दोलन गरेर पुनःस्थापित गरेको संसदीय शासन होस् अथवा त्यसपछिको जनताकै गणतान्त्रिक शासन होस्, सबै कालखण्डका शासकले तिनैको निधारमा शक्तिको सिन्दूर लगाइदिएका छन् जो निर्लज्जतापूर्वक संविधान र कानुनका मर्यादाहरूको उल्लंघन गर्न सक्छन् । त्यसैले भन्नुपर्छ, अहिले पत्रकारिताको ऐनामा विकृतिको खजाना परिलक्षित हुन्थ्यो भने यो स्वाभाविक हुने थियो । तर, त्यसो भएको छैन । पत्रकारिताको ऐना धूमिल हुँदै गएको छ । त्यसमा भ्रष्टाचारका आकृतिहरू देखिन छाडेका छन् ।
मानवीय संसारलाई ट्युब र टनेलबाट निःसृत पत्रकारिताको स्वाद चखाउने तन्नेरीहरू धन्य छन् । हाल सालै ट्युबमा हो कि टिकटकमा नेपाल सरकारका एक जना सचिव सरकारले वैदेशिक रोजगारीमा जानेहरूको सेवा सुविधा बढाउन लागेको बताउँदै थिए । सुन्दै अचम्मलाग्दो कुरा । उनले प्रतिनिधित्व गर्ने नेपाल सरकारले वैदेशिक रोजगारीमा गएर कतारको कुनै गोठमा वा होटलमा काम गरिरहेका नेपालीको तलब बढाउन कुन मालिकसँग कुरा गर्ने हो ? विश्वमा एकातिर सम्पत्तिको थुप्रो लाग्दै छ भने अर्कोतिर गरिबीको बढ्दो भेलले संसार निस्सासिँदै छ । यस्तोमा कसले कसको रक्षा गर्न सक्छ ?
पञ्चायत ढलेर बहुदलीय व्यवस्थाको स्थापना हुँदा पनि राजा खुसी थिए ’cause उनका भाइ–भारदार, सकल परिवार, आसेपासे व्यापारी र चाकरीदारहरूको वर्चस्व यथावत् रहेको थियो । नेताहरूमा सपनाको अभाव थिएन । अभाव थियो त देश बनाउने इच्छाशक्तिको ।
राजा वीरेन्द्रको प्रत्यक्ष शासनका बेलामा नेपाल ‘रमिते देश’ को हैसियतमा पुगिसकेको थियो । पेरिसमा आयोजित अति गरिब देशको सम्मेलनमा हाम्रा राजालाई विश्वका नेताहरूले ‘दरिद्र नारायण’ बनाइदिएका थिए । दरिद्र देशहरूका नेताका रूपमा नेपालको चयनलाई त्यतिखेरका सरकारी र कथित गैरसरकारी सञ्चार माध्यमहरूले गौरवको विषय बनाएका थिए । त्यो अवसर गौरवको उच्च बिन्दु थियो कि हीनताको पराकाष्ठा ? यो प्रश्नको जवाफ मैले अहिलेसम्म पाएको छैन ।
अहिले हाम्रो समाजको पत्रकारितामा यो प्रवृत्ति सबैभन्दा बढी हाबी भएको छ । पत्रकारिताका लागि यो घातक प्रवृत्ति हो । तर, यो पत्रकारितासँग संलग्न स्थायी प्रवृत्ति पक्कै होइन । यसलाई साना र गरिब मुलुकहरूमा देखिने स्वाभाविक प्रवृत्ति भनेर पन्छाउने गरिएको छ । भारतजस्तो स्वतन्त्र पत्रकारिताको लामो इतिहास भएको देशका पत्रकारहरूसमेत कर्पोरेट प्रलोभनमा फसेका छन् । केही वर्षअघि इन्डिया टुडेका सम्पादक प्रभु चावला र सीएनएन–आईबीएनकी वर्षादत्तजस्ता पत्रकारसमेत दलाली रकमको मोहमा परेको पोल खुलेपछि पेसाबाट टाढिन बाध्य भएका थिए । अहिले पनि भारतमा त्यो अवस्था विद्यमान छ । हामीकहाँ पनि त्यो अवस्था नरहेको छैन ।
अहिलेको नेपाली पत्रकारिता सानातिना प्रलोभनभन्दा धेरै नै बढी विकृत र घातक प्रवृत्तिको दलदलमा फसिसकेको छ । भ्रष्टाचारमा आकण्ठ डुबेका कर्मचारी, भू–माफिया, व्यावसायिक अपचलनमा व्यस्त व्यक्तिहरू र कमिसन एजेन्टहरूले कतिपय सञ्चार माध्यमलाई आफ्नो नियन्त्रणमा लिइसकेका छन् । नेपाली जनता झिल्के अनुहार हेरेर आकर्षित हुन्छन् । झिल्के अनुहारभित्र लुकेका दुराशयहरूलाई हेर्ने क्षमताको अभाव छ हामीसँग ।
सञ्चार माध्यमहरूलाई असामान्य बनाइएको छ । देशमा पत्रकारिता पढाउने पेसामा लागेका गुरुवरहरू पारम्परिक पाठ्यक्रमकै चिन्तामा अलमलिएका छन् । के पढाउने ? ‘मिडियम इज द मेसेज’ कि मेसेज थु्र द मिडियम ?
(Visited 6 times, 1 visits today)
