१३ फागुन, काठमाडौं । रातको सन्नाटामा सायरन बजाउँदै एम्बुलेन्स ओहोरदोहोर भइरहन्छ । राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा एङ्जी शेर्पा छट्पटाइरहेकी थिइन् । हात भाँचिएको छ । खुट्टा सुनिएका छन् । अनुहारभरि चोटैचोट छन् ।
आइतबार राति उनी श्रीमान् लोप्साङ लामासँग पोखराबाट काठमाडौं फकिँदै थिइन् । बसभित्र अधिंकाश यात्रु मस्त निन्द्रामा थिए । राति करिब एक बजेतिर एक्कासि बस हल्लियो ।
उनी निदाएकी थिइनन् ।
ठूलो आवाजमा म्युजिक बजिरहेको थियो । स्वाट्टै गाडी भीरबाट तल बज्रन पुग्यो,’ अस्पतालको शय्याबाट उनले सुनाइन्, ‘म त बसको सिटमुनि पो रहेछु ।’
त्यसबेला रातिको १ बजेको थियो । सबैतिर अन्धकार थियो । बसका यात्रुहरू ऐय्याआथ्था गर्दे चिच्याइरहेका सुनिन्थे ।
लोप्साङ–लोप्साङ भनेर उनले पटक-पटक बोलाइन् । तर कुनै जवाफ आएन । उनी यताउति भौंतारिन् । लोप्साङ त भीरमा अर्धचेत अवस्थामा उनले देखिन् ।
‘त्यसबेलासम्म लोप्साङको मुटुको चाल थियो । सकीनसकी मुटुमा हातले थिचेँ । मुखबाट श्वास पनि दिएँ,’ कहालीलाग्दो क्षण सम्झिँदै उनले सुनाइन्, ‘एक घण्टापछि त श्वास पनि चल्न छोड्यो ।’
कोही मानिस भीरमै अड्किएका थिए । केही बससँगै तल खसेका थिए । मानिसमाथि मानिस खप्टिएका थिए । कतिपय बचाऊबचाऊ भन्दै छट्टपटाइरहेका थिए ।
लामो समयसम्म कोही पनि उद्धारका लागि आएनन् । एक घण्टापछि आएको प्रहरीलाई उद्धार गरेर बाटोसम्म ल्याउन घण्टौं लाग्यो ।
‘धेरै मानिसलाई समयमै उपचार दिन पाएको भए बचाउन सकिन्थो,’ शेर्पाले भनिन्, ‘आँखै अगाडि धेरैको ज्यान गयो ।’
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बर बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा स्थानबाट त्रिशूली नदीमा खस्दा घटनास्थलमै १७ जनाको मृत्यु भयो ।
बाँकी घाइतेलाई सिधै ट्रमा सेन्टर, नेसनल अस्पताल कलंकी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि पठाइयो । तर बाटोमै दुई जनाको मृत्यु भयो ।
अन्य बिरामी घटना भएको ६ घण्टापछि मात्रै अस्पताल पुग्छन् ।
सडक दुर्घटनापछि पहिलो एक घण्टा, जसलाई चिकित्सकीय भाषामा ‘गोल्डेन आवर’ भनिन्छ । घाइतेको ज्यान जोगाउन सबैभन्दा महत्त्वपूर्ण समय मानिन्छ । तर नेपालमा यही महत्त्वपूर्ण समयमै उपचार नपाउँदा धेरैले ज्यान गुमाइरहेको ट्रमा सेन्टरका हाडजोर्नी विशेषज्ञ डा. दीपेन्द्र पाण्डे बताउँछन् ।
डा. पाण्डेका अनुसार दुर्घटना भएको ६० मिनेटभित्र घाइतेको प्रारम्भिक मूल्यांकन र ज्यान जोगाउने उपचार सुरु गरिनु अनिवार्य हुन्छ ।
‘उपचारभन्दा पहिला बिरामीको अवस्था कति गम्भीर छ ? भन्ने मूल्यांकन आवश्यक हुन्छ । प्राइमरी सर्भे, सेकेन्डरी सर्भे गरेर सबैभन्दा पहिले ज्यान जोगाउने प्रक्रिया सुरु गर्नुपर्छ,’ उनले भने ।
तत्काल नै रक्तस्राव रोक्ने, सासप्रश्वास सुचारु गराउने, जस्ता जीवनरक्षक उपाय तत्कालै थाल्नुपर्ने हुन्छ ।
तर नेपालमा दुर्घटनास्थलबाट अस्पतालसम्म पुर्याउनै चार–पाँच घण्टा लाग्ने अवस्था रहेको उनी बताउँछन् ।
‘गोल्डेन आवरमै मूल्यांकन र उपचार सुरु गर्न नपाउँदा बाटोमै मृत्यु हुन्छ । अस्पताल आइपुग्दा गम्भीर जटिलता बढिसकेको अवस्था देखिन्छ,’ डा. पाण्डे भन्छन् ।

छ वर्षदेखि फाइलमै थन्किएको ट्रमा सेन्टर योजना
सरकारले छ वर्षअघि गरेको निर्णय समयमै कार्यान्वयन भएको भए सोमबार धादिङको बेनीघाटमा भएको बस दुर्घटनापछि देखिएको दर्दनाक दृश्य सायद दोहोरिँदैनथ्यो ।
त्यतिबेला सातै प्रदेशका राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गरिएको थियो । तर घोषणा कागजमै सीमित रह्यो । योजना फाइलमै थन्कियो । जसका कारण गम्भीर घाइतेलाई उपचारका लागि चार घण्टा टाढा काठमाडौं पुर्याउनुपर्ने बाध्यता भयो ।
पछिल्लो ७ वर्षमा १७ हजार ६ सय ७० यात्रुले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । तथ्यांक अनुसार दैनिक औसत ७ यात्रुको ज्यान सडक दुर्घटनामा जान्छ ।
सरकारले सडक दुर्घटनामा तत्काल नै उपचार पाउन नसक्दा मृत्यु हुने संख्या बढ्दै गएपछि प्रत्येक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने नीति लिएको लिएको थियो ।
प्रदेश अन्तर्गत रहने गरी बढी दुर्घटना हुने क्षेत्रको नजिक ट्रमा सेन्टर स्थापना गर्ने योजना सहित २०७७ सालमा ट्रमा सेवा सञ्चालन सम्बन्धी कार्यविधि समेत ल्याएको थियो । तर यो घोषणा पटक नीति तथा कार्यक्रममा दोहोरिए । तर कार्यावन्यन भने हुन सकेन ।
सरकारले आफ्नै घोषणा गम्भीरतापूर्वक कार्यान्वयन गरेको भए पछिल्ला वर्षमा भएका यस्तै दुर्घटनामा धेरै जीवन बचाउन सकिन्थ्यो ।
नेपाल प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै १ हजार २ सय ८० जनाको ज्यान गइसकेको छ । गत आर्व २०८१/८२ एक वर्षमा २ हजार ५ सय २ जनाले ज्यान गुमाएका थिए ।
पछिल्लो ७ वर्षमा १७ हजार ६ सय ७० यात्रुले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । तथ्यांक अनुसार दैनिक औसत ७ यात्रुको ज्यान सडक दुर्घटनामा जान्छ ।
हाल काठमाडौं र भरतपुरमा मात्र ट्रमा सेन्टर सञ्चालनमा छन् । आर्थिक वर्ष २०८०/८१ को बजेटमै कैलालीको लम्की, रुपेन्देहीको सालझन्डी, नवलपरासी पश्चिमको बर्दघाट, नवलपुरको गैँडाकोट, सिन्धुलीको भीमान र धादिङको बेल्खुमा नजिकको सरकारी अस्पतालसँग समन्वय गरी प्राथमिक ट्रमा केयर सेन्टर स्थापना गर्ने उल्लेख थियो । तर जग्गा प्राप्ति र डीपीआर विवादका कारण ती योजना अघि बढ्न सकेका छैनन् ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाका कार्यान्वयन चरणमा पुग्दा विभिन्न कारणले ट्रमा सेन्टर निर्माणले अपेक्षित गति लिन नसकेको स्वीकार गर्छन् ।
उनका अनुसार डीपीआर तयारी, जग्गा प्राप्ति, निर्माण प्रक्रियागत ढिलाइ जस्ता कारणले काम प्रभावित भएको देखिन्छ । भवन निर्माण विभागमार्फत भइरहेका काममा ढिलाइ भएको उनले स्वीकार गरे । बजेटको दृष्टिले ठूलो समस्या नरहेको भए पनि कार्यान्वयन पक्षमा समन्वय र प्रक्रिया सुस्त हुँदा लक्ष्यअनुसार परिणाम आउन नसकेको उनको भनाइ छ ।
डा. देवकोटाले राजमार्ग नजिकका अस्पतालहरूमा कम्तीमा ट्रमा इकाइ स्थापना गर्नुपर्ने अवधारणा पनि अघि सारिएको उल्लेख गगर्दै त्यसलाई स्पष्ट नीतिगत निर्णयसहित पुनरावलोकन गर्नुपर्ने बताउँछन् ।
स्वास्थ्य मन्त्रालयका अधिकारी ठूलो संख्यामा विशेषज्ञ सहितको जनशक्ति आवश्यक पर्ने र अस्पताल निर्माणका लागि ठूलो खर्च हुने भएकाले बजेट वक्तव्यमा उल्लेख गरिएको ठाउँमा ट्रमा सेन्टर निर्माण थालनी हुन नसकेको बताउँछन् ।

राजमार्गमा दुर्घटना, बाटोमै मृत्यु
सवारीसाधन तथा अन्य दुर्घटनामा चोटपटक लागेका बिरामीको उपचारका लागि हालसम्म जिल्ला र प्रदेशस्तरमा कुनै अस्पताल छैनन् । यसका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता छ ।
ट्रमा सेन्टरको तथ्यांक अनुसार सडक दुर्घटना र अन्य कारणले चोटपटक लागेका बिरामी औसतमा एक दिनपछि मात्रै ट्रमा सुविधा भएको अस्पतालमा आइपुग्छन् ।
जसका कारण बिरामीको स्वास्थ्यमा जटिलता देखिइसक्छ ।
सडक दुर्घटनापछि देखिने अर्को गम्भीर समस्या प्राथमिक उपचारको अभावको हुन्छ ।
दुर्घटनास्थलमै सामान्य उपचार दिन सकिए घाइतेको ज्यान जोगिने सम्भावना धेरै गुणा बढ्छ ।
तर त्यसका लागि सबैभन्दा पहिले घाइतेलाई सुरक्षित स्थानमा सार्ने, रक्तस्राव रोक्ने, श्वासप्रश्वास सुनिश्चित गर्ने जस्ता आधारभूत कदम अनिवार्य हुन्छन् ।
तर वास्तविकता भने ठीक उल्टो छ । अस्पतालसम्म पुर्याउने नाममा प्रयोग हुने अधिकांश एम्बुलेन्समा पर्याप्त अक्सिजन हुँदैन । दक्ष र आवश्यक उपकरणसमेत हुँदैन ।
परिणामस्वरूप, समयमै सामान्य प्राथमिक उपचार पाए बच्न सक्ने बिरामीसमेत अस्पताल पुग्नुअघि नै ज्यान गुमाउन बाध्य छन् ।
हार्डजोर्नी विशेषज्ञ डा. पाण्डेका अनुसार दुर्घटनामा आन्तरिक रक्तस्राव, टाउको (ब्रेन) चोट, मेरुदण्ड (स्पाइन) इन्जुरी, छातीमा गम्भीर चोटजस्ता समस्या हुन्छन्, जसले समय बित्दै जाँदा जोखिम झन् बढाउँछ ।
‘गोल्डेन आवर कटिसकेपछि उपचार सम्भव हुँदैन भन्ने होइन, तर जति ढिला हुन्छ, ज्यान जोगाउने सम्भावना त्यति घट्दै जान्छ,’ उनले स्पष्ट पारे ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको तथ्यांकले उद्धार प्रणालीको कमजोरीलाई रहेको देखाउँछ ।
अस्पतालका अनुसार सडक दुर्घटना वा चोटपटक लागेका ६७ प्रतिशत बिरामी राति ९ बजेपछि मात्र अस्पताल पुग्छन् । २८ प्रतिशत बिरामी दिउँसो ३ देखि राति ९ बजेसम्म र ३५ प्रतिशत बिहान ९ देखि दिउँसो ३ बजेसम्म अस्पताल आइपुग्ने गरेका छन् ।
धेरै बिरामी राति मात्र अस्पताल पुग्नुको मुख्य कारण अस्पताल टाढा हुनु र समयमै उद्धार हुन नसक्नु हो ।
डा. पाण्डे भन्छन्, ‘राजमार्गको आसपासमा ट्रमा केयर केन्द्र स्थापना गरी प्राथमिक उपचार गरेर मात्र ठूला अस्पतालमा रिफर गर्न सके मृत्यु दर उल्लेख्य रूपमा घटाउन सकिन्छ ।’
आकस्मिक कक्षका प्रमुख डा. रमेश महर्जनका अनुसार दुर्घटनास्थलमै सही ढंगले उद्धार र प्राथमिक उपचार गर्न सके मृत्यु दर उल्लेख्य रूपमा घटाउन सकिन्छ ।
‘बिरामीलाई जति छिटो अस्पताल ल्याउन सकियो, ज्यान बचाउने सम्भावना त्यति नै बढी हुन्छ,’ डा. महर्जन भन्छन्, ‘समयमै अस्पताल ल्याउनै कठिन छ। ल्याइए पनि उद्धारको सही तरिका अपनाइएको हुँदैन ।’
अस्पतालको अर्को तथ्यांक अनुसार सडक दुर्घटनाका घाइतेमध्ये ४० प्रतिशत मात्र एम्बुलेन्समार्फत अस्पताल ल्याइन्छन् । ४५ प्रतिशत ट्याक्सीमा र ११ प्रतिशत अन्य सवारीसाधनमा हालेर अस्पताल पुर्याइन्छ ।
व्यवस्थित आपतकालीन सेवा अभावमा घाइतेलाई जस्तो अवस्थामा भेटियो, त्यही अवस्थामा जुनसुकै गाडीमा कोचेर अस्पताल ल्याइने प्रवृत्ति छ ।
डा. महर्जनका अनुसार मृत्युको प्रमुख कारण नै यही अव्यवस्थित उद्धार हो ।
‘रगत बगिरहेको बिरामीलाई तुरुन्त प्राथमिक उपचार आवश्यक हुन्छ,’ उनी भन्छन्, ‘तर दुर्घटनास्थलमा तालिमप्राप्त जनशक्ति र आवश्यक उपकरण नहुँदा बिरामीको मृत्यु बाटोमै हुन्छ ।’
राजमार्गहरूमा ट्रमा अस्पतालमा जीवनरक्षक उपचार मात्रै दिन सके पनि धेरै मृत्युलाई घटाउन सकिने स्वास्थ्यकर्मी बताउँछन् ।
डा. पाण्डे नेपालमा ट्रमा केयर प्रणाली कमजोर रहेको बताउँछन् ।
‘घटनास्थलमै प्यारामेडिक्स पुगेर उपचार सुरु गर्ने प्रि–हस्पिटल केयर प्रणाली नै छैन । विकसित देशमा एम्बुलेन्समै उपचार सुरु हुन्छ । तर हाम्रोमा त्यो अभ्यास छैन,’ डा. पाण्डे भन्छन् ।
चिकित्सकका अनुसार दुर्घटनामा परेका घाइतेलाई तत्काल घटनास्थलमै मूल्यांकन र उपचार सुरु गर्न सकिएमा जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था समेत कम हुन सक्छ ।
दुर्घटनापछि हुने क्षति घटाउन सरकार गम्भीर नबनेसम्म अवस्था सुध्रिँदैन ।
जसका लागि राजमार्गको आसपासमा ट्रमा सेन्टर, एम्बुलेन्सको स्पष्ट मापदण्ड र त्यसको कडाइका साथ अनुगमन गर्ने, एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई अनिवार्य तालिम दिने र आमनागरिकमा प्राथमिक उपचारसम्बन्धी जनचेतना फैलाउने काम तत्काल थालिनु आवश्यक छ ।
राजमार्गका अस्पतालमा ट्रमा व्यवस्थापन टिमले मृत्युबाट बचाउन वा हातखुट्टा सुरक्षित राख्न आकस्मिक व्यवस्थापन गर्न सक्छन् । त्यसपछिका आवश्यक अप्रेसनका लागि केन्द्रीय अस्पतालमा रेफर गर्नुपर्ने विज्ञ बताउँछन् ।
डा. पाण्डे भन्छन्, ‘राजमार्गको आसपासमा ट्रमा केयर केन्द्र स्थापना गरी प्राथमिक उपचार गरेर मात्र ठूला अस्पतालमा रिफर गर्न सके मृत्यु दर उल्लेख्य रूपमा घटाउन सकिन्छ ।’
