म आज मेरो पुस्तालगायत कैयन्ले देखेको, भोगेको र सुनेको तर इतिहासको पानामा लगभग बिलुप्त केही घटनाका ’boutमा उल्लेख गर्दै छु । मलाई राम्ररी हेक्का छ, मेरा यी हरफ कतिपयलाई असह्य हुनेछन् र अपाच्य पनि हुनेछन् । तर, प्रत्यक्षलाई प्रमाणको आवश्यकता पर्दैन र गम्भीर विश्लेषणको जरूरत पनि पर्दैन । तत्कालीन राजा महेन्द्रको २०१७ सालको कदमपछि मुलुकमा प्रजातन्त्रवादीहरूको विजोगको अवस्था थियो । ७५ प्रतिशत निर्वासनमा पुगेका थिए भने २५ प्रतिशत भूमिगत र कैदी जीवन बिताइरहेका थिए । मुलुकमा ‘हावापानी, माटो सुहाउँदो राष्ट्रवादी’ व्यवस्था कायम थियो । ‘हे राष्ट्रकारी वीर महेन्द्र, तिम्रो जयजय होस्’जस्ता प्रशस्ती गान गुन्जायमान थियो । विद्यालयहरूमा ‘संसदीय व्यवस्था असफल हुनुका कारणहरू’ रटाइन्थ्यो । झिनो स्वरमा पनि राजा महेन्द्रको कदमको विरोध गर्नेहरू स्वतः ‘अराष्ट्रिय तत्व’को सूचीमा दर्ज हुन्थे । कहाँसम्म भने सीमापारिबाट नेपाल प्रवेश गर्दै गरेका कुनै व्यक्तिको झोलाबाट विश्वेश्वरप्रसाद कोइरालाको एउटा फोटो निस्कँदा त्यस व्यक्तिलाई राजद्रोह वा कम्तीमा शान्तिसुरक्षा ऐनअन्तर्गत २ देखि ३ वर्षको काराबास सजाय हुन्थ्यो ।
यस्तो कठोर समयमा काठमाडौं र मुलुकका अन्य सहरी भूभागमा अकल्पनीय दृश्यहरू देखापरे । विद्यालय पढ्ने ४–५ देखि १५–१६ वर्षसम्म उमेरका बालबालिकाको छातिमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङको टाउको अंकित ब्याच देखापर्न थाल्यो ।
ससाना बालबालिकाहरू कुनै अपरिचित दाइदिदीले दिनुभएको त्यो तक्मा सगर्ब छातिमा लगाएर हिँड्थे । त्यो तक्मा नपाएका बालबालिकाहरू खिन्न हुन्थे र केही गरेर ५–१० पैसा तिरेर भए पनि छातिमा लगाउँथे । स्वयं म आफूले पनि त्यस्तो ब्याच जुगाड गरेर लगाएको छु । बीपीका अनुयायीहरू त अराष्ट्रिय तत्व भइ नै हाले, पुष्पलाल र मनमोहनहरू पनि त्यही श्रेणीमा राखिएका थिए । बीपीको सामान्य फोटोसमेत खतरनाक मानिन्थ्यो, तर माओको ब्याच खुलमखुल्ला वितरण भइरहेको थियो । पुष्पलाल निर्बासनमा कष्टकर जीवन बिताइरहेका थिए, तर माओका निर्जीव फोटाहरू नेपालका सहर बजारमा पुजिँदै थियो ।
तरुण पत्रिकाको एक प्रति भेटिएको अवस्थामा त्यस व्यक्तिको जीवन अकल्पनीय बन्न पुग्थ्यो । तर, माओत्सेतुङको प्रचार साहित्य अर्थात् रेडबुक अत्यन्तै सस्तो मूल्यमा वा सामान्यतया सित्तैमा खुला रूपमा उपलब्ध थियो । ‘चीन सचित्र’ नाम गरेको रंगीन चिनियाँ प्रचार सामग्री त सहर बजारको प्रत्येक घरको अभिन्न जीवनशैली नै बनिसकेको थियो । के यी सब सामग्री गुप्त रूपमा प्रचारप्रसार भएका थिए वा तत्कालीन अञ्चलाधीश वा प्रशासकको गिद्धे दृष्टिबाट ओझेलमा थियो ? यो उनीहरूको प्रश्रय वा आश्रयमा भइरहेको थियो ! माओको ब्याच छताछुल्ल बाँडिएपछि सूचना विभागले समानान्तर रूपमा राजा महेद्र र रानी रत्नको तस्बिर अंकित ब्याच पनि बाँडेको थियो । यी दृश्यहरू आज ५० वर्ष उमेर पुगेका सम्मले सायद भोगेका छैनन् । त्यसभन्दा बढी उमेरकाले त स्पष्ट देखेका भोगेका हुन् !
नेपालका अधिकांश सफल मानिएका कम्युनिस्ट नेतृत्व (सबै कम्युनिस्ट होइन) र राजाका बीचमा जात फरक छ । राजा जुनसुकै मूल्यमा पनि निरंकुश एकतन्त्रात्मक व्यवस्था चाहन्छन् । कम्युनिस्टहरू आफ्नो पार्टीको सर्वोच्चतासहितको शासन व्यवस्था चाहन्छन् । उनीहरू बहुदलसम्म मान्छन् तर बहुलवाद मान्दैनन्
अब आजका ३० वर्षीय लक्का जवानले पनि भोगेको देखेको घटनाको कुरा गरौं । कथित जनयुद्धले नेपाल र नेपालीलाई कति आक्रान्त पारेको थियो भन्ने दोहो¥याइरहन नपर्ला । राष्ट्रले आतंककारी घोषित गरेको तत्कालीन माओवादी विद्रोहीप्रति राजाको र राजाको पूर्ण नियन्त्रणमा रहेको सेनाको कस्तो व्यवहार रह्यो भन्ने कुराको घोच्नेगरी बताउनु सायद आजको परिप्रेक्ष्यमा त्यति सान्दर्भिक नहोला । संवैधानिक राजतन्त्रका लागि लडेका कांग्रेसी विद्रोहीहरूप्रति अत्यन्तै निर्मम राजा राजतन्त्र नै फ्याँक्ने नाराका साथ अगाडि आएको माओवादीप्रति जति लचक देखिए, त्यो आफैंमा अकल्पनीय छ । दुर्गानन्द झा, यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ र रामलक्षण बन्धुलाई परमधाम पु¥याउने राजाको माओवादीप्रति चाहिँ अद्वितीय प्रजावत्सल रूप देखियो । होलेरी घटनालाई नै एकपटक याद गरौं । होलेरीमा माओवादी विद्रोहीको प्रथम पंक्तिलगायत ठूलो जमात सेनाको घेरामा परेको समाचार आयो । सरकारको सञ्चारमाध्यममार्फत दुई–तीन दिनसम्म लगातार सेनाको घेरा कस्सिँदै गएको र साँघुरिँदै गएको सूचना प्रवाहित भइरह्यो । तर, अन्ततः थाहा भयो सेनाका परमाधिपति राजाको इच्छा र आदेशानुसार राष्ट्रले आतंकी घोषित गरेको र सेनाको ब्यारेक हान्ने त्यस जमातलाई जस्केलाबाट उम्काइयो । सुनियो– प्रजावत्सल महाराजधिराज सरकारबाट आफ्नै जनता मार्न चाहिबक्सेन !
अब हालै उद्घाटित एक चाखलाग्दो घटनाका ’boutमा उल्लेख गरौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एक टेलिभिजन अन्तरवार्ताका क्रममा अत्यन्तै चाखलाग्दो एउटा घटना सुनाए । २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचन हुनुभन्दा दुई साताअघि थापालाई आफ्ना सहपाठी माओवादी नेता बाबुराम भट्टराईले गुप्त रूपमा भेट्न बोलाएछन् । बालाजुतिर कतै कुनै तेस्रो व्यक्तिका घरमा उनीहरूको भेट भएछ । वार्तालापका क्रममा बाबुराम भट्टराईले थापालाई राजा ज्ञानेन्द्रसमक्ष एउटा सन्देश पु¥याइदिन आग्रह गरेछ्न् । बाबुरामले राजालाई स्पेस दिन तयार रहेको सुनाइदिन भनेछन् । राजालाई उचित ठाउँ दिएर कायम राख्न आफूहरू तयार रहेको तर शासन सत्ताचाहिँ माओवादीलाई सुम्पिनुपर्ने बताएका रहेछन् । संविधानसभाको निर्वाचन हुन दुई साता मात्र रहेको अवस्थामा त्यो निर्वाचन के हुन्छ त भन्ने थापाको प्रश्नको जवाफमा बाबुरामले त्यसको चिन्ता नगर्न भनेका रहेछन् । राजा निलम्बित अवस्थामा रहेको र निर्वाचन हुनासाथ राजतन्त्र विधिवत रूपमा हट्ने लगभग पक्का भइसकेको वातावरणका बीच राजाले ठाउँ पाउने कुराले थापा हौसिएछन् । उनी झटपट गएर राजालाई सन्देश सुनाएछन् । निलम्बित राजा ज्ञानेन्द्रले यो प्रस्ताव बाबुरामको मात्र हो वा प्रचण्डको पनि हो बुझ्न भनेछन् । वास्तवमा थापाले उत्तेजनाका बीच यो कुरा सोध्न बिर्सेका रहेछन् । थापा भोलिपल्ट पुनः त्यही स्थानमा बाबुरामलाई भेट्न पुग्दा प्रचण्ड पनि उपस्थित रहेछन् । प्रचण्डले बाबुरामको भनाइप्रति समर्थन जनाएछन् । थापाका अनुसार त्यसै पनि बाबुरामचाहिँ भारतसँग सहकार्य गरेर अगाडि बढ्नुपर्छ भन्ने लाइनका थिए भने प्रचण्डचाहिँ राजासँग सहकार्यका पक्षधर थिए । त्यसभन्दा अघि नै माओवादी तत्कालीन अधिराजकुमार धीरेन्द्रमार्फत राजाको सम्पर्कमा रहेको खुलेको थियो ।
माओवादीसँगको दरबारको सम्बन्ध पनि लोकतान्त्रिक शक्तिविरुद्धको एकबद्धताबाट नै प्रेरित थियो भन्न मिल्ने ठाउँ देखियो । कमल थापामार्फत गएको प्रस्तावले के बुझाउँछ भने माओवादी नेतृत्वलाई गणतन्त्र वा आमूल परिवर्तन चाहिएको थिएन । चाहिएको थियो भने फगत निरंकुश सत्ता शक्ति !
म यी घटनाहरूको स्मरण गरेर लोकतान्त्रिक लडाइँमा होमिएका पुष्पलाल वा मनमोहन अधिकारीको अपमान गर्ने कोसिस गर्दै छैन । सुखानी र पिस्करमा ज्यान गुमाउने योद्धाहरूको अवमूल्यन पनि गरिरहेको छैन । कम्युनिस्ट आन्दोलनका नाममा कयौं वर्ष जेलनेल खप्ने कामरेडहरूलाई हेला गर्ने जमर्को त झनै गरिरहेको छैन । उज्ज्वल र न्यायपूर्ण भविष्यको कामना गर्दै जनयुद्धमा होमिएका लडाकुहरूविरुद्ध पनि एक शब्द पनि लेखिरहेको छैन । उल्लिखित सबैजनाको नेपालको राजनीतिक इतिहासमा अविस्मरणीय योगदान रहेको छ र त्यसका लागि नेपाली जनता कृतज्ञ रहनै पर्छ ।
तर, माथि उल्लिखित घटनाहरूको थोरै भित्री तहसम्म पुग्ने कोसिस गर्ने हो भने नेपालको राजदरबार र कम्युनिस्टहरूबीच गजबको सम्बन्ध रहेको चाहिँ खुल्छ । २०१७ सालपछि कम्युनिस्टहरूले दरबारबाट राम्रै प्रश्रय पाएको देखिन्छ । दरबारको नियतचाहिँ स्पष्ट रूपमा लोकतान्त्रिक शक्तिलाई कमजोर बनाउन कम्युनिस्टलाई बढावा दिने नै देखियो । २०४६ सालसम्म आइपुग्दा नपुग्दै नेपालमा तुलनात्मक रूपमा उग्र मानिने कम्युनिस्टको बोलबाला बढ्नु र उनीहरू स्थापित हुनुका पछाडि दरबारको ठूलो योगदान रहेको देखिन्छ । लोकतान्त्रिक कम्युनिस्ट दरबारलाई मन परेन । पुष्पलाल वा मनमोहनले होइन, उग्र कम्युनिस्टले यहाँ आश्रयप्रश्रय पाएको देखिन्छ । मलाई लाग्छ, मदन भण्डारीको निधन विशुद्ध दुर्घटनाबाट भएको हो । तर, यदि कुनै षड्यन्त्र नै हो भने चरम उग्र धार छोडेर लोकतान्त्रिक प्रतिस्पर्धात्मक राजनीतिमा पार्टीलाई मोड्ने मदन भण्डारी त्यस्तै तत्वलाई अपाच्य भएर भएको हुनसक्छ । माओवादीसँगको दरबारको सम्बन्ध पनि लोकतान्त्रिक शक्तिविरुद्धको एकबद्धताबाट नै प्रेरित थियो भन्न मिल्ने ठाउँ देखियो । कमल थापामार्फत गएको प्रस्तावले के बुझाउँछ भने माओवादी नेतृत्वलाई गणतन्त्र वा आमूल परिवर्तन चाहिएको थिएन । चहिएको थियो भने फगत निरंकुश सत्ता शक्ति !
नेपालका अधिकांश सफल मानिएका कम्युनिस्ट नेतृत्व (सबै कम्युनिस्ट होइन) र राजाका बीचमा जात फरक छ । राजा जुनसुकै मूल्यमा पनि निरंकुश एकतन्त्रात्मक व्यवस्था चाहन्छन् । कम्युनिस्टहरू आफ्नो पार्टीको सर्वोच्चतासहितको शासन व्यवस्था चाहन्छन् । उनीहरू बहुदलसम्म मान्छन्, तर बहुलवाद मान्दैनन् । एकथरी परिवार वा व्यक्ति केन्द्रित व्यवस्था चाहन्छ भने अर्को सर्वहाराका नाममा आफ्नो समूहको एकाधिकार चाहन्छ । त्यस अर्थमा यी दुईको थर र जात फरक छ । तर, दुवै लोकतन्त्रविरोधी र तानाशाही प्रवृत्तिको हो । तसर्थ, थर फरक भए पनि यिनको गोत्रचाहिँ एउटै हो । यी दुईबीच सगोत्रीय साइनो छ । तर, अफसोच सगोत्रबीच विवाह हुँदैन र विवाह नभइ वंश बढ्दैन ।
(Visited 7 times, 1 visits today)
