प्रकाशित मिति : माघ १७, २०८१ बिहीबार
सङ्घीय संसद्को हिउँदे अधिवेशन माघ १८ गते शुक्रबार सुरु हुँदैछ । अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा अधिबेसन बोलाइएको छ ।
यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । सङ्घीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
यो अधिवेशनमा झण्डै ३० विधेयक संसद्मा लैजाने तयारी सरकारको छ । यसअघि नै दर्ता भएका २३ विधेयक संसद्मा विचाराधीन छन् ।
हालै सरकारले जारी गरेका ६ वटा अध्यादेश पनि संसद् बैठकको पहिलो दिनमै दर्ता हुँदैछन् ।
संसदमा सङ्घीयता कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजनजस्ता महत्त्वपूर्ण विधेयक लामो समयदेखि विचाराधीन छन् ।
ती विधेयकमाथि सम्बन्धित संसदीय समितिहरूमा छलफल भइरहेको संसद सचिवालयले जनाएको छ ।
विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । सरकारले अध्यादेश गलत विधि र प्रक्रियामार्फत ल्याएको भन्दै यसलाई अस्वीकार गर्ने निर्णय विपक्षी दलहरुले गरेका हुन ।
सरकारले संसद् अधिवेशन धकेलेर अध्यादेश ल्याएको भन्दै विरोध गर्ने तयारीमा प्रतिपक्षी दल जुटेका छन् । तर सरकार भने अध्यादेशलाई जतिसक्दो छिटो पारित गराउने रणनीतिमा देखिन्छ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशको बचाउ गर्न आफ्ना सांसदलाई निर्देशन दिइसक्नु भएको छ ।
सरकारले जारी गरेको अध्यादेश संसद् अधिवेशन प्रारम्भ भएको दिनमै पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ ।