संसद्को गेट अगाडि गर्माएको स्ववियु निर्वाचन


३ चैत, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ठिक अपोजिट छ– नेपाल कमर्श क्याम्पस । यसकारण उक्त क्याम्पसका विद्यार्थी संसद् भवन अगाडिका सडकमा हुने प्रदर्शनका प्रत्यक्ष साक्षी हुने गर्छन् ।

बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सलुन खड्का (रकेट) भन्छन्, ‘छिमेकीको घरमा के हुन्छ, कसैलाई सोधिरहनु पर्छ र ? हामीले यो हेर्न र अनुभव गर्न पाएका छौं ।’
रकेट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को क्याम्पस अध्यक्षका उम्मेदवार हुन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल समाजवादीका रकेट स्ववियुको राजनीति विद्यार्थीको हितमा हुनुपर्छ भन्नेमा प्रष्ट छन् ।

‘संसद् भवनमा जस्तो केन्द्रीय राजनीति शिक्षालयमा हुनु हुँदैन । शिक्षालयमा शिक्षाकै कुरा हुनुपर्छ, विद्यार्थी राजनीति विद्यार्थीको हितमा हुनुपर्छ । अन्यथा, विद्यार्थी राजनीतिमाथि नै प्रश्न उठ्छ,’ रकेट भन्छन् ।

आइतबार दिउँसो साढे तीन बजेट अनलाइनखबरकर्मी क्याम्पस पुग्दा परिसरमा पातलो संख्यामा विद्यार्थीहरू थिए । स्ववियु कार्यालय सुनसान थियो । स्ववियु कार्यालय प्रवेश गरेको देखेपछि सोधीखोजीका लागि पुगेका रकेटले चिनजानसँगै आफ्ना चुनावी एजेन्डा समेत सुनाएका हुन् ।

‘म बीबीएस तेस्रो वर्षमा अध्ययनरत छु । अघिल्लो ब्याचकाले लाइब्रेरीका किताब लगेका हुन्छन् । उनीहरूले फिर्ता नगरी पछिल्लो ब्याचकाले पाउँदैनन् । समस्या अनेक छन्,’ उनले सुनाए ।

क्याम्पसको स्ववियु कार्यालय प्रवेश गर्नेवित्तिकै अध्यक्षको बोर्ड छ– तुलसीराम मैनाली । मैनाली २०६५ सालमा भएको चुनावबाट स्ववियु अध्यक्ष चुनिएका हुन् । त्यसयता यो क्याम्पसमा चुनाव हुन सकेको छैन । स्ववियुमा नयाँ नेतृत्व नआएर होला स्ववियु कार्यालयसँगै रहेको अर्को कोठामा पुराना फर्निचर थन्क्याइएका छन् भने सँगैको बगैंचा छिर्न सक्ने अवस्था छैन ।

अनलाइनखबरकर्मी छिरेको केहीबेरपछि अध्यक्षका अर्का उम्मेदवार काशीराम जैसी स्ववियु कार्यालय छिरे । जैसी, माओवादी केन्द्र, एकीकृत समाजवादी र धर्मेन्द्र बास्तोला निकट विद्यार्थी संगठनको साझा उम्मेदवार हुन् । जैसीले आफ्नो चुनावी एजेन्डा सुनाउन नजिकैको बगैंचा लगेर देखाए ।

संसद्को गेट अगाडि गर्माएको स्ववियु निर्वाचन

‘हरित वातावरणको अवधारणासहित कलेजमा किताब बगैंचाको योजना ल्याएको छु,’ जैसीले भने । उनका अनुसार हाल कलेजमा पढेर बस्ने उपयुक्त वातावरणसहितको बगैंचाको कमी छ । ‘छन त छ । तर यसलाई उचित वातावरणसहित व्यवस्थित गर्नुपर्ने छ । सफा–सुग्घरको विषय पनि छ,’ जैसीले सुनाए ।

उनका अनुसार शैक्षिक शुल्क महँगो छ । प्रत्येक वर्ष १० प्रतिशतका दरले शैक्षिक शुल्क बढाउन सकिने व्यवस्था छ । ‘शिक्षकको अनियमित उपस्थिति र पूरै समय नपढाउने प्रवृत्तिबारे पनि कुरा उठाउनुपर्ने छ,’ जैसी थप्छन्, ‘यी तमाम विषयमा म नेता नभएर विद्यार्थी प्रतिनिधि भएर प्रशासनसम्म कुरा पुर्‍याउन र खबरदारी गर्न चाहन्छु ।’

संसद्को गेट अगाडि गर्माएको स्ववियु निर्वाचन

यो क्याम्पसमा ६ हजार ६१७ जना मतदाता छन् । ठूला दलहरू मुख्य प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार चुनाव लड्ने भनेर १० वटा संगठनले संगठन दर्ता गरेका थिए । तर चुनावी प्रतिस्पर्धामा सात वटा संगठनले मात्रै भाग लिएका छन् ।

‘१० वटा संगठन दर्ता भएका थिए । चुनावमा सात संगठनले भाग लिएका छन्,’ निर्वाचन समितिका प्रवक्ता अजयकुमार खड्काले जानकारी दिए ।नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), धमेन्द्र बास्तोला नेतृत्वको नेकपाले चुनाव लड्दैछन् ।

यसबाहेक नेपाली कांग्रेस बीपी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र प्राज्ञिक संगठनले समेत संगठन दर्ता गरेका थिए । यी तीन संगठनले चुनावमा उम्मेदवार भने उठाएनन् ।

कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) रविन ओलीको नेतृत्वमा चुनाव लड्दैछ । नेकपा एमाले निकट राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विशाल रोकाहाको नेतृत्वमा चुनावी मैदानमा छ ।

संसद्को गेट अगाडि गर्माएको स्ववियु निर्वाचन

अनेरास्ववियुबाट स्ववियु अध्यक्षका उम्मेदवार रोकाहाको नारा छ– सार्थक शिक्षा, सार्थक जीवन । भ्रष्टाचाररहित शिक्षा । बेतिथि, विकृतिविरुद्धको आवाज बोकेर शिक्षामा सुधार गर्ने उद्देश्य र अठोटले चुनावी मैदानमा खडा भएको रोकाहा बताउँछन् । रोकाहाको प्यानलबाट सचिवमा मिलन ओझा र कोषाध्यक्षमा सौगात पुरी उम्मेदवार छन् ।

अर्का अध्यक्षका उम्मेदवार रविन ओली विद्यार्थीका समस्या नै क्याम्पसका समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीका समस्या र क्याम्पसका समस्यालाई आत्मसात गर्दै समस्यालाई एजेन्डाको रुपमा लिएर स्ववियु निर्वाचनमा भाग लिएको हौं ।’

विद्यार्थीको अधिकारका लागि विद्यार्थीको नेतृत्व आवश्यक रहेको र यसका लागि विवेकशील विद्यार्थीले उचित नेतृत्व चयन गर्ने र त्यो पात्र आफू भएको उनको दाबी छ ।

उत्साही नेता

१६ वर्षपछि स्ववियु चुनाव हुन लागेकाले विद्यार्थी नेताहरू उत्साही देखिन्छन् । पार्टीको केन्द्रदेखि जनवर्गीय संगठन र विद्यार्थी संगठन पूरैको ध्यान तानेको छ ।ठूला दल निकट संगठन जसरी पनि चुनाव जित्ने ध्याउन्नमा छन् । अनेरास्ववियु बिरासत जोगाउने प्रयासमा छ ।

२०६५ अगाडि यो क्याम्पसमा अनेरास्ववियुकै नेतृत्व रहँदै आएकाले फेरि पनि नेतृत्व लिने दाउमा अनेरास्ववियु छ । तर नेविसंघ अनेरास्ववियुको बिरासत तोड्न चाहन्छ । विद्यार्थी नेताहरूका अनुसार यसपटक क्याम्पस प्रशासन प्रमुख भागबण्डामा कांग्रेसबाट नियुक्त भएका हुन् ।

संसद्को गेट अगाडि गर्माएको स्ववियु निर्वाचन
बायाँबाट क्रमश: अनेरास्ववियुका विशाल रोकाहा, अखिल क्रान्तिकारीका काशीराम जैसी र नेविसंघका रविन ओली ।

यसपटक यो क्याम्पसमा नेविसंघ एकढिक्का रहेको भनेर उनीहरू यसलाई जितको आधार मानिरहेका छन् । ‘अन्यत्र जस्तो यहाँ कुनै गुट वा उपगुट छैन,’ नेविसंघमा आवद्ध एक विद्यार्थीले आफूहरुको जितको प्रमुख आधार सुनाए ।

अखिल क्रान्तिकारी कुन संगठनको हैसियत कति भन्ने कुनै तथ्यपरक तथ्यांक कसैसँग नरहेको बताउँछ । ‘चुनाव भइरहेको भए चुनाव केन्द्रित संगठन बन्थ्यो । कसका कति सदस्य छन् भन्ने थाहा हुन्थ्यो,’ अध्यक्षका उम्मेदवार जैसी भन्छन्, ‘मेरो विश्वास छ– मतदाताले जसलाई मत दिए तापनि विवेक प्रयोग गर्दैछन् ।’

मतदाताले विवेक प्रयोग गर्न पाउनु र अन्य क्रान्तिकारी संगठनको समेत साथ रहेकाले आफूहरु बलियो रहेको दलिल अखिल क्रान्तिकारीको छ ।

विद्यार्थीमा छैन रौनक

तर, विद्यार्थी नेताहरू जति उत्साही सुनिन्छन्, त्यति रौनक विद्यार्थीमा भने देखिँदैन । विद्यार्थीमा उत्साह जाग्न नसकेको नेपाल कमर्श क्याम्पसको माहोलले देखाउँछ ।
नेताहरू कति उत्साही छन् भन्ने पार्टीहरूको चासो र सक्रियता र खटनले देखाउँछ । पार्टीका केन्द्रीय नेताहरू नै सक्रिय भएका छन् भने चुनावी गतिविधिका लागि होटल बुकिङ गरिदिने र खर्च जुटाइदिने जिम्मेवारी पार्टीले नै लिएको छ ।

तर, विद्यार्थीमा त्यस्तो चासो छैन । चुनाव क्याम्पसमा हुँदैछ । तर न विद्यार्थी नेताहरू क्याम्पस परिसरमा भेटिन्छन् छन न विद्यार्थी । ‘लाइब्रेरीमा किताब छैन, अन्य सेवा–सुविधा अपर्याप्त छन् । यी कुरा गर्न नेता नै हुनुपर्छ र !’ बीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थी धनु ओलीको प्रश्न छ ।

संसद्को गेट अगाडि गर्माएको स्ववियु निर्वाचन

रुकुम पश्चिमका ओली आफू विद्यार्थीको हितका लागि सक्रिय स्ववियु हुनुपर्छ भन्ने पक्षमा रहेको बताउँछन् । तर स्ववियु केवल नेता बन्ने भर्‍याङ जस्तो हुन पुग्दा विद्यार्थीका वास्तविक एजेन्डा ओझेलमा परेको उनको दुःखेसो छ ।

‘कहाँ–कहाँदेखि उच्च शिक्षा लिन आउँछन् । तर सेवा सुविधाको कुरा छैन, खाली संगठन भन्ने जस्तो गर्दा कतिपयमा दिक्दारी छ । यही कारण स्ववियुप्रति विद्यार्थीको मोह भंग हुँदै गएको छ,’ ओलीले सुनाए ।

‘हेर्नुहोला, फोन गरी–गरी बोलाएका मुस्किलले दुई हजार, पच्चीस सय भोट हाल्न आउलान् । बाँकी आउनेवाला छैनन् ।’

विद्यार्थी राजनीति विद्यार्थीको हकहितका केन्द्रित हुन नसक्नुको परिणाम चुनावमा हुने मतदानमा पनि देखिने उनले बताए ।‘स्ववियुमा केही करोड बजेट आउँछ । त्यो बजेट चलाउने दाउ हो धेरैको, यहाँ विद्यार्थीका कुरा भनाइमा हुन्,’ उनी भन्छन्, ‘हेर्नुहोला, फोन गरी–गरी बोलाएका मुस्किलले दुई हजार, पच्चीस सय भोट हाल्न आउलान् । बाँकी आउनेवाला छैनन् ।’

दुई तिहाइ मतदाता विद्यार्थीले नै मतदान नगर्ने आधार के हो ? ओलीको जवाफ छ, ‘भनेँ नि विद्यार्थीका कुरा छैनन् ।’

किन यस्तो भयो त ? दोहोरिएको प्रश्नको जवाफमा उनी केन्द्रीय राजनीति देखाउँछन् । संसद् भवनभित्र हुने छलफल र बहस ख्याल गर्न सुझाउँछन् ।

‘मूल हेर्नु न मूल । संसद्मा जनताका कुरा उठेनन्, कसका स्वार्थका के कुरा उठे भन्छन् नि हो त्यस्तै छ कलेजमा पनि । यहाँ विद्यार्थीका कुरा कम अन्य कुरा ज्यादा हुन्छन् क्या ।’

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School