प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार

तस्वीर : सउल लोएब/एएफपी- रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघलाई सुदृढ र प्रभावकारी बनाउन आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। बिहीबार ‘बोर्ड अफ पीस’को उद्घाटन समारोहमा बैठकमा बोल्दै उनले संयुक्त राष्ट्रसंघलाई थप सक्षम र दिगो बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
अमेरिका संयुक्त राष्ट्रसंघको बजेटमा सबैभन्दा ठूलो योगदानकर्ता देश हो। यद्यपि ट्रम्प प्रशासनको समयमा नियमित तथा शान्ति स्थापना बजेटका अनिवार्य भुक्तानीहरू रोकिनुका साथै विभिन्न एजेन्सीहरूलाई दिँदै आएको स्वैच्छिक अनुदानमा कटौती गरिएको थियो।
राष्ट्रपति ट्रम्पले भने, “हामी संयुक्त राष्ट्रसंघलाई अझ मजबुत बनाउनेछौं। यसको संरचना र सुविधा राम्रो अवस्थामा छन् भन्ने सुनिश्चित गर्नेछौं। उनीहरूलाई सहयोग आवश्यक छ । हामी आर्थिक रूपमा सहयोग गर्नेछौं।”
उनले संयुक्त राष्ट्रसंघमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै त्यसले आफ्नो पूर्ण क्षमताअनुसार काम गर्न नसकेको टिप्पणी पनि गरे।
यस घोषणासँगै अमेरिकाले संयुक्त राष्ट्रसंघप्रति आफ्नो भूमिकालाई पुनः सक्रिय बनाउने संकेत दिएको विश्लेषकहरूले बताएका छन्।