News Summary
Generated by OK AI. Editorially reviewed.
- भारतीय फिल्म ‘शोले’ का निर्देशक रमेश सिप्पी अहिले काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका विशेष पाहुना बनेर छन्।
- सिप्पीले ‘शोले’लाई केवल सफल फिल्म नभई सांस्कृतिक घटना बनाएको र यसले भारतीय फिल्मको मापदण्ड परिवर्तन गरेको बताए।
- सिप्पीले नेपाली फिल्म उद्योगको भविष्य उज्यालो रहेको र नेपाली फिल्ममेकरले नेपालीपन जोगाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो।
काठमाडौं । भारतीय सिनेमाको प्रभावशाली र लोकप्रिय मध्ये एक फिल्म ‘शोले’ का निर्देशक रमेश सिप्पी अहिले नेपाली राजधानीमा छन् । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)का विशेष पाहुना बनेर काठमाडौं ओर्लिएका उनको यो तेस्रो नेपाल आगमन हो । सिप्पीले ‘शोले’लाई साधारण कथाभन्दा माथि उठाएर एउटा अनुभवजस्तो बनाए । कथा भन्ने तरिकालाई उनले भिन्न तुल्याए । हरेक पात्रलाई गहिराइ दिए । बलिउडलाई ‘वेस्टर्न’ शैलीमा पेश गरे । ‘लार्जर देन लाइफ’ र साना क्षण दुवैलाई बराबरी महत्व दिए । सिप्पीको निर्देशनले ‘शोले’लाई केवल सफल फिल्म मात्र बनाएन, ‘सांस्कृतिक घटना’ बनाइदियो । यसपछि भारतीय फिल्मको मापदण्ड बदलियो । ७९ वर्षिय सिप्पीले अनलाइनखबरकर्मी विष्णु शर्मासँग ‘शोले’, बलिउड, ‘धुरन्धर’पछिको कथावाचन शैली र नेपाली फिल्मको गफगाफ गरेका छन् :
यदि तपाईंले अहिलेको समयमा ‘शोले’ बनाउनुपर्यो भने के कुरा उस्तै राख्नुहुन्छ र के परिवर्तन गर्नुहुन्छ ?
मेरो लागि त ‘शोले’ पक्कै पनि एकपटक मात्रै हुने कुरा हो, यो भयो । म फेरि यसलाई गर्न चाहन्न । यदि आज गर्नुपर्यो भने, मलाई थाहा छैन, म कसरी कास्ट गर्थें ? किनकि त्यो समयमा मैले जस्ता कलाकार पाएँ, त्यो आफैँमा एउटा घटना थियो । आज पनि पक्कै उत्कृष्ट कलाकार छन् । तर अहिलेको अवस्थामा, यो पात्रले यो खेल्छ र त्यो पात्रले त्यो खेल्छ भनेर सोच्न मेरो लागि सम्भव छैन । त्यसैले मलाई लाग्छ, ‘शोले’ त ‘शोले’ नै हो ।
यो कुरालाई विश्लेषण गर्न धेरै गाह्रो हुन्छ । होइन भने ५० वर्षमा किन यस्तो अर्को भएन ? किन त्यस्तो भावना फेरि आएन ? धेरै राम्रा फिल्म बनेका छन् । मैले पनि केही बनाएको छु । तर जब ‘शोले’सँग तुलना हुन्छ, त्यसमा एकदमै फरक खालको आभा र भावना छ मिसिएको छ । मानिसको मनमा यसको विशेष स्थान छ । ‘शोले’का संवाद, गब्बरका लाइन, साना-साना पात्रसम्म सबै सम्झिन्छन् । त्यसैले मलाई लाग्छ ‘शोले’लाई विश्लेषण गर्नु नै फरक कुरा हो ।
तपाईंले भारतीय सिनेमाका धेरै चरण देख्नुभएको छ । तपाईंको समयदेखि आजको ठूलो बजेटको दृश्यात्मक युगसम्म कथा भन्ने तरिका कसरी विकास भएको देख्नुहुन्छ ?
म भन्न चाहन्छु, हरेक समयका फिल्ममेकरले फरक-फरक चुनौती सामना गर्छन् । जब मैले ‘शोले’ बनाउँदै थिएँ, अन्ततः सबै कुरा प्राप्त हुन्थ्यो किनकि त्यो आवश्यक थियो । सबै कुरा महत्वपूर्ण थियो । हामीले ६ ट्रयाक स्टेरियोफोनिक साउन्डको योजना बनाएका थियौं, त्यसैले ध्वनि विशेष तरिकाले रेकर्ड गर्नुपर्ने थियो । तर, सबै कुरा अन्तिम चरणमा मात्र जोडिन्थ्यो । त्यसैले यस्तो काममा धेरै योजना आवश्यक पर्छ ।
त्यसपछि यो ल्याबमा जान्थ्यो, जहाँ साउन्डट्रयाक तयार हुन्थ्यो । त्यो समयमा ७० एमएम प्रिन्टमा साइडमा म्याग्नेटिक टेप हुन्थ्यो । त्यसमा ६ ट्रयाकका ध्वनि राखिन्थ्यो । यी सबै कुरा मानिसलाई देखाउनका लागि हुन् कि फिल्म कसरी योजना गरेर बनाइन्छ । किनकि हरेक फिल्म उस्तै हुँदैन ।
फिल्म निर्माणमा ठूलो परिवर्तन ध्वनिको चेतनाबाट आएको हो । जब दर्शकले हेर्छन्, एउटा सानो सिक्का फाल्ने आवाज पनि प्रभावकारी हुन्छ । जस्तो कि विरुको पात्रमा, अमिताभ बच्चनको पात्र जयको मृत्यु भएपछि, उसले सिक्का फाल्छ । त्यो सिक्का ढुंगामा बज्दै जान्छ र पूरा हलमा त्यसको आवाज गुञ्जिन्छ । यस्तो कुरा दर्शकलाई निकै रोचक लाग्यो ।
जब मैले दर्शकसँग बसेर हेरेँ, मलाई लाग्यो यसले भावनालाई बिगार्छ । त्यो दृश्य निकै भावुक थियो । तर दर्शक सिक्काको यात्रामा रमाए । सिक्का कहाँ खस्यो, कहाँ गयो भनेर हेरे । त्यसले मेरो भावनात्मक क्षणलाई बिगार्छ जस्तो लाग्यो । मैले सोचेँ, मैले के गरें ? तर उनीहरूले त्यसलाई मन पराए । त्यस पछि त्यसबारे कुरा पनि गरे र यसले उनीहरूको भावनामा कुनै असर पारेन । जयको मृत्यु त्यत्तिकै प्रभावशाली रह्यो । त्यसले त्यो प्रभाव घटाएन ।
‘धुरन्धर २’ जस्ता ठूलो सफलता र स्केल भएका फिल्मपछि के तपाईंलाई लाग्छ दर्शकको स्वाद र अपेक्षा बदलिएको छ ?
होइन, मलाई त्यस्तो लाग्दैन । ‘धुरन्धर’ आफैँले एउटा छवि तोडेको छ । यो केवल रोमान्सको फिल्म होइन । यसमा रोमान्स छ, तर मात्र रोमान्स होइन । यसमा ठूलो स्तरको हिंसा पनि छ, किनकि एउटा मिशन छ । यसले फिल्म बनाउने व्याकरण नै परिवर्तन गरेको छ, र त्यो धेरै सुन्दर ढंगले गरेको छ । यसको प्रभाव धेरै ठूलो छ । यसले फेरि फिल्म निर्माणको व्याकरण परिवर्तन गरेको छ । मलाई लाग्छ यो शानदार छ ।
आजको फिल्म उद्योगमा, जहाँ बक्स अफिसको संख्याले धेरै कुरा निर्धारण गर्छ, के तपाईंलाई लाग्छ कथा र सामग्री अझै केन्द्रमै छन्, वा स्केल र मार्केटिङले त्यसलाई ओझेलमा पारेका छन् ?
होइन, म के देख्छु भने- कथा भन्ने कुरा र सिनेमा, ध्वनि र दृश्य मिलेर बनेको सिनेमा, जुन हामी चिन्छौं । पर्दामा कथा भन्ने कुरा, त्यसपछि यो सानो पर्दामा, घरको स्क्रिनमा, टिभीमा वा ठूलो हलमा देखाउन सकिन्छ । फिल्म बनाउने कामको आफ्नै आकर्षण हुन्छ, किनकि यो शक्तिशाली कथा भन्ने माध्यम हो । भावना, रोमान्स र ड्रामा- यी सबै सँगै आउँछन् । यदि यी सबै सही अनुपातमा छन् भने, तपाईंले हिट फिल्म पाउनुहुन्छ । सबैलाई लाग्छ उनीहरूसँग त्यो छ । तर, हरेक फिल्म सफल हुँदैन । जस्तो उनीहरूले चाहन्छन् ।

तपाईं ‘निफ २०२६’ का लागि काठमाडौंमा हुनुहुन्छ । नेपाली फिल्म र यसको अन्तर्राष्ट्रिय उपस्थितिबारे तपाईंको धारणा के छ ?
मलाई लाग्छ नेपालको भविष्य उज्यालो छ, किनकि नेपाल र भारत लगायतका युवा विश्वभरका सिनेमाबाट प्रभावित छ । उनीहरूमा ठूलो उत्साह छ, र उनीहरू नेपालका लागि केही गर्न चाहन्छन् र त्यसलाई विश्वका दर्शकसम्म पुर्याउन चाहन्छन् । त्यसैले म पक्का छु, यहाँबाट राम्रो सिनेमा आउनेछ र विश्वभरका महोत्सवमा जानेछ । तर महोत्सव केवल प्रदर्शनका लागि हुन् । अन्ततः फिल्म दर्शकसम्म पुग्नुपर्छ । केवल महोत्सवमा मात्र टिकेर उत्पादन बाँच्न सक्दैन । त्यसलाई त्यसभन्दा बाहिर जानुपर्छ ।
टेलिभिजन छ, ओटीटी प्लेटफर्म छन् । यी सबै भविष्यका कुरा हुन्, जुन सुरु भइसकेका छन् । पछिल्ला ५/१० वर्षमा आएको प्रविधिले कल्पनाभन्दा बाहिरको परिवर्तन ल्याउनेछ । त्यसैले हामी फिल्ममेकर चिन्तित पनि हुन्छौं, अर्को प्रविधिको परिवर्तनसँग हामी टिक्न सक्छौं कि सक्दैनौं ?
जस्तो एआईबारे मानिस डराउँछन् । कसैले यसलाई उपयोगी ठान्छन्, तर यसले सबै नियन्त्रण गर्छ भन्ने डर पनि हुन्छ । तर त्यो कहिल्यै हुँदैन । मानव तत्व सधैं रहनेछ । यदि यसलाई सही तरिकाले उपकरणको रूपमा प्रयोग गरियो भने, यो केवल सहयोगी हुन्छ ।
तपाईं राजेश हमालसँग ‘निफ फेस्टिभल’मा एउटै मञ्चमा हुनुहुनेछ । दक्षिण एसियाली सिनेमाका लागि यस्ता संवाद कति महत्वपूर्ण छन् ?
मलाई लाग्छ सिनेमाबारे हुने कुनै पनि संवाद सधैं उपयोगी हुन्छ । यदि सही तरिकाले व्यक्त गरियो भने, सबैका फरक दृष्टिकोण हुन्छन् । सबैले आफ्ना विचार ल्याउँछन् । तपाईंले त्यसबाट के लिनुहुन्छ, त्यो तपाईंमा निर्भर हुन्छ । तपाईंले के सिक्नुहुन्छ र त्यसपछि आफ्नो काममा कसरी प्रयोग गर्नुहुन्छ, वा उद्योगलाई कसरी सहयोग गर्नुहुन्छ, त्यो प्रत्येक व्यक्ति र उद्योगमा निर्भर हुन्छ ।
हरेक देशका आफ्ना नीति हुन्छन्। तर सिनेमा विश्वव्यापी कुरा हो । संसारभरका मानिसले सिनेमा मन पराउँछन् । यस्तो कुनै ठाउँ छैन जहाँ मानिसले सिनेमा मन पराउँदैनन् । सायद सबै ठाउँमा नपुगेको हुन सक्छ, तर अहिले टेलिभिजन र ओटीटीका कारण पहुँच राम्रो भएको छ । विभिन्न रूपमा उपलब्ध छ । त्यसैले अहिले यसको पहुँच निकै राम्रो छ ।

तपाईंको अनुभवमा, नेपाली फिल्ममेकरले विश्वस्तरमा प्रतिस्पर्धा गर्न चाहँदा के कुरामा ध्यान दिनुपर्छ, जसले उनीहरूको पहिचान पनि जोगाओस् ।
वास्तवमा, हरेक देशका लागि यो कुरा लागू हुन्छ । नेपालको हकमा, उनीहरूले सधैं नेपालीपन जोगाउनु नै राम्रो हुन्छ । नेपाली पहिचान हटाउनु हुँदैन । विश्वका अन्य सिनेमाबाट सिक्नुपर्छ- भारत, चीन वा पश्चिम जहाँबाट पनि । यसले सधैं फाइदा पुर्याउँछ । तर नेपाली पहिचान कायम राख्नु अनिवार्य छ । त्यसले सधैं सहयोग गर्छ ।
के तपाईंलाई लाग्छ ‘शोले’जस्तो सांस्कृतिक प्रभाव भएको फिल्म फेरि बन्न सक्छ, वा त्यो आफ्नो समयकै उत्पादन थियो ?
मलाई लाग्दैन कि यसको लागि कुनै विशेष समय हुन्छ । तर आजको समयमा फिल्म बनाउँदा प्रविधिको प्रभाव ध्यान दिनुपर्छ । अहिले फोन जस्ता कुराले धेरै परिवर्तन ल्याएको छ । यदि आज फिल्म बनाइन्छ भने, हरेक युवाले सोध्नेछ- किन मोबाइल प्रयोग गरिएन ? किन यस्तो गरिएन ? यस्ता प्रश्न उठ्छन् । त्यसैले आजको समयमा फिल्म बनाउँदा प्रविधिले ल्याएका परिवर्तनलाई समावेश गर्नुपर्छ ।
नेपाल र भारतका युवा फिल्ममेकरलाई तपाईं के सल्लाह दिनुहुन्छ, जसले उनीहरूलाई जोश, मौलिकता र व्यावसायिक सफलताबीच सन्तुलन राख्न मद्दत गरोस् ।
म भन्छु- मनले जे भन्छ, त्यही गर्नुहोस् । फिल्म निर्माण सधैं एउटा शब्दबाट सुरु हुन्छ । तपाईंले कथा लेख्नुपर्छ, त्यसलाई स्क्रिप्टमा विकास गर्नुपर्छ । यदि तपाईंले सहयोग लिनुभयो भने, त्यो परियोजना बन्छ । कलाकार पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । सही भूमिकामा सही कलाकार हुनु अत्यन्त महत्वपूर्ण छ । मलाई लाग्छ, भविष्य राम्रो छ । युवा नेपाली विद्यार्थीले सकारात्मक रूपमा अगाडि हेर्नुपर्छ । प्रतिस्पर्धा सजिलो छैन, तर कुनै पनि सिनेमाका लागि सजिलो हुँदैन । अमेरिकासँग धेरै पैसा छ, तर त्यहाँ पनि सबै फिल्म सफल हुँदैनन् ।
अन्ततः व्यक्तिगत फिल्ममेकर नै चम्किन्छ । यदि उनीहरूले राम्रो लेखे, फरक हुन चाहे र आफ्नो सार जोगाए भने, हरेक पक्ष महत्वपूर्ण हुन्छ । मलाई लाग्छ नेपाली युवा अरूभन्दा कम छैनन् । उनीहरूले अगाडि बढ्नुपर्छ, चुनौती लिनुपर्छ र अघि बढिरहनुपर्छ ।
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर


