शीर्ष सुरक्षा सल्लाहकार लारीजानी हत्याको कठोर बदला लिने इरानको चेतावनी



प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार

शीर्ष सुरक्षा सल्लाहकार लारीजानी हत्याको कठोर बदला लिने इरानको चेतावनी

इरानले आफ्ना शीर्ष सुरक्षा सल्लाहकार अली लारीजानीको हत्याको बदला लिने चेतावनी दिएको छ। इरानले आफ्ना शीर्ष राष्ट्रिय सुरक्षा सल्लाहकारको हत्याको प्रतिशोध स्वरूप कडा सैन्य हमला गर्ने घोषणा गरेको हो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) को एयरोस्पेस फोर्सका कमाण्डर सरदार मुसावीले “छिटो हमला” गर्ने बताएका छन्। आइआरजीसीले लारीजानीको हत्याको प्रतिशोध स्वरूप इजरायल विरुद्ध “तीव्र” हमला गर्ने तयारी भइरहेको जानकारी दिएको छ।

इरानी सेनाका कमाण्डर-इन-चीफ मेजर जनरल अमिर हातामीले लारीजानीको मृत्युको जवाफ “निर्णायक” हुने बताएका छन्। त्यस्तै, इरानको खातम अल-अनबिया सेन्ट्रल हेडक्वार्टरका कमाण्डर मेजर जनरल अली अब्दोल्लाहीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिँदै भनेका छन्, “हामीले दिने आश्चर्य (सरप्राइज) का लागि तयार रहनुहोस्।”

यसैबीच, बग्दादस्थित अमेरिकी दूतावास वरपर पुनः ड्रोन र रकेट आक्रमण भएको छ। यो आक्रमणले ‘ग्रीन जोन’ मा अवस्थित दूतावास परिसरमा केही क्षति पुर्‍याएको छ। सुरक्षा अधिकारीहरूका अनुसार दूतावासलाई लक्षित गरी प्रहार गरिएका दुईवटा रकेटहरू खस्नुअघि नै नष्ट गरिएको थियो।

अमेरिकी र इजरायली सैन्य अभियान सुरु भएयता तीन हप्ताभन्दा बढी समयदेखि अमेरिकी दूतावास र अन्य सम्बन्धित क्षेत्रहरू ड्रोन तथा रकेट हमलाको निशाना बन्दै आएका छन्। सुरक्षा जोखिमका कारण मार्च महिनाको सुरुमै दूतावासले आफ्ना गैर-अत्यावश्यक कर्मचारीहरूलाई फिर्ता हुन आदेश दिएको थियो।

यसै क्रममा, इजरायलको केन्द्रीय क्षेत्रमा भएको इरानी ब्यालिस्टिक मिसाइल हमलामा दुई जनाको मृत्यु भएको छ।





Source link

Leave a Comment