हिजो मात्र संसारले प्रेम दिवस मनायो, जहाँ फूल, शब्द र उपहारमार्फत प्रेम व्यक्त गरियो। आज हिन्दुहरूले हृदयदेखि महाशिवरात्रिको पवित्र रात्रिमा ध्यान, जप र उपवासमार्फत प्रेम अनुभूति गरिरहेका हुनेछन्। प्रेम दिवस बाहिरी अभिव्यक्ति हो, शिवरात्रि भित्री अनुभूति। प्रेम दिवसमा रङ र सुगन्ध छ, शिवरात्रिमा मौन र समाधि। तर दुवैको केन्द्र एउटै छ– प्रेम।
आध्यात्मिक दृष्टिकोणले प्रेम केवल भावना होइन, यो आत्मा र परमात्माको मिलन हो। सतीदेवी र भगवान् शिवको प्रेम यसैको जीवित प्रतीक हो। सतीले शिवलाई बाह्य रूपले होइन, भित्री ब्रह्म चेतनाले चिनेकी थिइन्। उनको समर्पण सामाजिक मान्यताभन्दा माथि उठेको थियो। जब अपमान सहनुपर्यो, उनले देह त्यागिन् तर प्रेम त्यागिनन्। यसले देखाउँछ कि साँचो प्रेम शरीरभन्दा पर साथै समयभन्दा पर हुन्छ। पछि पार्वतीका रूपमा पुनर्जन्म लिएर गरेको तपस्याले प्रेमलाई साधना र चेतनाको उत्कर्षमा रूपान्तरण गर्यो।
उता, पश्चिमी परम्परामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि साहस देखाए। उनले प्रेम गर्नेहरूलाई मिलन गराए, राज्यको प्रतिबन्ध हुँदाहुँदै पनि। अन्ततः उनले आफ्नो जीवन अर्पण गरे, तर प्रेमको पक्षमा उभिए। यसरी सन्त भ्यालेन्टाइन र सती–शिवको कथा दुवैले एउटै सत्य उजागर गर्छन् -प्रेम त्याग, साहस र आत्मिक प्रतिबद्धताको नाम हो।
यदि प्रेम दिवसले हामीलाई प्रेम व्यक्त गर्न सिकाउँछ भने शिवरात्रिले प्रेममा जाग्न सिकाउँछ। प्रेम दिवसले हृदय खोल्न प्रेरित गर्छ भने शिवरात्रिले चेतना खोल्छ। अन्ततः सन्देश एउटै छ -प्रेम बाहिरी सम्बन्ध मात्र होइन, भित्री मिलन हो, जहाँ आत्मा परमात्मासँग एकाकार हुन्छ, त्यहीं साँचो शिवरात्रि र साँचो प्रेम दिवस सम्पन्न हुन्छ।
शिवरात्रि: बाहिरी रात, भित्री उज्यालो
शिवरात्रि केवल पात्रोमा आउने एक पर्व मात्र होइन, यो अज्ञानको अन्धकार हटाएर आत्माले आफ्नै प्रकाश खोज्ने आध्यात्मिक अवसर हो। महाशिवरात्रि हामीलाई बाहिरी संसारको कोलाहलबाट भित्रको मौनतिर फर्काउँछ। भगवान् शिव योगका अधिष्ठाता हुन्। उनी श्मशानवासी, विरक्त, भस्मधारी रूपमा देखिन्छन्, किनकि उनी जीवनको नश्वरतालाई पूर्ण रूपमा स्वीकार गरेर अनन्तताको अनुभूति गर्छन्।
भस्मले स्मरण गराउँछ – सबै रूप अन्ततः धुलोमा विलीन हुन्छन्, तर चेतना अमर छ। शिवरात्रिको व्रत र जागरणले दिने गहिरो सन्देश हो -‘अहंकार निदाउन देऊ, चेतना जागृत गर।’
भक्तजनहरू जब रातभर ‘ॐ नमः शिवाय’ जप्छन्, त्यो केवल ध्वनि वा अनुष्ठान होइन, त्यो आत्माको आवाहन हो। त्यो आफ्नो भित्रको शिवतत्त्वलाई जगाउने साधना हो।
यही रात्रिमा शक्ति र शिवको दिव्य मिलनको स्मरण गरिन्छ। शक्तिविना शिव शून्य, शिवविना शक्ति निष्क्रिय हुन्छ। चेतना र ऊर्जा जब एक हुन्छन्, त्यहीं सृष्टि जन्मिन्छ। प्रेम पनि यस्तै हो – ऊर्जा र चेतनाको एकत्व, दुई शरीरमा बस्ने एउटै आत्माको अनुभूति।
प्रेम दिवस: बाहिरी अभिव्यक्ति, भित्री प्रतिज्ञा
यदि शिवरात्रि प्रेमको ध्यान हो भने प्रेम दिवस प्रेमको अभिव्यक्ति हो। प्रेम दिवसको ऐतिहासिक सन्दर्भ सन्त भ्यालेन्टाइनसँग जोडिएको छ। रोमन शासनले विवाह र प्रेममाथि प्रतिबन्ध लगाउँदा उनले प्रेम गर्ने जोडीहरूको विवाह गराइदिए। उनले प्रेमलाई भयभन्दा माथि राखे। अन्ततः उनले आफ्नै जीवन बलिदान गरे तर प्रेमको पक्षमा उभिए।
यहाँ पनि शिवरात्रिसँग मिल्दो आध्यात्मिक सूत्र भेटिन्छ। शिव ध्यानमा छन्, सन्त भ्यालेन्टाइन साहसमा। शिव जागरणको प्रतीक र सन्त भ्यालेन्टाइन समर्पणको गुण। शिवरात्रिमा आत्मा र शक्ति मिल्छन्, प्रेम दिवसमा दुई हृदय मिल्छन्। दुवै कथाले एउटै कुरा सिकाउँछन् – प्रेम सधैं अन्धकारको बिचमा प्रकाशको ज्वाला हो।
शिवरात्रि र प्रेम दिवस दुई आयाम, एउटै सत्य हुन्। शिवरात्रिको सन्देश – ‘आफ्नो भित्रको प्रेम खोज।’ प्रेम दिवसको सन्देश–‘आफ्नो प्रेम व्यक्त गर।’
शिवरात्रिमा हामी मौन बस्छौं, ध्यान गर्छौं, भित्रको शिवसँग मिल्छौं। प्रेम दिवसमा हामी शब्द बोल्छौं, भावना व्यक्त गर्छौं र प्रियजनसँग नजिकिन्छौं।
तर यदि अभिव्यक्तिमा आध्यात्मिकता भएन भने प्रेम सतही हुन्छ। त्यसैगरी, ध्यानमा करुणा भएन भने साधना अधुरो हुन्छ। त्यसैले यी दुई पर्वहरू एकअर्काका पूरक जस्ता देखिन्छन्। एकले भित्री उज्यालो दिन्छ, अर्कोले बाहिरी ऊष्मा।
प्रेमको साँचो अर्थ नै शिव–शक्ति मिलन हो। प्रेम स्वामित्व होइन, सहअस्तित्व हो। प्रेम अधिकार होइन, आदर हो। प्रेम शरीरको आकर्षण मात्र होइन, आत्माको पहिचान हो। सन्त भ्यालेन्टाइनले जस्तै प्रेम सधैं साहस माग्छ। शिवरात्रिले सधैं जागरण माग्छ।
बाहिर रात जति गाढा हुन्छ, भित्रको दीप त्यति आवश्यक हुन्छ। शिवरात्रि हामीलाई त्यो दीप बाल्न सिकाउँछ। प्रेम दिवस हामीलाई त्यो दीप अरूसँग बाँड्न सिकाउँछ। जब चेतना र ऊर्जा एक हुन्छन्, त्यो शिवरात्रि हो। जब हृदय निस्वार्थ खुल्छ – त्यो प्रेम दिवस हो। अन्ततः दुवै पर्वको सन्देश एउटै छ– ‘प्रेम नै परम सत्य हो, प्रेम नै परम शिव हो।’
सती: प्रेमको पहिलो अग्नि
सती देवी राजा दक्ष प्रजापतिकी पुत्री थिइन्। दक्ष प्रतिष्ठा, अहंकार र सामाजिक नियमका प्रतीक थिए। शिव भने नियमभन्दा परको सत्य। सतीले शिवमा प्रेम बाह्य रूप देखेर होइन, भित्री सत्य देखेर जागृत भएको थियो। शिवको भस्म, जटा र नाग बाहिरी प्रतीक थिए, सतीले त्यसभित्रको ब्रह्म चेतना देखिन्।
शिव–सतीको प्रेम चयनको होइन, पहिचानको हो। उनीहरूले एकअर्कामा आफ्नो आत्मा चिने। आध्यात्मिक दृष्टिले हेर्दा सती आत्मा हुन् र शिव परम चेतना। आत्मा सधैं परमात्मातर्फ आकर्षित हुन्छ। त्यसैले यो प्रेम केवल दाम्पत्य सम्बन्ध होइन, आत्मा र परम चेतनाको मिलनको पहिलो अग्नि हो, जहाँ वासना होइन जागरण, अधिकार होइन समर्पण र रूप होइन सत्यको अनुभूति प्रधान हुन्छ।
दक्षप्रजाप्रतिको यज्ञ: अहंकार र प्रेमको टकराव
जब राजा दक्षले भव्य यज्ञको आयोजना गरे र भगवान् शिवलाई निमन्त्रणा गरेनन्, त्यो केवल ज्वाइँप्रतिको अपमान थिएन, त्यो तप, वैराग्य र परम सत्यप्रतिको अस्वीकार थियो। यज्ञ, जसको उद्देश्य देवत्वलाई आह्वान गर्नु हो, त्यही यज्ञ अहंकारको प्रदर्शनमा परिणत भयो।
सतीदेवी पिताको घर पुग्दा उनले आफ्ना प्रियतमको अपमान सुन्नुपर्यो। त्यो अपमान शब्दको मात्र थिएन, प्रेमको अस्तित्वमाथिको प्रहार थियो। उनको अन्तरमा अग्नि प्रज्वलित भयो, तर त्यो प्रतिशोधको आगो थिएन, त्यो सत्यको ज्वाला थियो।
यज्ञकुण्डमा आफूलाई समर्पण गर्नु बाह्य दृष्टिले आत्मदाह जस्तो देखिए पनि आध्यात्मिक दृष्टिले त्यो अहंकार, देहाभिमान र पारिवारिक बन्धनको दाह थियो। सतीदेवीले शरीर त्यागिन् तर शिवप्रतिको प्रेम त्यागिनन्।
जब शिवले यो घटना थाहा पाए, उनले ताण्डव गरे। त्यो ताण्डव केवल क्रोधको अभिव्यक्ति होइन, ब्रह्माण्डीय सन्तुलनको पुनस्र्थापना थियो। त्यो विनाश देखिए पनि वास्तवमा अहंकारको विसर्जन र सत्यको पुनः प्रतिष्ठापन थियो।
पुनर्जन्म: प्रेमको अनन्त चक्र
हिन्दु परम्परामा भनिन्छ कि सतीदेवीले देह त्याग गरेपछि उनी पुनः पार्वतीका रूपमा जन्मिइन्। यो केवल पुनर्जन्मको कथा होइन, यो प्रेमको अनन्त चक्रको उद्घोष हो। पार्वतीका रूपमा उनले बाल्यकालदेखि नै शिवप्रति अद्भुत आकर्षण अनुभव गरिन्।
उनले वर्षौंसम्म कठोर तपस्या गरिन् – हिमालयका कन्दरामा ध्यान, व्रत र मौन साधना। त्यो तपस्या कुनै जिद्दी प्राप्ति थिएन, त्यो आत्माको परम चेतनासँग पुनर्मिलनको साधना थियो। अन्ततः भगवान् शिवले उनको भक्ति र समर्पण स्वीकार गरे र शिव – शक्ति पुनः एक भए।
यस कथाले देखाउँछ – साँचो प्रेम समय, मृत्यु र पुनर्जन्मभन्दा पनि पर हुन्छ। आत्मिक मिलन कुनै एक जीवनको घटना होइन, यो चेतनाको अनन्त यात्राको निरन्तरता हो। यही सत्य पश्चिमी परम्परामा पनि झल्किन्छ, जहाँ सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा उभिएर आफ्नो जीवन अर्पण गरे।
शरीर नाशवान छ, तर प्रेम चेतनाको स्पन्दन हो, त्यो मृत्युले टुट्दैन, समयले मेट्दैन। त्यसैले पुनर्जन्मको कथा र बलिदानको कथा दुवैको गहिरो सन्देश एउटै हो – जहाँ प्रेम शुद्ध, निस्वार्थ र आत्मिक हुन्छ, त्यहाँ दूरी, समय वा मृत्यु केवल रूपान्तरणका चरण मात्र हुन्, प्रेम स्वयं अनन्त छ।
प्रकाशित: ३ फाल्गुन २०८२ ११:४३ आइतबार
