शरीरमा सङ्क्रमण फैलिएर ज्यानै जाने ‘सेप्सिस’ बारे जानौँ

शरीरमा सङ्क्रमण फैलिएर ज्यानै जाने ‘सेप्सिस’ बारे जानौँ


शुक्रवार विश्व सेप्सिस दिवस, नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सेप्सिस भनेको शरीरमा सङ्क्रमण फैलिएर ज्यानै जान सक्ने रोगको एक अवस्था हो। यसलाई शरीरमा रोग विरुद्व लड्ने तत्त्वहरू वा रोग प्रतिरोधात्मक क्षमताले रोगसँग लड्दा उत्पन्न हुने एक किसिमको शारीरिक प्रतिक्रियाको रुपमा हेर्न सकिन्छ।

साथै, यो प्रतिक्रियाले ल्याउने परिवर्तनहरूले शरीरका विभिन्न अङ्ग प्रणालीहरूलाई आक्रमण गरेर काम नलाग्ने बनाउन सक्छ। यसलाई सेप्सिसको विकराल अवस्थाको रुपमा हेर्न गरिएको छ।

रगतमा हुने सङ्क्रमण ‘सेप्सिस’ का कारण नेपालमा हरेक वर्ष आइसियूमा भर्ना भएकामध्ये ३० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ। आईसीयूमा आउने कुल बिरामीमध्ये ७० प्रतिशत सेप्सिसकै कारण भर्ना हुने गरेका छन्।  

कुनैपनि प्रकारको सङ्क्रमण हुँदा शरीरको रोग प्रतिरोधक प्रणालीले रगतमा ‘इन्डोटक्सिन’ जस्ता केही रसायन छाड्छ थाल्छ। कहिलेकाहीँ बच्चा, रोगी, बूढापाकामा यो प्रणालीले आवश्यक्ताभन्दा बढी रसायन छाड्न सक्छ। जसले गर्दा बिरामी सेप्सिसको सिकार हुने गर्छ।  

श्वास छिटो–छिटो चल्नु, मुटुको धड्कन छिटो हुनु, शरीरको तापक्रम बढी वा कम हुनु सेप्सिसका लक्षण हुन्। सेप्सिसका बिरामी मतिभ्रमको स्थितिसमेत देखिन सक्छ।  

विश्वभर हरेक वर्ष आइसियूमा हुने मृत्युको सबैभन्दा ठूलोे कारक सेप्सिस नै हो। मध्यम र कम आय भएका राष्ट्रमा यो समस्या बढी छ। रगतको सङ्क्रमण भएर यसले अङ्ग विशेषलाई समेत प्रभावित पार्न सक्छ। यस्तो स्थिति ‘सेप्टिक सक’ हुँदा मृत्युदर ६० प्रतिशतसम्म छ।

ग्लोबल सेप्सिस एलायन्स (जिएसए) का अनुसार हरेक वर्ष दुई करोड ७० लाख व्यक्तिमा सेप्सिस हुन्छ। यसमध्ये एक करोड ९० लाखले जीवन प्राप्त गरेपनि उनीहरूमा कुनै न कुनै किसिमको जटिलता हुन सक्छ। यही समस्याका कारण हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु हुने अनुमान छ। त्यस्तै, पाँच वर्षमनिका करिब ६० लाख बच्चा वा नवजात शिशुको मृत्यु सेप्सिस कै कारन हुने गर्छ। सेप्सिस मातृ मृत्युको एउटा प्रमुख करण हो।  

सेप्सिस सामान्यतया ब्याक्टेरियाको सङ्क्रमणले गर्दा हुन्छ। तर, भाइरस वा अन्य कारणले समेत यो समस्या हुन सक्छ। यसलाई रोक्ने सबैभन्दा राम्रो तरिका छिटो सेप्सिस हुने कारण पत्ता लगाउनु हो। पत्ता लागेपछि एन्टिबायोटिक लगायत उपचारका माध्यमले यसलाई रोक्न सकिन्छ।  

सेप्सिसका मूलतः तीन रुप हुन्छन्:

– सेप्सिस

– सेप्सिस र अङ्ग प्रणाली कमजोर हुनुः जस्तै फोक्सो, कलेजो र  मिर्गौला

– सेप्सिस र रक्तचाप अत्यन्त कम हुनुः नशाबाट दिइएको तरल पदार्थ (सलाइन) ले पनि नभई रक्तचाप बढाउन औषधि प्रयोग गर्नुपर्ने अवस्था, यसले गर्दा शरीरका महत्वपूर्ण अंगलाई चाहिने रगत, अक्सिजन र आवश्यक तत्वको कमी हुने अवस्था।

सेप्सिस कुनै रोग नभई रोगहरूको समूह (सिन्ड्रोम) हो। यसले प्रायःजसो उमेर ढल्केका र रोग प्रतिरोधात्मक क्षमता कम भएका जस्तैः एचआइभी÷एड्स, क्यान्सर, अङ्ग प्रत्यारोपण भएका बिरामीहरू, सघन उपचार कक्ष (आइसियु) का बिरामीहरू, चोटपटक लागेका वा पोलेको घाउ भएका बिरामी र कृत्रिम श्वासप्रश्वास दिएर राखेका बिरामीलाई बढी हुने सम्भावना हुन्छ।

सेप्सिसको पहिचान र उपचार सक्दो चाँडो हुनु आवश्यक छ। किनभने उपचारमा गरिने प्रत्येक घन्टाको ढिलाइले बिरामीको मृत्युदर बढाउँछ। र, चाँडै गरिने उपचारले त्यो मृत्युदरलाई घटाउन सकिन्छ।

सेप्सिसका लक्षणः

तलका चारमध्ये कुनै दुई लक्षण देखिएमा सेप्सिस भएको हुनसक्छ।

– शरीरको तापक्रम ३८ दशमलव ३ डिग्री सेन्टिग्रेट भन्दा बढी अथवा ३७ डिग्री सेन्टिग्रेट भन्दा कम  भएमा

–मुटुको चाल प्रतिमिनेट ९० भन्दा बढी भएमा,

– श्वासप्रश्वासको गति प्रतिमिनेट २० भन्दा बढी भएमा र

– प्रमाणित अथवा अनुमानित संक्रमण भएको अवस्थामा

त्यस बाहेक यी लक्षण देखिएमा सेप्सिससहित अंग प्रणाली काम छोडेको थाहा हुन्छः

– पिसाबको मात्रा अति कम हुनु

– होस कम हुनु

– शरीरको रगत जमाउने कोषिका (प्लेटलेट) को मात्रामा कमी हुनु

– श्वासप्रश्वासमा गाह्रो हुनु

– मुटुको चाल र काम गर्ने क्षमतामा कमी आउनु

– पेट दुख्नु

– जन्डिस देखिनु

माथि लेखिएका लक्षणसित यदि रत्तचाप अति कम भई बढाउनका निम्ति औषधि प्रयोग गर्नुपरेमा सेप्सिसको अन्तिम अवस्था अथवा विकराल अवस्था मानिन्छ। र, यसको मृत्युदर अति नै धेरै हुन्छ। अर्थात् ५० प्रतिशतभन्दा बढी।

सेप्सिसका कारण  

धेरै किसिमका जिवाणु (ब्याक्टेरिया, भाइरस र फङ्गस) को कारणले हुन सक्छ। सामान्यतयाः ती जीवाणुले गराउने रोगहरूमाः

– न्युमोनिया (फोक्सोको सङ्क्रमण)

– पेटको सङ्क्रमण

– मिर्गौलाको सङ्क्रमण

– रगतको सङ्क्रमण  

यदि सेप्सिस अथवा कुनै अङ्ग प्रणालीले काम गर्न छाडेको शङ्का लाग्ने वित्तिकै तुरुन्तै चिकित्सकलाई देखाउनुपर्छ। आफैंले नजिकैको मेडिकलमा जँचाएर एन्टिबायोटिक भने खानु हुँदैन। अस्पताल वा डाक्टरको परार्मश  लिएर मात्र औषधि सेवन गर्नुपर्छ।

सेप्सिस भएको शङ्का लागेमा चिकित्सकलाई देखाएर रगत, खकार, पिसाब, छातीको एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान वा आवश्यक भएमा एमआरआई समेत गर्नुपर्ने हुन्छ।

यी बाहेक रोगको किसिम र अङ्गको प्रणालीमा भएको असर हेरी विभिन्न जाँच गराउनुपर्ने हुनसक्छ।

सेप्सिस भएको खण्डमा एन्टिबायोटिक चलाउने, स्लाइन, अक्सिजन र परेको खण्डमा कृत्रिम श्वासप्रश्वास र मिर्गौला खराब भएको खण्डमा डायलाइसिस, रक्तचाप न्यून भएमा बढाउने औषधि र शरीरको कुनै भाग कुहिएमा वा पिप जमेको खण्डमा शल्यक्रिया समेत गर्नुपर्ने हुनसक्छ।

रोग पहिचानपछि के गर्ने ? 

बिरामीमा सेप्सिस पहिचान भएको एक घन्टाभित्र एन्टिबायोटिक दिँदा मृत्युदरमा १५ देखि २० प्रतिशतसम्म कमी गर्न सकिन्छ। सेप्सिस भएका बिरामीलाई आइसियू वा शरीरको क्रियाकलाप अनुगमन गर्ने उपकरण भएको शय्यामा भर्ना गर्नुपर्छ। यस्ता बिरामीलाई अन्य बिरामीसँग राख्नु हुँदैन।

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो। केही सामान्य कुरामा ध्यान दिए सेप्सिसबाट बच्न सकिन्छ। जस्तै बिरामीलाई छुुनुअघि र पछि सङ्क्रमित कुराहरू छोएपछि हात धुने, कुनै सङ्क्रमण भएको शङ्का मात्रै लागेमा तुरुन्तै स्वास्थ्य सल्लाह लिने र सेप्सिसबारे जनचेतना फैलाउने काम गर्नुपर्छ।

चिकित्सक वा स्वास्थ्यकर्मीले रोग प्रभावित बिरामीलाई छोएर अन्य बिरामीलार्ई छुँदा हात धुने, पन्जा फेर्ने लगायत स्वच्छताको उपाय गर्नुपर्छ। सेप्सिसमा छिटै रोग पहिचान एवं उपचार अत्यावश्यक मानिन्छ। कुन ब्याक्टेरिया वा के कारणले सेप्सिस भएको हो भन्ने पहिचानपछि ब्रोड स्पे्रक्ट्रम एन्टिबायोटिकलगायत अन्य औषधि दिनुपर्छ।

 

(स्रोतः नेपाल क्रिटिकल केयर डेभेलोपमेन्ट फाउन्डेसन)

प्रकाशित: २८ भाद्र २०८१ १३:५७ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School