वैश्विक अर्थतन्त्रका पाँच संरचनात्मक प्रवृत्ति


सुस्त आर्थिक वृद्धि, चर्किंदै गएको व्यापार युद्ध, सीमापार पुँजी प्रवाहमा कडाइ र बढ्दो आप्रवासन दबाबजस्ता विषय हिजोआज समाचारका शीर्षक बनेका छन् र यसका लागि यथेष्ट कारण पनि छन्।

यी सबै कारकले बहुपक्षीयतालाई कमजोर पार्ने र ब्रिक्सजस्ता प्रमुख उदीयमान आर्थिक समूहको उपस्थितिलाई अझ तीव्र बनाउने खतरा बोकेका छन्। यसले अन्ततः विश्व अर्थतन्त्रको गहिरो पुनर्संरचनाको आधार तयार पार्दै छ।

तर यिनीसँगै पाँच अन्य संरचनात्मक प्रवृत्तिहरू पनि छन्, जसले समान हिसाबमा अथवा त्योभन्दा अझ बढी रूपान्तरणकारी प्रभाव पार्न सक्छन्। पहिलो प्रवृत्ति जनसांख्यिकीय परिवर्तन हो। विश्वको जनसंख्या सन् २०८० को मध्यतिर करिब १०.३ अर्बमा पुगेर चरम विन्दुमा पुग्ने अनुमान गरिए पनि, यो शीर्ष आँकलनले विश्वमा भित्री रूपमा भइरहेका शक्तिशाली परिवर्तनलाई ढाकछोप गरेको छ।

विश्वव्यापी रूपमा जनसंख्या तीव्र गतिमा बुढ्यौलीतर्फ जाँदै छ र काम गर्ने उमेरका व्यक्तिहरू र अवकाशप्राप्त जनसंख्याबिचको अनुपात सन् १९९७ को ९.४ रहेकोमा सन् २०५० सम्म आइपुग्दा केवल ३.९ मा झर्ने अपेक्षा गरिएको छ। यसले समग्र पेन्सन प्रणाली र सार्वजनिक वित्तमा बढ्दो दबाब सिर्जना गर्ने निश्चित छ।

निश्चय नै जनसंख्या प्रवृत्तिहरू देशअनुसार भिन्न छन्। चीनलाई उछिनेर विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश भारत बनेको छ, जबकि हाल करिब १.४ अर्ब जनसंख्या रहेको चीनको जनसंख्या सन् २१९९ सम्म ७५ करोडभन्दा तल झर्ने अनुमान छ।

इटालीको जनसंख्या सोही अवधिमा ६ करोडबाट २.७ करोडमा झर्ने सम्भावना छ र जापानको जनसंख्या १२.८ करोडबाट ५.३ करोडमा खुम्चिन सक्छ। यसको विपरीत नाइजेरियाको जनसंख्या तीन गुणा बढेर ७९ करोड पुग्नेछ। यसरी भारतपछि विश्वका सबैभन्दा बढी जनसंख्या भएको देशमा नाइजेरिया दोस्रो बन्नेछ।

यो जनसांख्यिक रुझानका आर्थिक र भूराजनीतिक परिणामहरू गहिरा हुन सक्छन्। आगामी २५ वर्षमा विकासोन्मुख विश्वका करोडौं मानिस श्रम बजारमा प्रवेश गर्ने अपेक्षा गरिएको छ, ठिक त्यही समयमा धेरै विकसित अर्थतन्त्रहरू दीर्घकालीन जनसांख्यिकीय ह्रासको सामना गरिरहेका हुन्छन्।  यो बढ्दो अन्तरले श्रम र आर्थिक दबाबलाई तीव्र बनाउनेछ र आप्रवासनलाई थप उक्साउनेछ। विश्वका प्रणालीहरू यसअघि नै विस्थापनको रेकर्ड स्तरसँग जुधिरहेका बेला यी परिवर्तन हुनेछन्।

यी जनसांख्यिकीय परिवर्तनले विश्वव्यापी उपभोग ढाँचालाई पनि बदल्नेछ, विशेष गरी ऊर्जा र खाद्यान्नको क्षेत्रमा यो बढी मुखरित हुनेछ। भारत चीनभन्दा बढी जनसंख्या भएको हुन सक्छ, तर चीनको प्रतिव्यक्ति आय करिब १३ हजार तीन सय डलर छ, जुन भारतको भन्दा झन्डै पाँच गुणा बढी हो। यसले कम आय भएका अर्थतन्त्रतर्फ जनसंख्या वृद्धि सर्दै गएको संकेत गर्छ, जहाँ कम मूल्यका वस्तुहरूको उपभोग बढी हुन्छ।

दोस्रो संरचनात्मक प्रवृत्ति भनेको एआई (कृत्रिम बुद्धिमत्ता) द्वारा श्रम बजारमा पर्ने अव्यवस्था हो। एआई सुपर साइकलले उत्पादकत्व र वृद्धिलाई बढावा दिने वाचा गरे पनि यसले विशेष गरी दोहोरिने प्रकृतिका नियमित काममा संलग्न लाखौं श्रमिकलाई विस्थापित गर्न सक्छ।

अर्थशास्त्रीहरूको अनुमान फरक फरक भए पनि सावधानीपूर्ण हिसाबले गरिएका अनुमानहरूले समेत एक रोजगारीविहीन वर्गको उदयतर्फ संकेत गर्छन्, यसका गम्भीर सामाजिक र समष्टिगत आर्थिक परिणाम हुन सक्छन्।

यसबाहेक एआई आधारित वृद्धिले श्रमलाई भन्दा पुँजीलाई बढी फाइदा पुर्‍याउने दिशामा गयो भने यसले असमानता झन बढ्नेछ र सरकारहरू हस्तक्षेप गर्न दबाबमा पर्नेछन्।  परिणामस्वरूप प्रविधि क्षेत्रमा कार्यरत निगमहरूले विश्वव्यापी आधारभूत आय (युनिभर्सल वेसिक इनकम) जस्ता कल्याणकारी कार्यक्रमका लागि स्रोत जुटाउन उच्च कर भार वहन गर्नुपर्ने हुन सक्छ।

तेस्रो संरचनात्मक प्रवृत्ति प्राकृतिक स्रोतको अभावसँग सम्बन्धित छ, जसले आर्थिक वृद्धिलाई सुस्त बनाउने र भूराजनीतिक विभाजनलाई फराकिलो पार्ने खतरा बोकेको छ।

उदाहरणका लागि तामा (कपर) पहिले नै संरचनात्मक अभावमा छ र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले नयाँ खानी परियोजनामा उल्लेख्य लगानी नभएको अवस्थामा सन् २०३५ सम्म अभाव ३० प्रतिशतले बढ्ने चेतावनी दिएको छ। लिथियम, निकेल र कोबाल्टजस्ता अन्य महत्त्वपूर्ण कच्चा पदार्थहरू पनि यस्तै आपूर्ति दबाबमा छन्। यसले गम्भीर अभाव निम्त्याएर ब्याट्री उत्पादनलाई नराम्ररी प्रभाव पार्नेछन् र यसले अन्ततः स्वच्छ ऊर्जा रूपान्तरणलाई अवरुद्ध गर्ने जोखिम बढाउनेछ।

पानीको अभाव अर्काे स्रोतसम्बन्धी ठुलो चुनौती हो। विश्वको करिब २५ प्रतिशत कृषि क्षेत्र उच्च पानी तनाव भएका क्षेत्रमा हुनेछन् र यसले खाद्य प्रणालीलाई अभाव र मूल्यवृद्धिप्रति संवेदनशील बनाउनेछ। साथै डाटा सेन्टरमा चिस्यान कायम राख्न र सेमिकन्डक्टर उत्पादनका लागि पनि पानी अपरिहार्य भएकाले एआईको तीव्र विस्तारले पानी आपूर्तिमा थप दबाब सिर्जना गर्नेछ।

चौथो प्रवृत्ति भनेको संयुक्त राज्य अमेरिकामा जोखिम लिने चाहनाको तीव्र वृद्धि हो, जसले सट्टाबाजीपूर्ण लगानीको नयाँ लहर जन्माएको छ। युरोपेली संघको तुलनामा अमेरिकाको नियामक निकायका प्रावधानले खुद्रा तथा संस्थागत लगानीकर्तालाई बढी जोखिम लिन प्रोत्साहन दिइरहेका छन्। यसको परिणास्वरूप सेयर बजार ऐतिहासिक उच्च विन्दुको नजिक पुगेको छ। यसले गर्दा ‘एस एन्ड पी ५००  मूल्य आय (पिई) अनुपात करिब ३० गुणा पुगेको छ।

यो वृद्धि ऐतिहासिक औसतभन्दा धेरै माथि हो। लगानीकर्ताहरू निजी इक्विटी, निजी ऋण, भेन्चर क्यापिटल, क्रिप्टोकरेन्सी, ‘मेमे कोइन’ र सुनतर्फ पनि ठुलो मात्रामा पुँजी खन्याइरहेका छन्। सुनको मूल्य गत एक वर्षमा ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ।

छोटो अवधिका लागि भएका यी आँकलनको उछाल सहजै कम हुने देखिँदैन, किनकि सन् २०४८ सम्म ‘बेबी बुमर’ पुस्ताले करिब १०० ट्रिलियन डलर बराबरको सम्पत्ति युवा पुस्तालाई हस्तान्तरण गर्ने अनुमान छ।  पुस्तान्तरणको यो विशाल प्रवाहले वित्तीय बजारमा थप लगानी पुँजी भिœयाउनेछ, जसले बचतको ठुलो परिमाणका कारण वास्तविक ब्याजदरमा दबाब पर्दै गए पनि सम्पत्तिको मूल्यलाई बढाइ रहनेछ।

पुँजीको यो नयाँ प्रवाहसँगै महत्त्वपूर्ण जोखिमहरू पनि जोडिएका छन्। उधारोमा आधारित जोखिमपूर्ण लगानीहरू नियामक निगरानीभन्दा टाढा रहेको ‘छाया बैंकिङ’ प्रणालीमार्फत अत्यधिक रूपमा  सञ्चालन भइरहेका छन्, यसले वास्तविक अर्थतन्त्रमा असर पार्न सक्ने खतरा निम्त्याउँछ। ऋणजन्य गतिविधि परम्परागत बैंकबाट अन्यत्र सर्ने प्रक्रियाले मौद्रिक नीतिको प्रभावकारिता पनि कमजोर बनाउँछ। अमेरिकाको फेडरल रिजर्भले ब्याजदर घटाए पनि ती कटौतीहरू सधैं ऋणग्राहीसम्म नपुग्न सक्छन्, यसले नीतिनिर्माताको आर्थिक वृद्धि प्रोत्साहन गर्ने क्षमतालाई समेत सीमित गर्छ।

अन्ततः बेलायत र युरोपमा बढ्दो जोखिम–विमुखता आफैंमा एक संरचनात्मक समस्या बन्दै गएको छ। युरोपको आर्थिक वृद्धिको सम्भावना दशकौंदेखि नौकरसाही अवरोध, कडा नियामक आवश्यकताहरू र टुक्रिएको पुँजी बजारका कारण थिचिएको छ। तथ्यांक आफैं बोल्छन्, अमेरिकामा भेन्चर क्यापिटल लगानी प्रायः युरोपेली संघको भन्दा ८ देखि १० गुणा बढी हुन्छ र युरोजोनका करिब ७० प्रतिशत घरपरिवारले वित्तीय जोखिम लिन इच्छुक नभएको बताएका छन्, जबकि अमेरिकामा यो अनुपात ४० प्रतिशतभन्दा कम छ।

लन्डनको सेयर बजारले पनि यो वित्तीय मन्दीको गहिराइलाई देखाउँछ। सन् २०२५ को पहिलो ६ महिनामा लन्डन सूचीकरणमार्फत कम्पनीहरूले जम्मा १६ करोड पाउन्ड (२१ करोड ४० लाख डलर) मात्र जुटाए, जुन ३० वर्ष यताको  न्यूनतम स्तर हो। यही कारण ‘सिटी’ विश्वका शीर्ष २० आइपिओ बजारबाट बाहिरिएको छ।  बेलायती पेन्सन कोषहरूले पनि पछिल्ला २५ वर्षमा घरेलु इक्विटीमा आफ्नो लगानी ५३ प्रतिशतबाट ६ प्रतिशतमा झारेका छन्, यसले बेलायती कम्पनीहरूका लागि उपलब्ध पुँजीको भण्डार सुकाउँदै लगेको छ।

यो केवल वित्तीय समस्या मात्र होइन, किनकि युरोपको घट्दो आर्थिक भूमिकाले यसको दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमतालाई समेत क्षय गरिरहेको छ। नाटकीय परिवर्तन बिना यो महादेशले एआई सुपर साइकल गुमाउने छ र नवप्रवर्तनको चालक बन्नुका सट्टा प्रविधि उपनिवेशमा सीमित हुने जोखिममा यो महादेश छ।

यी पाँचै संरचनात्मक प्रवृत्तिले विश्व अर्थतन्त्रलाई रूपान्तरण गर्न सक्छन्। व्यापार मार्ग पुनः रेखांकन गर्ने, लगानी प्रवाहलाई नयाँ दिशामा मोड्ने, प्रमुख खाद्यान्न र महत्त्वपूर्ण खनिजहरूको वितरण तथा मूल्य निर्धारण बदल्ने र सरकारहरूलाई आपूर्ति शृंखला व्यवस्थापन, पुँजी विनियोजन र सिमानापार लगानीबारे पुनर्विचार गर्न बाध्य पार्ने विषय सबैभन्दा महत्त्वपूर्ण रहनेछन्।  सबैभन्दा राम्रो तयारीमा रहने निर्णयकर्ताले जुवाको दाउ केमा छ भन्ने कुरा समयमै बुझ्छन् र त्यसअनुसार आफूलाई ढाल्छन्।

–अर्थशास्त्री डाम्बिसा मोयो ‘इड्ज अफ केओस, ह्वाई डेमोक्रेसी इज फलिङ टु डेलिभर इकोनोमिक ग्रोथ एन्ड हाउ टु फिक्स इट’ पुस्तककी लेखक हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: ६ पुस २०८२ ०९:११ आइतबार





Source link

Leave a Comment