वैदेशिक व्यापारमा तेलको खेल : RajdhaniDaily.com


गत आव मुलुकको वैदेशिक व्यापारमा व्यापक सुधार आएको सरकारको दावी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत गर्दै यसलाई पुष्टिसमेत गरेका छन् । विशेषगरी निर्यात व्यापारले नयाँ कीर्तिमान राख्नुका साथै आयातमा समेत वृद्धि हुँदा गत वर्ष कुल वैदेशिक व्यापारको आकार बढेको छ ।

भन्सार विभागका अनुसार आव ०८१–८२ मा वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड पुगेको छ । यो अहिलेसम्मकै दोस्रो ठुलो आकारको वैदेशिक व्यापार हो । यसअघि आव ०७८–७९ मा यसको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको थियो । यसैगरी, अघिल्लो आवको तुलनामा गत वर्ष वैदेशिक व्यापार १९.१४ प्रतिशतले वृद्धि भएको छ । आव ०८०–८१ मा कुल वैदेशिक व्यापारको आकार १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाखबराबरको थियो ।

यतिमात्र होइन, गत आव निर्यातमा नयाँ कीर्तिमान बनेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आव २ खर्ब ७७ अर्बबराबरको निर्यात व्यापार भएको छ । जसले आव ०७८–७९ मा भएको २ खर्बको निर्यात व्यापारको रेकर्ड तोड्न सफल भएको छ । यो अघिल्लो आवको तुलनामा करिब ८२ प्रतिशतले बढी हो । आव ०८१–८२ मा एक खर्ब ५२ अर्ब रूपैयाँबराबरको बस्तु निर्यात भएको थियो ।

यसैगरी, आयातमा समेत वृद्धि भएको छ । विभागको तथ्यांकअनुसार गत आव १८ खर्ब ४ अर्ब १२ करोड २७ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा १३ दशमलव २५ प्रतिशतले बढी हो । आव ०८१–८२ मा १५ खर्ब १२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

गत वर्ष कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ५२.४७ प्रतिशतले बढेको छ । आव ०८०–८१ मा ८.७३ प्रतिशत रहेको निर्यातको हिस्सा अहिले बढेर १३.३१ प्रतिशतमा उक्लिएको छ । यस्तै आयातको हिस्सा ९१.२७ प्रतिशत रहेकोमा घटेर ८६.६९ प्रतिशत भएको छ । यस अवधिमा निर्यातमा आएको उछालका कारण मुलुकको व्यापार घाटा खासै बढ्न पाएन। गत आव व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँ बराबर भएको छ । यो अघिल्लो आवको तुलनामा ६ प्रतिशतमात्र धेरै हो । अघिल्लो आव व्यापार घाटा १४ खर्ब ४० अर्ब बराबर थियो ।

यसरी विगतका वर्षको तुलनामा आयात–निर्यात वृद्धिदर उच्च देखिनुले अर्थतन्त्र गतिशील बन्दै गएको सरकारले दावी छ । तथापि, वास्तविकता भने केही फरक देखिएका छन् ।

सामान्यतया नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरू भन्नेबित्तिकै धेरैको बुझाइमा ऊनी, गलैंचा, पश्मिना, जुट तथा जुटका सामान, तयारी पोशाक, चिया आदि पर्ने गर्छ । तर, पछिल्ला आवका आँकडा हेर्ने हो भने मुलुकको निर्यात व्यापारको संरचना बदलिएको छ । अहिले निर्यात हुने प्रमुख वस्तुमा भटमासको तेल, सुर्यमुखीतेल र पामतेल (ताडी वा खजुर)जस्ता प्रशोधित तेल पर्ने गरेका छन् । निर्यात भएका वस्तु मध्ये पहिलो स्थानमा भटमासको तेल देखिन्छ । गत आवको कुल निर्यातको करिब ३८ प्रतिशत बढी हिस्सा ओगटेको यो तेल १ खर्ब ६ अर्ब रूपैयाँभन्दा बढीको निर्यात भएको छ । आव ०८०–८१ मा करिब ९० करोड रूपैयाँबराबरको मात्र भटमासको तेल निर्यात भएको थियो ।

यसैगरी, बढी निर्यात हुने दोस्रो वस्तुमा सूर्यमुखी तेल देखिएको छ । जुन १२ अर्ब ३२ करोड बराबर निर्यात भएको छ । यस्तै गत आव २ अर्ब ४१ करोडबराबरको पाम तेल निर्यात भएको छ । यसरी हेर्दा कुल निर्यातको ५० प्रतिशतभन्दा बढी हिस्सा तेलले मात्र ओगटेको देखिन्छ । तथापि, निर्यात भएका यी तेलजन्य वस्तु नेपालको आन्तरिक उत्पादनबाट भन्दा पनि आयातीत कच्चा पदार्थ प्रशोधन गरेर अन्य मुलुकमा निर्यात गर्ने गरिएको पाइन्छ ।

मुलुकको निर्यात व्यापारमा प्रमुख भूमिका निर्वाह गरका भटमास तेल, सूर्यमुखी तेल र पाम तेलजस्ता वस्तुको आन्तरिक उत्पादन पर्याप्त छैन । पूर्वी तराईका केही जिल्लामा पाम रोपिने भए पनि यसको उपयोग निकै कम हुने गरेको छ । यी उत्पादन स्थानीय बजारमै खपत हुने गरेका छन् । भटमास देशैभर उत्पादन हुने नगदे बाली हो । तर, व्यावसायिक रूपमा भटमास खेतीको अभ्यास छैन ।

सूर्यमुखीको समेत मुलुकका केही विशेष क्षेत्रमा मात्र उत्पादन गरेको पाइन्छ । मुलुकभर करिब २ लाख ५९ हजार हेक्टरमा मात्र तेलहन अर्थात् भटमास, तोरी, आलस, सूर्यमुखीलगायत खेती हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । यसबाट वार्षिक ३ लाख टन कच्चा पदार्थ मात्र उत्पादन हुन्छ । यी वस्तुको आन्तरिक उत्पादनले स्थानीय बजारको माग समेत धान्न सम्भव छैन । यसैकारण यसको उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अन्य मुलुकबाट आयात गर्ने गरिन्छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आव १ खर्ब ८ अर्ब ९५ करोड ३३ लाख रुपैयाँबराबरको कच्चा भटमास तेल आयात भएको छ । विशेषगरी यस्तो तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेनलगायतका देशबाट भित्रिने गरेको छ । यसै अवधिमा २९ अर्ब दुई करोड १९ लाख रुपैयाँबराबरको कच्चा सूर्यमुखी तेल आयात भएको छ । यस्तो तेल चीन, मलेसिया, स्पेन, भियतनाम, युक्रेनलगायत देशबाट खरिद गरी नेपाल भित्र्याइएको देखिन्छ ।

वर्तमान समय नेपालको वैदेशिक व्यापार तेलको खेलमा रुमल्लिएको देखिन्छ । निर्यातको करिब आधा हिस्सा र आयातको एक तिहाई हिस्सा तेल र तेलजन्य पदार्थले ओगट्नुलाई सामान्य मान्न सकिँदैन । जबकि, आयात–निर्यात दुवैमा प्रयोग भएको तेल हाम्रो आफ्नै मौलिक उत्पादन होइन

यसैगरी, ६ अर्ब ८१ करोड ७० लाख रुपैयाँबराबरको कच्चा पाम तेल इन्डोनेसिया, मलेसिया, थाइल्यान्डलगायत मुलुकबाट आयात गरिएको छ । नेपालका व्यवसायीले यही आयातित कच्चा तेल प्रशोधन गरेर छिमिकी मुलुक भारतमा निर्यात गर्ने गर्छन् । विश्व व्यापार संगठन, दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) र भारतले दिएको विशेष सुविधाको लाभ नेपाली व्यवसायीले यी वस्तु निर्यातबाट लिने गरेका छन् ।

गत भदौमा भारतले खाने तेल आयातमा लाग्ने भन्सार महसुल २० प्रतिशत विन्दुले बढाएकोले अन्य राष्ट्रबाट भारतमा आउने तेल महँगो भएको थियो । तर, नेपाल–भारतको वाणिज्य सन्धिअनुसार नेपालबाट भारत निर्यात हुने यस्तो तेललाई भन्साररहित सुविधा प्राप्त छ । आयात गरिएको कच्चा पदार्थका हकमा कम्तीमा
३० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्छ ।

यसैबीच, २०८२ जेठमा भारतले तेस्रो मुलुकबाट आयात हुने भटमासको तेलको भन्सार घटाएपछि भने अहिले मासिक निर्यातमा केही कमी आएको छ । अर्को मुलुकबाट कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्नेमात्र होइन, प्याकेजिङ गरेरै भारत निकासी गर्ने अन्य वस्तु पनि छन् । सुपारी, मरिच, छोकडा, केराउजस्ता वस्तु नेपाललाई आवश्यक पर्नेभन्दा बढी आयात गरेर अवैध बाटोमार्फत भारत पठाउने गरेको पनि पाइएको छ । यसरी हेर्दा डलर खेर्च गरेर भित्र्याइएका कच्चा पदार्थ प्रशोधन गरेर भारतीय रुपैयाँमा विक्री गरेको देखिन्छ । यसैकारण राज्यले यसबाट अपेक्षित लाभ लिन सकिरहेको अवस्था छैन । नेपालको गार्हस्थ उत्पादनमा यसले कुनै भूमिका खेल्न सकेको छैन ।

मुलुकबाट निर्यात हुनेमात्र नभई आयात हुने प्रमुख वस्तुसमेत तेल नै रहेको छ । विगतमा जस्तै गत आवसमेत वस्तुगत रूपमा हेर्दा सबैभन्दा धेरै डिजेल आयात भएको छ । कुल १ खर्ब २८ अर्ब ७६ करोड मूल्यबराबरको डिजेल गत वर्ष मुलुक भित्रिएको छ । दोस्रोमा भने कच्चा भटमास तेल देखिएको छ । कुल १ खर्ब ८ अर्ब रुपैयाँबराबर यस्तो तेल आयात भएको छ ।

यसैगरी, तेस्रोमा पेट्रोल परेको छ । गत वर्ष ६४ अर्ब १२ करोड रुपैयाँबराबरको पेट्रोल आयात भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धन आयातमा क्रमशः ६२ अर्ब ५८ करोड र १८ अर्ब ७९ करोड रुपैयाँ विदेशिएको छ । डिजेट, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र अन्य प्रकारको इन्धन आयातमा एक वर्ष अवधिमा मुलुकबाट ३ खर्ब २६ अर्ब १४ करोडबराबर रकम विदेशिएको छ । यसरी हेर्दा पेट्रोलियम पदार्थ र अन्य कच्चा तेलले कुल आयातको करिब एक तिहाई हिस्सा ओगटेको देखिन्छ ।

वर्तमान समयमा नेपालको वैदेशिक व्यापार तेलको खेलमा रुमल्लिएको देखिन्छ । निर्यातको करिब आधा हिस्सा र आयातको एक तिहाई हिस्सा तेल र तेलजन्य पदार्थले ओगट्नुलाई सामान्य मान्न सकिँदैन । जबकि, आयात–निर्यात दुवैमा प्रयोग भएको तेल हाम्रो आफ्नै मौलिक उत्पादन होइन । यस अर्थमा नेपालको वैदेशिक व्यापार विदेशी वस्तुमै निर्भर छ भन्दा फरक पर्दैन ।

नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभई अधिकाम्स आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले निर्यात व्यापार अस्थिर देखिएको छ । आत्मनिर्भर अर्थतन्त्रका लागि यो एउटा चिन्ताको विषय बन्न पुगेको छ । यसको निराकरणका लागि नेपालले तुलनात्मक तथा प्रतिस्पर्धात्मक लाभका क्षेत्र तथा वस्तुहरूको पहिचान गरी निर्यात व्यापारलाई अगाडी बढाउनु पर्ने आवश्यकता देखिन्छ । नेपालले निर्यात गर्न सक्ने सम्भावना भएका धेरै वस्तु छन्, जसको निर्यातबाट मात्रै नेपाली किसान, उत्पादन, उद्यमी र राज्यकै लागि फाइदाजनक हुन सक्छ ।

कुनै पनि मुलुकको अर्थतन्त्रको स्वास्थ्य अवस्थालाई प्रभाव पर्ने प्रमुख क्षेत्रमध्ये वैदेशिक व्यापार पनि एक हो । आयात र निर्यातको परिमाणमा आउने असन्तुलनले अर्थतन्त्रका विभिन्न परिसूचकमा नकारात्मक प्रभाव पार्ने गर्छ । यसैकारण निर्यात व्यापार प्रवर्धनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । यसका लागि विभिन्न खोज एवं अनुसन्धानले औंल्याएका प्राथमिकताका क्षेत्रमा समेत ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ ।

अल्लो, अलैंची, अगरबत्ती, फेल्ट, अदुवा, जडीबुटी, हातेकागज, यार्न तथा टेक्स्टाइल, धनियाँ तथा बेसार र गुन्द्री–डोकोजस्ता वानस्पातिक रेसाबाट बनेका हस्तकलाका वस्तु निर्यातबाट नेपालले तत्कालै १ खर्ब ९६ अर्ब रुपैयाँको निर्यात बढाउन सक्ने सम्भावना बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्स्पोटर्स एसोसिएनको अध्ययनले देखाएको छ ।

मौलिक उत्पादन र वस्तु निर्यात गर्दा विश्व बजारमा प्रतिस्पर्धाको डर पनि नहुने र पाम, भटमासको तेलजस्ता भारतले जतिबेला पनि रोक्नसक्ने वस्तु निर्यातजस्तो जोखिम पनि नहुने हुँदा यी भरपर्दा निर्यातका वस्तुहरू बन्न सक्छन् ।

यसैगरी, पछिल्लो समय सूचना प्रविधि, कम्प्युटरलगायत सूचना र सञ्चारसम्बन्धी सेवा निर्यातमार्फत नेपालले राम्रो आम्दानी प्राप्त गरिरहेको विभिन्न तथ्यांकले देखाएका छन् । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले गत वर्ष गरेको अध्ययनले नेपालमा आईटी क्षेत्रले वार्षिक ६७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ (५१५ मिलियन डलर) आम्दानी गरिरहेको छ । यसैकारण सूचना प्रविधि सेवा निर्यातसमेत निर्यात व्यापार प्रवर्धनका लागि महत्वपूर्ण क्षेत्र बन्न सक्ने देखिन्छ ।

अहिले मुलुकभित्रै उत्पादित अलैंची, कुचो, सिमेन्ट, बिजुलीलगायतमा देखिएको उत्साहजनक निर्यातले केही आशाका किरण पलाएको छ । नेपालमै उत्पादन हुने कच्चा पदार्थमा आधारित उद्योग प्रवर्धन गरेर उत्पादन र उत्पादकत्व वृद्धि गरेको खण्डमा मात्र मुलुकको वैदेशिक व्यापार स्थिर हुनुका साथै यसबाट अपेक्षित लाभ लिन सकिने देखिन्छ । अन्यथा, ‘तेलको खेल’मा क्षणिक रमाएर बस्नुबाहेक विकल्प देखिदैन ।

(Visited 17 times, 1 visits today)





Source link

Leave a Comment