काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयन गर्न आगामी २ फागुनमा हुने कार्यसमितिको निर्वाचनको दिन नजिकिएसँगै व्यवसायीबीच चुनावी चहलपहल सुरु भएको छ ।
अहिले व्यवसायीबीच धमाधम आगामी नयाँ नेतृत्वका लागि भिन्दाभिन्दै समूहको उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । अध्यक्षको आकांक्षी उम्मेदवारहरूले आ–आफ्नो समूह बनाएर भटाभट उम्मेदवारी सार्वजनिक गर्न थालिसकेका छन् । संघमा आबद्ध वैदेशिक रोजगार व्यवसायीहरूका विभिन्न राजनीतिक शुभेच्छुक संघसंस्थाका व्यवसायीबीच अहिले चुनावी चहलपहल सुरु भएको हो ।
सो निर्वाचनका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिवलगायत पदाधिकारीमा ४ जना र ५ जना कार्यसमिति सदस्य गरी ९ पदको उम्मेदवारी टुंगो लगाएको जनाएको छ ।
संघमा आबद्ध नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको लोकतान्त्रिक एसोसिएसनले अध्यक्षमा संघका पूर्वद्वितीय उपाध्यक्ष भुवनसिं गुरुङलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको छ ।
– आगामी नयाँ नेतृत्वका लागि अध्यक्षका आकांक्षीद्वारा आ–आफ्ना समूहको उम्मेदवारी घोषणा
– एसोसिएसनले अध्यक्षमा गुरुङसहित ४ पदाधिकारी र ५ सदस्यको उम्मदेवारी टुंग्यायो
– मञ्चको तर्फबाट अध्यक्षमा गेलाल र महासचिवमा रावल सर्वसम्मत
अध्यक्षका प्रत्याशी उम्मेदवार गुरुङ गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक हुन् । उनी यसभन्दा अघिल्लो निर्वाचनमा पनि अध्यक्षमा उठेर वर्तमान अध्यक्ष राजेन्द्र भण्डारीसँग झिनो मतले पराजित भएका थिए । यसैगरी, एसोसिएसनले संघको प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिज प्रालिका सञ्चालक देवकुमार खोखाली र महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक महेशकुमार बस्नेतलाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कार्यसमिति सदस्यहरूमा दीपककुमार राय, विद्यालक्ष्मी बज्राचार्य, देवीप्रसाद गिरी, विश्वास तिमिल्सिना र सुवर्ण लामा गरी ९ जनाको उम्मेदवारी टुंगो लगाएको सो एसोसिएसनले जनाएको छ । व्यवसायीबीच सहमतिको आधारमा सो निर्णय गरिएकोे एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिए । अब तृतीय उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ जना सदस्य केही दिनमा टुंगो लाग्ने एसोसिएसनले जनाएको छ ।
एसोसिएसनको तर्फबाट संघको आगामी नयाँ अध्यक्षमा फेमस ह्युमन रिसोर्स प्रालिका सञ्चालक चिरञ्जीवी बस्याल, संघका महासचिव एवं नीलकमल ह्युमन रिसोर्स प्रालिका सञ्चालक मेघनाथ भुर्तेल, सोलार एचआर म्यानेजमेन्ट प्रालिका सञ्चालक प्रज्ञान न्यौपाने, एलाइन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक सुजितकुमार श्रेष्ठ, फ्युजन इन्टरनेसनल प्रालिका सञ्चालक कुमुद खनाल र एसआरके ओभरसिज प्रालिका सञ्चालक किशोर केसीलगायत ७ जनाले आकांक्षा राखेका थिए ।
यसैगरी, सो निर्वाचनमा एसोसिएसनको तर्फबाट प्रथम उपाध्यक्षमा ढकालसहित पशुपति एचआर सोलुसन प्रालिका सञ्चालक सेवन्तराज न्यौपाने, कास्की ओभरसिज प्रालिका सञ्चालक अमरप्रकाश तिवारी, द्वितीय उपाध्यक्षका लागि खोखालीसहित अल जाफर इन्टरनेसनल प्रालिका सञ्चालक महम्मद जवारदिन मियाँ र इन्स्पायर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालिका सञ्चालक देवीप्रसाद काफ्ले, रेडियन्ट ओभरसिज प्रालिका सञ्चालक शिवकुमार कार्की र इम्प्लोइमेन्ट क्रियसन प्रालिका सञ्चालक हर्कबहादुर लिम्बूको पनि दाबी परेको थियो ।
तृतीय उपाध्यक्षमा भर्सा म्यानपावर प्रालिका सञ्चालक रविन मेघाले मगर, सेक्युर जब प्लेसमेन्ट प्रालिका सञ्चालक सुमनराज पाण्डे, हिमालय भ्याली नेपाल प्रालिका सञ्चालक देवीप्रसाद गिरी, जस्मिन ओभरसिज प्रालिका सञ्चालक नवराज भट्टको पनि दाबी परेको थियो । महासचिवका लागि ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक बस्नेतसहित त्रिवेणी ओभरसिज प्रालिका सञ्चालक लक्ष्मण पौडेल, डाइनामिक स्टाफिङ सोलुसन प्रालिका सञ्चालक कर्णराज कटुवाल र साधना इन्टरनेसनल प्रालिका सञ्चालक सोमबहादुर तामाङको पनि दाबी परेको थियोे ।
सचिवमा अक्सन इन्टरनेसनल प्रालिका सञ्चालक ईश्वर सापकोटा, उज्यालो ओभरसिज प्रालिका सञ्चालक चन्द्र लिम्बू, टार्गेट कन्सल्टेन्ट प्रालिका सञ्चालक विवश ढुंगाना, शुभहारती म्यानपावर प्रालिका सञ्चालक विक्रम श्रेष्ठ, मार्स म्यानपावर प्रालिका सञ्चालक प्रकाश बोहोरा, एचएमटी ओभरसिज प्रालिका सञ्चालक तुलसी पुरी र कोषाध्यक्षका लागि विनर एचआर सोलुसन प्रालिकी सञ्चालक हिमा गुरुङलगायतको दाबी परेको थियो ।
अध्यक्षसहित संघको आगामी नयाँ नेतृत्वको कार्यसमितिमा रहने ७ जना पदाधिकारीका लागि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले उम्मेदवार हुन इच्छा राखेका संस्थामा आबद्ध व्यवसायीलाई गत सोमबार ५ बजेसम्मको समय दिएर आवेदन आह्वान गरेको थियो ।
सोही आवेदन आह्वानबमोजिम यस्तो दाबी परेको एसोसिएसनले जनाएको छ । संघको यस निर्वाचनमा आफ्नो समूहको तर्फबाट उम्मेदवार छनोट गरी पठाउनका लागि एसोसिएसनले पार्टी प्रतिनिधि र एसोसिएसनका पूर्वअध्यक्षहरूसँग परामर्श गरी राय सुझाव लिएर कार्यसमितिबाट सर्वसम्मतिले पारित गरी उम्मेदवार चयन गर्ने निर्णय गरेको थियो । एसोसिएसनका अध्यक्ष थापाले सकेसम्म जातीय, भेगीय, क्षेत्रीय तथा अन्य राजनीतिक दल निकट व्यवसायीका संस्थामा आबद्ध व्यवसायीलाई पनि गोलबन्द गरेर जाने योजनाबमोजिम आधिकारिक उम्मेदवारको नाम टुंगो लगाईएको जानकारी दिए ।
संघको नयाँ नेतृत्व चयनका लागि हुने आगामी निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले पनि अध्यक्ष र महासचिवमा आकांक्षी उम्मेदवारको टुंगो लगाएको छ । सो मञ्चले अध्यक्षमा नरेश गेलाल र महासचिवमा जनक रावल सर्वसम्मत उम्मेदवार बनाउने निणर्य गरेको जनाएको छ ।
संघको आगामी कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट अध्यक्ष र महासचिव पदका लागि आकांक्षीहरूमध्ये सहमतिको आधारमा गेलाल र रावलको उम्मेदवारी टुंगो लगाएको सो मञ्चले जनाएको छ ।
संघको आगामी नेतृत्वका लागि मञ्चको तर्फबाट संघका वर्तमान प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले पनि आकांक्षा राखेका थिए । तर, सहमतिका लागि अध्यक्ष पदमा गेलाल र महासचिवमा रावललाई आधिकारिक उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको मञ्चले जनाएको छ ।
अध्यक्षका प्रत्याशी उम्मेदवार गेलाल मञ्चका पूर्वअध्यक्ष तथा संघका पूर्वमहासचिव हुन् । महासचिवका उम्मेदवार रावल मञ्चका वर्तमान अध्यक्ष हुन् । उपाध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यका उम्मेदवारहरूको टुंगो केही दिनभित्र लगाउने तयारी रहेको सो मञ्चले जनाएको छ । अध्यक्षका आकांक्षी खत्रीलाई मञ्चको आगामी साधारणसभापछि सर्वसम्मतिले अध्यक्ष चयन गर्ने भद्र सहमति बनेपछि संघको अध्यक्षमा गेलाल र महासचिवमा रावलको उम्मेदवारी सर्वसम्मतिले पारित भएको हो । मञ्चको तर्फबाट अन्य पदाधिकारी र कार्यसमिति सदस्य पदका लागि धेरै व्यवसायी आकांक्षी देखिएका छन् । मञ्चले आगामी केही दिनभित्र अन्य उम्मेदवारको टुंगो लगाउने बताएको छ ।
भन्तनाको नेतृत्वमा संयुक्त व्यावसायिक समूह
संघको आगामी निर्वाचनका लागि वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका पूर्वअध्यक्ष रामप्रसाद भन्तनाको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल बन्ने भएको छ । भन्तना संघको प्रथम उपाध्यक्षमा निर्वाचित भएर काम गरिसकेका पुराना व्यवसायी हुन् । उनले आफूले गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, तराई मधेसका व्यवसायी एवं समाजवादी व्यवसायीलाई समेटेर संयुक्त व्यावसायिक प्यानल बनाएको र व्यवसायीका समस्या समाधानका लागि क्रियाशील रहनेगरी आफू अगाडि बढेको बताएका छन् ।
संघको आगामी नयाँ नेतृत्वका लागि वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले आपसी तालमेलका आधारमा भन्तनालाई अध्यक्ष बनाएर आफ्नो भिन्दै समूहको उम्मेदवार उठाउने बताएका छन् । उनीहरूले पनि अन्य पदाधिकारी एवं सदस्यहरूको नाम आफ्नो समूहको तर्फबाट उम्मेदवारका आकांक्षीहरूबाट दाबी पेस गर्न लगाएर टुंगो लगाउने तयारी भइरहेको बताएका छन् ।
लोकतान्त्रिकका आधिकारिक अध्यक्ष गुरुङको उम्मेदवारीविरुद्ध ६ दाबेदारद्वारा खनालको नेतृत्वमा १९ सदस्यीय भिन्दै समूह बनाउने घोषणा
लोकतान्त्रिकका अध्यक्ष गुरुङको उम्मेदवारीविरुद्ध अन्य ६ दाबेदार एकै ठाउँमा रहँदै व्यवसायी कुमुद खनालको नेतृत्वमा १९ सदस्यीय भिन्दै समूह घोषणा गरेका छन् । संघको आगामी निर्वाचनका लागि लोकतान्त्रिकको तर्फबाट अध्यक्षको उम्मेदवारीमा दाबी पेस गरेका एसोसिएसनमा आबद्ध ६ जना व्यवसायीले उम्मेदवार छनोट गर्ने एसोसिएसन कार्यसमितिको निर्णयको विरोध गर्दै खनालको नेतृत्वमा १९ सदस्यीय भिन्दै समूह बनाउने घोषणा गरेका हुन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका तर्फबाट निर्णय सच्याउनसमेत आग्रह गरेका छन् ।
संघको अध्यक्षका लागि सोलार एचआर म्यानेजमेन्ट प्रालिका सञ्चालक प्रज्ञान न्यौपाने, फ्युजन इन्टरनेसनल प्रालिका सञ्चालक कुमुद खनाल, नीलकमल ह्युमन रिसोर्स प्रालिका सञ्चालक मेघनाथ भुर्तेल, एलाइन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक सुजितकुमार श्रेष्ठ, फेमस ह्युमन रिसोर्स प्रालिका सञ्चालक चिरञ्जीवी बस्याल र एसआरके ओभरसिज प्रालिका सञ्चालक किशोर केसीले दाबी पेस गरेका थिए । तर, एसोसिएसनले गुरुङलाई आधिकारिक उम्मेदवार बनाएपछि अहिले एसोसिएसनमा आबद्ध व्यवसायीबीच यस्तो विवाद उत्पन्न भएको हो ।
आधिकारिक अध्यक्ष हुन नपाएका ६ जना आकांक्षीले एसोसिएसन कार्यसमितिको निर्णयको विरोधमा संयुक्त प्रेस विज्ञप्ति नै जारी गर्दै आफूहरूले भिन्दै समूह बनाएर निर्वाचनमा जाने बताएका छन् । उनीहरूको संयुक्त हस्ताक्षरित सो विज्ञप्तिमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २ फागुनमा हुने निर्वाचनका लागि गत १७ माघमा सार्वजनिक बिदाको दिन एसोसिएसनले मध्यरातमा निर्णय सार्वजनिक गर्नु गलत भएको उल्लेख गरिएको छ ।
सो निर्णय पार्टीले लडेको न्याय, समानता, स्वतन्त्रता र पारदर्शिताविपरीत भएको सो विज्ञप्तिमा उल्लेख छ । पार्टीको विभिन्न तह र तप्कामा जिम्मेवारी पूरा गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, पूर्वअध्यक्षहरूलगायत सम्पूर्ण न्यायप्रेमी व्यवसायी सो निर्णयप्रति गम्भीर भएकाले यो निणर्य सच्याउन माग गरिएको छ ।
संघको २९औं साधारणसभामा संस्था एवं पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध समानान्तर प्यानल बनाई चुनाव लड्ने उम्मेदवारलाई के आधारमा एसेसिएसन कार्यसमितिले अध्यक्ष पदको उम्मेदवार तय ग-यो ? भन्ने प्रश्नसमेत उठाइएको सो विज्ञप्तिमा उल्लेख छ । यसैगरी, उनीहरूले एसोसिएसन पार्टीको शुभेच्छुक संस्था भएकाले नेपाली कांग्रेस पार्टीमा निर्णय सच्याउनका लागि निर्णय गराउने पनि सो विज्ञप्तिमा उल्लेख छ ।
(Visited 22 times, 1 visits today)