‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट


News Summary

Generated by OK AI. Editorially reviewed.

  • २०८२ को प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट शक्तिको समानुपातिक मत २१.९५ प्रतिशतमा झरेको छ, जुन विगत दुई दशकमा सबैभन्दा कम हो।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको जनमत हासिल गरेको छ ।
  • कम्युनिस्ट दलहरूको प्रतिनिधिसभामा उपस्थिति १५.२७ प्रतिशत मात्र छ, जसले कम्युनिस्ट शक्तिको वैचारिक धरातल कमजोर भएको संकेत गरेको छ।

२९ फागुन, काठमाडौं । नेपालको संसदीय राजनीतिमा पछिल्ला दुई दशक कम्युनिस्ट शक्तिको बोलवाला रह्यो । यही दौरानमा पाँच जना कम्युनिस्ट नेता प्रधानमन्त्री बने । जसमा केपी शर्मा ओली चार पटक, पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन पटक, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई एक–एक पटक प्रधानमन्त्री बने ।

यो कालखण्डका हरेकजसो सरकार कि कम्युनिस्ट नेताकै नेतृत्वमा थिए, कि कम्युनिस्ट शक्तिको निर्णायक भूमिकासहितका सरकार बनेका थिए ।

कम्युनिस्ट शक्तिको यस्तो दबदबा रहनुका पछाडि दरिलो जनमतकै आड थियो । विशेषगरी २०६४ देखि यताका निर्वाचनमा अभिव्यक्त जनमतको अधिकांश हिस्सा कम्युनिस्ट पार्टीहरूमै केन्द्रीत थियो ।

जसमा झन्डै बहुमतको हाराहारी मत प्रस्ट कम्युनिस्ट पहिचान भएकै दलले पाउँदै आए । कम्युनिस्ट वैचारिक पृष्ठभूमिका नेताले नेतृत्व गरेका समाजवादी पहिचान बोक्ने दलले पाउने मतसमेत जोड्दा जहिल्यै दुई तिहाइ नजिकको समर्थन कम्युनिस्ट शक्तिले पाइरहे ।

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको नतिजाले भने कम्युनिस्ट शक्तिको त्यो दबदबा एकएक कमजोर पारेको छ । यसपटक जनमतमा व्याप्त रहेको कम्युनिस्टको वैचारिक धरातल लगभग निकै कमजोर पारिदिएको छ ।

जसको प्रमाण मूलतः यसपटक अभिव्यक्त भएको समानुपातिकको नतिजा हो ।

फेरियो वैचारिक मत

समानुपातिक निर्वाचन प्रणालीमा मतदाताले दल चुन्छन् । जसमा प्रत्यक्षजस्तो सिधै उम्मेदवारका रूपमा व्यक्ति चुनिन्न ।

दलहरू विचार, सिद्धान्त, नीति तथा कार्यक्रमबाट निर्देशित हुने मान्यता रहन्छ । मतदाताले आफ्नो विचार बोक्ने दलको चिन्हमा मतदान गरेर त्यही विचारअनुसारको म्यान्डेट दिन्छन् भन्ने मान्यता रहन्छ । यही कारण समानुपातिक मतलाई कतिपयले ‘वैचारिक मत’ पनि भन्दछन् ।

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट

नेपालमा २०६४ को पहिलो संविधानसभा निर्वाचनयता समानुपातिक निर्वाचन प्रणाली अभ्यासमा छ । त्यसयता २०७९ सम्मका समानुपातिक नतिजामा कम्युनिस्ट विचार बहुल्य मतदाताको आँकडा देखिँदै आएको थियो ।

यसपटक उल्टो नतिजा आएको छ । अहिलेको नतिजाले नेपाली मतदातामा कम्युनिस्ट विचारधाराप्रति मोहभंग भएको देखाएको छ ।

उसो त अहिलेको नतिजाले सबैजसो पुराना शक्तिलाई अस्वीकृत गरेको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनअघि खुलेको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) स्थापनाको साढे तीन वर्षमै दुई तिहाइ जनमतका साथ संसद् प्रवेश गर्दैछ ।

रास्वपाको यो जनमतका अगाडि सबै पुराना शक्ति कमजोर देखिए पनि सबैभन्दा बढी चोट कम्युनिस्ट शक्तिहरूलाई दिएको छ ।

प्रत्यक्षमा जस्तै समानुपातिकतर्फको नतिजामा पनि कम्युनिस्ट शक्ति निकै खुम्चिएका छन् । जसले कम्युनिस्ट शक्तिको वैचारिक धरातल स्खलित भएको संकेत गरेको छ ।

रास्वपाले प्रत्यक्षजस्तै समानुपातिकमा पनि उल्लेख्य मत हासिल गरेर दुई तिहाइ नजिक पुग्दा लोकतान्त्रिक दलका रूपमा परिचित नेपाली कांग्रेस दोस्रो भएको छ ।

त्यसपछि बल्ल तेस्रो स्थानमा सबैभन्दा ठूलो कम्युनिस्ट शक्ति नेकपा एमाले आएको छ । एमाले प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिँदा समानुपातिकतर्फ १५ लाख मत पनि कटाउन सकेन । २०७९ को निर्वाचनभन्दा यसपटक उसले समानुपातिकमा १३ लाखभन्दा बढी मत गुमाएको छ ।

जेनजी विद्रोहपछि दुई दर्जन बढी कम्युनिस्ट शक्तिहरू जोडेर बनेको नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले त झन् १० लाख मत पनि पुर्‍याउन सकेन । नेकपा माओवादीदेखि, पूर्व एमालेसहितका वामघटकको विरासत बोकेका नेताहरू जोडिएर बनेको दलको प्रदर्शन पनि साह्रै निराशाजनक रह्यो ।

जनमत २२, संसद् प्रतिनिधित्व १५ प्रतिशत

यसपटकको निर्वाचनमा समानुपातिकतर्फ कुल एक करोड आठ लाख ३५ हजार २५ मत सदर भएको छ । जसअनुसार यसपटक ६ दल रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै ‘थ्रेसहोल्ड’ कटाएका छन् ।

थ्रेसहोल्ड कटाउने कम्युनिस्ट पार्टी एमाले र नेकपा गरी दुई वटा मात्रै कायम भएका छन् । थ्रेसहोल्ड नै कटाए पनि उनीहरूले पाएको समानुपातिक मत यसपटक निकै निराशाजनक छ ।

रास्वपाले एक्लै ५१ लाख ८३ हजार ४९३ मत पाएको छ । जुन कुल सदर मतको ४७.८४ प्रतिशत हुनआउँछ । दोस्रो स्थानको कांग्रेसले १७ लाख ५९ हजार १७२ मत पाएको छ । जुन १६.२४ प्रतिशत हो ।

तेस्रो स्थानमा अटाएको पहिलो कम्युनिस्ट शक्ति एमालेले १४ लाख ५५ हजार ८८५ समानुपातिक मत पाएको छ ।

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट

जुन १३ दशमलव ४३ प्रतिशत मात्रै हो, भने नेकपाले ८ लाख ११ हजार ५७७ समानुपातिक मत प्राप्त गरेको छ । जुन ७.४९ प्रतिशत मात्रै हुन आउँछ ।

यसपटक समानुपातिकतर्फको निर्वाचनमा एमाले र नेकपासहित ८ प्रस्ट कम्युनिस्ट पहिचान बोकेका दल सहभागी थिए । बाँकी ६ कम्युनिस्ट शक्तिले जम्मा एक लाख ११ हजार १३९ मत मात्रै प्राप्त गर्नसके ।

यसरी नेपालका सबै कम्युनिस्ट पहिचान भएका शक्तिहरूले कुल २३ लाख ७८ हजार ६०१ मत मात्रै प्राप्त गरेका छन् । जुन कुल सदर मतको २१.९५ प्रतिशत हुन आउँछ ।

एमाले र नेकपाबाहेक नेपाल मजदुर किसान पार्टीले ४२ हजार ३०१, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५५, नेकपा माओवादी २३ हजार ८६४, नेकपा मालेले ६ हजार १७२, नेकपा माक्र्सवादी (पुष्पलाल)ले ४ हजार ८३२ र नेकपा (संयुक्त)ले ४ हजार ५१५ मत मात्रै प्राप्त गरेका छन् ।

नेपालको पछिल्ला दुई दशकको राजनीतिमा कम्युनिस्ट जनमत यति धेरै कमजोर अवस्थामा पुगेको यो पहिलो पटक हो ।

यसअघिका निर्वाचन प्रस्ट कम्युनिस्ट पहिचान भएकै दलले बहुमत आसपास समानुपातिक मत बटुल्थे । त्यसमा कम्युनिस्ट वैचारिक पृष्ठभूमि भएका नेताहरूले नेतृत्व गर्ने समाजवादी दलको जनमत जोड्दा सधैँजसो दुई तिहाइ नजिकको जनमत हुन्थ्यो । यसपटकको नतिजाले जनमतको त्यो आँकडाले देखाउने चित्रलाई पूरै फेरबदल गरिदिएको छ ।

जनमत घटेसँगै कम्युनिस्ट शक्तिको प्रतिनिधिसभाको उपस्थिति पनि ठुलो गिरावट आएको छ । २७५ सिटको प्रतिनिधिसभामा यसपटक एमालेबाट २५ र नेकपाबाट १७ सांसदसहित ४२ जना कम्युनिस्ट सांसद पुगेका छन् । जुन १५.२७ प्रतिशत मात्रै हो ।

२०६४ :  कम्युनिस्टको पहिलो दबदबा

नेपालमा समानुपातिक निर्वाचन प्रणाली सुरु भएकै पहिलो निर्वाचन (२०६४ संविधानसभा) मा ठूलो संख्यामा कम्युनिस्ट जनमत देखिएको थियो । सो निर्वाचनको समानुपातिक नतिजामा ५७.४० प्रतिशत मत प्रस्ट कम्युनिस्ट पहिचान बोकेका दलहरूले पाएका थिए ।

त्यो बेला समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ७८ मत सदर हुँदा ६१ लाख ६४ हजार ५२५ मत प्रस्ट कम्युनिस्ट पहिचान भएका दलले प्राप्त गरेका थिए ।

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट

सशस्त्र संघर्षबाट आएको तत्कालीन नेकपा माओवादीले प्रत्यक्षमा २४० सिटमध्ये एक्लै १२० सिट जितेको थियो । समानुपातिकतर्फ उसले एक्लै ३१ लाख ४४ हजार २०४ मत पाएको थियो । जुन कुल सदर मतको २९.२४ प्रतिशत थियो ।

अर्को ठूलो कम्युनिस्ट दल एमालेले त्यो बेला २१ लाख ८३ हजार ३७० मत प्राप्त गर्दा त्यो कुल सदर मतको २०.३३ प्रतिशत थियो ।

थ्रेसहोल्डको व्यवस्था नगरिएको त्यो निर्वाचन यी दुई दलसहित आठ कम्युनिस्ट दलले समानुपातिकबाट संविधानसभामा आफ्नो प्रतिनिधित्व पाएका थिए ।

यस्तै सो निर्वाचनमा समानुपातिकमा नेकपा मालेले दुई लाख ४३ हजार ५४५, जनमोर्चा नेपालले एक लाख ६४ हजार १८१, नेकपा संयुक्तले एक लाख ५४ हजार ९६८, राष्ट्रिय जनमोर्चाले एक लाख ६ हजार २२४, नेपाल मजदुर किसान पार्टीले ७४ हजार ७९ र नेकपा एकीकृतले ४८ हजार ६०० मतसहित संविधानसभामा समानुपातिकबाट प्रतिनिधित्व पाएका थिए ।

६०१ सदस्यीय संविधानसभामा कम्युनिस्ट सभासदको संख्या ३६८ पुगेको थियो । जुन ६१.२३ प्रतिशत थियो । यो नेपालको संसदीय इतिहासमा कम्युनिस्ट शक्तिको दबदबा कायम भएको पहिलो संसद थियो ।

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट

२०७० : अलमलमा ओरालो

पहिलो संविधानसभाको असफलतापछि २०७० मा दोस्रो पटक संविधानसभा निर्वाचन भएको थियो । त्यो निर्वाचनमा २०६४ मा उल्लेख्य मतका साथ पहिलो शक्ति बनेको माओवादी ह्वात्तै कमजोर देखियो ।

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट

सो निर्वाचनमा समानुपातिक तर्फ कुल सदर मत ९४ लाख ६३ हजार ८६२ सदर भएको थियो । यो निर्वाचनमा माओवादी जनमत आधाले घट्दा समानुपातिकमा कम्युनिस्ट मत पनि घटेर ४३.२७ प्रतिशतमा झर्‍यो ।

त्यो बेला प्रस्ट कम्युनिस्ट पहिचान भएका ११ दलले समानुपातिकमा जम्मा ४० लाख ९५ हजार ४८५ मत मात्रै पाएका थिए ।

जसमा सबैभन्दा बढी एमालेले २२ लाख ३९ हजार ६०९ मतसहित सदर मतको २३.६६ प्रतिशत पाउँदा तत्कालीन एकीकृत नेकपा माओवादी १४ लाख ३९ हजार ७२६ मतमा झरेको थियो । जुन कुल सदर मतको १५.२१ प्रतिशत मात्रै हो ।

ती दुई दलबाहेक नेकपा मालेले एक लाख ३० हजार ३००, राष्ट्रिय जनमोर्चाले ९२ हजार ३८७, नेकपा संयुक्तले ९१ हजार ९९७, नेपाल मजदुर किसान पार्टीले ६६ हजार ७७८ मत पाएका थिए ।

त्यो निर्वाचनपछि संविधानसभामा कम्युनिस्ट सभासदको उपस्थिति पनि ४६.९२ प्रतिशतमा झरेको थियो । ६०१ सिटमध्ये प्रस्ट कम्युनिस्ट पहिचान भएकाले दलले २८२ सिट मात्रै प्राप्त गरेका थिए ।

पहिलो संविधानसभामा संविधानका विषयमा कम्युनिस्ट शक्तिहरू नै अलमलिँदा यस्तो नतिजा आएको थियो । यो निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्यो । त्यो बेला २०६२/६३ को परिवर्तनपछि रक्षात्मक बनेका राजावादी शक्तिहरूलाई आंशिक हौसला पनि मिलेको थियो ।

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट

२०७४ : एकताको बलमा दुई तिहाइ

नेपालको संविधान, २०७२ जारी भइसकेपछि २०७४ मा पहिलोपटक मुलुक संघीयतामा गएको थियो । त्यो बेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैसाथ सम्पन्न भयो ।

त्यो निर्वाचनमा नेपालका ठुला दुई कम्युनिस्ट पार्टी एमाले र तत्कालीन माओवादी केन्द्र निर्वाचनपछि पार्टी एकीकरण नै गर्नेगरी मिलेर चुनावमा गएका थिए । त्यसमा अन्य वामघटक साना दल पनि मिलेका थिए ।

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट

उक्त निर्वाचनमा समानुपातिकतर्फ कुल ९५ लाख ४४ हजार ७७९ मत सदर हुँदा प्रस्ट कम्युनिस्ट पहिचान भएका दलले ४८ प्रतिशत समानुपातिक मत बटुलेका थिए । जुन ४६ लाख ३८ हजार ७६९ मत हुन्छ ।

त्यसबेला नेकपा एमालेले २०७० को तुलनामा ह्वात्तै मत बढाउँदै ३१ लाख ७३ हजार ४९४ मत बटुलेको थियो । जुन कुल सदर मतको ३३.२४ प्रतिशत थियो ।

अर्को कम्युनिस्ट दल माओवादी केन्द्रले कुल सदर मतको १३.७७ प्रतिशत अर्थात् १३ लाख ३ हजार ७२१ मत पाएको थियो । यसपटक तीन प्रतिशत थ्रेसहोल्ड लागेकाले अन्य कम्युनिस्ट दलले समानुपातिकमा सिट पाएनन् ।

यो निर्वाचनमा प्रस्ट कम्युनिस्ट पहिचान बोक्ने शक्तिहरूको समानुपातिकमा ५० प्रतिशत मत नकटे पनि प्रत्यक्षतर्फको आँकडाले संसद्मा झन्डै दुई तिहाइको उपस्थिति जुटाएको थियो ।

२७५ सिटको प्रतिनिधिसभामा एमाले एक्लैको १२१ सिट हुँदा माओवादी केन्द्रको ५३, राष्ट्रिय जनमोर्चाको दुई र नेमकिपाको एकगरी १७७ प्रस्ट कम्युनिस्ट पहिचान भएका दलको प्रतिनिधित्व थियो । जुन ६४.३६ प्रतिशत हुन आउँछ ।

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट

२०७९ : टुटफुट र निराशा

२०७४ मा संसदमा पाएको झन्डै दुई तिहाइ जनमत कम्युनिस्ट शक्तिले उपयोग गर्न सकेनन् । उल्टै आपसी विवादमा फसेर टुटफुट र विभाजन भए । २०७९ को निर्वाचनसम्म आइपुग्दा कम्युनिस्ट जनमत घटेर ४२.६० प्रतिशतमा झर्‍यो ।

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट

यो निर्वाचनमा समानुपातिकतर्फ कुल एक करोड पाँच लाख ६० हजार ६७ मत सदर हुँदा कम्युनिस्ट पार्टीहरूले कुल ४४ लाख ९९ हजार १६३ मत मात्रै पाएका थिए ।

जसमा एमालेले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो शक्ति बनेर २६.९५ प्रतिशत बटुलेको थियो । माओवादी केन्द्र ११ लाख ७५ हजार ६८४ मतसहित दोस्रो कम्युनिस्ट शक्ति बनेपनि उसको पनि मत घटेर ११.१३ प्रतिशतमा पुगेको थियो ।

एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी २ लाख ९८ हजार ३९१ मत ल्याएपनि थ्रेसहोल्ड कटाउन सकेन ।

प्रत्यक्षतर्फ पनि कम्युनिस्ट शक्तिले कम सिट जिते । जसअनुसार २७५ सदस्यीय संसद्मा १२३ जना मात्रै प्रस्ट कम्युनिस्ट पहिचान भएका दलका सांसद पुगे ।

जसअनुसार त्यो संसदमा कम्युनिस्ट सांसदको उपस्थिति ४४.७२ प्रतिशत मात्रै कायम भयो । यो नतिजा वाम शक्तिहरू टुटफुट हुनुको परिणाम थियो । त्यसपछि व्याप्त निराशालाई राज्यले सम्बोधन गर्न नसक्दा यसपटक भदौ २३ र २४ गतेको घटना निम्तिएको हो । जसले कम्युनिस्ट शक्तिहरूलाई निकै दयनीय अवस्थामा पुर्‍याएको छ ।

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट

किन घट्यो कम्युनिस्ट जनमत ?

राजनीतिक विश्लेषक केशव दाहाल पहिले नेपालमा कम्युनिस्ट जनमत बढ्नुमा त्यतिबेलाको परिवेशले भूमिका खेलेको टिप्पणी गर्दै अहिले परिवेश नै बदलिएकाले जनमत घटेको बताउँछन् ।

‘पहिले कम्युनिस्टले किसान, मजदुर, दलित, महिला, आदिवासी-जनजातिका मुद्दा उठाए । श्रमजीवी र सर्वहारा वर्गका लागि लड्ने शक्ति नै हामी हौँ भने,’ दाहाल भन्छन्, ‘त्यो बेलाको नेपाली समाज विपन्न गरिब मजदुर–किसानकै बहुल्यतावाला थियो । त्यो कुरा समाजले पत्यायो, जनताले कम्युनिस्ट विचार अंगाले ।’

‘वैचारिक मत’ घट्दा स्तब्ध कम्युनिस्ट
राजनीतिक विश्लेषक केशव दाहाल

अहिले कम्युनिस्ट जनमत घट्नुमा दाहाल मुख्यत: चार कारण देख्छन् ।

पहिलो– सत्तामा कम्युनिस्ट र अरु दल एउटै देखिनु रहेको उनले बताए । ‘यो अवधिमा जनताबाट पटक–पटक मत लिएर कम्युनिस्ट शक्तिहरूले सत्ता चलाइसके । सत्तामा पुगेपछि कम्युनिस्ट र अन्य दलका गतिविधिमा जनताले केही फरक पाएनन् । वैचारिक भेद व्यवहारमा नदेखेपछि जनतामा मोहभंग भयो,’ दाहालले भने ।

दोस्रो– अहिले सर्वहारा वर्ग नै नरहनु रहेको दाहालको बुझाइ छ । ‘कम्युनिस्टले वर्षौवर्ष सर्वहारा–श्रमजीवी वर्गको पार्टी हौँ भनेर राजनीति गरे । अहिले त्यो वर्ग नै रहेन,’ उनले भने, ‘पहिले किसान ७० प्रतिशत थिए, त्यो रहेन । मजदुरी गर्ने विदेश गए । महिला, दलितका मुद्दा अरुले पनि उठाउन थाले ।’

निम्न आयको वर्गबाट समाज उठेर मध्यम वर्गमा पुगेपछि कम्युनिस्टले उठाउने एजेन्डाको उपादेयता नै सकिएको उनी टिप्पणी गर्छ । ‘अहिले केही नभए पनि टिनको छानो, टिभि छ स्मार्ट फोन, बच्चाबच्ची ठिकठाककै स्कुलमा जान्छन् । विदेशकै कमाइ भएपनि समाज पहिलेभन्दा माथि उठेको छ,’ दाहालले भने ।

तेस्रो– विश्वभर कम्युनिस्ट विचार प्रवाहको उपादेयता पनि कमजोर हुँदै गएका कारण नेपालमा कम्युनिस्ट जनमत घट्नमा मद्दत गरेको दाहालको बुझाइ छ ।  उनी भन्छन्, ‘अहिले कम्युनिस्ट विचार प्रवाहको उपादेयता विश्वव्यापी कमजोर भएको छ । मार्क्सवाद, लेनिनवाद, माओवादको दार्शनिक विचार दिएर मतदाता प्रभावित हुँदैनन् ।’

चौथो– नेपालमा विचारभन्दा एजेन्डा र ‘पपुलिजम’ प्रभावशाली भएकाले कम्युनिस्ट जनमत घट्न गएको उनी बताउँछन् । ‘अहिले दलले बोक्ने विचार जनतामा गौण छन् । विचारभन्दा मतदाताले एजेन्डा खोज्छन्,’ दाहाल भन्छन्, ‘एजेन्डामा कम्युनिस्ट मात्रै नभई पुराना दल कमजोर बन्दा पपुलिजमले स्थान लियो ।’





Source link

Leave a Comment