तत्कालीन राजा महेन्द्रले २०१८ सालमा सन्तुलित क्षेत्रीय विकासको अवधारणाअनुरूप मुलुकलाई भौगोलिक रूपमा चार विकास क्षेत्रमा विभाजन गरे । सो विभाजनले साबिकका मध्यपश्चिम र सुदूरपश्चिमलाई एकै विकास क्षेत्रमा गाभेर सुदूरपश्चिमाञ्चल नामकरण गरेको थियो । विकास प्रक्रियामा अझ स्पष्टता र सन्तुलन ल्याउन २०३७ सालमा नेपाललाई पाँच विकास क्षेत्रमा पुनर्संरचना गरियो । पछिल्लो पुनर्संरचनामा थपियो, मध्यपश्चिमाञ्चल विकास क्षेत्र । यसअन्तर्गत साबिक भेरी, राप्ती र कर्णाली अञ्चलका १५ जिल्ला थिए र मुख्यालय थियो, वीरेन्द्रनगर ।
वीरेन्द्रनगर क्षेत्रीय सदरमुकाम भए पनि भौतिक संरचनाहरू नेपालगन्ज केन्द्रित थिए । क्षेत्रीयस्तरका कार्यालयहरू अधिकांश नेपालगन्जमै स्थापना गरिए । वीरेन्द्रनगर नाम मात्रैको सदरमुकाम रह्यो । तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनका बेला २०६० सालको मध्यतिर नेपालगन्जमा रहेका कार्यालयहरू धमाधम वीरेन्द्रनगर सारिए । धिमा गतिमा विकसित हुँदै गइरहेको वीरेन्द्रनगरमा जब प्रहरी, अदालत, शिक्षा, स्वास्थ्य, कृषिलगायतका जनताका प्रत्यक्ष सरोकारसँग जोडिएका कार्यालयहरू स्थानान्तरण गरिए, तब यहाँ विकासले गति लिन थाल्यो । क्षेत्रीय संरचना स्थापना हुँदा वीरेन्द्रनगरमा मानिसहरूको चहलपहल पनि बाक्लियो । २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भयो अनि जन्मियो, कर्णाली प्रदेश । र, वीरेन्द्रनगर प्रदेशको राजधानी कायम भयो ।
समुन्द्री सतहबाट लगभग ६ सय ६५ मिटरमा रहेको वीरेन्द्रनगर उपत्यका महाभारत पर्वत र चुरे पहाडको बीचमा अवस्थित छ । हाल यसको क्षेत्रफल २ सय ४५ दशमलव ८५ वर्गकिलोमिटर रहेको छ । २०२२ सालमा जब औलो उन्मूलनको घोषणा भयो, त्यसपछि खेती लगाउन मात्र उपत्यका झर्ने मानिसहरू स्थायी रूपमा यहाँ बस्न आउन थालेका थिए । सुर्खेत उपत्यकामा बसोबासको प्रारम्भ २०२३ सालबाट भएको पाइन्छ । त्यसअघि औलो लाग्ने हुँदा जिल्ला सदरमुकाम गढी गाविसमा थियो । उपत्यकामा छिटफुट रूपमा थारू र राजी समुदायको बसोबास रहेको थियो । औलो उन्मूलन भएपश्चात् उपत्यकामा बसोबास गर्न थालियो र सरकारी कार्यालयलाई स्थानान्तरण गरी सदरमुकाम तोकियो । २०२४ सालमा चौहानचौरमा सदरमुकाम सारियो । २०२९ सालमा चौहानचौरको नाम वीरेन्द्रनगरमा परिणत भयो ।

२०२९ सालताका हो, तत्कालीन राजदरबारले मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रशासनिक केन्द्र सुर्खेत उपत्यकामा रहनेगरी सहरी विकासको गुरुयोजना बनाउन इन्जिनियर माधवभक्त माथेमा नेतृत्वमा प्राविधिक टोली खटायो । त्यतिबेला चौथो पञ्चवर्षीय योजना (२०२७–२०३२) लागू भइरहेको थियो । सो योजनामा सुर्खेत उपत्यकाको गुरुयोजना बनाउने र पाँचांै पञ्चवर्षीय योजना (२०३२–३७) मा क्षेत्रीय सदरमुकामको सहरी विकास गुरुयोजनालाई कार्यान्वयन गर्ने उल्लेख थियो । आवास मन्त्रालयअन्तर्गतको भवन विभागका सिनियर प्लानर थिए, माथेमा । उनै माथेमा नेतृत्वको कार्यदलले बनाएको वीरेन्द्रनगर गुरुयोजना पछिल्ला दशक सहरी विकासको कोसेढुंगा मानिन्छ । २०२९ सालमा हातैले लेखेर ३३ पेज लामो गुरुयोजना बनाएका माथेमाले झन्डै १३ वर्ष सुर्खेतमा बसेर सो गुरुयोजना कार्यान्वयन गर्न पनि निकै मिहिनेत गरे । उनले ५ दशकअघि बनाएको गुरुयोजनाकै जगमा वीरेन्द्रनगरले विकासको खाका कोर्दै छ । माथेमा गुरुयोजना’bout तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य मात्र होइन वीरेन्द्रनगरवासीले समेत मन पराए । माथेमाका अनुसार २०२९ साल माघमा तत्कालीन राजा वीरेन्द्र, रानी एैश्वर्य, प्रधानमन्त्री कीर्तिनिधि विष्टसहित मन्त्रीहरू सुर्खेत आए । सुर्खेत उपत्यकाको गुरुयोजनामाथि छलफल गरी पारित गर्ने उद्देश्यले क्याबिनेट बैठक नै यहीँ बसेको थियो ।
माधवभक्त नेतृत्वको टिममा भूगोलविद् प्रद्युम्न भट्टराई, विभूतिमान सिंह र मदनमान ताम्राकार थिए । गुरुयोजनामा इत्रामदेखि खोर्के खोलासम्म र उत्तरपट्टि बजार विकास गर्ने, अहिलेको राजमार्ग क्षेत्र त्यतिबेला मानिस हिँड्ने बाटो थियो । त्यस क्षेत्रदेखि दक्षिणतिर खेतीयोग्य जमिनका लागि छुट्याइएको थियो । अहिलेका सरकारी कार्यालय भएका भवनहरू, सार्वजनिक जग्गा, विमानस्थल, खुलामञ्च, घण्टाघर बुलबुले, देउतीबज्यै परिसर फराकिलो बनाउन निजी जग्गा अधिग्रहण गरिएको थियो । खोर्के खोलादेखि विमानस्थलसम्म स्थानीयसँग मिलेर २५–३० वर्षपछिको भिजनलाई प्रक्षेपण गरेर प्लानिङ गरिएको थियो ।
२०३३ सालमा वीरेन्द्रनगर नगर पञ्चायतका रूपमा स्थापना भएको वीरेन्द्रनगर झन्डै ५ दशक पुग्नैलाग्दा बल्ल उपमहानगर स्तरोन्नतिको पर्खाइमा छ । सुर्खेत उपत्यकासँगै उत्तरी पाखोमा अवस्थित जर्बुटा, रतु, गोठीकाँडा, छेडालगायतका ठाउँलाई गाभ्दै वीरेन्द्रनगरलाई १६ वडामा विस्तार गरिएको छ । विशेषगरी प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा तीव्र सहरीकरण भइरहेको छ । जनसंख्या झन्डै ५ लाख पुगेको अनुमान छ । यहाँ सडकहरू फराकिला र चिल्ला बनाइएको छ । सुब्बाकुनादेखि बांगेसिमलसम्म चार लेनको सडक बनेको छ । मंगलगढी चोकदेखि मुख्य बजार क्षेत्रको सडक पनि स्तरोन्नति गरिएको छ । चक्रपथ निर्माणको काम पनि धमाधम भइरहेको छ । टोल–टोलसम्मका सडकहरू पनि स्तरोन्नति हुँदा सहर शोभायमान भएको छ । अत्याधुनिक संरचनासहितको प्रदेश रंगशाला, ३ सय शøयाको प्रदेश अस्पताल, मध्यपश्चिम विश्वविद्यालय, सुर्खेत सभाहल यहाँका ठूला पूर्वाधार हुन् । प्रदेश सरकारका विभिन्न संरचनाले पनि उपत्यकाको उत्तरी भेग भरिभराउ छ ।

प्रदेश राजधानी बनेपछि यहाँ ठूला सुविधासम्पन्न होटल तथा रेस्टुरेन्ट, कफी सप, सपिङ मार्ट, नयाँ र मौलिक शैलीका चिया, खाजाघर खुलेका छन् । झन्डै एक दर्जन हाराहारीमा होमस्टे खुलेका छन् । वर्षौंदेखि भग्नावशेषमा रहेको काँक्रेविहारको पनि जीर्णोद्धार गरिएको छ । उपत्यकाको मध्यभागमा अवस्थित घनाजंगलको उच्च भागमा ठिंग उभिएको ढुंगैढुंगाले बनेको कलात्मक विहार शैलीको सम्पदा वीरेन्द्रनगरको एउटा मुख्य आकर्षण बनेको छ । काँक्रेविहारको उत्तरतर्फ अवस्थित बुलबुले ताललाई फराकिलो पार्नुका साथै उद्यानलाई पनि व्यवस्थित बनाइएको छ । बुलबुले तालमा आन्तरिक पर्यटकलाई लक्षित गरी मोटरबोट सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर–४ स्थित भैरम सामुदायिक वन क्षेत्रमा प्रदेश आन्दोलनका शहीदको सम्मान पार्क निर्माण गरिएको छ । जहाँ बिदाका दिन आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । घण्टाघर क्षेत्रलाई व्यवस्थित पारिएको छ । लामो समय बज्न छाडेको घण्टाघरको सुई ६० मिनेटको अन्तरालमा बज्न थालेको छ । वीरेन्द्रनगरमा सडक किनारामा रोपिएका गुलमोहर, ज्याकाराण्डालगायतका फूलहरूले शोभा बढाएका छन् । वसन्त ऋतुमा घण्टाघर क्षेत्र गुलमोहरले राताम्मे हुने गर्छ ।
पुरातŒव विभागसँग सहकार्य गरी नेपाली सेनाले ऐतिहासिक बयलकाँडा गढीको मर्मत गरेको छ । जहाँबाट सुर्खेत उपत्यकाको अवलोकन गर्न सकिन्छ । प्याराग्लाइडिङको उडान विन्दु पनि बयलकाँडा नै भएकाले गोठीकाँडा, बयलकाँडा क्षेत्रमा मानिसहरूको चहलपहल बढ्दो छ । भौतिक पूर्वाधार, आन्तरिक आम्दानी, जनसंख्यालगायतका सबै मापदण्ड पूरा गरेपछि वीरेन्द्रनगर नगरपालिकाले उपमहानगर घोषणाका लागि आवश्यक प्रक्रिया पु¥याउन लागेको छ । उपमहानगरका घोषणाका लागि फाइल प्रदेश सरकारका मुख्यमन्त्रीसमक्ष पेस गरिसकेको र प्रदेशले संघ सरकारलाई सिफारिस गरेपछि प्रक्रिया सुरु हुनेछ । वीरेन्द्रनगरको बदलिँदो स्वरूप देखेर स्थानीय बूढापाकाहरू पनि दंग छन् । यसले छोटो समयमै सुविधासम्पन्न सहरको परिचय स्थापित गरिसकेको छ । तीव्र गतिमा भइरहेको विकासलाई पछ्याउँदै मानिसहरूले नयाँनयाँ व्यवसायको सञ्चालन गरेका छन् ।
पूर्वनगरप्रमुख देवकुमार सुवेदी वीरेन्द्रनगरमा प्रमुख दलहरूबीचको सहकार्यले नै विकासले गति लिएको बताउँछन् । अघिल्लो कार्यकालका नगरप्रमुख रहेका उनले थुपै्र सडकको स्तरोन्नति कार्यको थालनी गरेका थिए । यसपटक ती आयोजना पूरा गर्दै केही नयाँ योजना अघि बढाइएको छ । पूर्वनगरप्रमुख सुवेदीका भनाइमा विद्युत् र खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेकाले ती आयोजना समयमै पूरा हुनसके वीरेन्द्रनगरको समृद्धिमा टेवा पुग्नेछ । ‘विकास निर्माणमा स्थानीय सकारात्मक सहयोग छ, प्रदेश राजधानी यहीँ भएकाले बजेटको पनि समस्या छैन,’ उनी भन्छन्, ‘योजनाबद्ध विकासका स्थानीय जनप्रतिनिधि इमानदार भएर काम गर्ने हो भने यसले अझ धेरै फड्को मार्छ ।’
सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मण कँडेल लो भोल्टेजको विद्युत्का कारण उद्योग व्यवसाय सञ्चालनमा समस्या देखिएकाले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन आयोजना समयमै सम्पन्न गर्नुको विकल्प नभएको बताउँछन् । ‘सुर्खेतमा विद्युत् र खानेपानीको अझै ठूलो समस्या छ, भेरी पम्पिङ समयमै बनेको खण्डमा सहजता होला,’ कँडेल भन्छन् ।
त्रिदेशीय कनेक्टिभिटी
संघीयता अघिसम्म सुर्खेत र दाङ एउटै विकास क्षेत्रमा थिए । छिमेकी यी दुई जिल्लाबीच सीधा यातायात सम्बन्ध थिएन । राष्ट्रिय गौरवको पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्ग बनेपछि अहिले दाङको तुुलसीपुरबाट वीरेन्द्रनगरका लागि नियमित गाडी चल्छन् । दाङ–सुर्खेत मात्रै होइन बर्दिया र कैलाली जान कोहलपुर पुग्नुपर्ने बाध्यता पनि मदन भण्डारी राजमार्गले अन्त्य गर्दै छ । वीरेन्द्रनगरबाट पश्चिम सुर्खेत हुँदै सुदूरपश्चिम जोड्ने चिसापानी–कुइने–बाबियाचौर सडक खुलेपछि यो बाध्यता हटेको हो । वीरेन्द्रनगरको मूलपानीबाट रानीघाट हुँदै बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माणाधीन छ । यस रुटलाई बर्दिया वा कैलालीको चिसापानी क्षेत्रबाट सुर्खेत आउनलाई निकै छोटो मानिएको छ । कर्णाली राजमार्गको जिरो प्वाइन्ट पनि वीरेन्द्रनगर नै हो । वीरेन्द्रनगरबाट उत्तर–दक्षिण र पूर्व–पश्चिम सडक सञ्जालको विकास भएको छ ।

सुर्खेतलाई छिचोलेका राष्ट्रिय तथा क्षेत्रीय राजमार्गको सुरुवाती विन्दु वीरेन्द्रनगर नगरपालिका हो । जसका कारण वीरेन्द्रनगर पश्चिम नेपालको व्यापारिक हब बन्ने बाटोमा उन्मुख छ । यति मात्रै होइन विकासको अग्रलय समातेको वीरेन्द्रनगर उत्तरी र दक्षिणी छिमेकी देश चीन र भारतसँगको त्रिदेशीय व्यापारिक केन्द्र बन्ने पर्खाइमा छ । वीरेन्द्रनगरको मध्य भागबाट पूर्व–पश्चिम मदन भण्डारी राजमार्ग र उत्तर–दक्षिण कर्णाली कोरिडोरले छिचोलिन्छ । मदन भण्डारी राजमार्गले पूर्वतर्फ सल्यान हुँदै दाङ उपत्यका जोड्छ । पश्चिम खण्डले कर्णालीलाई सुदूरपश्चिमको पहाडी क्षेत्र अछाम र डडेलधुरासँग पहुँच विस्तार गर्छ । वीरेन्द्रनगरसँग सीमा जोडिएको भेरीगंगा नगरपालिकाको छिञ्चुबाट भेरी कोरिडोर उत्तरतर्फ लाग्छ । यी दुई सडक दक्षिणको नेपाल–भारत सीमा बाँकेको जमुनाहदेखि उत्तरी चीनको सीमा हुम्लाको हिल्सा र डोल्पाको तिन्जे धोमा टुंगिन्छन् । वीरेन्द्रनगरबाट सुरु हुने कर्णाली राजमार्ग दैलेख, कालिकोट, जुम्ला हुँदै मुगु गएर टुंगिन्छ । मुगुबाट कर्णाली राजमार्गसँगै जोडिएर प्रमुख पर्यटकीय क्षेत्र राराताल हुँदै उत्तरी नाका नाक्चेनाङ्ला जोडिन्छ । कर्णाली राजमार्गले खस राज्यको शीतकालीन राजधानी दैलेख हुँदै नेपाली भाषाको उद्गमथलो जुम्लाको सिञ्जा हुँदै कर्णालीको प्रमुख पर्यटकीयस्थल राराताललाई एकैमालामा जोडेको छ ।

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खुलालुबाट कर्णाली कोरिडोर सुरु हुन्छ । कर्णाली कोरिडोर सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला भएर पुनः कर्णाली प्रवेश गर्दै हुम्लाको उत्तरी सीमा हिल्सा पुगेर टुंगिन्छ । यस मार्गले तिब्बतको मानसरोवर अवलोकन गर्ने अवसर प्रदान गर्छ । वीरेन्द्रनगरलाई देशका प्रमुख सहरहरूसँग रत्न राजमार्ग (कोहलपुर–सुर्खेत)ले पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोड्छ । कर्णालीका उत्तरी नाकालाई प्राथमिकतामा राखेर सडक पूर्वाधार निर्माण गर्न सकिएको खण्डमा त्रिदेशीय व्यापारको हव वीरेन्द्रनगर बन्नेछ । वीरेन्द्रनगरलाई साँच्चिकै ‘विकासको गेटवे’ बनाउने कारक भनेको हो— तेज गतिमा विस्तार हुँदै गरेको यातायात सञ्जाल । वीरेन्द्रनगर अब केवल सुर्खेतको सहर होइन, पश्चिम नेपालको भविष्य र सम्भावनाको प्रतिनिधि सहरका रूपमा स्थापित हुँदै छ । यस सहरको गति अब स्थिर छैन, यो दौडिरहेको छ, पश्चिम नेपालको चाल बदल्ने आत्मविश्वासका साथ वीरेन्द्रनगर साँच्चै बन्न थालेको छ, ‘विकासको गेटवे’ ।
हालैका वर्षहरूमा भौतिक पूर्वाधारको तीव्र विकासले वीरेन्द्रनगरलाई पश्चिम नेपालको सबैभन्दा द्रुत गतिमा विकास हुँदै गएको सहरी केन्द्र बनाएको छ । मदन भण्डारी राजमार्ग, रत्न राजमार्ग, भेरी कोरिडोर, कर्णाली कोरिडोर, कर्णाली राजमार्गजस्ता मुख्य सडकहरू यहीँ जोडिन्छन् । सुर्खेत विमानस्थलले पनि पश्चिम नेपालको हवाई यातायातको केन्द्र बनाएको छ । वीरेन्द्रनगरमै नेपाली सेनाको पश्चिम एयर बेस उच्च पदस्थहरूको आउजाउले गर्दा सुर्खेत ट्रान्जिट बन्ने गरेको छ । अब वीरेन्द्रनगर पश्चिम नेपालको ट्रान्जिट सिटी मात्र नभई लगानी, व्यापार, शिक्षा र स्वास्थ्यको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल वीरेन्द्रनगरलाई पश्चिम तराईसँग जोड्न र सुर्खेतका मुख्य सडकहरू निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउँछन् । ‘यो कर्णाली प्रदेशकै प्रवेशद्वार भएकाले यहाँको विकास अन्य पालिकाका लागि सिकाइ हुन जानेछ, दिगो र व्यवस्थित विकास गर्नसके यहाँ अवसरैअवसर हुनेछन्,’ उनी भन्छन्, ‘वीरेन्द्रनगरलाई त्रिदेशीय व्यापारिक हबका रूपमा विकास गर्ने नीति तथा योजनाअनुरूप प्रदेश सरकारले काम गरिरहेको छ ।’
विद्युत् र खानेपानी समस्याको पनि दीर्घकालीन समाधान हुँदै छ : नगरप्रमुख ढकाल

वीरेन्द्रनगरले पछिल्ला केही वर्षयता उल्लेखनीय परिवर्तनका चरणहरू पार गरिरहेको छ । सफा र फराकिला सडक, फोहोरमैला व्यवस्थापन, ठूला सहरी पूर्वाधार निर्माण, सेवाप्रवाहमा देखिएको सुधारले यो सहरको अनुहार फेरिएको छ । यी सबै परिवर्तनका पछाडि नगरप्रमुख मोहनमाया ढकालको सक्रियता, दूरदृष्टि र प्रतिबद्धता रहेको देखिन्छ । अघिल्लो कार्यकालमा उपप्रमुखका रूपमा कार्यरत रहँदा उनले समस्यालाई केवल हेरेर बसिनन्, समाधानमा आफैं अग्रपंक्तिमा उभिइन् । जनप्रतिनिधि मात्र नभएर एउटा जिम्मेवार नेतृत्वकर्ताको भूमिकामा रहँदै उनले आफ्नो कार्यदक्षता प्रमाणित गरिन् । त्यही अनुभवको जगमा अहिले उनी नगरप्रमुखको जिम्मेवारीमा छिन् । नेतृत्वमा पुगेपछि उनले सुन्दर वीरेन्द्रनगरको सपना बोकेर योजनाबद्ध विकास कार्यहरू अगाडि बढाएकी छन् । यसै सन्दर्भमा नगरप्रमुख ढकालसँग गरिएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छः
वीरेन्द्रनगरमा अहिले के काम भइरहेको छ ?
यस वर्ष हामीले केही पूर्वाधारलाई फिनिसिङ गर्दै छौं । केहीको टेन्डर भएको छ । सिटी बसपार्क बन्न समय लाग्छ । यस वर्ष वडा नं १ मा कर्णाली बसपार्क बनाउन अध्ययन गरिसकेका छौं । यो बन्न ७–८ वर्षै लाग्न सक्छ । सिटी बसपार्कमा पार्किङ व्यवस्थापनका लागि टेन्डर आह्वान भइसकेको छ । पुरानो हङकङ बजार बसेको क्षेत्रलाई पनि पार्किङस्थल बनाइँदै छ । घण्टाघर पश्चिममा खुला पार्क बनाएपछि घण्टाघरभित्र हामीले खाली गरेको क्षेत्रलाई बहुवर्षीय योजना बनाएर पूर्ण भुक्तानी गर्ने गरी ठेक्का प्रक्रिया अघि बढाइएको छ । घण्टाघरको पश्चिम हटिया क्षेत्रमा मण्डला प्रकृतिको र बाँकी साइडमा मोटरसाइकल पार्किङस्थल बनाउँदै छौं ।
केही महŒवपूर्ण सडकहरू, फोहोर व्यवस्थापन, ल्यान्डफिल्ड साइट व्यवस्थापन गरिएको छ । कुहिने फोहोरको समस्या छैन । नकुहिने फोहोरका लागि उचित व्यवस्थापन गर्दै छौं । सुब्बाकुना–बांगेसिमल, मंगलगढी–काँक्रेविहार सडकमा बत्ती जडान गर्दै छौं । हटलाइन सडक क्षेत्रमा पनि बत्ती जडान गरेर सहर सुरक्षाका लागि सीसीटिभी जडानको कार्यक्रम छ । चोक चौतारा संरक्षण गरिरहेका छौं ।
यस वर्ष वीरेन्द्रनगरका दुई ठाउँ मंगलगढी र एरिचोकमा अकासेपुलका लागि छनोट गरिएको छ । मंगलगढी डीपीआर भई टेन्डर प्रक्रिया सुरु भएको छ । एरिचोक राष्ट्रिय राजमार्गमा पर्ने भएकाले सडक विभागको अनुमति मागेका छौं । यसका लागि चालू आवमा पनि बजेटिङ गरेका छौं । अकासेपुल पनि हाम्रो प्राथमिकताको आयोजना हो ।
अहिले नगरको मुख्य समस्या खानेपानी बनेको छ, भेरी पम्पिङ आयोजना समयमै बन्छ ?
यो सबैले चासोका साथ हेरेको आयोजना हो, भेरी पम्पिङ । तीनवटै तहका सरकारको सहभागितामा निर्माण हुन लागेको ठूलो प्रोजेक्ट पनि हो । खानेपानी आयोजना समयमै सम्पन्न गर्न नगरपालिकाले व्यवस्थापनको काम गरिरहेको छ । समन्वय सहजीकरणदेखि समयमै निर्णय गर्ने कुरामा हाम्रो पक्षबाट कुनै कमी हुन दिएका छैनौं । यस आयोजनाको दुई चरणमा टेन्डर भएको थियो । पहिलो चरणमा भेरीको पानी पम्पिङ गरेर ट्यांकीसम्म पु¥याउने । करिब ४ अर्बको टेन्डर भएको छ । पाइप गाड्ने, कन्ट्याक्टरसँग सम्झौता गर्ने काम भएको छ । साना ट्यांकी बनाउने काम सुरु भएको छ । मेन ट्यांकी र पम्पिङ गर्ने ठाउँ वन क्षेत्रमा पर्ने हुँदा वन क्षेत्रमा पर्ने संरचना बनाउनका लागि नेपाल सरकारबाट भोगाधिकार पाइसकियो । अब रूख काट्न सुरु हुन्छ । भेरी पम्पिङ खानेपानी आयोजना बनेपछि ९० लाख लिटर खानेपानी रिजर्भ गर्ने ट्यांकी र पम्पिङ गर्ने ठाउँलाई आधार मानेर शिलान्यास गरिनेछ । यस आयोजनाले वीरेन्द्रनगरका १३, १४ र १५ वडामा पनि एकीकृत खानेपानी सेवा पु¥याउने विषयमा अध्ययन भइरहेको छ ।
अनि, विद्युत्को समस्या कस्तो छ नि ?
विद्युत्को समस्या पनि मलाई लाग्छ अर्को वर्षसम्म समाधान हुन्छ । किनकि, कोहलपुर सुर्खेत १३२ केभी प्रसारण लाइन योजनाको धेरैजसो काम भइसकेको छ । निकुञ्जले रूख काट्न अनुमति दिन ढिलाइ गर्दा र बाँकेको नौवस्ता क्षेत्रमा स्थानीयले लाइन निर्माणमा अवरोध गरेपछि यति ढिला भएको हो । सुब्बाकुनामा सबस्टेसन बनिरहेको छ । यस वर्षसम्म वीरेन्द्रनगरमा विद्युत्को केही समस्या भोग्नुपरे पनि अर्को वर्षसम्म यो समस्या आउँदैन ।
पूर्वाधारमा मात्रै केन्द्रित हुँदा सामाजिक विकासका कार्यक्रम ओझेलमा परेका हुन् ?
त्यस्तो होइन, पूर्वाधार देखिने भएकाले नगरपालिका त्यसमै फोकस भएको हो कि भन्ने लागेको हुनसक्छ । महिला, दलित, जनजाति, एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकको सवालमा हामीले धेरै काम गरेका छौं । लक्षित वर्ग समुदायको मागमा आधारित सीप विकासका कार्यक्रम, आयआर्जनका कार्यक्रम नियमित सञ्चालन गरिरहेका छौं । स्वास्थ्यमा असाध्यै मन पराइएको र महिला दिदीबहिनीले नजिकबाट सेवा लिए । निःशुल्क स्यानिटरी प्याडले महिनावारी स्वच्छता बुझाउने प्रयास गरेको छ । हेलो गर्भवती आमा कार्यक्रम पनि प्रत्येक महिनामा सेड्युअल नै बनाएर स्वास्य संस्थामा चेकजाँच गर्न आउनेलाई सोधेको अवस्था छ । नगरपालिकाले सेफ हाउसको निर्माण गरेको छ । न्यायको प्रक्रियामा जाँदा पनि सुरक्षित बनाउन सकियोस् भनेर सेफ हाउस निर्माण गरिएको हो । बालमैत्री र वातावरणमैत्री नगरपालिका घोषणाका लागि प्रक्रिया अघि बढेको छ ।
निःशुल्क एम्बुलेन्स सेवा, ८० वर्षमाथिका ज्येष्ठ नागरिकको घरदैलो गरेर निःशुल्क चेकजाँच, नगर अस्पतालबाट पनि सुत्केरी पोषणका धेरै कार्यक्रम लागू गरिएको छ । करिब ९ सय जना अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । स्वास्थ्यमा सबैको पहुँच पु¥याउने यस्ता कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय पाठ्यक्रम लागू गरेका छौं । शिक्षिका भएका बेला सुत्केरीले तीन महिना बिदा बस्दा उहाँको ठाउँमा पढाउन लागि सट्टा शिक्षकको व्यवस्था गरेका छौं । अनलाइन कक्षा र सिकाइ आदानप्रदान गरेर शिक्षालाई गुणस्तरीय बनाउन प्रयास गरिरहेका छौं ।

हरित सहर योजना कहाँ पुग्यो ?
यो हाम्रो निरन्तर चलिरहेको योजना हो । सडक निर्माण गर्दा सडकको बीचमा बोटबिरुवा रोप्ने काम भइरहेको छ । गुलमोहर अढाई तीन वर्षमै फुलिरहेको देखिन्छ । गत सालसम्म साढे ७ हजार बिरुवा रोड साइडमा लगाएका छौं । यसलाई अहिले पनि निरन्तरता दिएका छौं । मंगलगढी–काँक्रेविहार सडकमा पनि रोपिएको छ ।
जलवायुमैत्री विकासको कुरालाई अवलम्बन गरिरहेका छौं । हाम्रा कृषि, पशुपालन व्यवस्थापनका कुरामा यी कुरा उठाउँछौं । कृषिलाई अर्गानिक बनाउने, फलफूल उत्पादनमा जोड दिने, आयात घटाउने, जति पनि निर्माण भएका सडक आसपासमा बिरुवा लगाउने, वातावरणमैत्री सहरको विकास गर्ने भनेर वडा नं ८ मा सुरु गर्दै छौं । वडा नं ५ घोषणा भइसकेको छ । हामीले भू–उपयोग नीति, सडक गुरुयोजना बनाएका छौं । त्यही योजनाअनुसार निर्माण संरचना बनाउने गरिएको छ । खोला किनारमा संरचना बनाउँदा दायाँ–बायाँ ६ मिटर भाग छाडेर संरचना निर्माण गर्ने कुरामा कडाइ गरिएको छ । नक्सा पास गर्दा त्यसलाई ख्याल गर्ने गरिएको छ । मालपोत र नापी कार्यालयले पनि वीरेन्द्रनगरको यस नीतिलाई लागू गरेको अवस्था छ । यसले गर्दा बस्ती विकासलाई सहज भएको छ । पुरानो घडेरीका लागि ८ मिटरको सडक र नयाँ घडेरीका लागि १० मिटरको सडक अनिवार्य हुनुपर्ने नीति बनाइएको छ ।
विकासले उपमहानगरको लय समातेको छ, अब घोषणाचाहिँ कहिले हुन्छ ?
कर्णाली प्रदेशमा एउटा पनि उपमहानगरपालिका छैन । यहाँ उपमहानगर घोषणाका लागि पर्याप्त मापदण्ड छन् । जनसंख्या, राजस्व, यातायातको मापदण्ड पुग्छ । साथै विश्वविद्यालय, प्रदेश अस्पताल, रंगशालाजस्ता ठूला पूर्वाधारहरू छन् । सडक, शिक्षा, सञ्चारका सबै संरचना पर्याप्त छन् । २०७३ सालमा घोषणा गर्दा कतिपय स्थानीय तहका मापदण्ड नपुगे पनि भविष्यमा पुग्छ भनेर घोषणा गरिएको थियो । त्यतिबेला यसलाई उपमहानगर घोषणा गरिएन । अहिले सबै मापदण्ड हामीले पूरा गरेको अवस्था छ । यो प्रदेश राजधानी पनि हो । हामीले प्रदेश सरकारलाई उपमहानगर घोषणाका लागि सबै मापदण्ड पूरा गरेको प्रतिवेदन प्रदेश सरकारलाई बुझाएका छौं । प्रदेश सरकारमार्फत संघीय सरकारलाई पठाउनुपर्छ । नगरपालिका स्थापना भएको ४९ वर्षमा हामी स्तरोन्नति गर्ने प्रक्रियामा पुगेका छौं । संघीय सरकारले निर्णय गर्न बाँकी छ । वीरेन्द्रनगर पश्चिम नेपालकै सम्भावना भएको सहर हो । विकासको राम्रो लय समाएको छ । कर्णाली प्रदेशको प्रवेशद्वार त हो नै ।
(Visited 8 times, 1 visits today)
