वीपीको सालिकमा मोसो: अफवाह सूचनाले सञ्जाल ‘आतङ्कित’


राजावादीहरूले शनिबार राति निकालेको राँके जुलुसका क्रममा नेपालगन्ज वीपी चोकस्थित प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक स्वर्गीय नेता वीपी कोइरालाको सालिक कालो वस्त्रले छोपेको र शालिकमाथि सामान्य तोडफोड भएको भन्दै यतिबेला सामाजिक सञ्जालमा चर्को आलोचनासहितको ‘आतंक’ फैलिएको छ।

नेपाली कांग्रेस पार्टी, नेकपा एमालेका महासचिव शङ्कर पोखरेलदेखि जिल्ला स्तरीय पार्टीका जिम्मेवार नेतादेखि नागरिक अगुवाको परिचय बनाएका व्यक्तिसम्मले उक्त कार्यको विरोध गरेका छन्। तर, उनीहरुले तथ्यभन्दा सामाजिक सञ्जालप्रति विश्वास गर्दा आफैँ आलोचित बन्नुपर्ने अवस्था सिर्जना भएको छ।

अर्थात्, वीपीको सालिकमा तोडफोड भएको पनि थिएन र नियतवश कालो वस्त्र पनि लगाइएको होइन। त्यसो भए वीपीको सालिकमा लगाएको कालो वस्त्र के हो त ? अब यसलाई तथ्यमा पढौँ।

तीनकुनेमा भएको हिंसात्मक आन्दोलनलाई उक्साएको भन्दै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलमशेर राणालगायतका नेता तथा कार्यकर्तालाई रिहाइ माग गर्दै शनिबार राति वीपीचोकमा राँके जुलुस निकालियो।

जहाँ, प्रधानमन्त्रीलगायत व्यक्तिको पुत्लादहन हुन सक्ने भन्दै बाँके प्रहरी चनाखो थियो अर्थात् पुत्लादहन गर्न नदिने र गरिहाले भने छिनभरमै आगो निभाउने र राँकाहरू तत्काल निभाउने प्रहरी रणनीति थियो। सोही अनुसार सुतलाका बोरालाई पानीमा भिजाएर प्रहरीले राँके जुलुस स्थलतर्फ लिएको थियो।

प्रहरी र राजावादी समूहबिच राँको तानातान भएको दृश्य सार्वजनिक एउटा भिडियोमा पनि देखिन्छ। सोही क्रममा उक्त बोरा प्रहरी र प्रदर्शनकारीबिच तानातान हुँदा उछिट्टिएर सीधै वीपीको सालिक ढोगिने पुग्यो। जुन नियतवश थिएन।

उक्त बोरा प्रहरीले एक मिनेट नहुँदै निकाल्यो। त्यही एक मिनेट भित्रमा कुनै एक जनाले तस्बिर खिचे र राजावादीले वीपीको सालिकमा कालो कपडाले छोपे भन्दै सामाजिक सञ्जालमा हाले। अनि सुरु भयो, सामाजिक सञ्जाल ‘आतंक’। सामाजिक सञ्जालभरि त्यही एउटै तस्बिर अहिले यत्रतत्र छ।

वीपीको सालिक हेर्दा त्यहाँ कुनै तोडफोड भएको देखिँदैन। तर, सामाजिक सञ्जालभरि हावा फैलियो कि, राजावादीले वीपीमाथि हमला गरे।

एक पटक पढौँ नेपाली कांग्रेसले यही विषयलाई लिएर निकालेको विज्ञप्ति

२०८१ चैत २३ गते शनिबार साँझ नेपालगन्ज वीपी चोकस्थित महामानव वीपी कोइरालाको सालिकमा कालो पोत्ने, कालो कपडाले ढाक्ने जस्ता अमानवीय, असहिष्णु र असभ्य हर्कत देखाएकोप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ।

आन्दोलनका नाममा देखाइएको अराजकता र उद्दण्डताको जति नै निन्दा गरे पनि कम हुन्छ। यस्तो हर्कतको नेपाली कांग्रेस बाँके कडा शब्दमा निन्दा गर्दै घोर भर्त्सना गर्दछ।

राजावादीहरूले निकालेको राँके जुलुसका क्रममा प्रहरी प्रशासनकै बाक्लो उपस्थितिका बीच उक्त अशोभनीय र निन्दनीय घटना भएकाले घटनामा संलग्न अराजक समूहलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न नेपाली कांग्रेस बाँके प्रशासनसमक्ष जोडदार माग गर्दछ।

लोकतन्त्रमा आफ्ना विचार, भावना र अभिव्यक्ति राख्ने तथा शान्तिपूर्ण आन्दोलन गर्ने छुट भए पनि अराजकता र उच्छृङ्खलता सह्य हुन सक्दैन। लोकतन्त्रको विकल्प ‘उन्नत लोकतन्त्र’ नै हो भन्ने मान्यतामा अडिग सबैभन्दा ठूलो र पुरानो पार्टी नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जन निर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको सालिकप्रति नै गिद्धे नजर लगाउने र हताश मानसिकताको उपजस्वरुप गरिएको उक्त निन्दनीय र उपद्रो कार्य गर्ने विरुद्ध कारबाहीका लागि तदारुकता नदेखाइए नेपाली कांग्रेस बाँके कडा ढंगले प्रस्तुत हुन बाध्य हुनेछ।

अब हेरौं सामाजिक सञ्जालमा आएका प्रतिक्रिया

शङ्कर पोखरेल

महासचिव, नेकपा एमाले

‘राजतन्त्र होइन, राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा हो राप्रपा’ भन्नेहरूले नेपालगन्जमा वीपीको सालिकमा कालो मोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन्। अब आफैँ बुझ्नुहोस् राजावादीहरू के चाहन्छन् ?

आन्दोलनका संयोजक धवल शमशेरको गृह नगरीबाट दिएको सन्देश हो कांग्रेसभित्रका संवैधानिक राजसंस्थाका हिमायतीहरूलाई। त्यसैले ‘नेपालमा लोकतन्त्र र राजसंस्थासँगै जान सक्दछ’ भन्नेहरूले बुझ्नु पर्दछ पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए वीपी पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो। किनकि वीपीको समयमा वीपीभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला।

डिल्ली बिसी

राजनीति सालिकमा हैन। शालीन भएर राजनीति गर पुनरूत्थानवादीहरू। प्रश्न, हिजोको बदला आज भन्यौँ भने तिम्रो तन्त्र, ‘वंश मन्त्र’ थियो। अरूले ‘जनको सर्वोच्च’ मान्छन्। जसको सालिकमा बदला भावको प्रतिशोध गर्दैछौं र गर्नेछौं यस्तै गरे तिम्रो वंशतन्त्र सोचसमेत ओलप्पेला।

ललित रौनियार

प्रहरी र प्रशासनको उपस्थितिमा आन्दोलनको नाममा अराजक गतिविधि गर्ने अधिकार कसैलाई पनि छैन। नेपालको प्रजातान्त्रिक आन्दोलनको युग पुरुष, नेपाली जनतालाई रैतीबाट नागरिकमा परिणत गराउने महामानव वीपी कोइरालाको सालिकसँग नेपालगन्जमा गरिएको दुर्व्यवहार अत्यन्तै खेदजनक छ।

यसका दोषीहरूलाई कडा कारबाहीको माग गर्दछु। वर्तमानमा नेता र पार्टीले पनि वीपी कोइरालाले देखाएको मार्ग बिराएकै हुन जसले गर्दा जनमानसमा पार्टी र नेताहरूप्रति वितृष्णा जागेको छ। यो समस्या मात्रै नेपाली कांग्रेसमा छैन, सबै दलमा छ। त्यसकारण यदि यही स्थिति रहिरहने हो र नेताहरू सच्चिन सकेनन् भने परिस्थिति फरक हुन सक्छ।

अधिकांशले कपि गरेर हालेको स्ट्याटस

आफूलाई मान्छे भन्नेले मान्छेलाई हेला गर्दैन। नेपालगन्जमा हिजो निकालिएको जुलुसको क्रममा भएका राजतन्त्रवादीहरूको यो उद्दण्डताको घोर निन्दा गर्छु। समग्र लोकतन्त्रवादी र गणतन्त्रवादीहरूले यस्ता अराजक समूहको गलत मनसायलाई विफल पार्न आह्वान गर्दै यो वा त्यो बहानामा नेपालगन्जलाई अशान्त बनाउने, हिंसातर्फ धकेल्न खोज्ने यस्ता आपराधिक तत्त्वहरूलाई सम्बन्धित निकायले कानूनको दायरामा ल्याई कारबाहीको माग गर्दछु।

सामाजिक सञ्जाल फेसबुकलगायतमा भर पर्दा कसरी तथ्य बाङ्गिँदो रहेछ भन्ने यो एउटा गतिलो उदाहरण हो। 

राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाको भनाइ हेरौं

राप्रपा कुनै इतिहास मेटाउने पार्टी होइन संरक्षण र संवर्द्धन गर्ने पार्टी हो। त्यसमा अझ वीपीलाई त राप्रपा आदर्शका रुपमा मान्दछ। वीपीको अनुहारमा कपडा छोपिएको विषयलाई अतिरञ्जित गर्नुभन्दा पहिले यथार्थ बुझौँ।

राप्रपाका महामन्त्री तथा माननीय डा.धवल शम्शेर राणाको रिहाइको माग गर्दै गरिएको राँके जुलुसमा प्रहरीले राँको निभाउन प्रयोग गरेको पानीमा भिजाएको जुटको बोरा तानातान गर्दा उछिट्टिएर वीपीको तस्बिरमा गएको त्यसपछि प्रहरीले तुरुन्तै सजिलै निकालेको हो। त्यो भिडियोमा पनि देख्न सकिन्छ।

नेकपा एमालेका महासचिव शङ्कर पोख्रेललाई मेरो सुझाव लोकप्रियताका नाममा सस्तो, हल्का र भडकाव नबन्नुस् आफ्नो चिन्ता लिनुस् कांग्रेसलाई उकासेर राप्रपालाई गलत देखाएर तपाईंको केपी नेतृत्वको सरकारका गलत र अत्याचारका क्रियाकलाप छोपिँदैनन्, छर्लङ्ग छन्।

कांग्रेस राजावादी भइदिन्छ कि या त राप्रपा वीपीलाई सम्मान गरिदिन्छ कि भन्ने तपाईंको भय र त्रास व्याप्त देखियो। तपाईं जस्तो विदेशी माऔं, लेनिन र स्टालिनलाई पूजा गर्ने र नेपालका इतिहास तोडफोड गरी ध्वंस पार्ने पार्टी होइनौँ हामी। कांग्रेस र राप्रपा आफ्नै माटोमा जन्मेका हुर्केका वीपीका विचारलाई आदर्श मानेर हिँडेका छौं। कमरेड पोख्रेल देश लथालिङ्ग छ, त्यता ध्यान दिनुस्।

राप्रपाको स्पष्टोक्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कार्य समितिको आह्वानमा वीपी चौकमा भएको राँके जुलुस कार्यक्रममा निर्वाचित पूर्वप्रधानमन्त्री स्वर्गीय वीपी कोइरालाको सालिकमा कपडाले मुख छोपिएको तस्बिर भाइरल भएकोले उक्त तस्बिर हेर्दा नगर कार्य समितिको ध्यानाकर्षण भएको छ।

हामीले हाम्रो नेताहरुको रिहाइको मागको लागि मात्र गरिएको राँके जुलुसमा प्रहरीद्वारा गरिएको हस्तक्षेपमा नमालुम भवितव्यरुपमा कहाँ कसरी उक्त घटना भएको हो।

हाम्रो मनसाय कुनै पनि राजनीतिक दल र व्यक्ति विशेषलाई होच्याउने नभएको हुँदा सबैका आस्थाका केन्द्र देशका नेता तथा जन निर्वाचित पूर्वप्रधानमन्त्री वीपी कोइराला हामी सबैका जनप्रिय नेताप्रति हाम्रो सधैँ सम्मान र विश्वास रहेको छ र रही रहने छ।

उक्त भवितव्य घटनाबाट कुनै पनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामीलगायत नगर कार्य समिति क्षमा प्रार्थी छौं।

के भन्छ प्रहरी ?

दिपक पातली

प्रवक्ता एवम् डिएसपी, बाँके

राजावादीकै समूहले उक्त कपडा सालिकमा राखेको पुष्टि भएको छैन। प्रहरी आफैँले पानीमा भिजाएर बोरा लगेको थियो। प्रदर्शनकारी र प्रहरीबिच तानातान हुँदा उछिट्टिएको हो। हामीले तत्कालै उक्त कपडा निकाली सकेका छौं। आन्दोलनकारीबाट त्यस्तो भएको होइन, छैन। सालिक पनि तोडफोड भएको होइन। यो अतिरञ्जित बनाइएको छ। त्यस्तो होइन।

प्रकाशित: २४ चैत्र २०८१ १४:४८ आइतबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School