विश्व अर्थतन्त्र बिथोल्दै अमेरिका-चीन व्यापार युद्ध


चीनमाथि अमेरिकी कर १२५ प्रतिशत पुर्‍याइएपछि दुई देशबिच व्यापार युद्ध चर्किने र यसको प्रभाव विश्वव्यापी हुने देखिएको छ।

यसअघि चिनियाँ सामानमा अमेरिकाले २० प्रतिशत कर लगाएकोमा गत साता मात्रै राष्ट्रपति डोनल्ड ट्रम्पले थप ३४ प्रतिशत कर लगाउने घोषणा गरेका थिए। यो घोषणा अप्रिल ९ देखि लागु हुने भनिएको थियो तर यो व्यवस्था लागु हुनुभन्दा केही घण्टाअघि ट्रम्पले ५० प्रतिशत कर अझै थप गर्ने घोषणा गरे। यसरी चिनियाँ सामानको आयातमा कुल अमेरिकी कर १२५ प्रतिशत पुगेको छ।

यसको प्रत्युत्तरमा चीनले बुधबार अमेरिकी वस्तुहरूमाथिको कर ५० प्रतिशतबाट बढाएर ८४ प्रतिशतमा पुर्‍याएको छ। ट्रम्पले विश्वका अन्य कतिपय देशका लागि पनि पारस्परिक कर (रेसिप्रोकल) लगाउने घोषणा अप्रिल २ मा गरेका थिए।

ट्रम्पको यो कर प्रावधानले विश्व नै आर्थिक मन्दीतर्फ उन्मुख हुने आकलन गरिएको थियो। तर बुधबार अकस्मात् उनले चीनबाहेक अन्य राष्ट्रलाई लगाउने भनिएको पारस्परिक करलाई ९० दिनसम्म रोक्ने र तत्काललाई १० प्रतिशत कायम गर्ने घोषणा गरेका छन्। ट्रम्पको अचानक निर्णय परिवर्तनले अमेरिकी सेयर बजारमा बुधबारको कारोबारमा ऐतिहासिक उछाल देखिएको छ। तत्काललाई पारस्परिक कर नलगाउने घोषणाले अन्य देशहरूले राहतको सास फेरेका छन्।

ट्रम्पको यो घोषणापछि अमेरिका र एसियाली सेयर बजारहरूमा राम्रो वृद्धि देखिएको छ। अमेरिकी सेयर बजारको सूचकांक एसएन्डपी (५००) मा ९.५ प्रतिशत, नासड्याकमा १२.२ प्रतिशत र डाउ जोन्समा ७.९ प्रतिशतले बढोत्तरी देखिएको छ।

यसैगरी एसियाली बजारहरूमा जापानको निक्की (२२५) मा ८.६ प्रतिशतले दक्षिण कोरियाको कोस्पीमा ४.८ प्रतिशतले, ताइवानको ताइएक्समा ९.३ प्रतिशतले र अस्ट्रेलियाको एएसएक्स (२००) मा ५ प्रतिशतले बढोत्तरी देखिएको छ। सेयर बजारका जानकारहरूका अनुसार ट्रम्पले दिएको यो राहतले बजारको भावनालाई ‘डरबाट उत्साह’मा परिवर्तन गरेको छ। यद्यपि खतरा अझै टरेको छैन।

विशेषगरी विश्वका दुई ठुला अर्थतन्त्र चीन र अमेरिकाबिच टकराव बढेको छ।

ट्रम्पको ताजा घोषणाप्रति चीनले ‘चुपचाप’ नबस्ने बताएको छ। चीनको सरकारी मिडिया सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘जब आफ्ना जनताको वैध अधिकार र हितमा चोट पुर्‍याइन्छ, चीन सरकार चुपचाप बस्नेछैन।’

अमेरिका र चीनबिचको द्विपक्षीय व्यापार गत वर्ष करिब पाँच सय ८५ अर्ब डलर थियो। अमेरिकाले चीनबाट चार सय ४० अर्ब डलर बराबरको आयात गरेको थियो भने चीनले अमेरिकाबाट एक सय ४५ अर्ब डलर बराबरको आयात गरेको थियो।

त्यसो त पहिलो पटक राष्ट्रपति हुँदा पनि ट्रम्पले चिनियाँ वस्तुहरूमा भारी कर लगाएका थिए। उनका उत्तराधिकारी राष्ट्रपति जो बाइडेनले यी करलाई कायम राखेका थिए। यिनै करका कारण अमेरिकी आयातमा चीनको योगदानमा कमी आएको थियो।

सन् २०१६ मा कुल अमेरिकी आयातको २१ प्रतिशत हिस्सा चीनले लिएको थियो तर गत वर्ष यो घटेर १३ प्रतिशतमा खुम्चिएको थियो। त्यसैले व्यापारमा चीनमाथि रहेको अमेरिकी निर्भरता पछिल्लो एक दशकमा कमी आएको छ।

कतिपय विश्लेषकहरूका अनुसार अमेरिकामा हुने चिनियाँ सामानका कतिपय निर्यातहरू दक्षिण पूर्वी एसियाली देशहरूमार्फत हुने गरेका छन्। उदाहरणका लागि ट्रम्पले चीनबाट आयात हुने सोलार प्यानलमा सन् २०१८ मा ३० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। तर अमेरिकी वाणिज्य विभागले २०२३ मा जनाए अनुसार चीनका सोलार प्यानल निर्माताहरूले मलेसिया, थाइल्यान्ड, कम्बोडिया, भियतनाम जस्ता देशहरूमा आफ्नो एसेम्बली स्थापना गरिसकेका थिए र ती देशहरूको बाटो हुँदै उत्पादनहरू अमेरिका पठाइएका थिए। यसरी चीनका कम्पनीहरू करको प्रभावबाट बच्न सफल भएका थिए।

सन् २०२४ मा अमेरिकाबाट चीनमा निर्यात हुने मुख्य वस्तुहरूमा सोयाबिन, फर्मास्युटिकल्स र पेट्रोलियम पदार्थहरू पर्छन् भने चीनबाट अमेरिकामा निर्यात हुने सामानमा ठुलो मात्रामा इलेक्ट्रोनिक्स, कम्प्युटर र खेलौनाहरू छन्। इलेक्ट्रिक गाडीहरूका लागि आवश्यक ब्याट्रीको ठुलो हिस्सा पनि चीनले निर्यात गर्छ। चीनबाट अमेरिकामा हुने कुल निर्यातको ९ प्रतिशत हिस्सा स्मार्टफोनले लिएको छ।

यी स्मार्टफोनहरूको ठुलो हिस्सा अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलका लागि बनाइन्छ। यही कारणले चीनमाथि अमेरिकी कर लगाइएपछि पछिल्ला साताहरूमा एप्पलको सेयर बजारको मूल्य सबैभन्दा बढी घटेको छ। गत एक महिनामा मात्रै यसको सेयरमा २० प्रतिशतसम्म गिरावट आएको छ।

पहिलो कार्यकालमा ट्रम्पले चीनलाई २० प्रतिशत कर लगाएपछि अमेरिकामा चीनबाट आयातित सामानको मूल्य ह्वात्तै बढेको थियो। अब आएर सबै चिनियाँ वस्तुहरूमा १२५ प्रतिशत कर लाग्दा अमेरिकामा यसको असर धेरै गुणा बढी हुने विश्लेषकहरू बताउँछन्। यही स्थिति चिनियाँ उपभोक्ताले बेहोर्नुपर्ने देखिएको छ।

अमेरिकी निर्यातमा जवाफी कर लगाउँदा चीनमा पनि कतिपय सामग्रीको मूल्य बढ्नेछ र चीनका उपभोक्ताहरूमा यसको प्रत्यक्ष मारमा पर्नेछ। तर करका प्रावधानबाहेक अन्य माध्यमबाट यी दुई देशसँग एकअर्कालाई नोक्सान पुर्‍याउने अन्य उपायहरू पनि छन्।

 उदाहरणका लागि अमेरिकी उद्योगहरूका लागि आवश्यक पर्ने तामादेखि लिथियमजस्ता धातु रिफाइन गर्ने कार्यमा चीनको मुख्य भूमिका छ। बेइजिङले यी धातुहरूलाई अमेरिका पुग्न बाधा पुर्‍याउन सक्छ। यसअघि नै चीनले जर्मेनियम र ग्यालियम जस्ता दुई धातुमा यस प्रकारको अवरोध गरिसकेको छ। यी दुवै धातु सेनाले थर्मल इमेजिङका लागि प्रयोग गरिन्छ।

यसैगरी पूर्वराष्ट्रपति जो बाइडेनले सुरु गरेको ‘टेक्नोलोजिकल ब्लकेड’लाई अमेरिकालले अझ कडा पार्न सक्ने देखिएको छ। यसो गर्दा चीनलाई ‘एडभान्स्ड माइक्रोचिप्स’ आयात गर्न अझ कठिनाइ हुन सक्छ। यी सामग्री आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता एप्लिकेसनहरूका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। चीनले यस्ता सामग्री अझै आफैंले बनाउन सकेको छैन।

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आइएमएफका अनुसार यस वर्ष कुल विश्वव्यापी अर्थतन्त्रमा अमेरिका र चीनको अर्थतन्त्रको हिस्सा करिब ४३ प्रतिशत छ। यदि यी दुवै देशबिच व्यापक व्यापार युद्ध भयो भने यसले दुवैको विकास दरलाई सुस्त बनाउनेछ अथवा उनीहरूलाई मन्दीतर्फ धकेल्न सक्छ। यसबाट उत्पन्न सुस्त विश्वव्यापी विकास दरले अन्य देशका अर्थतन्त्रलाई पनि नोक्सान पुग्नेछ। विश्वव्यापी लगानीमा पनि नकारात्मक असर पर्ने विज्ञहरू ठान्छन्।

यसैगरी यो सम्भावित व्यापार युद्धका अन्य खतरा पनि छन्। विभिन्न वस्तुको विश्वको सबैभन्दा ठुलो उत्पादक राष्ट्र चीन हो र यसले घरेलु मागभन्दा धेरै ठुलो स्तरमा विभिन्न वस्तुको उत्पादन गर्छ। चीनले घरेलु सहुलियत र मन पर्ने कम्पनीहरूलाई कम ब्याजमा ऋण दिएर सस्तो हिसाबले वस्तुहरूको उत्पादन गर्छ। स्टिल यसको एक उदाहरण हो।

अब यस्ता उत्पादन अमेरिका नपठाइएको अवस्थामा चीनका कम्पनीहरूले तिनीहरूलाई अन्य देशहरूमा ‘डम्प’ गर्न सक्छन्। एकातिर यो आम उपभोक्ताका लागि लाभदायक हुन सक्छ तर यो डम्पिङले ती देशका उद्योगहरूलाई नराम्रो असर पर्नेछ। यसले त्यहाँ रोजगारी गुम्नेछ र बेरोजगारी बढ्नेछ। चीन र अमेरिकाबिच खुला व्यापार युद्धको क्षति विश्वव्यापी स्तरमा हुनेछ।  (बिबिसीमा आधारित)

प्रकाशित: २९ चैत्र २०८१ ०७:३५ शुक्रबार





Source link

Leave a Comment