विश्वासको पर्याय नेपाली सेना


नेपाली सेनाले स्थापनाकालदेखि नै नेपाल र नेपाली जनताको रक्षार्थ अतुलनीय योगदान पुर्‍याउँदै आएको छ। देश र जनताका लागि आइपर्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्नका लागि सक्षम र तयारी अवस्थामा सदैव नेपाली सेना रहेको छ।

सेनाले राष्ट्र र जनतालाई हुने बाह्य आक्रमणबाट रक्षा मात्र नभई आन्तरिक सुरक्षा, राष्ट्रिय विकास, अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनामा र नेपालीहरूका हरेक आपत् विपद््का यावत घटनाहरूमा समेत मलम लगाउँदै आएको छ। अझ भनौं, सेना नेपाली जनताको दुःखको सारथि बनेको छ।

विदेशमा पुगेर शान्ति स्थापनाका लागि गरेको कार्यले समेत नेपाल र नेपालीको शिरलाई थप उचाइमा पुर्‍याउने कार्यमा समेत सेना तल्लीन देखिन्छ। द्वन्द्वग्रस्त मुलुक लेबनानमा पहिलो पटक पाँच जना सैन्य पर्यवेक्षक पठाएर शान्ति मिसनमा प्रवेश गरेको नेपाली सेनाको कार्यकुशलताका कारण निरन्तर रूपमा सहभागी हुँदै आएको छ। यस अभियानमा सबैभन्दा धेरै सैनिक पठाउनेमा बंगलादेशपछि नेपालको नाम आउनुले सिंगो नेपाल र नेपालीका लागि गौरवको विषय बनेको छ।

सेनाले राष्ट्रसंघको आह्वानमा लेबनान, इजरायल, सिरिया, पश्चिम सहारा, कंगो, इराक, लिबिया, यमन, सुडान, मालीलगायतका मुलुकमा खटेर राष्ट्रसंघको उद्देश्यअनुरूपको शान्ति स्थापना कार्यमा कार्यकुशलता एवं उत्कृष्ट क्षमता प्रमाणित गराइसकेको छ।

नेपालमा भएका विभिन्न द्वन्द्वहरूमा संविधानले दिएको अधिकारलाई आत्मसाथ गर्दै सेनाले जनताको सुरक्षार्थ कार्य गरेको थियो। द्वन्द्वकालमा भएका कतिपय घटनामा सत्ताको दाउपेचमा रहेका राजनीतिक दलहरूले सेनाप्रति हिलो छेप्ने कार्य गर्न खोजे तापनि सेनाले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि महत्त्वपूर्ण खम्बा बनेर उभिएको इतिहास हाम्रा सामु ताजै छ।

सेनाले आफ्नो राजनीतिमुक्त चरित्र, मौलिक मूल्यमान्यता, लोभलाग्दो अनुशासित संस्कार र मर्यादित संगठनका रूपमा जीवित रहन सक्षम र प्रक्रियागत नेतृत्व हस्तान्तरण र सैनिकहरूको कल्याणकारी कार्यको निरन्तरताजस्ता पक्ष महत्त्वपूर्ण रहेका छन्। नेपाल राष्ट्र निर्माणकै क्रममा महत्त्वपूर्ण र अतुलनीय योगदान पुर्‍याएको सेना नेपालकै जेठो संस्था पनि हो।

आधुनिक परिवेशमा संगठन वा मुलुकमा उत्पन्न चुनौती र समस्यालाई सहजै पार लगाउन सक्ने क्षमता सेनासँग मात्र रहेको पाइन्छ। सेनाले आफ्नो बजेटको केही हिस्सा रकम लोककल्याणकारी कार्यमा समेत योगदान पुर्‍याउने गरेको छ।

आम जनताको शिक्षा, स्वास्थ्य उद्धार, औषधी वितरण, गाउँ गाउँमा विद्यालयका भवन निर्माण, अत्यावश्यक सामग्रीहरूको सहज आपूर्तिलगायत कार्यमा सदैव तल्लीन देखिन्छ। शिक्षामा सबै नागरिकको पहुँच पुर्‍याउने र गुणस्तरीय र सुलभ शिक्षाका लागि आफैं विद्यालयको स्थापनाले जनताका थप विश्वास जित्न सफल भएको छ।

यसका साथै प्राकृतिक स्रोतको संरक्षण विशेषतः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापन, भौतिक पूर्वाधार विकासअन्तर्गत राजमार्ग तथा सडक निर्माणका कार्यमा पनि सेना जनतासँग प्रत्यक्ष जोडिने गरेको छ। बर्सेनि जाने बाढी, पहिरो र डुबानबाट क्षतिग्रस्त सडक सञ्जाललाई तत्कालै खुलाएर यात्रुलाई सहज रूपमा गन्तव्यमा पठाउने कार्यमा समेत सेना तल्लीन देखिन्छ।

नेपाली सेनाले कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ सडक आयोजना, उत्तर दक्षिण कोशी सडक खाँदबारी किमाथांका, दार्चुला–टिंकर सडक आयोजना, महादेवटार सुरुङ, धेद्रे सुरुङ, लेनडाँडा सुरुङ, देवीचौर सुरुङ, सिसौटार सुरुङ, चन्द्राम भिर सुरुङ र मौरी भिर सुरुङ आयोजनाको कामलाई तीव्र रूपमा अगाडि बढाइरहेको छ।

यस्तै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई÷मधेस द्रूतमार्गको कामलाई तीव्र गतिमा अघि बढिरहेको छ भने दुर्गम जिल्लाका सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने कार्यमा पनि नेपाली सेनाको योगदान महत्त्वपूर्ण रहेको छ।

नेपाल प्राकृतिक प्रकोपका कारण विविध प्रकारका विपद्हरूको जोखिममा रहेकाले हरेक वर्ष औसत पाँच सय विविध विपद्का घटनाहरू हुने गरेको अध्ययनले देखाएका छन्। पूर्व जानकारीबिना नै आउने विपद् र प्रकोपको जोखिमलाई न्यूनीकरण गर्न र यसबाट भविष्यमा हुने धनजनको क्षतिमा कमी ल्याउने र प्रतिकूल समयमा पनि जनतालाई अप्ठ्यारो परेको सूचना पाउँदासाथ सेना आफ्नो जिम्मेवारीमा कटिबद्ध रहँदै आएको छ।

नेपालमा जाने ठुला भूकम्पबाट हुने क्षति, महामारी संक्रमण, बर्सेनि आउने बाढीपहिरो र डुबान, हवाई तथा सडक दुर्घटना, हिमपहिरो, आगलागीलगायत थुप्रै घटनामा सदैव नेपाली सेना अग्रस्थानमा जनताको समस्यालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ।

२०७२ सालको विनाशकारी महाभूकम्पबाट पीडित हजारौं नागरिकलाई खानपान, वासस्थान तथा सुरक्षित स्थानमा लैजाने कार्यमा सेना अग्रणी स्थानमा रहेको थियो। २०४५ सालमा गएको भूकम्प र २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा सेनाले राष्ट्रिय विपद् प्रतिकार्यको ढाँचाअनुसार सम्पूर्ण पक्षहरूसँग सहयोग र समन्वयमा तल्लो तहसम्म आफ्नो पहुँच पुर्‍याई प्रभावकारी उपस्थितिसहित खोज, उद्धार तथा राहत कार्य सञ्चालन गर्न नेपाली सेनाले अपरेसन ‘संकट मोचन’ सञ्चालन गरी उद्धारमा खटिएको थियो।

 जनताको रक्षाका लागि कार्य गर्ने क्रममा भूकम्पबाट नेपाली सेनाका १२ जना सकलदर्जाको दुःखद् निधन, १० जना सम्पर्कविहीन, ९९ जना घाइते, बहालवाला सैनिक परिवारका तर्फबाट दुई सय ७१ जनाको निधन र ११ सय नौ ब्यारेक संरचना ध्वस्त भएका थिए। आफ्नै संगठनभित्रको क्षतिका हुँदा पनि देश र जनताको सेवामा अहोरात्र ‘रक्षा आनन्द आराम आफ्ना निम्ति सधैं पछि’ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै देखाएको कार्य देश र जनताका लागि अविस्मरणीय छ।

भूकम्पको भग्नावशेषमा पुरिएका ससाना बालबालिकाको जीवितै उद्धार र सामाजिक सञ्जालमा सेनाले उद्धार गरेका तस्बिरले आमनेपालीको मन कटक्कै खाएको थियो। भूकम्पबाट ध्वस्त संरचनाको पुनर्निर्माण र बाटो खुलाउने कार्यसमेत जिम्मेवारीसाथ निभाएको थियो।

कोरोना संक्रमण प्रकोपको रोकथाम, प्रतिकार्य र नियन्त्रणका लागि सेनाले पुर्‍याएको योगदान बिर्सन सकिन्न। महामारी नियन्त्रणका लागि सेनाले तत्काल क्वारेन्टिन, आइसोलेसन तथा हेल्थ डेस्क र होल्डिङ एरिया सुरक्षार्थ, विभिन्न स्कर्टिङ, हवाई तथा जमिनबाट स्वास्थ्य सामग्री ढुवानी, स्वाब संकलन र शव व्यवस्थापनमा सक्रियतापूर्वक कार्य सफल गरेको थियो। कोभिड समयमा विदेशबाट आउने नागरिकको उद्धार, आइसोलेसन कक्षको व्यवस्थापन, शव व्यवस्थापन र होल्डिङ सेन्टर लगायत कार्यले आम नेपालीको मन जितेको थियो।

नेपाली समाजमा ‘जिउँदाको जन्ती मर्दाको मलामी’ भन्ने भनाइ प्रख्यात छ। अर्थात् समाज र गाउँमा बसेका छरछिमेकी नै हरेक सुख र दुःखमा चाहिन्छन्। तर, कोभिड १९ महामारीको समयमा त्यस्तो भएन। संक्रमितलाई छुनसमेत नहुने परिस्थितिमा हजारौंले आफन्त गुमाए।

 कोरोना महामारीकालमा आँखैअगाडि परिवारका आफन्त गुमाएर शवसमेत व्यवस्थापन गर्न नसकेको अवस्थामा सेनाले शव व्यवस्थापनमा देखाएको निडर भावनाले जनतामा सेनाप्रति विश्वास थपिएको पाइन्छ। आफ्नै परिवारमा समेत पीडाको अवस्था हुँदा जनताको पीडामा मलम लगाउने सेनाले विभिन्न विपद्का घटनामा आफूले पाउने तलब रकम कट्टा गरेर समेत देश र जनताका लागि सहयोग पुर्‍याएका उदाहरण पाइन्छन्। सेनाले आफ्ना विभिन्न संरचनामार्फत जनतासँग जोडिएर कार्य गर्दै आएको छ। सैनिक श्रीमती संघमार्फत समाज र गाउँका महिलालाई जोडेर जनता विविध समस्यामा समेत कार्य गरेको छ।

युवालाई गलत बाटो रोज्नबाट रोक्न, युवालाई अनुशासित बनाउन र राज्यप्रति उत्तरदायी बनाउन राष्ट्रिय सेवा दलको जिम्मेवारीसमेत राज्यले सेनालाई सुम्पिएको छ। सेवा दलमार्फत सेनाले विद्यालय र उच्च माध्यमिक तहमा जुनियर तालिम सञ्चालन गरेर सेनाको महत्त्व र राज्यलाई युवाले गर्नुपर्ने योगदानबारे प्रशिक्षित गर्दा युवापिँढीको पनि सेनाप्रतिको विश्वास अझ बढ्ने गरेको पाइन्छ।

सेनाले प्रत्येक वर्ष विभिन्न प्रतियोगिताको आयोजना गरी विभिन्न माध्यमबाट जनतालाई सेनासँग जोड्ने कार्यसमेत गर्दै आएको छ। यसअलवा नेपाली सेनाको भर्ना क्रममा हुने पारदर्शिता, निजामती कर्मचारीको तुलनामा यथेष्ट तालिम, देश र जनताप्रतिको बफादारी र सेनाको ‘चेन अफ कमान्ड’का कारण राज्यका सेना अन्य संगठनभन्दा  अनुशासित मानिन्छ।

शेयरकास्ट इनिसिएटिभले हालै गरेको एक सर्वेक्षणले राज्यका अन्य निकायका तुलनामा सेनाप्रति जनविश्वास बढ्दै गएको देखाएको छ। उक्त सर्वेक्षणका क्रममा प्रधानमन्त्री र संघीय सरकारप्रतिको विश्वास घटेको बताउनेहरूको संख्या धेरै छ भने नेपाली सेनाप्रतिको विश्वास बढेको छ। यद्यपि, स्थानीय सरकार भनिने स्थानीय तहका जनप्रतिनिधिप्रतिको नागरिक विश्वास भने बढेर गएको सर्वेक्षणले देखाएको छ।

उक्त सर्वेक्षणले नेपाली सेनाप्रति ४०.३ प्रतिशतले विश्वास बढेको बताउँदा ६.३ प्रतिशतले मात्रै घटेको बताएका छन्। यस्तै नेपाल प्रहरीप्रति ३५.१ प्रतिशतले विश्वास बढेको बताउँदा १७.५ प्रतिशतले घटेको बताएका छन्। त्यसैगरी, न्यायपालिकाप्रति २८.३ प्रतिशतले विश्वास बढेको र १५.२ प्रतिशतले विश्वास घटेको बताएका छन्।

राष्ट्रको गौरवशाली संगठनलाई नेतृत्व गरेर संगठनलाई अझ चुस्त बनाउने कार्यभार सेनाका प्रधानसेनापतिको जिम्मेवारी हो। गत भदौमा सेनाको नेतृत्व सम्हालेका अशोकराज सिग्देलले सेनाप्रति जनताको विश्वास थप बढाउने गरी कार्य गर्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय सुरक्षा, सांगठनिक सुदृढीकरण तथा व्यवस्थापन, अपरेसनल क्षमताको विकास, सैनिक सूचना प्रणालीको प्रभावकारिता, समयसापेक्ष तालिम तथा शिक्षा प्रणाली, सबल बन्दोबस्ती र कल्याणकारी कार्यको दिगोपना तथा सेवा विस्तारजस्ता महत्त्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राख्दै सातवटा लक्ष्यहरू समावेश गरी ‘प्रधान सेनापति कमान्ड मार्गनिर्देशन–२०८१’ जारी गरेर देशमा सेनाको थप प्रभावकारिता बढाउने घोषणासमेत गरिसकेका छन्।

 नेपालको संविधान, नेपाली सेना मूलग्रन्थ, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीतिलगायतलाई आधार मानी संगठनलाई अझ सुदृढीकरण गर्ने प्रधानसेनापति कटिबद्व देखिएका छन्। यसरी सेनाप्रमुखको योजनालाई आगामी दिनमा अझ सफल बनाउन सक्ने हो भने सेनाप्रति आम जनताको विश्वास थप बढाउन सकिनेछ।  

प्रकाशित: १४ फाल्गुन २०८१ ०९:४३ बुधबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School