विश्वभर रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह



प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार

विश्वभर रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

वाशिंगटन, डी. सी. मा रहेको अमेरिकी विदेश मन्त्रालयको भवनको लबीको प्रवेशद्वार । (सेर्कन गुर्बुज/विदेश मन्त्रालय)

अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिकहरूलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ।

मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकी विदेश मन्त्रालयले विश्वभर रहेका अमेरिकी नागरिकका लागि ‘अद्यावधिक सावधानी सूचना’ जारी गरेको हो।

मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको सन्देशमा विशेषगरी मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकीहरूलाई उच्च सतर्क रहन भनिएको छ। वक्तव्यमा भनिएको छ, “तनावका कारण समय–समयमा हवाई क्षेत्र बन्द हुन सक्ने र त्यसले यात्रा प्रभावित बनाउन सक्छ।”

मन्त्रालयले मध्यपूर्व बाहिरका क्षेत्रमा रहेका अमेरिकी कूटनीतिक नियोगहरू समेत लक्षित हुन सक्ने र इरान समर्थक समूहहरूले विश्वभर अमेरिकी नागरिक वा अमेरिकासँग सम्बन्धित स्थानहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ।

यसैबीच, लेबनानका राष्ट्रपति जोसेफ आउनले दक्षिणी लेबनानका पूर्वाधार र महत्त्वपूर्ण संरचनाहरूमा गरिएको आक्रमणको कडा निन्दा गरेका छन्।

विशेषगरी लिटानी नदीमाथिको ‘कास्मियेह’ लगायतका रणनीतिक पुलहरूमा भएको आक्रमणप्रति उनले गहिरो असन्तुष्टि व्यक्त गरेका हुन्। इजरायलले यी पुलहरूलाई आफ्नो रणनीतिक स्वार्थका कारण लक्षित गरेको बताइएको छ।

अर्कोतर्फ, संयुक्त अरब इमिरेट्स (यूएई) को राष्ट्रिय आपत्कालीन, संकट तथा विपद् व्यवस्थापन प्राधिकरणले देशको हवाई प्रतिरक्षा प्रणालीले हाल क्षेप्यास्त्र खतराको सामना गरिरहेको जनाएको छ। प्राधिकरणले सम्भावित जोखिमबाट बच्न आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ।





Source link

Leave a Comment