विश्वभर जन्मदर अपेक्षित भन्दा छिटो दरमा घट्दै गएको छ । चीनमा जन्मदरमा कीर्तिमानी गिरावट देखिएको छ । ल्याटिन अमेरिकी देशमा पनि यस्तै अचम्मको तथ्याङ्क बाहिर आएको छ । एकपछि अर्को गर्दै धेरै देशमा जन्मदरसँग सम्बन्धित सरकारी अनुमान परिवर्तन हुँदै गइरहेको छ ।
विश्वका विभिन्न देशमा जन्मदरको तथ्याङ्क सङ्कलन गर्ने तरिका फरक–फरक छन् । यस्तो अवस्थामा यसको तुलना गर्न गाह्रो छ । तर पूर्वी एसियाली मुलुकमा निःसन्तानपनको दर धेरै छ । त्यहाँ यो दर लगभग ३० प्रतिशत छ । बेलायतमा १८ प्रतिशत छ । मध्य पूर्व र उत्तर अफ्रिकामा जन्मदर पनि अपेक्षित भन्दा बढी घटिरहेको छ ।
जन्मदर घट्नुको एउटा कारण मानिसमा सन्तान जन्माउने झुकाव घट्नु हो भने अर्को कारण संसारका प्रायः सबै देशमा सन्तान नहुने दरमा भएको वृद्धि हो ।
जब कोलम्बियाकी इसाबेलको ब्रेक अप भयो, उनले ‘नेभर मदर्स’ नामक संस्था स्थापना गरिन् । यसपछि उनले आफू आमा बन्न नचाहेको पनि महसुस गरिन् । तर उनको यो रोजाइका कारण उनले हरेक दिन आलोचनाको सामना गर्नुपरेको थियो ।
उनी भन्छिन्, ‘मैले सबैभन्दा धेरै सुनेको कुरा यो हो कि तिमी पछुताउने छौ, साथै तिमी स्वार्थी छौ, बुढेसकालमा तिम्रो हेरचाह कसले गर्छ ? आदि ।’
इसाबेल पनि आफ्नै इच्छाले निःसन्तान छिन् । तर धेरै व्यक्तिका लागि उनको बाँझोपनको कारण (जैविक समस्याको कारण गर्भधारण गर्न असमर्थता) हो ।
अनुसन्धानले के भन्छ ?
हालैको एक अनुसन्धान अनुसार केही कम आय भएका पुरुषहरू सन्तान जन्माउन चाहँदा चाहँदै पनि सन्तानविहीन रहने सम्भावना बढी हुन्छ ।
सन् २०२१ मा नर्वेमा गरिएको एक अनुसन्धानले न्यून आय भएका पुरुषहरूमा सन्तानविहीन हुने दर ७८ प्रतिशत रहेको खुलासा गरेको थियो । तर दोस्रो र उच्च आय भएका पुरुषहरूमा यो दर ११ प्रतिशत मात्र थियो ।
जब रोबिन हेडली ३० वर्षका थिए, उनी पिता बन्न आतुर थिए । उनले कुनै विश्वविद्यालयबाट शिक्षा लिएनन्, तर उत्तरी इङ्ल्यान्डको एक विश्वविद्यालयमा फोटोग्राफरको रूपमा काम गरे । उनले २० वर्षको उमेरमा विवाह गरे, त्यसपछि उनी र उनकी श्रीमतीले बच्चा जन्माउने प्रयास गरे, तर उनीहरूको प्रयास सफल हुनुअघि नै उनीहरू अलग भए ।
रबि बैंकको ऋणको बोझले दबिएका थिए, जसबाट आफूलाई मुक्त गर्न खोजिरहेका थिए । आर्थिक समस्याका कारण उनी अभिभावक बनेका आफ्ना साथीहरूबाट टाढा जान थाले । यस्तो अवस्थामा रबिन इन्फेरियोरिटी कम्प्लेक्सको सिकार भए ।
उनको आफ्नै अनुभवले उनलाई पुरुष बाँझोपनको बारेमा पुस्तक लेख्न प्रेरित गर्यो । ती सबै कुराबाट आफू प्रभावित भएको उनले महसुस गरे । यी सबैको पछाडि आर्थिक अवस्था कुन समयमा के भयो, के हुनुपर्थ्यो र सबैभन्दा माथि सही समयमा सम्बन्धको पहिचान, यी सबै कुरा काम गरिरहेका थिए ।
बुढ्यौली र सन्तान जन्माउनेबारे पढेका धेरैजसो अध्ययनले सन्तान नभएका पुरुषहरूको बारेमा उल्लेख नगरेको उनले महसुस गरे ।
सरकारी तथ्याङ्कबाट त्यस्ता व्यक्ति पूर्ण रूपमा हराएका थिए । सरकारी कागजातहरूमा कतै पुरुषहरूको नामोनिशान थिएन ।
सामाजिक बाँझोपन
सामाजिक बाँझोपनको कारण धेरै छन् । जसमा बच्चा जन्माउनका लागि आर्थिक स्रोतको कमी वा सही समयमा सही पार्टनर भेट्न नसक्नु पनि समावेश हुन्छन् । फिनल्यान्डको जनसङ्ख्या अनुसन्धान संस्थानका सामाजिक विज्ञ र जनसांख्यिकीविद् अन्ना रोटकिर्चले २० वर्षभन्दा बढी समयदेखि युरोप र फिनल्याण्डमा यसबारे जानकारी सङ्कलन गरिरहेकी छिन् ।
यसको मूल कारण अर्कै रहेको उनी बताउँछिन् । फिनल्याण्ड विश्वका ती देशमा गनिन्छ, जहाँ निःसन्तानपनको दर सबैभन्दा बढी छ । यद्यपि, सन् १९९० को दशकको उत्तरार्ध र सन् २००० को प्रारम्भदेखि विश्वभर बालमैत्री नीतिहरू मार्फत निःसन्तानपनको समस्या समाधान गर्ने प्रयासमा यसले विशेष स्थान लिएको छ ।
त्यहाँ अभिभावक बनेपछि बिदा उपलब्ध छ, बालबालिकाको हेरचाह गर्ने अनुकूल वातावरण छ र घरपरिवार चलाउन महिला र पुरुषले समान भूमिका खेल्छन् । तर यस्तो अनुकूल वातावरण भए पनि सन् २०१० यता धेरै देशमा जन्मदर झण्डै एक तिहाइले घटेको छ ।
प्रोफेसर रोटकिर्च भन्छन्, ‘पहिले विवाह जस्तै, बच्चा जन्माउनु पनि एक महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा हेरिन्थ्यो, जस्तै वयस्क भएपछि नयाँ जीवन सुरु गर्न । तर अहिले अवस्था उल्टो बन्दै गएको छ, अर्थात् विवाह र सन्तान जन्माउने काम महत्वपूर्ण रहेन ।’
उनी थप्छन्, ‘जीवनका सबै क्षेत्रका मानिसहरूले सोच्छन् कि बच्चा जन्माउँदा उनीहरूको जीवनमा अनिश्चितता बढ्दै छ ।’
यो पहिलेको तुलनामा अचम्मको परिवर्तन हो, किनभने पहिले गरिब परिवारमा वयस्क भएपछि विवाह र सन्तानका लागि धेरै जोड दिइन्थ्यो । पढाइ छाडेर जागिर खोजेर सानै उमेरमा बिहे गरेर परिवार स्थापना गरेर आफ्नै खुट्टामा उभिन रुचाइन्थ्यो ।
पुरुषको आर्थिक समस्या
पुरुषको आर्थिक समस्या र यसले सिर्जना गरेको अनिश्चितताले उनीहरूलाई निःसन्तानपनतर्फ लैजान्छ । सामाजिक विज्ञहरूले यसलाई ‘चयन प्रभाव’ भनेका छन् । यसमा महिलाले आफ्नो जीवनसाथी छान्दा उही सामाजिक वर्ग वा त्यसभन्दा माथिको व्यक्तिलाई रोज्छन् ।
रोबिन ह्याडलीकी श्रीमतीले उनलाई विश्वविद्यालय जान र पीएचडी गर्न मद्दत गरिन् । उनी भन्छन्, ‘श्रीमतीको साथ र सहयोग नभएको भए म यो स्थानमा हुने थिइनँ ।’
पढाइ पूरा भयो अब उनीहरूले बच्चा जन्माउनेबारे सोचे, रोबिन ४० वर्षका भइसकेका थिए र सन्तान जन्माउन धेरै ढिलो भइसकेको थियो ।
प्रजनन् स्वास्थ्य र तथ्याङ्कको अभाव
धेरै देशमा पुरुषको प्रजनन् स्वास्थ्यको बारेमा कुनै डाटा छैन, किनभने जन्म रेकर्ड गर्दा आमाको प्रजनन् स्वास्थ्यलाई मात्र विचार गरिन्छ । यसको अर्थ पुरुषलाई निःसन्तानमा गनिने गरेको छैन । तर केही नर्डिक (उत्तरी युरोपेली) देशहरूमा, बच्चा जन्मिंदा महिला र पुरुष दुवैको बारेमा जानकारी राखिन्छ ।
नर्वेमा भइरहेको अनुसन्धानले धनी र गरिब पुरुषबीच सन्तान जन्माउने दरमा ठूलो भिन्नता देखाएको छ र अनगिन्ती पुरुषहरू पछाडि परेको बताएको छ । बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा पुरुषको स्वास्थ्य र प्रजनन् स्वास्थ्यसम्बन्धी अध्ययन गर्ने भिन्सेन्ट स्ट्रब भन्छन् कि जन्मदरमा आएको गिरावटमा पुरुषको भूमिकालाई अक्सर बेवास्ता गरिन्छ ।
जन्मदरमा आएको ह्रासको सन्दर्भमा उनी पुरुषत्वको सङ्कटमा केन्द्रित छन् । उनका अनुसार यो समाजमा महिला सशक्तीकरण र ‘पुरुषत्वसँग सम्बन्धित सामाजिक अपेक्षा’मा आएको परिवर्तनका कारण युवा पुरुषमा देखिएको अन्योलसँग सम्बन्धित छ ।
यो मुद्दालाई ‘पुरुषत्वको सङ्कट’ पनि भनिएको छ र महिला अधिकारको विरोध गर्ने चरम दक्षिणपन्थी एन्ड्रयू टेट जस्ता व्यक्तिहरूको लोकप्रियता यसको प्रमाण हो ।
स्ट्रब भन्छन्, ‘कम शिक्षित पुरुषहरू पहिलेको भन्दा खराब अवस्थाको सामना गरिरहेका छन् । यसको एउटा कारण यो हो कि प्राविधिक प्रगतिले म्यानुअल कामदारहरूका लागि अवसरहरू कम गरेको छ, जसले विश्वविद्यालय डिग्री प्राप्त गर्नेहरू र उच्च शिक्षा हासिल गर्न नसक्नेहरू बीचको खाडल फराकिलो बनाएको छ । जसकारण ‘मेटिङ ग्याप’ पनि बढेको छ र यसले पुरुषको स्वास्थ्यमा ठूलो असर पारेको छ ।
लागू औषधको प्रयोग अन्तर्राष्ट्रिय रूपमा बढ्दै गएको छ र अफ्रिका होस् वा दक्षिण र मध्य अमेरिकामा वयस्क पुरुषमाझ सबैभन्दा बढी छ ।
स्ट्रब भन्छन्, ‘प्रजनन् स्वास्थ्य र यस प्रकारका सामाजिक र सांस्कृतिक परिवर्तनहरूबीचको जुन सम्बन्ध छ, यो कुराले पुरुषको शारीरिक र मानसिक स्वास्थ्यलाई असर गर्छ । एक्लै बस्ने पुरुषहरूको स्वास्थ्य सामान्यतया आफ्ना पार्टनरसँग बस्ने पुरुषहरूको भन्दा खराब हुन्छ ।’
के छ समाधान ?
स्ट्रब र ह्याडली भन्छन्, ‘प्रजनन् स्वास्थ्यका बारेमा कुराकानी लगभग पूर्णरूपमा महिलामा केन्द्रित छ । यस्तो अवस्थामा जन्मदरलाई सम्बोधन गर्न बनेको कुनै पनि नीति अधुरो रह्यो । प्रजनन् स्वास्थ्यसँगै पुरुषको स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने र बाबु बन्न लागेका पुरुषको हेरचाह गर्दा हुने फाइदाबारे छलफल गर्नुपर्ने स्ट्रबको सुझाव छ ।
उनी भन्छन्, ‘युरोपेली सङ्घमा १०० मध्ये एक जना पुरुषले आफ्ना बच्चाको हेरचाह गर्न आफ्नो करिअर छोड्छन्, जबकि महिलामा यो अनुपात प्रत्येक तीनमा एक छ ।’
इजाबेलले आफ्नो संस्था मार्फत एक अन्तर्राष्ट्रिय बैङ्कका प्रतिनिधिहरूसँग भिन्टे र बुबा बन्नेहरूलाई छ हप्ताको बिदाको प्रस्ताव गरिएको बताइन्, तर कसैले यो प्रस्ताव स्वीकार गरेनन् ।
इजाबेल भन्छिन्, ‘बच्चाको हेरचाह गर्नु महिलाको काम हो भन्ने पुरुषहरू सोच्छन् ।’
रोबिन हेडलीका अनुसार पुरुषको प्रजनन् स्वास्थ्यको अभिलेख नभएसम्म त्यसले शारीरिक र मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने कुरा बुझ्न पनि गाह्रो हुन्छ । अर्कातर्फ निःसन्तानपन समस्याको चर्चाबाट पुरुष पनि टाढा छन् । महिलाले आफ्नो स्वास्थ्यको ख्याल कसरी राख्ने भन्ने विषयमा धेरै चर्चा र चेतना भइरहेका छन् तर पुरुषमा भने त्यस्तो छैन ।
रोबिनका अनुसार पुरुषको पनि महिलाको जस्तै जीवन चक्र हुन्छ र ३५ वर्षको उमेरपछि पुरुषको शुक्रकीटको उपयोगिता घट्ने अनुसन्धानले प्रमाणित गरेको छ ।
यस्तो अवस्थामा अभिभावकको सामाजिक परिभाषालाई पनि फराकिलो बनाउन जरुरी छ । सन्तान नभएका व्यक्तिहरूले पनि बालबालिका हुर्काउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अनुसन्धानकर्ताहरू बताउँछन् ।
बीबीसीबाट अनुदित