प्रकाशित मिति : बैशाख २०, २०८२ शनिबार
विश्वकै सबैभन्दा सफल लगानीकर्ता मानिने वारेन बफेटले बर्कशायर हैथवेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट अवकाश लिने घोषणा गरेका छन् । यस वर्षको अन्त्यसम्ममा अबकास लिने उनले घोषणा गरेका हुन ।
९४ वर्षीय बफेटले कम्पनीको वार्षिक बैठकमा बोल्दै उपाध्यक्ष ग्रेग एबेललाई आफ्नो उत्तराधिकारीका रूपमा जिम्मा दिने बताएका हुन्। ग्रेगले वर्षको अन्त्यमा कम्पनीको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्नुपर्छ, बफेटले भनेका छन ।
ओमाहाको भविष्यवक्ता भनेर चिनिने बफेटले बर्कशायर हैथवेलाई एक समयको संकटग्रस्त वस्त्र उद्योग कम्पनीबाट १.१६ ट्रिलियन डलर मूल्यको लगानी साम्राज्यमा रूपान्तरण गरेका हुन् ।
करीब ४० हजार जना सहभागी भएको कार्यक्रममा उनको यो घोषणा आएको हो । बफेटले यस निर्णयबारे उनका दुई छोराछोरी हावर्ड र सुसी बफेट बाहेक कसैलाई जानकारी नदिएको खुलासा गरेका छन ।
स्टेजमा बफेटको छेउमै बसेका ग्रेग एबेललाई भने यो घोषणा अचम्मको रूपमा लागेको देखिन्थ्यो । चार वर्षअघि नै बफेटले एबेललाई उत्तराधिकारीको रूपमा छनोट गरिसकेका थिए । तर उनले त्यसबेला आफ्नो अवकाशको समयबारे केही संकेत गरेका थिएनन् ।
बफेटले आफुसँग रहेका बर्कशायरका सेयरहरू बेच्ने कुनै योजना नरहेको स्पष्ट पारे । ती सेयरहरु सबै दान गरिने उनले घोषणा गरेका छन । एप्पलका सीईओ टिम कुकसहित थुप्रै व्यवसायिक नेताहरूले बफेटको व्यवसायिक योगदानको प्रशंसा गरेका छन् ।
कुकले एक्समा लेख्दै वारेनजस्तो व्यक्तिसँग समय बिताउनु मेरो जीवनकै सौभाग्य हो भनेका छन । सन् २०२३ मा बफेटले एक दुर्लभ पत्रमार्फत आफू अझै अवकाश नचाहे पनि अतिरिक्त पारी खेलिरहेको स्वीकार गरेका थिए।
बर्कशायर हैथवेले ६० भन्दा बढी कम्पनीहरूको स्वामित्व राखेको छ । बिलियन डलर दान गरिसकेका बफेटको कुल सम्पत्ति १५४ बिलियन डलर रहेको छ । उनी विश्वकै चौथो धनी व्यक्ति हुन ।
बफेटले पहिलोपटक पैसा ६ वर्षको उमेरमा कमाएका थिए । ११ वर्षमा सेयर किनेका थिए । १३ वर्षमा पहिलो कर विवरण बुझाएका थिए।
उनी अझै पनि ओमाहामा रहेको ६५ वर्ष पुरानो साधारण घरमै बस्दै आएका छन्। बफेटले बैठकमा बोल्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिको आलोचना पनि गरे ।
व्यापारलाई हतियारको रूपमा प्रयोग गर्नु ठूलो गल्ती भएको उनले भनेका छन ।