८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि शनिबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । साविकको विजेता नेपाल एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्दै एसिया कपमा स्थान बनाउने लक्ष्यका साथ ओमान पुगेको थियो ।
पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र तयारीले प्रिमियर कप जितेर एसिया कप खेल्ने प्रमुख दाबेदार थियो । तर एसिया कप मात्रै होइन, शनिबार तेस्रो स्थानका लागि हङकङसँग भएको खेलमा ४ विकेटले पराजित भएपछि इमर्जिङ कप समेत गुमाएको छ ।
समूह चरणमा औसत प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा यूएई र तेस्रो स्थानका लागि हङकङसँग भएको खेलमा आफ्नो स्तर अनुसार खेल्न सकेन ।
समूह चरणमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेबियालाई ६ विकेटले हराएको थियो ।
सेमिफाइनलमा नेपालको भेट यूएईसँग भयो । पछिल्लो एक वर्षमा भएका अधिकांश भेटमा नेपालले यूएईलाई हराएको थियो । तर शुक्रबार यूएईले ६ विकेटले हराउँदै फेरि एसिया कप खेल्ने नेपालको सपना चकनाचुर पारिदियो ।
त्यसपछि हङकङलाई हराएर नेपालले इमर्जिङ कपमा स्थान बनाउन चाहेको थियो । तर त्यही हङकङसँग नेपाल ४ विकेटले पराजित भयो । दुई निर्णायक खेलमा पहिला ब्याटिङ गरेको नेपालले युएईविरुद्ध ११९ र हङकङविरुद्ध १३९ रन बनायो ।
समूह चरणमा औसत ब्याटिङ
समूह चरणको पहिलो खेलमा नेपालले मलेसियाले दिएको १४४ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । कतारविरुद्ध दीपेन्द्र सिंह ऐरीले अन्तिम ओभरमा ६ छक्का हानेपछि २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।
तेस्रो खेलमा हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको थियो । वर्षाले प्रभावित चौथो खेलमा ८ ओभरको खेलमा साउदीले दिएको ७५ रनको लक्ष्य ४ बल अगाडि भेट्टाएको थियो ।
नेपालले पछिल्लो एक–डेढ वर्ष जति पनि राम्रो नजिता हात पारेको थियो, त्यसमा ब्याटिङ सबभन्दा बलियो पक्ष थियो । तर प्रिमियर कपमा व्याटिङ चलेन । यसले विदेशी भूमिमा नेपालको ब्याटिङ कमजोरी कायमै रहेको देखायो, जुन आसन्न टी–२० विश्वकपका लागि समेत चिन्ताको विषय बनेको छ ।
नेपालले आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकप खेल्दैछ । विश्वकप खेल्ने उत्कृष्ट १५ खेलाडी छनोट गर्न मुख्य प्रशिक्षक मोन्टी देशाईले हरेकजसो सिरिजमा आफ्ना खेलाडीहरुको परीक्षण गरेका थिए ।
हङकङ त्रिकोणात्मक सिरिज, नेपाल, नामिविया र नेदरल्यान्ड्सको त्रिकोणात्मक सिरिज र भारतमा फ्रेन्डसिप कपमा सम्भावना बोकेका खेलाडीहरुलाई उनले अवसर दिए । बलिङ र ब्याटिङ क्रममा पनि तलमाथि गरिरहे । त्यसकै आधारमा प्रिमियर कपमा नेपालले १४ सदस्यीय टोली उतारेको थियो ।
नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलको जोडीले साउदी, युएई र हङकङसँगको खेलमा कुनैपनि रनको साझेदारी गर्न सकेनन् ।
मलेसियासँग ४७ बलमा ४९ रनको साझेदारी गरेका थिए । कतारविरुद्ध २.५ ओभरमा १८ तथा हङकङविरुद्ध समूह चरणमा ५.३ ओभरमा ७० रनको साझेदारी गरेका थिए ।
ओपनर कुशल भुर्तेल ६ खेलमा क्रमश ः २४, १२, ३२, ०, ०, ० थियो । आसिफ ३२, ५२, ४०, २, ८ र ५ थियो ।
सुरुवात राम्रो नहुँदा इनिङ सम्हाल्नुपर्ने मध्यक्रम पनि चल्न सकेन । समग्र प्रतियोगितामा दुई मात्रै अर्धशतक साझेदारी छन् । मलेसियाविरुद्ध ओपनिङ तथा कतारविरुद्ध कुशल मल्ल र आसिफ शेखले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।
युएईसँगको खेलमा सर्वाधिक ठूलो साझेदारी नै २७ रनको थियो । युएईविरुद्ध सन्दीप जोराले अर्धशतक बनाएपनि त्यो उनको व्यक्तिगत प्रदर्शन थियो । क्रिकेटमा टिमको प्रदर्शन सधैं चाहिन्छ ।
मध्यक्रमका ब्याटर सन्दीप जोराले कुल प्रतियोगितामा ९५ बल खेल्दा ११० रन बनाएका थिए । कप्तान रोहित पौडेलले ११३, कुशल मल्लले ६०, गुल्सन झाले ८२ रन मात्र बनाए ।
तल्लोक्रममा दीपेन्द्रले कतारविरुद्ध २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाउँदै राम्रो अन्त्य गरेका थिए । अन्तिम खेलमा हङकङविरुद्ध पनि ४४ रनको आक्रामक अन्त्य गरेका थिए । तर जित्नैपर्ने युएईविरुद्ध ५ रनमा आउट भएका थिए ।
प्रतियोगितामा सोमपाल कामीले १४ र करण केसीले २० रन बनाए । समग्रमा यस प्रतियोगितामा नेपाली ब्याटर नै चल्न सकेनन् ।
यूएईविरुद्धको सेमिफाइनलमा जुनैद र ओमैद रहमानको सुरुवाती गतिको स्पेलमा रन जोड्न ठूलो संघर्ष गरेको थियो । एसोसिएट बलरको औसत गति १३०/१३५ किलोमिटर प्रतिघण्टा हुन्छ ।
हङकङका आयुश शुक्ला र साउदीका ईश्ताक अहमदले लेन्थ बलमा शीर्षक्रमका ब्याटरलाई आउट गरेका थिए ।
युएई बाउन्सर बलमा पनि सफल भएको थियो । सर्ट बल समस्या सुधार गर्न नपाउदै लेन्थ बल अर्को समस्याको रुपमा देखियो । कुशल युएई र हङकङसँगको खेलमा गुड लेन्थको एकै किसिमको बलमा आउट भएका थिए ।
तर विश्वकपमा नेपालले दक्षिण अफ्रिकाका जेराल्ड कोट्जी र एनरिच नोर्कियाको १५५ माथिको गतिमा खेल्नुपर्ने हुन्छ । कागिसो रबाडा, नान्द्र बर्गर र लुंगी एनगिडीले नियमित १५० किलोमिटर प्रतिघण्टा गतिमा बलिङ गर्छन् ।
त्यति मात्रै होइन बंगलादेश र श्रीलंकाका बलरको गति पनि त्यति नै राम्रो छ । स्पिनरमा विश्वस्तरीय खेलाडी छन् ।
नेपाल रहेको समूहमा एसोसिएटको शीर्ष टोली नेदरल्यान्ड्स छ । उसले आफ्ना प्रमुख ५ खेलाडीबिनै खेल्दा पनि एक महिनाअघि नेपाललाई घरेलु मैदानमै हराएर त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जितेको थियो ।
‘नेपाली टोलीमा निरन्तर १४० गतिका बलर पनि छैनन् । १५० माथिको हुँदाबित्तिकै विपक्षी टप भइहाल्छ । हात र बलिङ मेसिनबाट खेल्नु फरक हुन्छ । हाम्रो लागि विश्वकप एउटा राम्रो अवसर पनि हो । नेपालमा पनि फरक पिचमा अभ्यास गर्नुपर्छ’, नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले विश्वकपको तयारीबारे भने ।
दक्षिण अफ्रिकाका क्वीन्टन डिक, राइलो रोसोऊ, एडेन माक्ररम, हेनरिक क्लासेन र डेविड मिलरजस्ता विश्वस्तरीय ब्याटरविरुद्ध राम्रो गर्न नेपाली टोलीलाई अहिलेको प्रदर्शन पर्र्याप्त हुँदैन ।
विश्वकपमा राम्रो गर्न कीर्तिपुर बाहिर प्रशिक्षण गर्न ज्ञानेन्द्र सुझाव दिन्छन् । ‘बाहिर अभ्यस्त हुन जरुरी छ । फरक पीच कन्डिसनमा खेल्नुपर्छ’, उनले भने ।
विश्वकपमा नेपालको लक्ष्य पनि कम्तीमा एउटा टेस्ट टोलीलाई हराउने हुनेछ । तर प्रिमियर कपको प्रदर्शनले विश्वकपमा ठूला टोलीविरुद्ध लज्जास्पद प्रदर्शन त गर्ने होइन भन्ने डर पनि बढाएको छ । किनकी नेपालले पछिल्ला खेलहरुमा युएई, ओमान, स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगै संघर्ष गरेको छ । युएई र हङकङ विश्वकपमा नभएका टोली हुन् ।
पछिल्लो एक वर्षमा नेपालले हात पारेका सबै सफलता घरेलु मैदानमा छन् । गतवर्ष एसीसी प्रिमियर कपको फाइनलमा नेपालले त्रिवि क्रिकेट मैदानमा नै यूएईलाई ७ विकेटले हराएर एसिया कपमा पहिलो पटक भारत र पाकिस्तानसँग खेलेको थियो ।
आईसीसी टी–२० विश्वकप छनोटमा मूलपानीमा यूएईलाई ८ विकेटले हराएर पुगेको थियो । नेपालले आईसीसी विश्वकप लिग–२ मा घरेलु मैदानमा खेलेका पछिल्लो ८ खेल जित्दै ओडीआई मान्यता जोगाएको थियो ।
नेपालले ओडीआईमा ओमानविरुद्ध बनाएको सर्वाधिक ३१० योगफल, २८६ रनको ठूलो लक्ष्य भेट्टाएको पनि त्रिवि मैदानमै थियो । नेपालबाट ओडीआईमा बनेका ८ मध्ये ७ शतक त्रिवि मैदानमा छ ।
‘सबैभन्दा पहिला टीयु बाहिरको खेलहरु नियाल्नुपर्छ । टीयु बाहिर गएपछि हाम्रो स्तरको टोलीसँग कसरी खेलेका थियौं । ब्याटिङ त्यति राम्रो हुँदा पनि युएईविरुद्ध एउटा राम्रो साझेदारी गर्न सकेनौं’, ज्ञानेन्द्रले युएईसँग हारपछि भने ।
अघिल्लो महिना हङकङमा त्रिकोणात्मक सिरिजको फाइनलमा पपुवा न्युगिनीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रनमा अल आउट भएको थियो । त्यो सिरिजमा दीपेन्द्र, आसिफ र सोमपाल भने थिएनन् ।
गतवर्ष आईसीसी एकदिवसीय विश्वकप जिम्बाब्बे र एसीसी इमर्जिङ टिम्स एसिया कपमा राम्रो थिएन । देश बाहिर नेपालले आफ्नो ब्राण्डको क्रिकेट नै खेल्न सकेको छैन । त्यसैले नेपाललाई केही समर्थकहरु घरको बाघ बनको स्याल पनि भन्छन् ।
पछिल्लो डेढ वर्षमा नेपालको बलियो पक्ष ब्याटिङ थियो । यस प्रतियोगितामा ब्याटिङ युनिटले राम्रो गर्न सकेन ।