एक दशकअघि ‘मेरो अर्थमा’ कवितासङ्ग्रह प्रकाशन गरेकी जयन्ता पोखरेलले दोस्रो कविता कृतिका रूपमा ‘नक्साको जून’ २०६९ सालमा आएर प्रकाशन गर्ने अवसर जुटाएकी छिन्।
प्रस्तुत कवितासङ्ग्रहमा जम्मा एकचालिस कविताले उदाउने मौका पाएका छन्। कवि जयन्ताकै शब्दमा भन्नुपर्दा गृहस्थीको चुलोचौका रहँदा, सन्तान हुर्काउँदा पुरानो सन्दुसमा थन्क्याइएका कविताहरूले पुनः दोस्रो कृतिका रूपमा आउने समय पाएका हुन्। सर्सती पढ्दै जाँदा उनका कविताहरू समयसँगै विभिन्न सन्दर्भमा जोडिंदै पाठकका मनमा ताजा स्मृतिका लहरहरू छर्न सक्ने देखिएका छन्।
‘ओ काठमाण्डु सरी ल!’ बाट सुरू भएको कविता ‘कबुलनामा’ शीर्षकमा गएर टुङ्गिएको छ। जसरी नेपालको दूरदराजमा बस्ने नेपालीको सपना काठमाडौं शहरलाई हेर्ने, आत्मसात गर्ने हुन्छ, त्यस्तै सायद कविले पनि जीवन सङ्घर्ष गर्ने क्रममा काठमाडौंबाट धेरै कुरा सिक्ने चाहना बोकेकी छन्। त्यसैले त सिकाइका क्रमहरूमा यो अनुभव व्यक्त गरेकी छन्।
‘जे होस्
अँध्यारोभित्र घामका टुक्राहरू बटुलेर
जीवनका निजी चोटाहरू चम्काउन
काठमाण्डुले सिकायो मलाई
समयको ओलम्पिकम
हतारको म्याराथुन जित्न
काठमाण्डुले सिकायो मलाई।’ (ओ काठमाण्डु सरी ल!)
यस कृतिमा नेपाली परिवेशको विमर्श भेटिन्छ। हामीले भोगिरहेको समय सन्दर्भलाई विभिन्न शीर्षकका रूपमा कविताहरू उनिएका छन्। कविको जीवन भोगाइसँगै आम नेपालीको जीवनगाथा, सङ्घर्षका कथा, इतिहासको अभिलेखन पनि क्रमिक रूपमा कविताहरूमा समेटिएका छन्।
हरेक कवितामा शब्दहरू सलल बगेका छन्। सरल भाषा शैलीसँगै स्थानीय परिवेश पनि उतारिएको छ। जीवन प्रेम, पर्यावरणीय चेत, राजनैतिक परिघटना, लैङ्गिक एवं वर्गीय पक्षघरता, गरिबीले आक्रान्त जनजीवनको वर्णन, सहअस्तित्व र मानवीय प्रेम, समसामयिक जीवन भोगाइलाई कविताहरूमा सुन्दर ढंङ्गले छचल्क्याइएको देख्न सकिन्छ।
यस्तै कविको ‘असर र आमा’ शीर्षकको कवितामा प्रकृति, आमाको प्रेम, सङ्घर्ष र वात्सल्यताको नमुनालाई जनमानसमा अमिट छाप पर्ने गरी प्रस्तुत गरिएको छ। कवितांश बोल्छ–
‘मलाई
मङ्सिर र आमा पनि उस्तै लाग्छ
अन्नपूर्ण मुस्कानजस्तै
मलाई हरेक ऋतु आमा लाग्छ
अनुभूतिको रङ्ग छुट्टै।’ (असार र आमा)
कविको कलममा सचेतताको भाव पाउन सकिन्छ। समाजमा देखिएका राजनीतिक विसङ्गति, सामाजिक सांस्कृतिक बेथिति र बढ्दै गएको झुट, छलकपट जस्ता कुराहरूलाई व्यङ्गात्मक किसिमले प्रस्तुत गरिएको छ।
कृतिका कविताहरू बनोटका हिसाबमा केही छोटा र केही मझौला छन्। भावका हिसाबले कवितालाई विभिन्न विषयगत रूपमा छुट्याउन सकिन्छ।
मुख्य रूपमा कविता शीर्षकहरूलाई दुई भागमा बाँडेर हेर्दा जयन्ता सचेत महिला कवि भएकी हुँदा उनले महिलाहरूका दुःख-दर्द, सङ्घर्षमय उतारचढावका कथा, नारी जागरणका अभियान लैङ्गिक पक्षधर जस्ता कुरालाई कविताहरूमा विशेष जोड दिएर आवाज उठाएको देखिन्छ।
यस्ता भावना मुखरित कविताहरूमा चरीको समय र प्रश्नचिन्ह, आमा, म र छोरा, असार र आमा, बाटुली, वृद्धाघर, दाङकी सुन्दरी, म मर्दिन, निर्मली, फूलका कुराहरू, प्रतिबन्ध प्रेम, शहीदकी स्वास्नी, सुन्दरी र कविता, तपसिलमा, भिनाजु, जुँगा पर्दछन्।
यी कविताहरूमा विशेषत सदियौंदेखि रहेको महिलाको शरीर शोषण र उत्पीडनका स्वरहरू निकालिएका छन्। नेपाली समाजका पाइलापाइलामा हेर्ने हो भने अझै हरेक घरघरमा हुने प्रेम, घृणा, यौन, विवाह, पारिवारिक छलफलमा पुरूषसत्ता कायम रहेको पाउन सकिन्छ।
पुरूष सत्ताले अझै महिलालाई सम्पतिकै रूपमा स्वीकारेको हामीले देखिरहेका छौं। यस्ता प्रवृत्तिविरूद्ध कविले विद्रोहका स्वरहरू यिनै कवितामार्फत मुखरित छन्। अर्को कवितांशमा हेरौंः
‘म छु
मन टिठ्याउने
परिस्थितिको मध्ये विसौनीमा
लाग्दै छ रोपूँ बिद्रोह
र फुलाऊँ अनुभूतिको अँगालोमा
पिरतीको झलमल जून।’ (निर्मली)
यस कवितांशले नारीमाथि हुने गरेका अन्यायविरूद्ध शङखघोष गर्दै न्यायका लागि प्रतिबद्ध भएर सङघर्षरत रहनुपर्ने सन्देश मुखरित छ।
महिलाका सन्दर्भबाहेक अन्य समसामयिक विषयहरूमा पनि संवेदनशील भएर जयन्ताले कविताका हरफहरू कोरेकी छन्। विभिन्न विषयवस्तु समेटिएका कविताहरूमा ‘प्रमिथस र पानी’ नागार्जुन, अखबार, अनुत्तरित प्रश्न, तुइन, हिलो र कमल, जीवन खेल र टिप्पणीहरू, खबर, को हो ऊ? लासको सङ्ग्रहालय, बुढो सिमल, मसला, रेमिट्यान्सको कथाबाट, प्रश्नका सुसेलीहरू, आफ्ना खुशी, समयको आरोप, सेतोफूल, थ्याङ्क्यू, भुकम्प, उक्लदै गर्दा, कुहिरो, शब्दकथा, पलायन र कबुलनामा पर्दछन्।
प्रस्तुत कविताहरूमा कतै नेपाली राजनीतिक रंगमञ्चमा देखिएका पीडा दिने परिदृश्यलाई व्यङ्गात्मक पारामा पोखिएको छ भने कतै अपेक्षाअनुरूप परिवर्तन नभएपछि दुखेको घाउ कोट्याइएको छ।
कतै असल, इमानदार र प्रतिबद्ध राजनीतिक नेता, कार्यकर्ताले अन्तिम निर्णय लिनुपर्ने बेला आएको भनेर आशातित भाव व्यक्त छ। केही कवितामा रासनपानी र व्यक्तिगत इच्छाले बाध्यतावश विदेशिनुपरेको कथाव्यथा बुनिएको छ भने कतै प्रश्नका सुसेलीहरू सुसाइएको पाइन्छ।
यसै गरी कतै मानवीयताको भावना, प्रकृतिप्रेम, प्रकृतिक प्रकोप आदिले दिएको सन्देशसँगै कारूणिक भावना उदाउन मद्दत पुगेको क्षणलाई सम्झिएको छ। कतै जालझेलमा लपेटिएको, स्वार्थको मैलो आँधीमा रूमलिएको समाजप्रति खेदपूर्ण भावनाहरू पेखिएका छन्। कतै जीवन खेलमा प्रसङ्गहरू र बिनालक्ष्य भौतारिनुपर्दाका क्षणहरू प्रति प्रश्न गर्देै सचेतना प्रकट भएको पाइन्छ। कवितांश यसरी बोल्छ-
‘दोष-
बत्ती र पुतलीको कथा नबुझ्नु हो
दोष-
सपना चेपेर रित्तै सहर पस्नु हो
दोष-
शहरको जुनेली तामझामसँग लट्ठिएर
गाउँ चट्टटै छोड्नु हो।
(हरियो सपनाको युद्ध)
कविले एकतर्फी पुरूषसत्ताका विरूद्धमा मात्र आवाज उठाएकी छैनन्। पुरूषहरूलाई कुकर्म गर्न उद्दत गर्ने कुपात्रका रूपमा रहेका महिलाहरूका विरूद्धमा पनि बुलन्द आवाज उठाएकी छन्।
नक्साको न्यून सत गर्ने कुपात्रका रूपमा रहेका महिलाहरूका विरूद्धमा पनि बुलन्द आवाज उठाएकी छन्। नक्साको जून सङ्ग्रहको अन्तिम कविताका रूपमा ‘कबुलनामा’ मा यस्तै ककर्म गर्न उक्साउने, महिला पात्रबारे सान्दर्भिक उदाहरण दिंदै प्रस्तुत गरेकी छन्।
समग्रमा कविले घुमाइफिराई मिश्रित नेपाली समाजका भोगाइका सूक्ष्म कथाहरू, घण्टौ व्याख्या गर्न नसकिने खालका प्रसङ्गहरूलाई पनि चट्ट पारेर दुई लाइनमा नै कविताको मर्मअनुसार प्रस्तुत गरेकी छन्। यस शिल्पलाई प्रसंशनीय मान्नुपर्छ।
भाषामा, शिल्पगत सरल रूपमा मिठो भावका साथ कविताहरू प्रस्तुत हुँदा हुँदै पनि केही अंशमा भाव दोहोरिएको, अस्वाभाविक रूपमा आगन्तुक शब्दहरू राखिएको, अंग्रेजी शब्द प्रयोगले गर्दा भाव विसृङखलित हुन पुगेको देखिन्छ।
केही कवितामा भाषिक शुद्धाशुद्धीप्रति ध्यान पु¥याउन सकेको देखिंदैन। फेरि पनि कविताका हरफहरू केलाएर अगाडि बढ्दै जाँदा कवि सिद्धहस्त व्यङ्ग कविका रूपमा उभिन अभ्यासरत देखिन्छ। सङ्गृहीत कविताहरू पठनीय छन्। कविलाई साधनामा लाग्दै अझ परिष्कृत रूपमा कृतिहरू प्रकाशन गर्न हार्दिक शुभेच्छा प्रकट गर्दछु।
प्रकाशित: २ भाद्र २०८१ १२:५९ आइतबार