इलाम । विवाहको महिना भनेर मंसिरलाई भन्ने गरिन्छ । विवाह सँगै सुरु भएको छ, ‘मधुमास’ अर्थात् हनिमुन महिना । हनिमुन मनाउन भर्खरै विवाह गरेको जोडी रमणीय ठाउँमा केही समय बिताउन जाने चलन बढ्दैछ । विवाहको समयमा धेरै व्यावहारिक झमेला र भीडभाडबाट नवजोडीलाई हनिमुनले एकान्त प्रदान गर्छ अनि प्रेमिल जीवन सुरु हुन्छ ।
तर, यसका लागि जोडीलाई यस्तो ठाउँ चाहिन्छ, जुन एकान्त र रोमाञ्चक दुवै मिलोस । सीमित जोडी हनिमुन प्याकेजका लागि विदेशका रमणीय ठाउँ जाने गरे पनि धेरै नेपालीको छनोटमा आन्तरिक ठाउँ हनिमुनका गन्तव्य बन्ने गरेका छन् ।
यतातिरका नव जोडी पोखरा, धुलिखेल, चितवन, बन्दीपुर, मुस्ताङ लगायतका ठाउँ जाने गर्छन भने अन्य ठाउँको नव जोडीको हनिमुनका गन्तव्य इलाम बन्ने गरेको छ । हनिमुनको स्मरणलाई फोटोहरूको एल्बम बनाउन चाहनुहुन्छ भने इलाम तपाईको रोजाइ हुन सक्छ ।
धेरैले इलामलाई स्वर्गको उपमा दिन्छन् । कसैले यसलाई ‘नकुँदिएको हिरा’ –‘अ नै अ को जिल्ला’ समेत भन्ने गरेका छन् । एउटामात्र हैन, यहाँ धेरैवटा पर्यटकीय स्थल छन् । प्राकृतिक रुपमा सुन्दर यहाँका ठाउँहरू जो कोहिलाई मन पर्छन् । कृत्रिम ढंगले पनि सिंगार्न सके पर्यटकीय हिसाबमा इलाम अब्बल गन्तव्यको रुपमा चिनिन सक्ने इलाम साँच्चै भन्ने हो भने यी पर्यटकीय गन्तव्यहरूको स्याहार पुग्न सकेको छैन ।
अग्र्यानिक चिया, ओलन, अकबरे, अम्लिसो, अलैँची, आलु लगायतका नगदेबाली उत्पादनमा समेत इलाम अगाडि आउँछ । इलामको पहिचान नेपालमै पहिलो चिया बगान सँगै क्षणभरमै बादल र घाममा लुकिरहने डाँडाहरू मात्र होइनन, यहाँको भौगोलिक बनोट, नगदे बालीले अनी जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन सिमसार क्षेत्र र झुल्के घाम लगायतले पनि आगन्तुकलाई आनन्दित बनाउँछ ।
इलाम बजारभित्र रहेका नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवीले अनि इलाम बजार बाहिर रहेका पाथीभरा, गजुरमुखी, माइपाखरी लगायतका धार्मिक क्षेत्रहरूले पनि पर्यटक भुलाउने गर्छन् ।
अन्तु
जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित अन्तु सूर्योदय र सुर्योस्थको दृष्यका देशकै उत्कृष्ठ गन्तव्यका रुपमा परिचित छ । सूर्योदय हेर्न मुलुककै उत्कृष्ट स्थान मानिएको अन्तुमा भौतिक पूर्वाधार विकासदेखि पर्यटकको वृद्धिका लागि यहाँका स्थानिय लागिपरेका छन् ।
लोपोन्मुख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, हराभरा चियाबारी, अतिथि सत्कार अन्तुको लोभलाग्दो पाटो हो । अन्तु पुग्न फिक्कलबाट १३ किलोमिटर सडक पार गर्नुपर्छ ।
माईपोखरी
माईपोखरी जिल्लाको एक पर्यटकीय तथा धार्मिक गन्तव्यको रुपमा परिचित छ । इलाम सदरमुकामदेखि १३ किलोमिटर उत्तरको रामसार क्षेत्रमा सूचीकृत माईपोखरीमा पुग्न सकिन्छ । यहाँ विभिन्न प्रजातीका चराचचुरुङ्गी, दुर्लभ वन्यजन्तु र वनस्पति पाइन्छन् । दुई हेक्टर जलाशयसहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको माईपोखरी मेची राजमार्गको बिब्ल्याँटेबाट ९ किलोमिटर दूरी उत्तरमा रहेको छ । तिहारपछिको ठूली एकादशीमा मेला लाग्ने यस क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यको सम्भावना बोकेको एक स्थल मानिन्छ ।
ढाप पोखरी
जिल्लाकै कान्छो पर्यटकीय स्थलसमेत भनेर चिनिने यहाँ भर्खरैबाट डुङ्गा सञ्चालन गरिएसँगै पर्यटकहरूको सङ्ख्यामा समेत वृद्धि भएको छ । सन्दकपुर गाउँपालिका ५ जमुनामा रहेको ढाप पोखरी पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुइटा डुंगा चलाउन थालिएको हो ।
पोखरीको संरक्षण र व्यवस्थापन गर्दै आएको चन्द्रपाल थेबे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिले डुंगा सञ्चालन गराएको हो । सदरमुकामबाट २१ किलोमिटर उत्तरको यो पोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण अढाई वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भएको हो । क्षेत्रफलका हिसाबले जिल्लाकै ठूलो मानिएको पोखरी ५० रोपनीमा फैलिएको छ । यहाँ पुगेपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आउने पर्यटक पनि पुग्न सकिन्छ ।
सन्दकपुर
जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सन्दकपुर क्षेत्र देशकैै प्रमुख गन्तव्यका रुपमा समेत परिचित छ । भारतसँग सिमा जोडिएको सन्दकपुर पुग्न सदरमुकामबाट करिब ५० किलोमिटर पार गर्नुपर्छ । यहाँ नेपालतिर व्यवस्थित होटल छन् । ३ हजार ६ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघालगायत नेपाल, भारत र भुटानका थुप्रै हिमाललाई आँखामा कैद गर्न सकिन्छ । सूर्योदय दृश्यावलोकनका लागि पनि सन्दकपुर अब्बल स्थान हो । सन्दकपुरसँगै विखे, कालपोखरी, कैयाकट्टा, जौबारी, गैरीवास, तुम्लिङ, मेघ्मा, गुराँसेलाई पनि गन्तव्य बनाउँदा थप रोमाञ्चकता थपिन्छ । तर यसका लागि मानेभञ्ज्याङ–सन्दकपुरको ३१ किलोमिटर सडकको सहारा लिनुपर्छ । मेची राजमार्गले भेट्ने पौवाभञ्ज्याङ, पाटेनागी छिन्टापु गोरुवाले हुँदै सन्दकपुरसम्मको ट्रेकिङ पनि लोभलाग्दो हुन्छ ।
कन्याम
मेची राजमार्ग सँगै जोडिएको कन्याम झापाबाट इलाम आवागमनमा विच बाटोमा नै पदर्छ । चियाको पर्याय बनेको कन्याम वनभोज स्थलले चर्चित छ । मेची राजमार्गले चिरेको कन्याम चिया बगान, हाँसपोखरी, कुटीडाँडा, पाथीभरा मन्दिर, करफोक, फिक्कललगायत क्षेत्रमा तराईमा असाध्य गर्मी हुने भएकाले चिसोको आनन्द लिन पर्यटक आउने गरेका छन् । यो क्षेत्र प्रेम जोडीहरूको घुम्ने तथा नव बिवाहित जोडीहरूको हनिमुन मनाउने ठाउँ भनेर समेत चिनिन्छ । कन्याम नजिकै पर्ने पाथीभरा मन्दिर समेत धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै छ । यहा शनिवार र मंगलबार दैनिक हजारमाथी पर्यटकहरू पुग्ने गर्छन् ।
सिद्धिथुम्का
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सिद्धिथुम्का पर्यटक तान्ने एक आकर्षक केन्द्रका रुपमा परिचित छ । सदरमुकाम इलाम बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डाँडा सूर्योदय र सूर्यास्त तथा हिमशृंखला तराईका फाँटलगायतको दृश्यावलोकन गर्न अब्बल छ । ऐतिहासिक खान्द्रुङ गुफा, पञ्चमी बजार, अजम्बरी डाँडा पनि पर्यटकीय महत्वका छन् ।
गजुरमुखी
पश्चिमी गजुरमुखी धाम धार्मिक आस्थाका कारण महत्त्वपूर्ण मानिन्छ । सदरमुकामबाट ५० किलोमिटर दूरीमा यो स्थान रहेको छ । मेची राजमार्गको नेपालटारबाट मंगल’bout हुँदै गजुरमुखी पुग्न सकिन्छ । मंगल’boutसम्म कालोपत्रे र त्यस उताको सडक ग्राभेल गरिएकाले त्यहाँ पुग्न सहज छ ।
चिया कारखाना
सौन्दर्य मात्र होइन, इलामे चिया ऐतिहासिक पनि छ । सदरमुकाम नजिकैको चियाबारीमा देशमै पहिलोपटक चिया खेती गरिएको ठाउँ छ । १९२० सालमा प्रधानमन्त्री जंगबहादुर राणाले जिल्लाका बडाहाकिम गजराजसिंह थापामार्फत् यहाँ चिया खेती सुरु गराएको इतिहास छ । यहाँको प्राकृतिक सौन्दर्य अवलोकन गर्न ०१९ सालमा तत्कालीन युवराज महेन्द्र आएका थिए । पूर्वराजा वीरेन्द्रले पनि २०२८ सालमा इलाममा महिना दिन बिताएको स्थानीय बूढापाका बताउँछन् । यो सँगै सिंहवाहिनी, नारायणस्थान, सेतीदेवी, शंकरीदेवी, माईस्थान, भीमसेनस्थान, मन्दिर, बौद्ध गुम्बा आदि आकर्षक स्थलहरू रहेका छन् ।
चियाखेतीसँगै निर्माण भएको कारखाना पनि इलाम चियाबारी बीचमै छ । यो कारखाना १९३५ सालमा स्थापना भएको हो । ‘सामान्य ज्ञानका किताबमा विराटनगरको जुटमिललाई नेपालको सबैभन्दा पुरानो भनिएको छ । तर, यो चिया कारखानाभन्दा धेरैपछि जुटमिल स्थापना भएको पाइन्छ ।’ इलाम चिया कारखाना नै नेपालको ऐतिहासिक र सबैभन्दा पुरानो भएको इतिहासलाई कतै बंग्याउन नमिल्नेमा इलामका इतिहासकार युद्धप्रसाद वैद्यको पनि समर्थन छ ।
माङमालुङ
बढेमानको ढुंगालाई कान्छी आंँलाले हल्लाउन सकिन्छ भन्दा विश्वास लाग्न नसक्ला । तर माङसेबुङ गाउँपालिकाको माङमालुङ क्षेत्रमा यो अनुभव प्रत्यक्ष रूपमा गर्न सकिन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण अनुपम ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल हो माङमालुङ । मकालु, कुम्भकर्ण, कञ्चनजंगा लगायतका हिमाल र तराईका विभिन्न क्षेत्रहरू नियाल्न सकिने माङमालुङबाट सूर्योदय र सूर्यास्त सजिलै देख्न सकिन्छ ।
ज्ञानदिलदास जन्मभुमी
ज्ञानदिल दासको जन्म सन १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक जोरधारा हाल फाकफोकथुम–३ मा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको हो । ज्ञानदिल दासले सामाजिक व्यावस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध विद्रोह गरेको पाइन्छ । वेद, पुराणको निन्दा पनि गर्दैनथिए तर त्यसको मूल मर्म नबुझीकन अनेक प्रकारका आडम्बर रचेर दुनीयाँलाई ठग्ने, धुत्ने, लुट्ने मनसायका ब्राह्मण पुरोहितप्रति विद्रोह गरेका दाशको जन्मभुमी धार्मीक पर्यटनका लागि विकास हुँदै गएको छ । यहाँ पुग्दा त्यस आसपासका रमणीय भुभागको अवलोकन साथै पाँच पाण्डाहरु बनबास हुँदा घुमेको ठाउँको अवलोकन गर्न सकिन्छ ।
झन्डीडाँडा
इलामको रोङ गाउँपालिका ६ रम्भ्याङस्थित एक प्रमुख र आकर्षक पर्यटकीयस्थल हो । अर्गानिक पर्यटकीयस्थलका रूपमा परिचित हुँदैगरेको झन्डीडाँडा १ हजार ३ सय ९६ मिटर उचाईमा छ । यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लङ्ग नियाल्न सकिन्छ । झन्डीडाँडा सौन्दर्यका लागि मात्र नभइ साहसिक खेलका लागि पनि उत्तिकै सम्भावना रहेको डाँडो हो । अहिले यहाँ धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिएको छ । झन्डीडाँडासम्म पुग्ने सिंढी बनाइएको छ । रेलिङ लगाएर आकर्षक बनाइएको छ । यहाँ प्रतीक्षालय बनाइएको छ । मेची राजमार्गको हाँसपोखरीबाट करसोड पदमार्ग बनेपछि झन्डीको महत्व र सहजता बढेको छ । झण्डीडाँडा लाई गाजलेथुम्का नामले समेत चिनिन्छ ।

थुम्के डाँडा
माइजोगमाई गाउँपालिका २ र ६ को संगमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक दर्जनौ पर्यटक पुग्ने गरेका छन् । थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ ।
यो सँगै जिल्लामा धेरै पर्यटकीय स्थलहरुको अवोलकनका साथ मनोरञ्जन लिन सकिन्छ । इलाम चियावारी, पानीटार चियावारी, र जिल्लाका अन्य स्थानमा रहेका चियावारी पर्यटकहरूका लागि उत्तिकै मनमोहक लाग्ने पर्यटन ब्यवसायीहरू बताउँछन् । इलाममा हेर्न र घुम्न लायकका अन्य वसतु, ठाउँ र स्थानहरू भएपनि कन्याम अनी चियाले मात्र चर्चा पाएको उनीहरूको भनाई छ । विश्व रामसार क्षेत्रमा सुचिकृत माइपोखरी, प्रदेश नम्वर एकको प्रमुख पर्यटकिय गन्तब्य मानिने सन्दकपुर र जिल्ला भित्र रहेका धार्मिक र पर्यटकिय स्थलहरूको समेत उत्तिकै चर्चा हुन सके अन्य स्थानमा पनि पर्यटकहरूको भिड लाग्ने सरोकारवालाको भनाई छ ।
आर्थिक वर्ष २०८०–८१ मा इलाममा सााउन १ देखि असार मसान्तसम्म एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना विदेशी पर्यटक इलाम भित्रिएको पाइएको छ । पर्यटन सूचना केन्द्र जोरकलशको तथ्यांक अनुसार आव २०८०–८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएको सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए ।
(Visited 1 times, 1 visits today)