विमुक्ति: वर्तमानको वास्तविक विम्ब


पत्रपत्रिका र सामाजिक सञ्जालमा दिनहुँ थुप्रै साहित्यिक पुस्तक विमोचन भएको समाचार आइरहन्छ। कथा, कविता, उपन्यास, नियात्रा, संस्मरण, अनेक विधाका हुन्छन् त्यस्ता पुस्तक। ती यावतखाले लेखकले लेख्दै जाँदा एक वर्षमा सायद हजारभन्दा बढी किताब छापिन्छन् नेपाली साहित्यका।

यसरी छापिने हजार किताबमध्ये मलाई धेरैको नाम थाहा छैन। पछिल्लो समय कोको लेखक भइसके, त्यो पनि थाहा छैन। के लेखेका छन् ती किताबमा? के सन्देश दिन चाहन्छन् समाजलाई? समकालीन समाजप्रतिको दृष्टिचेत के छ? धेरैको किताब पढ्न सकेको छैन। त्यसैले म त्यति जानकार छैन।

झम्क तिमल्सिनाको ‘विमुक्ति’ हालसालै प्रकाशित उपन्यास हो। उपन्यास पढ्न पनि गतिलो संयोग मिल्नुपर्ने रहेछ। या त लेखक चिनेको हुनुपर्ने या त उम्दा लेखकका रूपमा कहींकतै यसअघि नै अरू कसैले सूचीकृत गरिदिएको हुनुपर्ने।

उपन्यास पढ्न थालेँ। पढ्न थालेँ मात्र होइन, क्रमशः किताबमा डुब्न थालेँ। पढ्दै जान्छु, कथा त मेरै पो हो कि जस्तो लाग्ने। संयोग पनि कस्तो परेको? सिन्धुलीबाट मेरा पिता सुख खोज्दै मधेस झर्नुभयो। आमाको हात समातेर म पनि मधेस पुगेँ।

एकचालिस सालमा भोटे खोलामा आएको भीषण बाढीले सिन्धुलीको मूलकोटस्थित हाम्रो खेत बगर बनाएपछि हामी तराई विराटनगर झरेका थियौं। मलाई मधेसले पनि खुसी दिन सकेन। म राजधानी पसेँ, घरजम गरेँ, यतै घर बनाएँ। गृृहिणी मलाई साथ दिन काम गर्छिन् भने छोरी स्कुल पढ्दै छिन्। एक्लो छोरो सानै उमेरमा अमेरिका पुगिसकेको छ।

उपन्यासको सम्भ्रान्त पात्र तेजमान भान्छे र सुसारेसहित मकवानपुरबाट राजधानी भित्रिन्छ। श्री ५ को हुप्रले सेनाको अधिकृत हँुदै जर्नेल भएर अवकाश पाउँछ। डाक्टरी सकेर उसका छोराबुहारी अमेरिका पुग्छन्। एक दशक उतै अलमलिन्छन्। बाबु जीवित छउन्जेल घर फर्कंदैनन्। सानी छोरीको चिन्ताले उनीहरूलाई घर फर्कन रोक्छ।

बुढो बाबु विशाल बङ्गलामा छोरा, बुहारी र नातिनीको प्रतीक्षामा एक्लै बाँच्छ र स्याहारका लागि राखिएकी लक्ष्मीतिर फर्केर अस्पतालमा अन्तिम सास फेर्छ। एक्लो छोरो अमेरिकामा छ। कहिले आइपुगेर दागबत्ती देला भन्दै सन्तानकै आसमा लास अस्पतालको मुर्दाघरमा कुरेर बस्छ। धत्, कहाँ कहाँ कति कुर्नु सन्तानलाई? कसकसको यो नियति हुने हो? पढ्दै जादाँ पटक पटक लाग्यो, कतै कथाको पात्र निकट भविष्यको म नै त होइन? किताब पढिसकेपछि म निक्र्योलमा पुगेको छु, यो कथाको पात्र ममात्र होइन, हामी सबै हौं। अहिलेको समाजको सजीव चित्र उतारिएको रहेछ उपन्यासमा।

विमुक्ति: वर्तमानको वास्तविक विम्ब
समीक्षक खेटराज दाहाल

देशमा अहिले वृद्धावस्था निकै जटिल सामाजिक समस्या बन्दै गएको छ। एकातिर बुढ्यौलीको अशक्तता र अर्कातिर सन्तानबाट टाढिनुपर्दाको पीडालाई उपन्यासले ज्वलन्त रूपमा उठाएको छ। मृत्यु घोषणा भइसकेकोे व्यक्तिको मनोदशा र उसको मन मस्तिष्कमा खेल्ने मनोभावको केन्द्रमा बुनिएको कथामा अरू केही वृद्धवृद्धा पनि प्रवेश गर्छन्।

एक्लोपनबाट बाहिरिन मन र उमेर मिल्ने दौंतरी खोज्दै जर्नेल बुढो वृद्धाश्रम पुग्छ। त्यहीं भेटिन्छन् फरक भूगोल र परिवेशबाट फरक फरक परिबन्धले एकै ठाउँ आइपुगेका पात्रहरू। ती पात्रसँग तुलना गर्दै मूल पात्र भन्छ, जीवन जसरी बितोस्, अन्त सबैको उस्तै हुदोरहेछ।

उही उमेरका उस्तै पात्रका परिवेश फरक फरक छन्। तर वर्तमान उस्तै छ। मनोभाव उस्तै छ। आफैं त्यक्त हुदाँ पनि आमाबाबुको सन्तानप्रतिको प्रेम उतिकै अटल छ। बरन्डामा बर्सौं एक्लै बिताउने पात्र पनि अन्तिमसम्म सन्तानप्रतिको अनुरागले बाँच्छ, आउलान् कि भन्ने अपेक्षामा बाँच्छ। साँच्चै मार्मिक लाग्छ त्यो क्षण।

मृत्युअघि लामो समय भेट नभएको व्यक्तिको अन्तरमन मृत्युपछि अर्काले कसरी थाहा पाउँन सक्छ? गजब शैलीको प्रयोग गरेर त्यो भावलाई उजागर गरिएको छ पुस्तकमा। बाबुको मृत्युपछि स्वाभाविक रूपमा सन्तानले पैत्रिक सम्पत्ति आफ्नो नाममा नामसारी गर्न चाहन्छ। जेजे कानुनी प्रक्रिया पूरा गरेर पनि आफ्नो नाममा नामसारी गर्छ। घरभन्दा टाढा रहेको सन्तानलाई कहाँ कति सम्पत्ति छ, त्यो पनि थाहा हुँदैन।

सम्पत्तिको निस्सा खोज्ने क्रममा छोराले एउटा डायरी भेट्छ। उसलाई लाग्छ, यही डायरीमा छ हिसाब किताब। तर डायरी त मृत्युको काखमा बसेर बाबुचाहिँले लेखिएको मनोवादले मात्र भरिएको हुन्छ। छोरो एक्लै बसेर आफ्नो बाबुले लेखेको डायरी पढ्छ र थाहा पाउँछ, स्वर्गीय पिताको अन्तरमनको भाव। त्यो पनि मृत्युको ठिक अघि मृत्युसँगै बसेर लेखेको। उपन्यासको झन्डै पचहत्तर प्रतिशत अंश खासमा त्यही डायरी नै रहेको छ। डायरीलाई जस्ताको त्यस्तै कभरसम्म दिएर राखिएको प्रयोग उपन्यासमा सायद नयाँ हुनुपर्छ। मैंले पढेको यही पहिलो हो।

डायरीभित्र पुस्तान्तरले सिर्जना गरेका समस्या, लोप हुँदै गएका र परिवर्तन हुँदै गएका संस्कृति र चाडवाडसमेत वर्णित छ। कतिपय स्थानमा डायरी लेखक स्वयं दार्शनिक बनेर जीवनजगत्प्रतिको पृथक् दृष्टि ओकल्छ। कतिपय स्थानमा अतीतका संस्मरण लेख्छ। सकेको क्षणसम्म डायरीमा केही न केही लेख्दै जान्छ तर दुर्भाग्य उसले लेख्न खोजेको अन्तिम वाक्य पूरा गर्न सकेको हँुदैन। त्यसैले उसको डायरी पूर्ण हुँदैन। डायरीको अन्तिम पाना पढ्दा अनुमान गर्न सकिन्छ, त्यो वाक्य पूरा नहुँदै लेख्न छोडेर अस्पताल दौडेको क्यान्सरग्रस्त बुढो नातिनीलाई स्पर्श गर्न नपाउँदै अस्ताउँछ। त्यसपछि त्यो डायरी लेखिँदैन, अपूर्ण रहन्छ।

कथा धेरैजसो करुण भावले भरिएको छ। पढिरहँदा धेरैजसो समय मन चसक्क भइरहन्छ। कमजोर नयनमा त आँसु नै बहला सायद। कतै कतै प्रेम र रोमान्सका कथा पनि भेटिन्छन् तर त्यो रोमान्स त्यति सशक्त देखिँदैन। त्यस्ता क्षणहरू तत्कालै हराएर जान्छन्। उपन्यास पाँच पुस्तासम्मको कथालाई सरल रेखामा निकै कम सूचना दिँदै अगाडि बढ्छ। राणाकालबाट सुरु भएको कथा वर्तमान अर्थात् २०७४/७५ सालसम्म आइपुग्छ। यो लामो कालखण्डको कथामा सान्दर्भिक स्थानमा तत्कालीन संस्कार र परिवेशसमेत उल्लिखित छ।

डायरी पढेर विभ्रममा परेको छोरो विभ्रमको विमुक्तिखातिर मकवानपुर झर्छ। बैकयाको गाउँ गाउँ डुल्छ र पिताको अपूर्ण डायरीलाई पूरा गर्न खोज्छ। कथाको मुख्य सार यति नै हो। उपन्यास छोटो छ। दुई या तीन बसाइमा सजिलै सकिन्छ। अझ पढ्दै जाँदा रोक्न मन लाग्दैन। त्यसैले पनि चाँडै सकेको हुनुपर्छ मैले।

उपन्यास पढ्दा कथाको मूल पात्र को हो भन्ने कुरामा अलमल भइरहन्छ। वृद्धको स्याहारका लागि राखिएकी लक्ष्मी वृद्धको मृत्युपछि बिना अपेक्षा एकाएक घर छाडेर जान्छे। उसको त्याग र समर्पण देख्दा त्यसैलाई आदर्श र मूल पात्र मान्न मन लाग्छ। उसैलाई प्रमुख पात्र मान्ने हो भने ऊमाथि उचित न्याय नभएजस्तो देखिन्छ। बुढाको मृत्युपछि अन्तिमसम्म ऊ कतै नदेखिनु न्यायिक देखिन्न।

छोरो पात्र अमेरिकामा रहँदा पनि सधैं जन्मभूमि सम्झिरहन्छ। बुहारी पात्र पनि त्यसैगरी सम्झन्छे ससुरालाई। आस्था र आदर्शको धरोहरका रूपमा रहेका वृद्ध अवस्थाका बाबु घरमा एक्लै हुँदा दश वर्षभन्दा बढी समयसम्म पनि छोराबुहारी घर फर्केनन् र ती दुवै डाक्टरले पिताको रोगबारे पहिले थाहै पाएनन् भन्ने कुरा अलिक बढी नै आख्यानात्मक लाग्छ।

‘विमुक्ति’ले उच्च वर्गभित्र पनि दुःखका चाङ हुन्छन् भन्ने तथ्यलाई दमदार रूपमा स्थापित गरेको छ। भुइँमान्छेका अपेक्षा सदा भुइँमै रहन्छन् भन्ने पुरानो साध्यलाई उपन्यासले विस्थापित गर्न सकेको देखिँदैन। लक्ष्मीजस्ता भुइँमान्छेको अपेक्षा एक पेट भर्नुसँग मात्र हुन्छ कि त्योभन्दा माथि ?

कथाको मुख्य भूगोल मैतीदेवी मन्दिर आसपास, पाशुपत क्षेत्र र मकवानपुरको बकैयामा घुमेको छ। मूल कथाको सेरोफेरोको भूगोल यति नै हो। जो कथामा लेखिनै पथ्र्यो, लेखिएको छ। त्यसबाहेक कथा बुन्ने क्रममा नुवाकोटको देवीघाट, काभ्रेको ढुंखर्क, ललितपुरको टुङ्गुन क्षेत्र, डोटीको फुलौटका पात्र वृद्धाश्रममा भेटिन्छन्।

पात्रलाई उभ्याउन परिचयको क्रममा स्थान विशेष उल्लेख गर्नु आवश्यक छ। जस्तैः काभ्रे ढुंखर्ककी घिम्रिनी बजै। छोटो स्थान परिचय मात्र पर्याप्त हुने अवस्थामा पात्रसँग जोडेर कथाले नमागे पनि एकदुई अनुच्छेदमा गरिएको स्थानविशेषको वर्णन उपन्यासकार स्वयंले टेकेको जमिन विशेषको वर्णन हो या लोकप्रिय बन्ने रहर ? भन्ने प्रश्न गर्ने ठाउँ छ। तथापि त्यस्ता अनुच्छेद निकै छोटा र काव्यिक नै छन्।

परदेश जानेहरू खुसीले घरदेश माया मारेर बसेका हुन्छन् भन्ने आम भ्रमलाई पनि चिरेको छ उपन्यासले। स्वदेशमा रहनेहरू परदेश जानेको पीडाले जसरी छटपटिन्छन्, त्योभन्दा बढी औडाहा देखिन्छ विदेशमा रहनेहरूको। विदेशमा त आफन्त मात्र होइनन्, चुत्थै भए पनि आफ्नो देशसमेत हुँदैन।

सारमा ‘विमुक्ति’ उपन्यासका हुलमा थपिएको एक थान नयाँ उपन्यास मात्र होइन, पठनीय र सङ्ग्रहणीय कृति हो। यसले सिङ्गो मुलुकको वर्तमान बोलेको छ। यो पुस्तक विदेश जान तम्सिएका युवायुवतीले पढ्नुपर्ने रूपमा रहेको छ। यसलाई विद्यालयसम्म पुर्‍याउन सके देश केही होइन, देशले केही गरेको छैन भन्ने सोच्नेले देश के हो र देशले के गर्‍यो भन्ने बुझ्न सक्थे। त्यस्तै परिबन्दले विदेशमा अल्झेकासम्म पुग्न सके कमसेकम एकक्षण भए पनि उनीहरूको मन चिसिने थियो। सन्तानबाट छुटेर एक्लै परेका आमाबुबालाई आँसु बगाउन पनि यो पुस्तक सहयोगी नै हुनेछ।



Source link

Leave a Comment