यही असोज १०–१२ गतेको वर्षामा काठमाडौं उपत्यकामा २४ घण्टामा ५४ वर्षयताकै उच्च वर्षा मापन गरियो । जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १०–१२ मा १४ जिल्लाको २५ मापन केन्द्रले पुरानो रेकर्ड तोड्दै भारी वर्षा मापन गरे ।
यस घटनाले नेपालमा वार्षिक ५०० भन्दा बढी बाढी, पहिरो र हिमपहिरोजन्य विपद् निम्त्याउने अवस्थालाई पुनः पुष्टि गर्यो । विगतका घटनाहरू हेर्दा, २०५० सालमा टिस्टुङ क्षेत्रमा २४ घण्टामा ५४० मिलिमिटर वर्षा हुँदा कम्तीमा १३५६ जनाको मृत्यु हुनुका साथै अर्बौंको सम्पत्ति क्षति भएको थियो ।
राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार १० वर्ष (२०६८ सालदेखि २०७७ सम्म) मा १८९६ जनाको मृत्यु, करीब १९ अर्ब ६९ करोडको क्षति भएको पाइन्छ, जसमध्ये वि.सं. २०७७ मा मात्रै ३४३ को मृत्यु एवं सबैभन्दा बढी क्षति (१४ अर्ब ९४ करोड) २०७१ सालमा भएको देखिन्छ ।
वर्षा र बाढीको वर्तमान अवस्था
असोज १२ शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा २४ घण्टामा अत्यधिक वर्षा मापन गरिएको थियो । त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा २३९.७ मिलिमिटर वर्षा मापन भयो, जुन २२ वर्षअघिको १७७ मिलिमिटरको रेकर्डलाई तोड्यो ।
नेपालमा सन् १९७० देखि वर्षाको अभिलेख राख्न थालिएको पाइन्छ । काठमाडौंमा शुक्रबार बिहानदेखि सुरु भएको भारी वर्षा शनिबार अपराह्नपछि मात्रै रोकिएका कारण उपत्यकाका नदीहरूमा अत्यधिक बाढी आउँदा नदी आसपासका शहर र सडक जलमग्न बनी उपत्यका आक्रान्त भएको थियो । देशभर अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म २०० भन्दा बढी जनाले ज्यान गुमाएका छन् भने अझै धेरै जना बेपत्ता छन् ।
उपत्यकामा पहिले पनि सानो र ठूलो बाढी आएकै थियो, तर पनि त्यतिबेला नदी प्राकृतिक स्वरूपमै आफ्नो बहाव क्षेत्रमा बगेको थियो, जसले गर्दा नदीको दायाँ र बायाँ किनारामा त्यस्तो अप्रत्यासित बाढी र क्षतिको महसुस भएको पाइएको थिएन । तर अहिलेको अवस्था मानव अतिक्रमणका कारण जटिल बनेको छ ।
नदीहरूमा फोहोर मिसाएर जल प्रवाह अवरुद्ध गरिएकोले गर्दा पनि आसपासका क्षेत्रमा केही हदसम्म बाढीको सम्भावना बढाएको पाइन्छ । जलवायु परिवर्तनको असरले पनि अप्रत्यासित वर्षा निम्त्याएको हुनाले यसबाट पाठ सिक्दै हामीले पूर्वतयारी गर्न आवश्यक छ ।
उपत्यकामा बाढीको प्रभाव
काठमाडौं उपत्यकामा पानी सोस्ने र भण्डारण गर्ने प्रणाली अव्यवस्थित छ । पहिले उपत्यकाका खेत, खुला जमिन र हरियाली क्षेत्रहरूले पानी सोस्ने, पानीको बग्ने वेगलाई कम गर्ने र विस्तारै जमिनमुनि छिराउने काम गर्थे ।
फलस्वरूप आंशिक बाँकी पानी मात्रै बग्ने र एक स्थानबाट अर्को स्थानमा पानी पुग्न समय लाग्ने र पानी विस्तारै फैलिन र सर्न सक्ने हुनाले, एकातिर बाढीको खतरा घट्न जाने अर्कोतिर उपलब्ध समयमा सुरक्षित स्थानमा पुग्दा मात्रै पनि केही क्षति न्यूनीकरण हुने गरेको थियो ।
तर अब उपत्यकामा अव्यवस्थित शहरीकरणका कारण पानी सोस्ने क्षमतामा कमी आएको छ । बागमती नदीको बहाव क्षेत्र विभिन्न पुलहरूमा अपुग रहेकोले कतिपय स्थानहरूमा डुबान र कटान हुने गरेको छ । उदाहरणको लागि बागमती नदीको यूएनपार्कमा करीब ५५ मिटर र थापाथलीमा करीब १६० मिटर लामो पुल रहेको छ ।
काठमाडौंका मुख्य नदीहरू, जस्तै बागमती, विष्णुमती, धोबी खोला, नख्खु खोला, मनोहरा, हनुमन्ते लगायतमा मानव अतिक्रमण हुँदा ती साँघुरिएका छन् । विष्णुमती, धोबी खोला, मनोहरा, हनुमन्ते, गोदाबरी खोला र नख्खु खोला लगायतका खोला÷नदीहरू बागमती नदीका सहायक नदीहरू हुन् ।
हनुमन्ते र गोदाबरी खोला मनोहरा खोलामा मिसिई शंखमूल योगा पार्क नजिकै बागमती नदीमा समाहित हुन्छन् भने नख्खु खोला चोभार डाँडा भन्दा अपस्ट्रिम तथा बागडोल बाटिका भन्दा डाउनस्ट्रिम बीचको स्थानमा बागमती नदीमा मिसिन्छ ।
नदीले आफ्नो तल्लो तटीय क्षेत्रमा पार्न सक्ने प्रभाव, असर र क्षति माथिल्लो तटीय क्षेत्रमा भएका, गरेका÷गरिएका क्रियाकलापहरूसँग अत्यन्तै अन्तरसम्बन्धित हुन्छन् । जलाधार क्षेत्रको संरक्षण, सम्वर्धन र व्यवस्थापन विना स्वस्थ तथा व्यवस्थित नदी प्रणाली सम्भव देखिंदैन, जुन तल्लो तटीय क्षेत्रमा हुने बाढी डुबान, गेग्रान कटान, पटान, नदीको बेड लेवल बढ्ने वा घट्ने जस्ता जलजन्य प्रकोपसँग सम्बन्धित समस्याहरूको न्यूनीकरण तथा व्यवस्थापनका लागि महत्वपूर्ण छ ।
यी नदीहरूमा पहिले पर्याप्त बहाव क्षेत्र रहेको भए पनि, अहिले खोला किनारामा बस्ती बसालेकाले बाढीको समस्या थप गहिरिएको छ । यसले नदी प्रणाली र जलाधार क्षेत्रको संरक्षणमा चुनौती खडा गरेको छ ।
क्षतिको कारण र विश्लेषण
हालको बाढी र डुबानको प्रमुख कारण मानवीय गतिविधिले सिर्जना गरेको अतिक्रमण हो। उदाहरणका लागि, नख्खु खोला क्षेत्रका पहाडहरूमा भएको वन फडानी र अव्यवस्थित उत्खनन्का कारण माटो, ढुङ्गा र लेदो नदीमा बगेर तल्लो तटीय क्षेत्रको जमिन उर्वर नबनाई माटो ढल्किएर बाढीको मात्रा बढाएको पाइन्छ ।
त्यसैगरी लेले नल्लुको दमसिडोल सामुदायिक वनका केही पहाडहरू उजाड देखिन्छन्, रूखहरू छैनन्, केवल भूस्खलन योग्य चट्टानहरू छन् । काटिएका नांगा उत्खनित पहाडहरूबाट निस्कने ढुङ्गा, धुलो र माटो सिधै नदीमा मिसाइएको पाइन्छ ।
वर्षौंदेखि सञ्चालित ढुङ्गाखानी, अत्यन्तै भिरालो क्षत–विक्षत पहाड, उत्खनन् गरिएपछि असरल्ल छाडिएका ढुङ्गामाटोले नख्खु खोलाको तल्लो तटीय क्षेत्रमा माटो, ढुङ्गा, लेदो तथा गेग्रान आपूर्ति गर्न जिम्मेवार रहेको पाइन्छ ।
जसका कारण गत हप्ताको भीषण बाढीमा कतिपय स्थानमा नदीको बेड लेभल बढ्न गई दायाँ र बायाँ किनारामा समेत बाढीको प्रभाव, असर र क्षति समेत बढेको देखिन्छ ।
एक अध्ययनका अनुसार काठमाडौंको शहरी क्षेत्र मध्ये करीब ६६ प्रतिशत भन्दा बढी जमिन बिल्ट अप एरियाको रूपमा परिणत भएको पाइन्छ, जसले गर्दा जमिनको सतहमुनि पानी छिर्ने दरमा अत्यधिक कमी आई भूमिगत जलस्रोतको सतह पनि घट्दै (करिब ९ देखि ६८ मिटरसम्म तल झरेको) जाने गरेका कारणले गर्दा परापूर्वकालदेखि नै उपलव्ध भइरहेका ढुंगेधारा, इनार, मूल जस्ता पानीका स्रोतहरू समेत सुकेको पाइन्छ ।
अर्कोतिर रफ्नेस कोफिसेन्ट अत्यधिक कम हुन गई जमिनमा कत्ति पनि पानी नअडिई बगेर जाने गरेका कारण उत्तिकै वर्षा हुँदा पनि नदीमा बाढीको मात्रा बढेको पाइन्छ । माथिल्लो तटीय क्षेत्रमा प्राकृतिक तथा मानवीय कारणले गर्दा सेडिमेन्ट इरोजन भई नदीको सतह बढ्दै जानाले रिभर च्यानलको क्यारिङ क्यापासिटीमा अत्यधिक कमी आई नदीको दायाँ र बायाँ अत्यधिक डुबान तथा क्षति हुने गर्दछ ।
उत्तिकै बाढी डुबान, कटान र पटान (हजार्ड) हुँदा पनि नदी आसपास, फ्लडप्लेन र जलाधार क्षेत्रमा भएको क्रमशः अतिक्रमण, घर लगायत अन्य संरचना मापदण्डको अपालना, भू–क्षय आदि कारणले (एक्सपोजर, भल्नरेबिलिटी र कोपिंग क्यापबसिटीमा आएको कमी) जोखिम र क्षतिमा बढोत्तरी भएको पाइन्छ ।
अहिले काठमाडौंमा आएको बाढी ५४ वर्षयताको पक्कै ठूलो बाढी हो, तर विगतमा टिस्टुङमा ५४० मिलिमिटर र कञ्चनपुरमा करीब ६०० मिलिमिटरसम्म परेको पानीको तुलनामा अहिले हामीकहाँ खासै अप्रत्यासित पानी परेको भने होइन । तर यसले हाम्रो तयारीको कमीलाई उजागर गरेको छ ।
मौसमविद्हरूले समयमै सम्भावित खतराको चेतावनी दिएका थिए, तर तयारीमा कमीले गर्दा अपेक्षित रूपमा क्षति न्यूनीकरण हुन सकेन । त्यसैले यसलाई हामीले चेतावनीको रूपमा लिई भोलि फेरि धेरै पानी पर्दा त्यो पानि कहाँ पर्यो, कति पर्यो, कति अवधि पर्यो अनि त्यो पानी कहाँ जान्छ र त्यसले काठमाडौं उपत्यकाका कस्तो कस्तो ठाउँमा कस्तो असर पार्छ भनेर हामीले एकीकृत रूपमा पूर्व तयारी गर्नु वाञ्छनीय देखिन्छ ।
उपत्यकाको उत्तरतिरको भागमा भन्दा दक्षिणी भागमा बढी वर्षा भएको देखिन्छ । काठमाडौं उपत्यकाको जमिनको पानी सोस्ने र जमिनमुनि पानी छिर्ने क्षमतामा कमी आई ‘रन अफ कोफिसेन्ट’ अत्यधिक बढेको (झण्डै ०.९ भन्दा बढी) देखिन्छ । अर्कोतिर नदीमा अतिक्रमण वर्षेनि वृद्धि हुँदै गएकोले निम्त्याइएको प्रलय भएकोले, अब यो समस्या वर्षेनि दोहोरिने देखिन्छ ।
यस पटक मौसमविद्हरूबाट सम्भावित खतराको यथेष्ट एवं पर्याप्त जानकारी र चेतावनी समय प्राप्त हुँदा पनि पूर्व तयारी गरी अपेक्षित क्षति न्यूनीकरण हुन नसक्नुको कारण खोज्नुपर्ने देखिन्छ । विपद् पछिको राहत संस्कृति पनि कहीं कतै केही हदसम्म पूर्व तयारीको बाधक बनेको हो कि भन्ने देखिन्छ ।
विपद् व्यवस्थापन र समस्या समाधान
काठमाडौंमा अव्यवस्थित शहरीकरण र निर्माण कार्यले बाढीको जोखिम बढाएको छ । मानिसहरूले खोलाको छेउमा घर निर्माण गर्दा, नदीले बहाव गर्न पाउने ठाउँ साँघुरिएको छ । यसले बाढी निम्त्याउन र वातावरणलाई पनि हानि पुर्याउन सक्छ, तर निर्माण अघि यी मुद्दाहरू कसैले गम्भीरतापूर्वक अध्ययन गरेका छैनन् । पानी पर्दा खोलाहरूले नजिकका घरहरू बगाउन सक्छन् ।
उचित योजना बनाएको भए यस्तो समस्या उत्पन्न हुने थिएन । अहिले, धेरै मानिसले खोलाको छेउमा घरहरू बनाइसकेका कारण क्षतिको सम्भावना अत्यधिक बढेको देखिन्छ । त्यसैले, अब हामीले बाढीबाट हुने क्षति कम गर्न उपायहरू खोज्नुपर्छ । बाढी र डुबानको जोखिम कम गर्न एकीकृत नदी व्यवस्थापन योजना लागू गर्नु जरूरी छ ।
नदी किनारमा अव्यवस्थित रूपमा बनेका संरचना र बस्तीहरूको व्यवस्थापन गरिनुपर्छ । भविष्यमा हुने बाढीको क्षति न्यूनीकरण गर्न अब हाम्रो ध्यान बाढीको पूर्वतयारी र उपलब्ध क्षेत्रहरूको व्यवस्थापनमा हुनुपर्छ ।
प्राकृतिक प्रकोपहरू जस्तै बाढी, पहिरो र भूकम्प प्रायः चेतावनी विना आउँछन्, र यी घटनाहरू पूर्ण रूपमा रोक्न सम्भव छैन, तर पक्कै पनि विपद् अघि र पछि गरिने पर्याप्त तयारीले क्षतिको मात्रालाई भने अवश्य न्यूनीकरण गर्न सकिन्छ ।
क्षति न्यूनीकरणका उपाय
नदीतटीय क्षेत्रमा बाढी डुबान, कटान र पटानका आधारमा हुनसक्ने सम्भावित जोखिम र क्षतिको आकलन, पहिचान र मूल्याङ्कन गर्नुपर्ने देखिन्छ । तर यस्ता प्रकोपहरूको गहन अध्ययन गरी जोखिम र क्षतिको मूल्याङ्कन गरेको प्रायः विरलै मात्र पाइन्छ । सम्भावित जोखिम तथा क्षतिको आधारमा जग्गा वर्गीकरण गरी उपयोग गर्न जग्गा उपयोग नीतिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
(क) जलाधार क्षेत्रको संरक्षण, सम्वर्धन र व्यवस्थापनका लागि वृक्षरोपण लगायतका कार्य गर्नुपर्दछ ।
(ख) जलाधार क्षेत्रमा भू–क्षय न्यूनीकरणका लागि चेक–ड्याम निर्माण एवं बायोइन्जिनियरिङ कार्य गर्ने ।
(ग) जलाधार क्षेत्रमा साना–साना वाटर हार्वेस्टिंग रिजर्भभ्वायर र वाटर रिचार्जिङ पन्ड निर्माण गर्ने ।
(घ) नदी आसपास (दायाँ र बायाँ किनारा) मा ग्रीन बेल्ट निर्माण गर्ने, अव्यवस्थित बस्तीलाई विस्थापित गर्ने ।
(ङ) आवासीय क्षेत्रमा खुला जमिनको संरक्षण, सम्वर्धन र व्यवस्थापन गरी पार्कको निर्माण गरिनुपर्ने ।
(च) आवासीय क्षेत्रमा निजी वा सार्वजनिक भवन निर्माण गर्दा पर्याप्त खुला जमिन राख्नुपर्ने साथै प्रत्येक भवनमा कम्तीमा एउटा इन्फिल्ट्रेसन÷ रिचार्जिङ पन्ड अनिवार्य रूपमा निर्माण गर्नुपर्ने कानूनद्वारा निर्दिष्ट गर्नुपर्ने ।
(छ) गेग्रान/तलछट व्यवस्थापन योजना (सेडिमेन्ट म्यानेजमेन्ट प्लान) तयार गरी सोही आधारमा नदीजन्य सामग्रीको उपयोग उत्खनन् गर्नुपर्ने साथै नदी बीचमा गेग्रान पटानबाट निर्मित थुप्रोको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
(ज) नदी तथा जलाधार संरक्षण र व्यवस्थापन ऐन निर्माण गरी नदीको बहाव क्षेत्र तथा नदीको किनारामा छोड्नुपर्ने जमिन (नदी मार्ग अधिकार समेत)को सुनिश्चित गरी नक्सांकन गरिनुपर्छ ।
(झ) बाढी डुबान, कटान र पटानका आधारमा जोखिम नक्शा तयार गरी सोही आधारमा पर्याप्त पूर्व तयारी गर्ने ।
(ज) जलवायु परिवतर्नको असरलाई समेत मध्यनजर गरी बाढीको पुनरावृत्ति काल (रिटर्न पिरियड)को आधारमा नदीको हाइड्रोलोजिकल अध्ययन गरी बाढी तथा डुबानबाट हुनसक्ने जोखिम क्षेत्रको वर्गीकरण गरी जोखिमको आधारमा त्यस क्षेत्रमा गर्न हुने र नहुने कार्य (क्रियाकलाप) हरू निर्धारण गर्नुपर्ने देखिन्छ ।
(झ) साथै प्रकोप प्रभावित समुदायहरूलाई बाढी, प्रकोप सम्बन्धी तालिम तथा आवश्यक सूचनाबाट सुसूचित गराई प्रकोप प्रतिरोधी क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।
(ञ) विशेषगरी यसको लागि जोखिम नक्साका आधारमा गैरसंरचनात्मक उपायहरू मार्फत पनि हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सकिने देखिन्छ । यसका साथै बाढी तथा विपद् प्रतिरोधी संरचना तथा स्वयं व्यक्तिको प्रतिरोधी क्षमता समेत बढाउने गरी नीतिगत रूपमा व्यवस्था गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
निष्कर्ष :
विपद् व्यवस्थापनमा ज्ञान र अनुभव हुँदाहुँदै पनि, व्यावहारिक स्तरमा कार्यान्वयनमा कमी आएको छ । बाढीको प्रभावलाई समयमै ठम्याउन नसक्नु, पूर्वतयारीको अभाव र नीति तथा योजना प्रभावकारी रूपमा कार्यान्वयन नगर्नु यस समस्याका प्रमुख कारण हुन् । बाढी, पहिरो र प्राकृतिक प्रकोपहरू पूर्ण रूपमा रोक्न नसके पनि पूर्व तयारीका माध्यमबाट क्षति न्यूनीकरण गर्न सकिन्छ ।
अन्ततः, विपद् व्यवस्थापनमा भएका केही ज्ञान र अनुभवलाई एकीकृत गरी हालैको बाढीबाट भएको असर र क्षतिलाई आधार मानी व्यावहारिक रूपमा हामी कहाँ चुक्यौं, के गर्नुपथ्र्यो, किन भएन वा समस्या हाम्रो क्षमता भन्दा ठूलो भयो ? अब यी प्रश्नहरूको गहिरो विश्लेषण गरेर समाधान खोज्ने बेला आएको छ ।
(जलस्रोत तथा सिंचाइ विभागमा कार्यरत सिनियर डिभिजनल इन्जिनियर सुवेदीले ‘नेशनल ग्य्राजुएट इन्स्टिच्युट फर पोलिसी स्टडी जापान’ बाट बाढी, डुबान, कटान र पटानबाट हुने जोखिम तथा क्षति सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन् ।)