विदेश बसेर १२६,५०० डलरसम्म कमाउनेले अमेरिकामा कर तिर्न नपर्ने, तर यस्ता छन् शर्त



२०२४ मा बर्षको ३३० दिनभन्दा धेरै विदेश बस्नेले अमेरिकामा १२६,५०० डलर सम्मको आम्दानीको रकममा ट्याक्स तिर्न नपर्ने आईआरएसले स्पष्ट पारेको छ । सन् २०२४ का लागि विदेशमा कमाएको १२६,५०० डलरसम्मको ट्याक्समा छुट प्राप्त हुने आईआरएसले जनाएको हो ।

१२ महिनाको अवधिमा कम्तीमा ३३० दिन बसेको व्यक्तिले विदेशमा कमाएको रकममा कर छुट प्राप्त गर्नेछन् । त्यसका लागि कुनै बर्षको १२ महिना हुन आवश्यक छैन, दुईबर्षको १२ महिनापनि हुनसक्छ । उदाहरणका लागि २०२३ को जुन महिनादेखि २०२४  को जुन महिनासम्म १२ महिनाको अवधिमा ३३० दिनभन्दा बढी अमेरिकाबाहिर बसेको भएतापनि यो रकम २०२३ र २०२४  को ट्याक्समा छुट पाउन सकिन्छ ।

यदि कुनै कारणवश अमेरिकामा १२ महिनाको अवधिमा ३४ दिनभन्दा बढी बस्नु परेको खण्डमा भने विदेशमा कमाएको आम्दानीको ट्याक्स तिर्न नपर्ने छुट गुम्न सक्छ । विदेशमा कमाएको आम्दानीमा छुट पाउनका लागि उक्त देशमा बैध रुपमा काम गर्ने अधिकारप्राप्त हुनुपर्छ ।

पूर्ण ट्याक्स बर्षलाई प्रतिनिधित्व गर्ने निर्वाध अवधिसम्म कुनै विदेशी मुलुकको वास्तविक निवासी रहेको अमेरिकी नागरिकले पनि विदेशमा गरेको आम्दानीमा कर छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै अमेरिकाको आयकर सम्बन्धि सन्धी सम्झौता भएको मुलुकको नागरिक अमेरिकाको बासिन्दा भएको खण्डमा पनि उसले विदेशमा कमाएको आम्दानीमा करछुट हुनसक्छ । तर त्यो व्यक्ति पूर्ण ट्याक्स बर्षलाई प्रतिनिधित्व गर्ने निर्वाध अवधिसम्म विदेशी मुलुकमा बसेको हुनुपर्छ ।

सन् २०१९ मा १ लाख ५ हजार ९ सय डलरसम्म र सन् २०२० मा १ लाख ७ हजार ६ सय डलरसम्म विदेशमा कमाएको आम्दानीमा छुटको प्रावधान रहेको थियो । त्यस्तै २०२१ मा १ लाख ८ हजार ७ सयको थ्रेसहोल्ड रहेकोमा २०२२ का लागि १ लाख १२ हजारसम्म विदेशमा कमाएको आम्दानीमा छुटको प्रावधान रहेको थियो । २०२३ मा यो थ्रेसहोल्ड १ लाख २० हजार थियो ।



Source link

Leave a Comment