विदेशमा पढाइ स्वदेशमा पसिना


विदेश पढ्न जाने नेपाली विद्यार्थी हरेक वर्ष बढिरहेका छन्। हरेक वर्ष बिदेसिएका अधिकांश विद्यार्थीको सपना पाए त्यहीं जीवनवृत्ति खोज्ने हुन्छ। तर, केही भने देशमै केही गर्ने सपना बोकेर फर्किन थालेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै एक लाख १२ हजार पाँच सय ९३ वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी भएको थियो। यतिबेला सयौं विद्यार्थीको ध्यान अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, डेनमार्क, युके, अमेरिकाजस्ता थुप्रै देशतिर केन्द्रित छ। त्यहाँ पढाइसँगै रोजगारीको सुनिश्चित हुन्छ। प्रायः विद्यार्थीको ध्यान शैक्षिक परामर्शदातातिर हुन्छ। तर, केही पात्र यस्ता पनि छन्, जो आफ्नो अध्ययन विदेशमा सकेर देश फर्केका छन्। विदेशको चाल, चलन, सेवा सुविधालाई छोडेर उनीहरू देशमै साना व्यवसायमा रमाइरहेका छन्।

काठमाडौं लाजिम्पाटका ३२ वर्षीय रजुल श्रेष्ठले सानैदेखि विदेशी शिक्षा लिएका छन्। कक्षा ४ देखि विदेशमा पढेका उनी अहिले बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लन्कासायर प्रिस्टन (युसिएलएएन) बाट बिजनेस म्यानेजमेन्टमा ‘डिस्टिक्सन’सहित स्नातकोत्तर पूरा गरी देश फर्किएका छन्।

सानैदेखि विदेशी शिक्षा हासिल गरे पनि उनलाई देशकै आकर्षणले तान्यो। नयाँ जानकारी प्राप्त गर्न, सिक्न र निरन्तर ज्ञान निर्माण गर्न गहिरो रुचि भएका रजुलले भारत, थाइल्यान्ड र बेलायतबाट शिक्षा लिई स्वदेशमा रहेका पिताको व्यवसायलाई समालिरहेका छन्।  

‘मैले जिन्दगीको आधा उमेर विदेशमा पढाइका लागि खर्चेको छु,’ उनले भने, ‘विदेशी चलन, संस्था र प्रणालीको ठुलो एक्सपोजर पाएको छु। जति बेला म युकेमा मास्टर्स डिग्री पूरा गर्न गएको थिए, त्यति बेला ठुलो उपलब्धि हासिल गरेको महसुस भयो। तर, त्यो शिक्षा नेपालमै लागु गर्ने उद्देश्यले मलाई नेपाल फर्काएको हो।’

नेपाल फर्किएका रजुल अहिले आक्र्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत बनेका छन्। सन् १९७८ मा सुरु भएको आक्र्स ग्रुप रजुलका पिता उद्यमी डा. राजेशकाजी श्रेष्ठको व्यवसाय हो। उनका पिता राजेशले विश्वभरबाट विभिन्न वस्तु आयात गरेर नेपाललाई प्रवर्धन गर्न र धेरै देशसँगको व्यापारिक सम्बन्धलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।

आक्र्स ग्रुप बहुमुखी र गतिशील व्यापार समूहका रूपमा विकसित भएको छ। आक्र्स ग्रुपका विभिन्न क्षेत्रमा आफ्नो पहुँच विविधीकरणसँगै अटोमोबाइल, खाद्य उद्योग, होटल र रेस्टुरेन्ट, खाना र पेय पदार्थ, धातु र खनिज, टुर र यात्रा, गलैंचा, कपडा र स्वास्थ्यलगायतका व्यवसायहरू सञ्चालनमा रहेका छन्। त्यही व्यापारलाई रजुलले विदेशी शिक्षा सकेर अँगालिरहेका छन्।

‘नेपाल फर्किएर सिइओका रूपमा मेरो यात्रा सुरु गर्दा बुबाको कम्पनीसँगै साझेदार, ग्राहक र समाजप्रतिको ठुलो जिम्मेवारी बहन गर्दैछु। बुबाको जिम्मेवारी पूरा गर्न मैले धेरै काम गर्नुपर्ने छ। कम्पनीका विभिन्न ब्रान्डहरूलाई सुधारसँगै राम्रो सिर्जना गर्दैछु,’ उनले नागरिकसँग भने। आक्र्स ग्रुपमा संलग्न भएका कर्मचारीहरूलाई काम गर्ने वातावरण, ग्राहकको अपेक्षा पूरा गर्न उनी सधैं तम्तयार छन्। विदेशी शिक्षाले आफ्नो समाज र देशलाई अगाडि बढाउनुपर्छ भन्नेमा सधैं अग्रसर रहेको उनले बताए।

‘समाजका हरेक अंग र राष्ट्रको अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ,’ रजुलले भने, ‘योग्यता भएका र अरूभन्दा कम क्षमता भएकालाई समान अवसर प्रदान गर्नुपर्छ। प्रत्येक व्यक्तिलाई तिनीहरू निपुण छन् भनी जगाउनैपर्छ। सबै आफ्नो लक्ष्यका लागि दौडिरहेका हुन्छन्। उनीहरूलाई साथ, सहयोग र हौसला दिनुपर्छ। यो मनोवृत्तिले समाजलाई अगाडि बढाउँछ।’

आफ्नो विश्वव्यापी उपस्थिति विस्तार आक्र्स ग्रुपले आयात निर्यातमा अस्ट्रेलिया, स्विट्जरल्यान्ड, टर्की, युएई, सिंगापुर, कोरिया, भियतनाम, मलेसिया, थाइल्यान्ड, चीन, भारतलगायतका विभिन्न देशहरूसँग व्यापार सञ्चालन गर्दै आएको उनले बताए।

रजुल भन्छन्, ‘यसले नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएको छ। साथै देशमा रोजगारीका अवसरहरू सिर्जना भएसँगै उद्यमशीलतालाई प्रवर्धन पनि गर्छ।’ सानै बेलादेखि विदेशमा पढेको भएर होला नेपालको शिक्षा प्रणाली कस्तो छ भन्ने अनुभव नभएको उनले बताए।

विदेशी शिक्षाको अनुभव बाँड्दै श्रेष्ठ परिवारका तीन सन्तानमध्ये कान्छा रजुल भन्छन्, ‘विदेशको शिक्षा घोकन्ते पाराको हुँदैन, केस स्टडी मात्रै हुन्छ। कसैको खुट्टा तान्ने हुँदैनन्। खुला विचारका एकापसमा सहयोग गर्नुपर्छ भन्ने भावनाले बाँधिएको हुन्छ।’

सुरुसुरुमा पिताको व्यवसाय सम्हाल्न धेरै गाह्रो भएको तितो अनुभव उनको छ। ‘सधैं विदेशी पद्धतिमा चलेको मान्छेलाई नेपालमा सानो काम गर्न पनि गाह्रो लाग्थ्यो। आफूले पढेको विदेशी पद्धतिलाई नेपालमा लागु गर्न पनि सहज थिएन। विदेशमा सोचेजस्तो नेपालमा केही काम गर्न सहज नहुने। तर, कुनै कुनै विदेशी प्रणालीलाई नेपालीपन दिएर काम गर्दा धेरै राम्रो भयो। मैले त्यही गरिरहेको छु।’

रजुलले आफ्ना पिताको व्यवसाय समाल्न आउनुअघि सातवटा मात्रै ब्रान्ड रहेको आक्र्स ग्रुपलाई शिक्षासँगै विदेशी प्रणालीलाई नेपालीपन दिएर अहिले १२ वटा ब्रान्ड बनाएको बताए। विदेशको शिक्षा र स्वदेशी अनुभवले अहिले रजुललाई पिताको व्यवसायलाई गति दिन सहयोग पुगेको छ। यसले व्यवसायमा नयाँ आयाम थपेको छ।

विदेश गएपछि आफ्नो बहुआयामिक उपलब्धि हुने ठानिन्छ। त्यहाँ त सबै पक्ष ठिकठाक हुन्छ। नेपालमा आएर विदेशको ज्ञान र सिपलाई यहाँ लगाउँदा अरू उन्नति हुन्छ। त्यसले देशभित्रै आदर्श पात्रका रूपमा इज्जतसमेत बढाउँछ।

रजुल जस्तै बेलायतमै स्नातकोत्तर सकी आफ्नै देशमा केही गर्ने सपना बोकेर फर्केकी काठमाडौं ज्ञानेश्वरकी रेश्मा भण्डारी पनि एक हुन्। उनी नेपाल फर्केको केही वर्ष भएको छ।

‘आफ्नो सपना पूरा गर्न नेपाल आएकी हुँ,’ पढाइमा अब्बल रेश्माले भनिन्, ‘विदेशको सपना भनेको मेरो पढाइ मात्रै थियो। काम भनेको आफ्नै देशमा गर्ने इच्छा हो।’ उनी नेपाल फर्केको केही समय पारिवारिक अवस्थाले गर्दा व्यापार व्यवसाय तथा कुनै पनि काम गर्न नपाएको बताउँछिन्। विदेशमा सिकेको ज्ञान नेपालमा व्यवहारमा उतार्ने उनको चाहना छ।

‘नेपालमै केही गर्ने चाहनाले मेरो मन मस्तिष्क भरिएको छ। तर, अहिले मातृत्वलाई पहिलो प्राथमिकतामा राखेको छु। केही समयपछि आफ्नै व्यवसाय वा कुनै एनजिओतिर लाग्ने सोच छ। विदेश गएर काम गर्ने मेरो कुनै परिकल्पना छैन,’ माइतकी कान्छी छोरी अहिले घरकी बुहारी भएकी रेश्माले नागरिकसँग भनिन्, ‘म साह्रै भाग्यमानी छु। माइत र परिवार सबैले साथ दिएका छन्। परिवारकै पहिलो छोरी हुँ विदेश गएर पढ्नेमा।’

उनका अनुसार वैदेशिक अध्ययनका लागि जाने सबै उतै पलायन हुन्छन् भन्ने हुँदैन। नेपालमा वैदेशिक अध्ययनबाट फर्केकाहरूले अर्थतन्त्रमा ठुलो टेवा पुर्‍याएका छन्। बरु वैदेशिक अध्ययनसँगै ज्ञान, सिप र दक्षता लिएर फर्किने रेश्माले बताइन्।

‘आजको आवश्यकता भनेको त विदेशमा नेपाली विद्यार्थीले सिकेको ज्ञान, सिप, प्रविधि, क्षमता र अनुभवलाई नेपाल र नेपालीको हितमा लगाउने अवस्थाको सिर्जना गरिनु हो,’ रेश्माले भनिन्।

भविष्यमा जे सुकै काम गर्न पनि प्रेरित गर्ने उनका पति आधार भएर उभिइदिएको रेश्मा बताउँछिन्। सबै चिजलाई सन्तुलन गर्दै लैजाने हो भने जीवनको सफलता हासिल गर्न सकिने उनको सन्देश छ।

गाउँका नपढेका वा कम पढेका युवा खाडीलगायतका मुलुकमा गएर मजदुरी गर्छन् भने र पढेलेखेका हुनेखानेहरूको चाहना वैदेशिक अध्ययनका लागि युरोप–अमेरिका जाने हुन्छ। यसरी वैदेशिक अध्ययनको आकर्षण बढ्नुमा अरू पनि थुप्रै कारण छन्। विदेशमा अध्ययनका लागि जानु भनेको पलायन हुनु होइन। त्यहींको नागरिकता लिएर सबै बस्छन् भन्ने पनि छैन। वैदेशिक अध्ययनका क्रममा गएर केही वर्ष सिकेको सिप र ज्ञान बाँडेका व्यक्ति नेपालमा थुप्रै छन्। व्यावसायिक, व्यापारिक, राजनीतिक क्षेत्रमा पनि यस्ता उल्लेख्य व्यक्ति छन्।

विश्व बजारमै कोभिडको असर कम भएपछि नेपालबाट विदेशमा अध्ययन गर्न जाने नेपालीको संख्या उल्लेख्य छ। वैदेशिक अध्ययन अनुमति शाखाअनुसार गत आव २०८०/८१ मा अध्ययनका लागि सबैभन्दा धेरै विद्यार्थी जापान, क्यानडा, बेलायत, अस्ट्रेलिया, अमेरिका, कोरिया, फ्रान्स, भारतलगायत देशका पुगेका छन्।

नेपालबाट विदेश अध्ययनका लागि जाने विद्यार्थीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने क्रम बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा विद्यार्थीले पढ्नका लागि ५४ अर्ब ९६ करोड ३७ लाख रूपैयाँ लिएका छन्। त्यो पैसा नेपालमा लगानी भएको छैन। विद्यार्थीले विदेश पढ्न जाने प्रयोजनमा खर्च गरिरहेका छन्।

कोभिड संक्रमणपछि विदेशमा अध्ययनका लागि नेपालबाट बाहिरिने रकम निरन्तर बढ्दै गएको सरकारी तथ्यांक पनि छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा एक लाख १२ हजार नौ सय ६८ जनाले एनओसी लिएर वैदेशिक अध्ययनका लागि बिदेसिएका थिए। त्यस्तै आव २०७९/८० मा एक लाख १० हजार दुई सय १७ जना, आव २०८०/८१ मा एक लाख १२ हजार पाँच सय ९३ जनाले एनओसी लिएर बिदेसिएको सरकारी तथ्यांक छ।

हाम्रोजस्तो मुलुकले वैदेशिक शिक्षा र तालिममा खर्च गर्नु पनि पर्छ। त्यहाँबाट सन्तानलाई राम्रो शिक्षादीक्षा लिएर नेपाल आउन प्रेरित गर्न सक्नुपर्छ। त्यसो भयो भने मात्र नेपालले आधुनिक युगको ज्ञान र सिपबाट लाभान्वित हुँदै अगाडि बढ्ने मौका पाउँछ। अन्यथा, हामी अरूका निम्ति सन्तान जन्माएर पठाउने मुलुकमै सीमित हुनेछौं। 

प्रकाशित: ५ माघ २०८१ ०८:०२ शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School