‘विज्ञान जब शक्ति औजार बन्दछ, तब त्यसप्रति अन्धभक्तिको जन्म हुन्छ ।’
–माइकल फुको, फ्रान्सेली दार्शनिक
अहिले विश्वजगत् फुकोले भनेजस्तो ‘विज्ञानका औजारको डर, त्रास र अशान्ति’बीच बाँच्नु परिरहेको अवस्था छ । आजका विकसित राष्ट्रहरूले विज्ञानको उपजलाई नरसंहारको साधन बनाएका छन् । अल्फ्रेड बर्नहाड नोबेलले ‘डाइनामाइट’ आविष्कार गर्दा त्यसलाई ‘पहरा फोर्न उपयोग गरिएला र मानव उन्नति तथा विकासका लागि प्रयोग होला’ भन्ने सायदै सोचेका थिए । तर युद्धमा विश्वास गर्ने र युद्धको सहारामा आप्mनो शक्ति प्रदर्शन गर्ने ‘युद्ध पिपासु’हरूले अल्फ्रेडको आविष्कारलाई ‘विषालु विस्फोटक’ हातहतियार निर्माणकार्यमा उपयोग गरे । ‘मानव समाज विनाश गरेर शक्ति आर्जन हुन्छ’ भन्नु मुर्खता हो, अन्धविश्वास हो । इज्जत, प्रतिष्ठा र शक्तिको आधार युद्ध होइन, मानव सेवा हो ।
अहिले आणविक शक्तिले सम्पन्न देशले शान्तिपूर्ण बाँच्न पाउने मानिसको नैसर्गिक अधिकारमाथि धावा बोलिरहेका छन् । रसिया र युक्रेनको अवस्थाले यही देखाउँछ । आज युक्रेनमा अस्पताल ध्वस्त भएका छन् । विद्यालय र विश्वविद्यालय खण्डहर बनेका छन् । लाखांैको संख्यामा मानिसको हत्या गरिएका छन् । यसैगरी, इजरायल र पेलिष्टाइनको अवस्था पनि दयनीय छ । गाजा खरानी भएको छ । गाजामा लाखांै मानिसको मृत्यु, घाइते र घरबारविहीन भएको अवस्था छ । यस युद्धमा विपिन जोशीलगायत नेपाली विद्यार्थीले पनि ज्यान गुमाउनुप¥यो । यमनको गृहयुद्ध, सिरिया युद्ध, उत्तर कोरियाको आणविक शक्तिलगायत विश्व परिवेशले मानवता कमजोर शक्तिको अहंकार बढेको देखाउँछ ।
कार्ल सगुनको शब्दमा ‘विज्ञान ज्ञानको थुप्रोमात्र होइन, सोच्ने विधि हो । जब विज्ञान सोच्ने विधि छाडेर विश्वास बन्छ, तब अन्धविश्वास जन्म हुन्छ ।’ अहिले विश्वमा आणविक हतियारको बलमा स्वार्थ र बदलाको भावनाले काम गरिरहेको छ । विज्ञान आविष्कार महात्मा गान्धीको अहिंसात्मक दर्शन र व्यवहारविपरित दिशामा चलायमान छ । एकातिर समाजमा वैज्ञानिक चेतनाका आधारमा रहेका अन्धविश्वास, कुरिती, कुसंस्कार समाजबाट मिल्काउनुपर्छ भन्ने मान्यता छ भने अर्कोतिर आणविक हातहतियार दुरुपयोगले मानव सभ्यता र मानवता ध्वस्त हुँदै गएको देखिन्छ ।
वर्तमान समाज २१औं शताब्दीमा सफर गरिरहेको छ । यस शताब्दीको तेस्रो दशकसम्म आइपुग्दा विज्ञान विकासले चरमोत्कर्षको तह पार गरिसकेको अवस्था छ । विज्ञानले मानवजीवनलाई भौतिक विपन्नताबाट सम्पन्नतातर्फ, अविकासको अ“ध्यारोबाट विकासको उज्यालोतर्फ लगेको असत्य होइन । विज्ञानले निर्माण गरेको भौतिक सम्पन्नता र सुविधाले अहिलेको समाजलाई सुविधा त दिएको छ, तर शान्ति पनि लुटेको छ, अमनचयन खोसेको छ । समाजमा डरत्रास र निराशा ल्याएको अवस्था भएको छ । यस कोणबाट हेर्दा आणविक शक्तिले विश्वलाई नियन्त्रण गर्न खोज्नु अन्धविश्वास हो, विनाशकारी सोच हो, विज्ञान दुरुपयोग हो ।
जर्मन दार्शनिक एरिक फ्राम भन्छन्, ‘आधुनिक मानिस आप्mनै उपकरणको दास बन्दै गइरहेको छ, जब मानिस उपकरणको दास बन्छ, तब नयाँ अन्धविश्वास निर्माण हुन्छ ।’ अहिले विश्व परिवेश र घटनाले एरिक फ्रामको भनाईलाई पुष्टि गर्दछन् । विज्ञानले आविष्कार गरेका उपकरण उपयोग गरी ‘मानवलीला’ अन्त्य गर्ने कार्य शक्ति प्रदर्शनको अन्धविश्वासी कार्य हो । आणविक हतियारको दास बनेर मानव मुटुमा बमबारी गर्नुभन्दा विश्व बन्धुत्व, भाइचारा, मानवतावादी कार्यजस्ता कामले व्यक्ति समाज र राजनीतिक दर्शन उच्च हुन्छ । बुद्धले ‘तिमीजस्तो सोच्छौ, त्यस्तै बन्छौ’ भनेझैं आणविक शक्ति सम्पन्न देशको सोचाइ युद्ध, लडाइ“ र विध्वंशमा होइन, विश्वजगतको लोककल्याणकारी सोचाइबाट निर्देशित हुन आवश्यक छ ।
अल्बर्ट आइन्टाइनका शब्दमा ‘विज्ञान मूल्यबोध र नैतिक चेतनाबिना अगाडि बढेमा लंगडो हुन्छ ।’ यसको अर्थ विज्ञानको उपलब्धी दम्भ, विनाश र शक्ति आर्जनको माध्यम बन्यो भने मानिसमा नैतिकता गुम्दै जान्छ । अनैतिक कार्यले समाज विकास र समृद्धि होइन, विनाश र गरिबीको साधन बन्दछ । अहिले विश्वशान्तिको बाधक विज्ञान बनेको छ (?) । एकातिर विज्ञानले गरिबी, अभाव र विपन्नताबाट उन्नति मार्गमा काम गरिरहेको छ भने अर्कोतिर सम्पन्न भइसकेका देश प्रतिस्पर्धाका नाममा ध्वस्त हुँदै छन् । भौतिक संरचना खण्डहर भएका छन् । यतिमात्र होइन, एउटा देशको मानिस देख्दा अर्को देश वा महादेशको मानिसमा डरत्रास र निराशामा बाँच्नुपर्ने अवस्था छ ।
आज मानिस चन्द्रमामा बसाइसराइ गर्ने तयारी गर्दै छन् । मंगल र बृहस्पति ग्रहमा मानवजीवनको सम्भावनाका लागि खोज अनुसन्धान गर्दै छ । यसैगरी, स्वास्थ्य विज्ञान क्षेत्रमा अकल्पनीय विकास गरेको छ । एउटा मानिसको मुटु र मिर्गौला झिकेर अर्काको शरीरमा राख्न सफल भएको छ । लोग्ने मानिसलाई महिला र महिलालाई लोग्ने मानिस बनाएका घटना अब नयाँ रहेनन् । पृथ्वीको एउटा कुनाबाट अर्को कुनामा भएका घटना निमेषभरमा सुन्नदेख्न पाइने भएको छ । पृथ्वीको एउटा कुनाबाट अर्को कुनामा भएका घटना निमेषभरमा सुन्नदेख्न पाइने भएको छ ।
चाणक्य भन्छन्, ‘शान्ति र सन्तोषभन्दा ठुलो कुनै सुख छैन । तृष्णाभन्दा ठुलो कुनै व्याधि छैन र दया समान कुनै धर्म छैन ।’ चाणक्यले भनेजस्तो अहिलेको विश्व समुदाय सुख, सन्तोष र शान्तिमा बाँच्न पाएको छैन । विज्ञान विकासले समाजलाई भौतिकरूपी सुविधा दिएको छ । शान्ति र सन्तोष दिन सकेको छैन । विज्ञान विकासले तृष्णा बढाएको छ । दया गुमाएको छ । यस सन्दर्भमा विज्ञान विकासले मात्र ‘समाजमा समृद्धि, शान्ति, सुख र अमनचयन दिन नसक्दो रहेछ’ भन्ने पुष्टि गर्दछ । विज्ञानले भौतिक विकासमा निकास दिन सक्छ । चाणक्यले भनेजस्तो ‘मानिसले खोजेको सुख र शान्ति दिन सकेको छैन ।’ यो विज्ञानको दोष होइन । यसको दुरुपयोग गर्ने मन र मस्तिष्कको दोष हो । यस सन्दर्भमा आणविक हातहतियार निर्माण गर्ने प्रतिस्प्रधा बन्द हुनुपर्दछ । विज्ञान मानव हित, सुविधा र सुख शान्तिका निम्ति प्रयोग गरिनुपर्दछ ।
अहिले विज्ञान र प्रविधि विकासले विश्व एउटा गाउँजस्तो भएको छ । विज्ञान विकासले विश्वजगत्को जीवनशैली बद्लिएको छ । महादेशीय ठाउँको दूरी हटाइदिएको छ । मानिस आकास, धर्ती र पानीमा यात्रा गरिरहेका छन् । आज मानिस चन्द्रमामा बसाइसराइ गर्ने तयारी गर्दै छन् । मंगल र बृहस्पति ग्रहमा मानवजीवनको सम्भावनाका लागि खोज अनुसन्धान गर्दै छ । यसैगरी, स्वास्थ्य विज्ञान क्षेत्रमा अकल्पनीय विकास गरेको छ । एउटा मानिसको मुटु र मिर्गौला झिकेर अर्काको शरीरमा राख्न सफल भएको छ । लोग्ने मानिसलाई महिला र महिलालाई लोग्ने मानिस बनाएका घटना अब नयाँ रहेनन् । पृथ्वीको एउटा कुनाबाट अर्को कुनामा भएका घटना निमेषभरमा सुन्नदेख्न पाइने भएको छ । रोबर्ट बनाएर मानिसले गर्न नसक्ने कार्य गराउन सफल भएको छ । यस कोणबाट हेर्दा विज्ञान विकासले मानव समाजका लागि वरदानका रूपमा काम गरेको देखिन्छ ।
विज्ञानको योगदान उल्लेखित क्षेत्रका अतिरिक्त शिक्षा, कृषि, पशुपालनलगायत क्षेत्रमा पनि प्रशंसनीय नै छ । तर, आज युद्धमा विश्वास गर्ने मतियारले विज्ञानको उपलब्धी मानवजातिको विकासमा होइन, विनाशमा प्रयोग गरिरहेका छन् । सम्पन्नता, मानवता, सद्भाव, भाइचारा र शान्तिजस्ता मानवीय गुण अभावमा विश्व समाज शान्ति र अमनचयनमा बाँच्न सक्दैन । विज्ञानको आविष्कारलाई मानव सभ्यताको क्षति गर्न, बदलाको तुष्णा मेटाउन प्रयोग गरिएको छ । लडाकू युद्ध विमानबाट मानवबस्तीमा विस्फोट गराएर शक्ति, शान्ति र समृद्धि खोज्ने विज्ञानको अन्धविश्वास हो । उदण्ड र दानवताको दृष्टान्त हो ।
विज्ञानबाट आविष्कार भएका आणविक हातहतियार र राशायनिक शस्त्रास्त्रले मानिसको जीवन त्रासदीपूर्ण भएको छ । आणविक अस्त्रमा विश्वास गर्ने विकसित राष्ट्र ‘रासायनिक मिसायल प्रयोग गरी शत्रु राष्ट्रलाई नियन्त्रण गर्न सकिन्छ’ भन्ने सोचबाट निर्देशित हुनु माइकल फुकोले भनेझैं ‘अन्धविश्वास’ हो ।
विज्ञान सत्य खोज्ने विधि हो । विश्वजगत्मा देखिएको डरत्रास, नरसंहार, विध्वंशका कारण विज्ञान विकास सत्य खोजीमा होइन । विध्वंशको बाटोमा निर्देशित छ । यो विज्ञानको आविष्कारको दोष होइन । आवणविक सम्पन्न राष्ट्रको राजनीतिक तथा कुटनीतिक नेतृत्वको हो । विज्ञानले मानिसको विवेक, नैतिकता, मानवीयताजस्ता गुण छोपिदियो भने अन्धविश्वास जन्म हुन्छ । विज्ञानको अन्धविश्वास धर्मको अन्धविश्वासभन्दा धेरै डरलाग्दो र भयावह हुन्छ । कामना गरौं, यसो कदापि नहोस् ।
(लेखकको यो निजी विचार हो ।)
(Visited 16 times, 1 visits today)
