समकालीन कविता लेखनमा परिचित नाम हो कवि सुरज राना। उनै कवि नविनतम् कविता कृति जब कविता निस्कन्छ जुलुसमा लिएर आइपुगेका छन्।
सङ्ग्रहमा ‘ओ बाहुनी’, ‘प्रहरी चौकिमा सोल्टा’, ‘लेस्बियन छाँया’ र ‘जब कविता निस्कन्छ जुलुसमा’ गरेर चारवटा खण्डभित्र पैंतालीस वटा कविताहरु छन् । सङ्ग्रह छिचोलिसक्दा कविको कविताको सामर्थ्य र शक्तिको राम्रै अन्दाज गर्न सकिन्छ। कविको उपस्थिति सशक्त र लेखन हस्तक्षेपकारी मान्न सकिन्छ ।
खण्डको नामसँग त्यसभित्रका कविताहरुले उति तादात्मकता राख्दैनन्, भलै कविताहरुमा अनेकौँ विषयहरु अटाएका छन् । जीवन जगतदेखि लिएर विचार- दर्शनसम्म । मूल्य- मिमांसादेखि लिएर आस्तित्विक चिन्तनसम्म । भावनाको अभिव्यञ्जनादेखि लिएर आक्रोससम्म। प्रेम प्रहेलिकादेखि लिएर प्रतिरोधसम्म ।
व्यापक विषयहरु समेटिएका कविताहरुमा विचारको घनिभूत फैलावट भेट्न सकिन्छ। यी विषयउपर कविले सस्तो लोकप्रियता कमाउने प्रयोजनले लेखेको बुझिन्न, बरु कवि हुनुको जिम्मेवारी बोधले प्रेरित भएर लेखेको पाइन्छ। कविताहरु पढ्दा थाहा लाग्छ– कविको कविताप्रतिको बुझाइ लरतरो छैन।
कवि राना झिनामसिना लाग्ने अति सामान्य कुरादेखि गहन लाग्ने भारि विषयसम्म लेख्छन्। त्यसको निम्ति उनी बुद्धदेखि माक्र्ससम्म, गान्धिदेखि हिटलरसम्मको प्रसंग उप्काउँछन्। मुन्धुमदेखि कुरानसम्म, गीतादेखि त्रिपिटकसम्मको तर्क राख्छन्। देउरालीदेखि ब्ल्याकहोलसम्म, अणुदेखि ब्रह्माण्डसम्मको सवाल उठाउँछन्। ती सबैको गठजोडबाट बिचारको एउटा विराट माइक्रोकोजम् निर्माण गर्नु उनको खासियत हो।
उनी वैचारिक रुपमा स्पष्ट छन्। उनले न त कुनै ‘एउटा’ निश्चित वादलाइ मलजल गरेका छन् न त कुनै इतर वैचारिकीप्रति नै पूर्वाग्रह। बरु ती सबै वैचारिकीहरुसँग सामन्जस्य स्थापित गर्न खोजेको बुझिन्छ। तैपनि उनका कविताहरुमा केही न केही प्रधान स्वरहरु भने भेटिन्छन्। मुख्यत: विद्रोह र प्रतिरोध ।
चाहे त्यो सत्तासँग होस या समाजको रुढ मानसिकतासँग । उनी जस्तोसुकै राजनीतिक गुलामी र दासताको विरुद्धमा छन्। अन्धविश्वासको जगमा उभिएको पाखण्डको खिलाफमा छन् । प्रतिरोधसँगै जोडिन्छ प्रगतिशीलता।
कवि समुन्नत समाजको पक्षपाति लाग्छन्। बहुलता र विविधताको उद्घोषक। समाजमा विद्यमान हरेक असमानता र हाइरार्कीको विरुद्धमा उनी खबरदारी गरिरहन्छन्। शासक वर्गविरुद्ध धावा बोलिरहने अधिकांश कविताहरुमा उनी एउटा सचेत नागरिकको विवेकको दलिल पेश गर्छन् ।
‘साँढेहरुको कन्सर्ट’, ‘माछाको सिकार’, ‘बन्दुक’, ‘सपना जुत्ता’, ‘किताबमा देश’ कविताहरुमा यहिँ भाव पाइन्छ। ती कविताहरु कमै रेडिकल छन्। चर्को नारावाजीबाट बचेका। चरम उग्रताबाट जोगिएका। सुन्दर काव्यकारिताको सबल पक्ष भनेकै यहिँ हो। एउटा कविताको हरफ;
जब बिँडी फुकेर मुस्कुराइरहन्छ निरंकुशता
तब बन्दुकले कविता लेख्न थाल्छ
अर्को प्रधान स्वर हो – अस्तित्व चिन्तन। त्यो साँस्कृतिक, धार्मिक, राजनैतिक र सामाजिक बोधभन्दा बढी चैतनिक लाग्छ। जैविकरुपमा एउटै भए पनि मान्छे चेतनाले फरक हुन्छ ।
कवि राना चेतना र मस्तिष्कलाई महत्व दिने रेसनलालिस्ट कवि हुन्। उनको निम्ति चेतनाविहीन हुनु नग्न हुनु हो। आफ्नै विचारको जगमा उभिन नसक्नु मरेतुल्य हुनु बराबर हो। उनलाई आफ्नो मूल्यबोध गर्न नसक्ने फगत केही हुन स्वीकार्य छैन।
‘म’, ‘सास फेर्ने मूर्ति’, ‘नग्नता’, ‘म ब्रह्माण्ड’, ‘बोध’, ‘यात्राग्राफ’ कविताहरुमा यस्तै आसय पाइन्छ । एउटा कविताको हरफ;
औँलाहरु एकठ्ठिएर
मुठी कंक्रिट बन्दैनथ्यो त जुलुमको प्रतिसोधमा
या पैँतालाले डराउँथ्यो भने टेक्न आगोको हिमाल
कसरी ठान्ने आफूलाई जिवित ?
दोस्रो खण्डका केही कविताहरुले लिम्बु सांस्कृतिक सौन्दर्यको छनक दिन्छन्। त्यो सौन्दर्यको केन्द्रमा छ पूर्वी लिम्बुवान र मुन्धुमी जीवनपद्धति। ती कविताहरुमा कतै पुर्खाहरुप्रतिको श्रद्धा भेटिन्छ भने कतै आफ्नो थातथलो र बाल्यकालको सुदूर नोस्टाल्जिया।
हुर्किएको गाउँ छोड्दाको मार्मिक चित्रण छ ‘थेचम्बु’ कवितामा। सहअस्तित्व र समानुभुतिको स्वर भेटिन्छ ‘मित्च्विक’ कवितामा। ‘याक्थुम्बा बाजेको जीवनगीत’ कवितामा लिम्बु बाजेको ढल्किँदो जीवनको गीत प्रस्तुत छ। ‘हात माग्न आउँदाआउँदै’ प्रेम कविताजस्तो लागे पनि पुर्खाहरुको गाथा गाइएको कविता हो। मान्छे विश्वको जुनै भुगोलमा पुगे पनि आफ्नो जरासँगको सम्बन्ध र सन्निकटता तोड्न सक्दैन। जराचिन्तनले नै आफू हुनुको बोध दिलाउँछ। ती कविताहरुको माध्यमबाट यिनै विचारहरु प्रकटीकरण भएको बुझिन्छ। एउटा समुदायसँग सम्बन्धित भए पनि अर्को समुदायको सांस्कृतिक सौन्दर्यको अन्तरवस्तु लेख्ने जोखिम मोल्न खोज्नु जो कोही कविले गर्नसक्ने चानचुने कुरा हैन।
सङ्ग्रहमा टन्नै प्रेमकविताहरु पनि छन् । तीमध्ये ‘ओ बाहुनी’ धेरै कोणबाट उत्कृष्ट छ। जातीय सहिष्णुता र अन्तरघुलन यसको प्रमुख सन्देश हो। बाहुनी प्रेमिका र जनजाती प्रेमको संसर्गबाट एउटा जाविहीन समाजको जन्म गरौँ भन्ने आसय यस कवितामा भेटिन्छ।
‘दोषी’, ‘शून्य ब्रह्माण्ड’, ‘हजुर मुस्कुराउनुहोस’, ‘याद’, ‘तिमीलाई सम्झिरहेको हुनेछु’, ‘अनुभूति’ जस्ता कविताहरु भने उति बलशाली लाग्दैनन् । बरु अतिरन्जित भावुकताले छताछुल्ल बनाएको छ। अनुभूतिको गहिरो तह भए पनि ती कविताहरु भने प्रेमिकालाई रिझाउन व्यक्त गरिने सस्तो फर्मुलाबाहेक उति विशिष्ट लाग्दैनन्।
‘प्रहरी चौकीमा सोल्टा’ कवितामा बेफिकर आधुनिक युवापुस्ताको ढुकढुकी छाम्न सकिन्छ साथसाथै पक्षपाति कानुनप्रतिको आक्रोस पनि। ‘दुनियाँ साँच्चै सुन्दर हुनेछ’ कवितामा कविको वैश्विक दृष्टिकोण बुझ्न सकिन्छ। ‘सिगरेट’ कवितामा जिन्दगीको उद्देलन र छटपटी छाम्न सकिन्छ।
‘बोध’, ‘कविताको मालिकहरुलाई’ कवितामा कवि हुनुको आत्मसम्मान झल्किन्छ। ‘दुखको आकास’ र ‘आशा’ कविता जीवनवादी छ। ‘करोडौँ ब्रह्माण्डहरु रोटेपिङ खेल्छन् मस्तिष्कमा’ कविता प्रयोगवादी छ। ‘अक्षरहरु’, ‘तलब’, ‘इतिहासको बृहत् सभा’, ‘कोहि गएको छ’ सङ्ग्रहको मास्टरपिस कविताहरु हुन्। कला र बिचार दुबै पक्षले उत्कृष्ट। यी कविताहरुले निक्कै गहिरो छाप छोड्छन्।
कवि राना श्रमजिवी कवि हुन्। उनका कविताहरुमा श्रमप्रति उच्च सम्मान झल्किन्छ। गफमा आकास छुने तर व्यवहारमा सिन्का नभाँच्ने प्रवित्तिको उनी घोर निन्दक हुन्। सायद यही नै उनको स्वाभिमान हो। उनी चाकरी र लोलुपतामा विश्वास राख्दैनन्। उनलाई ठूलो महत्वाकांक्षा राख्नुछैन। बरु यथार्थको धरातल राम्ररी खुट्याउनु छ। एउटा कविताको हरफ:
भोकले मेरो कठालो लतार्दै भन्यो
भात खानु छ ए मजदुर
बेल्चा समात !
कवि रानाको बुझाइको तह गहन छ। उनी जे विषयमा लेख्छन् बढो गहिराइमा पुगेर लेख्छन्। अति संवेदनशिल भएर लेख्छन्। विभिन्न विचारहरुको सम्मेलन गराएर पाठकलाई कुनै विषयउपर कन्भिन्स्ड गराउनसक्नु उनको खुबी हो। त्यसको निम्ति उनी विश्वको ज्ञान, सुचना र तर्कहरु प्रस्तुत गर्छन्। सायद कविता लेख्ने उनको टेक्निक नै यही होला ! विषयको गाँठो बाँध्दैबाँध्दै लगेर अन्तिममा रहस्यको धागो फुकाल्ने। यही विशिष्टताले अन्य कविहरुको कविताहरुको भिडमा उनका कविताहरु अलग्गै छुट्टिन्छन्।
सङ्ग्रहमा लाउड कविताहरुको कविताहरुको आधिपत्य रहे पनि केही सफ्ट कविताहरु पनि छन्। केही कविताहरु करेन्टको तरङ्गजस्तो लाग्छ जसले मस्तिष्कमा दह्रो झट्का दिन्छ। केही कविताहरु भ्वायोलिनको मार्मिक धुनजस्तो लाग्छ जसले हृदयमा गहिरो स्पर्श गर्छ।
उनका कविताहरु पढिसक्दा भयानक सुनामी आएर शान्त भएको समुद्री किनारजस्तो अनुभूत गर्न सकिन्छ। जहाँ उडिरहन्छ विचारको भुमरीहरु। या भनौँ कुनै हृदयस्पर्शी संगीतको राग सुनेर प्रकम्पित भइरहेको हृदयजस्तो आभाष। जहाँ झङ्कृत भइरहन्छ… टिक टिक टिक टिक….अन्तरमनको संगीत।
पाठकहरुमा बिचारको ज्वार उठाउन यी हरफहरु काफी छन्-
कठोर संकल्पको उकालो यात्रा गर्नैपर्छ
केही टाइफुन र उठ्नैपर्छ
पस्नैपर्छ चुनौतिको भुङ्ग्रोमा
फेरि शान्त निरवता महसुस गर्न यस्तै हरफहरु काफी छन्-
खुल्ला छ ढोका
पर्दा हल्लिरहेको छ
लाग्छ कोही गएको छ भर्खर यहाँबाट ।
कवि रानाका कविताहरुको सशक्त पक्ष भनेको भाषा हो। उनले कम मिहिनेतले आफ्नै भाषा बनाएको छैन। कविताले माग्ने नवीन, प्राञ्जल र मौलिक भाषा उनका कविताभरी छताछुल्ल भेटिन्छ। उत्कृष्ट काव्यिकता, सुन्दर बिम्बबिधान, फुटकर अङ्ग्रेजी र नेपाली शब्द संरचनाबाट निर्मित उनको कविताहरु साह्रै नै लोभलाग्दो छन्।
उनी नयाँनयाँ शब्दहरु खोज्नेमात्रै हैन निर्माण पनि गर्छन्। क्राफ्ट ठिकठाक छ। विचारपक्षले थप तर्कको माग गर्दैन। ‘सम्झनाको डल्लबमाथि फुत्रुक फुत्रुक उफ्रिरहेको मुटु’, ‘एलिटहरुको रक्सी पिएर मात्तिएको अदालतको फैसलामा आगो लागोस्’, ‘ब्ल्याकहोलको मृत्युको सुनिश्चितता धड्केर कोषिकामा’, ‘अक्षरहरुले पलेँटी मारेर बसेपछि मुर्दाका सम्झनाहरुले सास फेर्न थाल्दछन्’, पानीको पैँताला’, आगोको पोखरीमा’ यस्ता उत्कृष्ट वाक्यगठनको उदाहरणहरु हुन्।
यति चैँ भन्न सकिन्छ कि अबको नेपाली कवितालाई हाँक्ने जिम्मा कवि राना र रानाजस्तै अरु कोहीको काँधमा छ।
सङ्ग्रह यति शसक्त हुँदाहुँदै पनि कवि सुरज केही ठाउँमा भने चिप्लिएका छन्। ‘कवि’ कवितामा उनले मानिसको संवेदनामाथि मजाक गरेजस्तो लाग्छ। लास बोकेर आर्यघाट जाँदै गरेको मलामी देखेर हाँस्दै फर्किनुमा कविको मानवीयतामाथि शंका गर्न सकिन्छ।
‘डर’ कवितामा उनको वैचारिक विरोधाभाषको महसुस गर्न सकिन्छ। कविताको जुलुसको कुरा नि गर्ने अनि मलाई भिड र आन्दोलनबाट डर लाग्छ नि भन्ने। अर्कोतिर नास्तिक हुन नि खोज्ने फेरि भवितव्यमा आउन सक्ने संकटले त्रसित नि हुने। ‘म ब्रह्माण्ड’ कविता उति दार्शनिक लाग्दैन। केही कविताहरु अनायसै तन्काएजस्तो मात्र लाग्छन्। केही कविताहरु भने हतारमा टुङ्ग्याएजस्तो।
धेरैपछि एउटा राम्रो कविताकृति प्रकाशनमा आएको छ। यसको निम्ति कविलाई झोर्ले भन्दै अन्तिममा कविकै कविताबाट बिट मार्छु।
हजुर मुस्कुराउनुहोस्
ता कि प्रेमको मैनबत्ती जलिरहोस त्यो अनुहारमा ।