सूर्यवंशी लिच्छवि राजाको प्रभावले किराँत राजालाई जिती लिच्छवि वंश सुुरु भएपछि लिच्छवि वंशका पहिला राजा धर्मपाल, भूमिवर्मा विक्रमादित्य उपाधिबाट पुकारिएका सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाबाट विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम संवत् उठान भएको हो । वैदिककालदेखि चल्दै आएका महिना, बार, थितिलाई निरन्तरता दिई राष्ट्रिय संवत्को रूपमा यो संवत् प्रचलित हुँदै आएको छ । हिमवत्खण्डका ससाना राज्य सेनवंशी, बाइसी, चौबीसी तथा काठमाडौं उपत्यकालगायत ब्रह्मपुत्रदेखि गंगाको आसपाससम्म विक्रम संवत् चलनचल्तीमा आएका प्रमाण छन् । विक्रम संवत्लगायत इतिहासको फेरबदलमा नेपालमा चलिआएका शक संवत्, नेपाल संवत्हरू तिथिका आधारमा मात्र चलिरहेको र तिथिहरू गडबड भइरहने हुँदा शासन व्यवस्थामा असजिलो भएकाले सुव्यवस्थाका लागि चन्द्रशमशेरले ज्योतिषीहरूको सम्मेलनबाट सल्लाह लिएर तिथि र बारमा तलमाथि नगरी विक्रम संवत् १९६१ मेष संक्रान्ति वैशाखदेखि प्रारम्भ गरी गतेमा लेख्ने चलन चलाएका हुन् । विक्रम संवत्भन्दा १३५ वर्षपछि शक संवत्को उठान र ९ सय ३७ वर्षपछि नेपाल संवत्को उठान भएको हो । विक्रम संवत्को वर्षमा ३ सय ६५ दिन र शक संवत् र नेपाल संवत्का ३ सय ५४ दिन मात्र हुने हुँदा विक्रम संवत् व्यावहारिक हुन गएको छ । विक्रम संवत् जेठो संवत् भएकाले ऐतिहासिक तथ्यलाई जीवन्त राख्न सफल बनेको छ ।
लिच्छवि शासनकालमा निर्मित हरिसिद्धि मंन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत् ९४५ मा हरिसिद्धिनाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । त्यसपछि त्यसरी नै मल्लकालभरि विक्रम संवत् चलनचल्तीमा भएको कुरा अभिलेखहरूमा प्राप्त छन् ।
विक्रम संवत् यस क्षेत्रको प्रचलित संवत्को रूपमा मानिएकाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विक्रम संवत् १८२५ को वसन्तपुर दरबारको अभिलेखमा– ‘राजा पृथ्वीनाराण शाहको वंश गुह्येकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्’ भनेर विक्रम संवत् १८२५ उल्लेख गरेका थिए । जंगबहादुरले मुलुकी ऐनलाई संग्रह गरी त्यसमा विक्रम संवत् १९१० नै उल्लेख भएको छ । इतिहासकार दिनेशराज पन्तले ‘राजीवलोचन जोशीका बराज्यू’ नामक पुस्तकमा विक्रम विक्रम संवत् १७२१ मा लमजुङमा वीरमर्दन शाह राजा थिए र विक्रम संवत् १७४१ मा लमजुङमा केहरिनारायण शाह राजा थिए । केहरिनारायणका नाति वीरमर्दन शाह हुन् । विक्रम संवत् १७९६ मा पृथ्वीनारायण शाहसँग चेपेघाटमा सन्धि गर्ने लमजुङे राजा रिपुमर्दन शाह हुन् भनी (पूर्णिमा १० पूर्णांकको ३९) उल्लेख गर्दै ‘विक्रम संवत् १७२१ मा वीरमर्दन शाहका दरबारमा जोतिषी काम गरी विर्ता वितलप रागिनासमा पार्ई बस्याका सदानन जोशी हुन्’ भनेर उसबेलामा विक्रम संवत् चलनचल्तीमा लोकप्रिय भएको कुरा उल्लेख छ । इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्, ‘विक्रम संवत्को प्रचलन मध्यकालमा बाइसी–चौबीसी, सेन, मल्ल, शाह राजाहरूले विक्रम संवत् चलाउँदै आएका थिए । केन्द्रका तीन सहरका मल्लराज्यहरूमा पनि पूर्व मल्लकालदेखि नै अभिलेख, हस्तलिखित, पाण्डुलिपिका पुष्पिका वाक्यहरूमा विक्रम संवत्को प्रयोग हुँदै आएको थियो । भक्तपुरमा नववर्ष प्रारम्भ हुँदा धुमधामसाथ बिस्केटजात्रा मनाइँछ । तराईमा थारूहरू वैशाख सुरु हुने दिनदेखि नै सिरुवाजात्रा मनाउँछन् ।’ त्यस्तै अरुणकुमार पाण्डे लेख्छन्– ‘सृष्टिको आरम्भमा सूर्यलगायतका ग्रहनक्षत्र शून्य अवस्थामा रहेको र त्यही शून्यमा विक्रम संवत्को गणनापद्धति सुरु हुन्छ । विक्रम संवत् विश्वब्रह्माण्डका ग्रहगति र प्राकृतिसँग सापेक्ष छ । नेपालमा विक्रम संवत्ले सबै जाति, भाषा, धर्म र संस्कृति र विविधतालाई समिटेको छ ।’
संवत्हरूको विषयमा विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान् खोजकर्ता पं. भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लगी लिच्छविकालमा उल्लिखित संवत्हरूलाई विक्रम संवत् ठह¥याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन्, ‘मानदेवको संवत् ३८६ को चाँगुको अभिलेखको संवत् विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् ।’ यसैगरी नेपालका खोजकर्ता इतिहासविद् शंकरमान राजवंशीले पूर्वलिच्छविकाल र उत्तर लिच्छविकालका संवत्हरू शक संवत् होइनन् भन्दै लिच्छविकालका अभिलेखमा उल्लिखित संवत्हरूलाई विक्रम संवत् नै मानेका छन् । लिच्छविकालमा उल्लिखित संवत्हरूलाई शक संवत् होइनन् (लिच्छवि संवत्को निर्णय, नयराज पन्त–नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान २०४३) भनेका छन् । यसैगरी तर, कतिपय नेपालकै इतिहासकारहरूले विक्रम संवत् नेपालको होइन । यसको उठान भारतको उज्जयनीबाट भएको हो, भन्छन् । तर यो सत्य होइन । इस्वी संवत् ४०० तिर चन्द्रगुप्त द्वितीयले अयोध्याको विजय गरी छालाका मुद्रामा विक्रमादित्य लेख्दैमा विक्रम संवत् उठान गर्ने उनै हुन् भन्नुभएन । इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नुभएको छ, ‘जुनसमय इसापूर्व ५७ वर्षमा यो संवत्को उठान भएको थियो उस समयमा उज्जयनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । उज्जयिनीका खण्डहरूको उत्खनन हुँदा पनि त्यस समयमा विक्रमादित्य रहेको चिह्न भेटिएको छैन ।’ विक्रमादित्य राजाको भारतमा उदय भएको थियो भने त्यस्ता प्रतापी चक्रवर्ती राजाको विषयमा त्यस समयका भारतका कवि वा कलाकारहरूले कहीँ न कहीँ त्यस्ता राजाको विषयमा चर्चा गर्थे होलान्, कहीँ कतै गुणगान हुन्थ्यो, कहीं मूर्ति पनि बन्थ्यो होला ।
नेपाल संवत्मा वर्षमा ३ सय ५४ दिन र तिथिबाट मात्र चल्ने र विक्रम संवत्को वर्षमा ३ सय ६५ दिन, गतेलगायत तिथि, बारमा आबद्ध रहँदै आएको र शक संवत्भन्दा १ सय ३५ वर्ष र नेपाल संवत्भन्दा ९ सय ३६ वर्ष जेठो संवत् भएकाले यसको एतिहासिक गरिमा छ । ज्योतिषी पंं. सूर्यप्रसाद ढुंगेल भन्नुहुन्छ– ‘विक्रम संवत् प्रकृतिसँग आबद्ध छ । दिन र रात सूर्यले नै निर्धारण गर्ने र सूर्यले १ वर्ष अर्थात् ३ सय ६५ दिन १५ घडी ३१ पला ३१ प्रतिपला, यति समयमा एक चक्कर ३६० डिग्री पूरा गरेको हुन्छ । सूर्यले जब ३६० डिग्री अर्थात् राशि, अंशा, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन राशि समाप्त भई मेष राशि सूर्यमा प्रवेश गर्छन् र विक्रम संवत्अनुसार नयाँ वर्ष प्रारम्भ हुन्छ । यसैगरी ३० अंशको एक महिना हुने हुँदा पहिलो ३० अंश सिद्धिएपछि वैशाख सिद्धिएर जेठ महिना प्रारम्भ हुन्छ । यही क्रमबाट ३०–३० अंश काटेपछि वर्ष पूरा हुन्छ ।’ यस्तै ज्योतिषी पंं. राष्ट्रिय धर्मसभाका अध्यक्ष माधव भट्टराई भन्नुहुन्छ, ‘विक्रम संवत् नेपालका उपज र युगयुगान्तरदेखि प्रचलित हुँदै आएको मौलिक संवत् हो । वास्तवमा विक्रम संवत् नेपाली जनमानसमा यति धेरै लोकप्रिय छ कि यस’bout जानकारी नराख्ने कोही नहोला । यसका महिना बार, तिथि र गते साधारण नागरिक सबैलाई थाहा रहन्छ । यसको लोकप्रिय गरिमालाई निरन्तर जनसमक्ष पु¥याउन प्रत्येक राष्ट्रप्रेमी नेपालीको कर्तव्य हो ।’
फलतः विक्रम संवत् नेपाल र भारतमा कतिपय स्थानमा इतिहासको प्रारम्भदेखि लोकप्रिय हुँदै आएको छ । अहिले पनि भारतका कतिपय ठाउँमा हिमवत्खण्ड नेपालको प्रतावले विक्रम संवत्हरूलाई नै आधार बनाएर पञ्चांगहरू प्रकाशित भइरहेका छन् । १२ करोड जनसंख्या भएको भारतको बंगालमा विक्रम संवत्अनुसारको सूर्य सिद्धान्तमा आधारित पञ्चांगहरू चल्नचल्तीमा छन् । भारतमा अरुण बंशलबाट सम्पादित दसौं लाख छापिने समाचार मासिक र डा. गीता शर्माबाट सम्पादित पञ्चांगहरू पनि विक्रम संवत्लाई नै आधार मानेर चलनचल्तीमा छन् । विक्रम संवत् नेपालको मौलिक हो । सम्राज्यवादी शक्तिको आक्रमणबाट सुरक्षित बन्दै नेपालले आप्mनो सार्वभौमसत्ता, मौलिकता र पहिचान बचाउँदै आएका प्रमाणहरूमा विक्रम संवत्को निरन्तरता पनि एक हो । विक्रम संवत् नेपालको गौरव हो । २०६८ साल नयाँ वर्षको शुभ–उपलक्ष्यमा सार्वभौम–समृद्ध नेपालको कामना गर्दै स्वदेश–विदेशमा रहेका हामी सबै नेपालीले आपसमा शुभकामना आदान–प्रदान गरौं ।
(Visited 24 times, 1 visits today)